‘बाँसको सामग्री उत्पादनमा लागत घटाउन सके बजार राम्रो छ’

मानिसको जन्मदेखि मरणसम्म प्रयोगमा आउँछ बाँस । ससाना घरायसी सामग्रीदेखि ठुला ठुला होटल रेस्टुरेन्सम्म बाँस र बाँसजन्य सामग्री प्रयोग भएका छन् । अझ भन्ने हो भने, नेपालीको संस्कारसँग जोडिएको छ बाँस ।
घरेलु उपयोगदेखि फर्निचर, खाद्य सामग्री, व्यापारिक प्रयोजन, पशु आहाराका रूपमा पनि बाँसको प्रयोग गरिँदै आइएको छ । साथै साथै भू–क्षय तथा बाढी, पहिरो नियन्त्रणमा पनि यसले टेवा पुर्याएको छ । ग्रामीण कृषक तथा विपन्न समुदायको आयआर्जनको यो महत्त्वपूर्ण स्रोत पनि बनिरहेको छ ।
नेपालमा बाँसको महत्त्व कति छ ? कसरी प्रयोग भइरहेको छ ? बजार कस्तो छ ? यिनै विषयमा रहेर वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसीसँग गरिएको कुराकानीको सम्पादित अंश
- बाँस कस्तो खालको वनस्पति हो ?
घाँस परिवारमा पर्ने प्रजाति हो बाँस । मान्छेले रूख भन्छन् । तर दुबो र बाँसको परिवार एउटै हो । त्यसैले यसलाई घाँस परिवारमा पर्ने वनस्पति भनिएको हो । रूख प्रजातिको दाँजोमा बाँस अति छिटो बढ्ने, सजिलै व्यवस्थापन गर्न सकिने, व्यवस्थित तवरले काट्दा नमासिने, रोपेको केही वर्षदेखि नै उत्पादन दिने र सामान्य लगानीमा पनि बाँसको उद्यम विकास गर्न सकिन्छ ।
- बाँसका कति प्रजाति छन् ?
नेपालमा १२ जातिअन्तर्गत ५३ भन्दा बढी प्रजातिका बाँस पाइन्छ । यीमध्ये सात प्रजातिका बाँस संसारमा कतै नपाइने रैथाने (इन्डेमिक) प्रजातिका छन् । त्यसैगरी नेपालमा दुई जाति अन्तर्गत १० प्रजातिका बेतहरू पाइन्छ । बेत पनि बाँस प्रजातिमै पर्छ ।
- नेपालमा बाँस कहाँ–कहाँ पाइन्छ ?
नेपालमा बाँस सबै जिल्लामा पाइन्छ । तराईदेखि पहाडी क्षेत्रमा बाँस पाइन्छ । तराईको सबभन्दा होचो भाग झापा जिल्लाको कचनकवल क्षेत्रदेखि ४ हजार मिटर उचाइसम्म बाँस पाइन्छ । नेपालको सबै प्रदेश तथा भौगोलिक क्षेत्रहरूमा विभिन्न किसिमका बाँस पाइन्छन् ।
देशभरमा प्राकृतिक वा भनौँ जंगली क्षेत्रमा ६० हजार हेक्टर क्षेत्रफलमा पाइन्छ । निजीस्तरमा पनि परम्परागत रूपमा धेरै बाँसको खेती हुँदै आएको छ । मान्छेले आफ्नो क्षेत्रको धेरै ठाउँमा खेती गरेका छन् । आफ्नो निजी जमिनको कुनामा, खोला छेउछाउमा बाँस रोपेका छन् । पूर्वी नेपालमा बाँसखती सबैभन्दा धेरै हुन्छ । कोशी प्रदेशमा बाँसको धेरै खेती भएको छ । त्यहाँबाट पश्चिम गयो भने बाँसको खेती घट्दै जान्छ ।
- नेपालमा बाँसको प्रयोग कस्तो छ ?
नेपालमा बाँसको टुसा खानेदेखि लिएर बाँसका ह्यान्डी ग्राफको रूपमा प्रयोग हुन्छ । बाँसका टुसा अचार, तरकारीका रूपमा खाने गरिन्छ । बाँसबाट रक्सी पनि बनाउन मिल्छ । नेपालमा बाँसका १५ सय प्रकारका वस्तु बनाउन सकिन्छ ।
डोको, नाम्लो, सुपो(नाङ्लो), टेबल, कुर्सीलगायत विभिन्न सामग्री बनाउन सकिन्छ । बाँस जन्मदेखि मरणसम्म प्रयोग गरिन्छ । बाँसबाट निर्मित हस्तकला, फर्निचर र घरायसी सामग्रीको माग स्वदेशका साथै विदेशमा समेत बढिरहेको भए पनि पर्याप्त ज्ञान र सीपको कमी, व्यावसायिक खेती प्रणाली, उच्च प्रविधि, लगानी, उद्यमशीलता, उद्योग र बजारको अभाव छ ।
नेपालको भूकम्प पछाडिको पुनर्निर्माण र पुनर्स्थापनाका साथै पहिरोग्रस्त स्थान मर्मत र उत्थानका लागि बाँसलाई अभियानका रूपमा प्रयोग गर्न सकिने देखिन्छ । चुरेको संरक्षण र विकासका लागि केही वर्षदेखि बाँस रोपण तथा विस्तार कार्य हुँदै आइरहेको छ ।
- बाँसको बजार कस्तो छ ?
बाँसको आन्तरिक बजार अनुमानित एक अर्ब बराबर छ । हाम्रो छिमेकी चीन र भारतसँग धेरै बाँस छ । यसबाट सामग्री तयार गर्दा धेरै नै लागत लाग्छ । यहाँ खपत हुने बाँसका कच्चा सामग्रीका लागि नेपाल आत्मनिर्भर छ । तर बेतका लागि भारत तथा बंगलादेशबाट आयात हुन्छ । बाँसका सामग्री आयात र निर्यातमा नेपालले व्यापार घाटा व्यहोर्नु परिरहेको छ ।
- बाँसको सम्भावना कस्तो छ ?
बाँसको सामग्रीको उत्पादन लागत घटाउन सकियो भने बजार राम्रो छ । यसको महत्त्व अत्यधिक छ । बाँस तथा बेत स्रोतलाई एक महत्त्वपूर्ण गैह्रकाष्ठ वन पैदावारका रूपमा संरक्षण, व्यवस्थापन र दिगो प्रयोग गरी प्राकृतिक वातावरणको संरक्षण गर्नुका साथै स्थानीय रोजगारीको सिर्जना, जलवायु अनुकूलित हरित राष्ट्रिय अर्थतन्त्र निर्माणमा योगदान पुर्याउन सकिन्छ । उत्पादन बढाउने, वातावरणीय हिसाबले पनि हेर्नुपर्ने हुन्छ ।
यसले कार्बन शोषण धेरै गर्छ । बाँसको आर्थिक, सामाजिक, वातावरणीय महत्त्व छ । नेपालमा बाँस तथा बेत ग्रामीण कृषक तथा विपन्न समुदायको आयआर्जनको महत्त्वपूर्ण स्रोतका रूपमा रहेको मात्र नभई साना तथा मझौला उद्योगहरूको लागि कच्चापदार्थका रूपमा रहिआएको छ ।
भू–क्षय तथा बाढी पहिरो नियन्त्रण, कार्बन सञ्चयीकरणका साथै विभिन्न वन्यजन्तुका लागि प्रमुख वासस्थानका रूपमा पारिस्थितिक प्रणालीको सन्तुलन र जलवायु अनुकूलनमा समेत यसको विशेष भूमिका छ ।
विभिन्न प्राकृतिक प्रकोपका कारण विस्थापित भएका मानव समुदायको पुनर्स्थापना र राहत कार्यमा यसले प्रत्यक्ष र प्रभावकारी भूमिका निर्वाह गरेको पाइन्छ । समग्रमा मानिसको जन्मदेखि मरणसम्म बाँस तथा बेतको विभिन्न रूपमा प्रयोग भइरहेको छ ।
- नीति हुने हो भने बाँसजन्य सामग्री आयात रोकिन्थ्यो, आत्मनिर्भर भएर निर्यात गर्न पनि सक्थ्यौँ । बाँस संरक्षण र प्रवर्द्धनमा राज्यले किन नीति बनाएन ?
हामीले रणनीति बनाएका छौँ । राष्ट्रिय बाँस तथा बेत विकास रणनीति ऐन, २०८१ यही फागुन १५ गते राष्ट्रिय बाँस सम्मेलनको अवसरमा खोटाङमा विमोचन गर्यौँ । यो रणनीति वन मन्त्रालयले भर्खरै स्वीकृत गरेको हो ।
बाँसको विकासका लागि रणनीति भयो । बाँस रोप्ने, हुर्काउने, व्यापार गर्ने, लगानी गर्ने विषय ऐनमा सम्बोधन भएको छ । भवन बनाउँदा लाग्ने बाँसको लागत, संरचनाजस्ता विषय इन्जिनियरिङसँग जोडिएको छ । यो सहरी विकास मन्त्रालयले तयार गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समुद्रमा नेपाली झन्डासहित पानीजहाज चलाउने बाटो खुल्दै
-
केपी ओली कप फुटबल : मछिन्द्रको ह्याट्रिक, त्रिभुवन आर्मी क्लब पराजित
-
समाजलाई अनुशासित र चरित्रवान् बनाउन नैतिक शिक्षा सुधार गर्नुपर्छ : खिलराज रेग्मी
-
भैरहवामा कांग्रेसका २ महामन्त्री र ४ विज्ञले के–के विषयमा दिए प्रशिक्षण ?
-
त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचनको लागि संगठन दर्ता
-
एकसाथ रिलिज ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को व्यवसाय कस्तो ?