बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : बाँसको महत्त्व

राज्यले नचिनेको बाँस : न महत्त्व, न प्रवर्द्धन

आइतबार, १८ फागुन २०८१, ०९ : ३९
आइतबार, १८ फागुन २०८१

काठमाडौँ । बाँस, नेपाली समाजमा मानिसको जन्म हुँदा कोक्रोको रूपमा र मृत्यु हुँदा घारोको रूपमा प्रयोग हुँदै आएको छ । परापूर्वकालदेखि नै नेपाली समुदायमा बाँस तथा बेतको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । बाँस जीवनयापनका क्रममा विभिन्न तरिकाले प्रयोग गरिन्छ । 

घरगोठ तथा संरचनादेखि घरेलु उपयोगका अनेकन् सामग्रीसमेत बाँसबाटै बनाइन्छ । साथै अनेकथरी हस्तकलाका सामग्री बनाइन्छ । 

फर्निचर निर्माणदेखि खाद्य सामग्रीसम्म बाँस काममा आउँछ । व्यापारिक प्रयोजन, पशु आहारा, धार्मिक तथा सांस्कृतिक अनि भू–क्षय तथा बाढी, पहिरो नियन्त्रणमा पनि बाँस उत्तिकै प्रयोग भइरहेको छ । 

नेपालमा खोलानालाबाट जोगाउन, खाली तथा पर्ती जग्गामा उत्पादन लिन, भिरालो र भू–क्षयग्रस्त क्षेत्रमा बाँस रोपिने गरिएको छ । वनजंगलमा समेत त्यत्तिकै पाइने बाँस ग्रामीण कृषकका आर्जनको मुख्य स्रोत नै बनिसकेको छ । 

साना तथा मझौला उद्योगमा कच्चापदार्थका रूपमा बाँसको प्रयोग भइरहेको छ । यो मानिसको जन्मदेखि मरणसम्म काममा आउँछ । 

बाँसको उपयोगिताबारे त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा. टीकाराम गौतम भन्छन्, ‘बाँस जन्मसँग जोडिएको छ, मृत्यु हुँदा पनि चाहियो, घर बनाउँदा पनि चाहियो, पूजाआजा गर्दा पनि आवश्यक पर्छ ।’ 

बासलाई सामाजिक संरचना र जीवनको विभिन्न कालखण्डमा प्रयोग गर्ने गरी बनाइएको छ । त्यसकारण यो सधैँ काममा आइरहने गौतम बताउँछन् । ‘बाँस खोजेर ल्याउने, ल्याएर रोप्ने, लगाउने र प्रयोग गर्नेसम्म भएका छन्, गौतम भन्छन्, ‘सामाजिक मूल्य मान्यताले निर्माण गरेको छ । अरू खाल रूखहरू पूजाआजामा वा मृत्युसंस्कारमा प्रयोग गर्न मिल्दैन, त्यसैले बाँस सामाजिक महत्वको दृष्टिले प्रयोग हुने नै भयो ।’

किराँत धर्ममा त बाँस नभई कुनै पनि संस्कार नहुने बताउँछन् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई । ‘मानिस जन्मेको १५/१६ दिनदेखि कोक्रोको रूपमा प्रयोग र हुन्छ,’ उनले भने, ‘भान्सामा पनि प्रयोग हुन्छ । सामान्य जीवनमा बाँस नहुँदा चल्दैन ।’

डोको, डालो, नाङलो परपम्रागत रूपमा बनाइँदै आइएको बाँस पछिल्लो समय फर्निचरका रूपमा व्यापक प्रयोग हुन थालेको छ । 

फोटोको फ्रेम बनाउनेदेखि रेस्टुरेन्ट, होमस्टे तथा होटलमा पनि उत्तिकै प्रयोग भइरहेका छन् । होटलगायत स्थानमा बाँसबाट बनेका विभिन्न किसिमका सामग्रीहरू प्रयोग भएका हामीले देख्न पाउँछौँ । त्यस्तै बाँसकै कलिलो मुनाबाट बनाइने तामाको अचार र तरकारी त झन् नेपाली जिब्रोमा झुण्डिएकै छ । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसी भन्छन्, ‘बाँसबाट नबन्ने चिज कमै छ ।’ 

  • कस्तो ठाउँमा हुन्छ बाँस ? 

नेपालमा तराईदेखि पहाडी क्षेत्रमा जताततै बाँस पाइन्छ । देशकै सबैभन्दा होचो भाग झापाको कचनकवल क्षेत्रदेखि ४ हजार मिटर उचाइसम्म बाँस पाइने गरेको छ । नेपालको जंगल ६० हजार हेक्टर क्षेत्रफल बाँसले ढाकेको छ । 

निजीस्तरमा भइरहेका बाँस खेतीको भने यकिन तथ्यांक भेटिँदैन । केन्द्रका महानिर्देशक डा. केसीका अनुसार नेपालमा १२ जातिअन्तर्गत ५३ बढी प्रजातिका बाँस छन् । तीमध्ये सात प्रजातिका बाँस संसारमा कतै पाइँदैन । जुन रैथाने (इन्डेमिक) प्रजाति हुन् । 

त्यस्तै, नेपालमा दुई जातिअन्तर्गत १० प्रजातिका बेतहरू पनि पाइन्छन् । नेपालमा सबैभन्दा बढी पानीबेत पाइने उनले बताए । 

  • फाइदा लिन सकिएन 

मानिसको जन्मदेखि मरणसम्म आवश्यक पर्ने बाँसको संरक्षणमा सरकार गम्भीर बन्न सकेको देखिँदैन । यसलाई संरक्षण गर्न बल्ल आएर एउटा नीति बनेको छ । बाँस तथा बेत विकास रणनीति, २०२१ भर्खरै ल्याइएको छ ।

यति लामो समयसम्म नीति नबन्दा घरायसी प्रयोजनबाहेक अन्य कार्य गर्दा कागजी समस्या निम्तिरहेको छ । 

बाँसको प्रयोग गरेर घर बनाउँदासमेत दररेटमा समस्या हुने गरेको नगर प्रमुख भट्टराई बताउँछन् । ‘यसको नीति नै नहुँदा उपयोग गर्न पाएका छैनौँ,’ उनले भने, ‘बाँसको आयु ५० वर्षको हुन्छ, तर यसको प्रयोग हुन सकेन ।’ 

नेपालमा पाइने बाँस तथा बेत प्रजाति र यसको मौजुदा स्थितिबारे विस्तृत अध्ययन, अनुसन्धान र सर्वेक्षण हुन सकेको छैन । अध्ययन अभावका कारण बाँस तथा बेत प्रजातिको यथार्थ स्थिति अभिलेखीकरणसमेत नभएको महानिर्देशक डा. केसी बताउँछन् । 

घरायसी सामग्रीको माग स्वदेशका साथै विदेशमा समेत बढिरहँदा पर्याप्त ज्ञान र सीपको कमी, व्यावसायिक खेती प्रणाली, उच्च प्रविधि, लगानी, उद्यमशीलता, उद्योग र बजारको अभावमा उल्लेखनीय फाइदा लिन सकिएको छैन । 

नेपालको भूकम्प पछाडिको पुनर्निर्माण र पुनर्स्थापनाका साथै पहिरोग्रस्त स्थान मर्मत र उत्थानमा बाँस प्रयोगलाई अभियानका रूपमा प्रयोग गर्न सकिन्छ । 

चुरेको संरक्षण र विकासका लागि केही वर्षदेखि बाँस रोपण तथा विस्तार हुँदै आएको छ । यहाँ खपत हुने बाँसका कच्चा सामग्रीका लागि नेपाल आत्मनिर्भर रहे पनि बेतका सामग्री भने भारत तथा बंगलादेशबाट आयात गर्ने गरेको पाइन्छ । 

बाँसका सामग्री निर्यातको तुलनामा आयात बढी हुँदा व्यापार घाटा पनि भइरहेको छ । भन्सार विभागको तीन वर्षको तथ्यांक हेर्दा चालु आवको सात महिनामा  बाँसका सामग्री कारोबारमा करिब २० करोड रुपैयाँ घाटा छ । 

बाँसखेती केहीले व्यावसायिक रूपमा गरेका पनि छन् । तर यसको अनुसन्धान राज्यले गर्न सकेको छैन । 

नेपालमा बाँसका सामग्री तयार गर्दा लागत बढी लाग्ने देखिएको केसी बताउँछन् । ‘बाँसको आन्तरिक बजार अनुमानित १ अर्ब छ । ह्यान्डी ग्राफका वस्तुहरू बनाएर बाहिर पठाउने गरेको कमै पाइन्छ,’ उनी भन्छन्, ‘विदेशतिर अलि अलि यस्ता सामानहरू जान्छ ।’ डा. केसीका अनुसार चीन र भारतसँग धेरै बाँस छ । त्यसैले नेपाली वस्तु अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धामा कमजोर देखिएको हो ।  

देशभित्रै खपत हुने बाँसका कच्चा सामग्रीका आत्मनिर्भर भए पनि बेतका लागि आयात नै गर्नुपर्ने अवस्था रहेको केसी बताउँछन् । 

  • सम्भावना के ?

चिज बन्न सक्ने बाँसको व्यावसायीकरण गर्न सके यसको सम्भावना पनि ठुलो देख्छन् जानकारहरू । स्थानीयसँगै विश्व बजारमै बाँसजन्य सामग्रीको माग बढ्दै गएको बताउँछन् ग्रिन बेम्बो क्रिएसन प्रालिका प्रबन्ध निर्देशक प्रणव प्रधान । ‘बाँसका सामग्री बनाउन वा बाँसको व्यवसाय गर्न निजीसँगै सरकारी निकायबाट लगानी हुनुपर्छ’, उनी भन्छन्, ‘बाँसको प्रयोग बढाउन बजारीकरण आवश्यक छ । यसमा पालिकास्तरका निकायको पनि महत्त्वपूर्ण भूमिका हुनुपर्छ ।’ बाँसलाई नेपाली उत्पादनको ‘ब्रान्ड’ बनाएर निर्यात गर्न सके यसबाट ठुलो फाइदा हुने उनी सुझाउँछन् । 

बाँसको अध्ययन तथा अनुसन्धानलाई बढवा दिने विषयमा खोटाङ जिल्लाको दिक्तेलमा फागुन १७ गतेबाट सुरु भएको तीनदिने प्रथम राष्ट्रिय बाँस सम्मेलन छलफल कार्यक्रम हुने भट्टराईले जानकारी दिए । 

आर्थिक उपार्जनका लागि बाँसलाई वैकल्पिक स्रोतका रूपमा विकास गर्ने विषयमा बहस चलाइने उनले बताए । व्यवसायीकरण र प्रत्यक्ष तथा अप्रत्यक्ष लाभबारे पनि सम्मेलनमा छलफल हुनेछ । 

बाँसजन्य वनस्पतिका ७५ भन्दा बढी प्रजाति नेपालमा पाइन्छ । त्यसबाट १ हजार ५ सय थरीका सामान उत्पादन हुँदै आएका छन् । ती सामानको खपत स्वदेशमा त भइरहेको छ नै, कतिपय विदेशसमेत निर्यात हुने गरेका छन् । 

चालु आर्थिक वर्षको माघ मसान्तसम्म २६ करोड ७ लाख ५५ हजार रुपैयाँका बाँसका सामग्री भित्रिएका छन् । यो अवधिमा नेपालबाट तामा, तामाका आचार, बाँसका कोइला, बास्केट र फर्निचरलगायत ६ करोड ८५ लाख ६६ हजार रुपैयाँका विभिन्न सामग्री निर्यात पनि भएका छन् । 

गत वर्ष (आव २०८०/०८१) मा ५१ करोड एक लाख १६ हजार रुपैयाँका सामग्री नेपाल ल्याइएको छ भने १० करोड ६७ लाख ८० हजार रुपैयाँका बाँसका सामग्री निर्यात गरिएको छ । अघिल्लो वर्षमा ५५ करोड १० लाख एक हजार रुपैयाँका बाँसजन्य सामग्री आयात हुँदा ३ करोड २७ लाख ९७ हजार रुपैयाँको सामग्री निर्यात भएको थियो । 

यसरी भन्सार विभागको तीन वर्षको तथ्यांक हेर्दा चालु अवको सात महिनामा करिब २० करोड रुपैयाँ नेपालले बाँसजन्य सामग्री कारोबारमा घाटा व्यहोरेको छ । 

पूर्व वातावरणमन्त्री गणेश साह बाँसको खेती हुने क्षेत्र विस्तार, बजारीकरण र सामग्री तयारका लागि प्रशिक्षणको आवश्यकता रहेको बताउँछन् । ‘गरिबका लागि बाँस जीवन निर्वाह गर्ने माध्यम र धनीका सजावटका साधन बनाउने माध्यम बनेको छ । यसलाई थप विस्तार गर्न सीप विकास र खेतीमा जोड दिन आवश्यक छ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप