त्रिवि स्ववियु निर्वाचन : प्रभाव बढाउने रणनीतिमा विद्यार्थी संगठनहरू

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको चहलपहल बढ्न थालेको छ ।
फागुन १९ गतेदेखि स्ववियुको चुनाव कार्यतालिका सुरु हुनेछ । नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियू लगायतका विद्यार्थी संगठनले उम्मेदवार छनोट गर्ने, घोषणापत्र तयार पार्ने लगायतका गतिविधिलाई तीव्रता दिएका छन् ।
केही दिन अगाडि प्रमुख तीन विद्यार्थी संगठनका अध्यक्षहरूले फागुन ११ गते त्रिविका उपकुलपति प्राडा केशरजंग बरालसहितका पदाधिकारीसँग छलफल गरेका थिए । छलफलका क्रममा चैत ५ गते जसरी पनि निर्वाचन गराउनुपर्ने र त्यसका लागि आफूहरूको तर्फबाट गर्नुपर्ने सहयोग तथा सहकार्यका लागि तयार रहेको उनीहरूको भनाइ थियो ।
विद्यार्थी संगठनहरूलाई विगतमा जितेका क्याम्पसहरूमा आफ्नो प्रभाव कायमै राख्नुपर्ने चुनौती छ । यस अतिरिक्त अन्य संगठनको प्रभाव रहेको क्षेत्रमा गढ भत्काउने चुनौती पनि छ ।
२०७९ साल चैत ५ गते र त्यसपछि विभिन्न मितिमा गरेर त्रिवि अन्तर्गतका ३५४ क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । जसमध्ये अनेरास्ववियुले सबैभन्दा बढी १३४ क्याम्पसमा स्ववियु अध्यक्ष जितेको थियो । त्यस्तै नेविसंघले १३२ क्याम्पसमा स्ववियु अध्यक्ष जितेको दाबी गर्दै आएको छ । तर, त्रिविसँग २०७९ सालमा भएको स्ववियु निर्वाचनको आधिकारिक तथ्यांक भने छैन ।
उक्त निर्वाचनमा देशभर त्रिवि अन्तर्गतका क्याम्पसहरूमा एक लाख १७ हजार ६ विद्यार्थीले मतदान गरेका थिए । तीमध्ये नेविसंघले समानुपातिक तर्फ ४६ हजार ५०१ मत प्राप्त गरेको थियो ।
अखिल क्रान्तिकारीले ७६ वटा कलेजमा स्ववियु अध्यक्ष जितेको थियो । त्यस्तै अनेरास्ववियु, विप्लव नेतृत्वको नेकपा, नागरिक उन्मुक्ति पार्टी लगायतका दलका विद्यार्थी संगठनहरूले समेत विभिन्न कलेजहरूमा अध्यक्ष जितेका थिए ।
केही स्थानमा स्वतन्त्र विद्यार्थीहरूले समेत निर्वाचन जितेका छन् । केही स्थानमा सर्वसम्मत चयन भएको थियो भने केही स्थानमा एकलौटी ढंगबाट विजयी घोषणा समेत गरिएको थियो ।
त्रिविका ६२ वटा आंगिक क्याम्पसमध्ये १३ वटामा निर्वाचन हुन सकेको थिएन । काठमाडौँ उपत्यकाभित्रका रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर), विश्वभाषा क्याम्पस, नेपाल कमर्स क्याम्पस मीनभवनमा निर्वाचन हुन सकेको थिएन ।
एक हजार ४० सम्बन्धन प्राप्त कलेजमध्ये धेरैजसोमा निर्वाचन भएको थिएन । त्रिविले आफ्नै आंगिक क्याम्पसहरूमा निर्वाचन गर्न नसकेको बेला सम्बन्धनप्राप्त कलेजहरूमा निर्वाचन सम्भव थिएन ।
विगतमा गुमेका कलेज फर्काउने दाउमा अनेरास्ववियु
काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस विगतमा अनेरास्ववियुको गढका रूपमा रहँदै आएको थियो । त्यहाँ अनेरास्ववियुले जुनसुकै उम्मेदवार उठाए पनि जित्छ भन्ने मान्यता छ । २०७९ सालमा यहाँ निर्वाचन हुन सकेन ।
एमालेबाटै फुटेर गएको एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले भर्ना गरिएका विद्यार्थीमाथि छानबिनको माग गर्दै आन्दोलन गरेको थियो । त्यसपछि त्यसमा नेविसंघ, अखिल क्रान्तिकारी लगायतले समेत साथ दिए । जसले गर्दा पटक पटक निर्वाचनको मिति तोकिँदासमेत निर्वाचन हुन सकेन ।
यो पटक आरआर क्याम्पसमा जसरी पनि निर्वाचन सफल गराउने र आफ्नो संगठनले जित्ने दाबी अनेरास्ववियुको छ ।
अनेरास्ववियु उपाध्यक्ष नारायण घर्तीले अघिल्लो पटक अनेरास्ववियुले शतप्रतिशत जित्न सक्ने कलेजहरूमा निर्वाचन नै हुन नदिएको बताए । यो पटक ती क्याम्पसहरूमा निश्चित रूपमा निर्वाचन गराइने र अनेरास्ववियुले जित्ने उनको दाबी छ ।
त्यस्तै नेपाल कमर्स क्याम्पसमा समेत निर्वाचन हुन सकेको थिएन । अनेरास्ववियुले जित्दै आएको उक्त क्याम्पसमा समेत विद्यार्थीहरूको तालाबन्दीका कारण निर्वाचन हुन सकेको थिएन ।
६२ वटा आंगिक क्याम्पसमध्ये अनेरास्ववियुले २२ वटा क्याम्पसमा जितेको थियो । त्यस्तै नेविसंघले १९ वटा, अखिल क्रान्तिकारीले ४, जसपा निकट विद्यार्थी संगठनले ३ र पाटन बहुमुखी क्याम्पसमा नेविसंघका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका सुशील विष्टले निर्वाचन जितेका थिए । ती बाहेक अन्य आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।
त्रिभुवन विश्वविद्यालयले यो पटक भने सबै आंगिक क्याम्पसमा निर्वाचन गराउनेगरी तयारी अघि बढाएको छ ।
नेविसंघले सहकार्य नगर्ने
नेविसंघले यो पटकको निर्वाचनमा कुनै पनि विद्यार्थी संगठनसँग तालमेल नगर्ने जनाएको छ । प्रवक्ता सुरज सेजुवालले केन्द्रबाट कुनै पनि विद्यार्थी संगठनहरूसँग सहकार्य गर्ने भनेर निर्णय नगरिने बताए । स्थानीयस्तरमा आवश्यकताका आधारमा तालमेल तथा सहकार्य गर्न स्थानीय कमिटीलाई नै छुट दिइने उनको भनाइ छ ।
अघिल्लो निर्वाचनमा नेविसंघले अखिल क्रान्तिकारी र अनेरास्ववियूसँग तालमेल गरेको थियो ।
यो पटक भने कुनै पनि विद्यार्थी संगठनहरूसँग तालमेल नगरिने प्रवक्ता सेजुवालले प्रष्ट पारे । विगतमा जितेका सिटमा पुनः जित निकाल्ने र विगतमा गुमेका कलेजहरूमा यो पटक जित्नेगरी अघि बढिरहेको उनको भनाइ छ ।
नेपाली कांग्रेसको पार्टी बैठकमा समेत स्ववियु निर्वाचनको विषयमा छलफल भएको छ । त्यस्तै देशभरका नेविसंघका नेता तथा कार्यकर्ताहरूलाई निर्वाचनको तयारी जुट्न सर्कुलरसमेत जारी गरिएको प्रवक्ता सेजुवालले बताए ।
‘देशभरका क्याम्पसहरूमा अवस्था कस्तो छ भनेर रिपोर्ट पनि लिइरहेका छौँ । विभिन्न समिति बनाउने गृहकार्य भइरहेको छ । घोषणापत्र बनाउने, प्रचारप्रसार गर्ने लगायतका समितिहरू बनाउन छलफल अघि बढेको छ,’ सेजुवालले भने ।
विगतमा जितेका ठाउँ जोगाउन क्रान्तिकारीलाई चुनौती
अखिल क्रान्तिकारीले २०७९ सालको निर्वाचनमा नेविसंघसँग सहकार्य गरेको थियो । जसले गर्दा ७६ वटा कलेजमा उसले निर्वाचन जितेको थियो । तर, यो पटकको निर्वाचन सबै विद्यार्थी संगठनहरू छुट्टाछुट्टै लड्ने तयारीमा छन् । जसले गर्दा क्रान्तिकारीलाई विगतको विरासत जोगाउन गाह्रो छ ।
अखिल (क्रान्तिकारी) का अध्यक्ष विजय प्रकाश सापकोटाले निर्वाचनको तयारी अघि बढेको र धेरै कलेजमा जित्नेगरी अघि बढिरहेको बताए । निर्वाचनमा तालमेल नगरी एक्लै लड्ने योजना रहेको उनले प्रस्ट पारे । तल आ–आफ्नो क्याम्पसमा भूगोलले परिस्थिति अनुसार तालमेल गर्ने छुट भने दिइएको तर, केन्द्रबाट तालमेल नगर्ने उनले बताए ।
त्यस्तै एकीकृत समाजवादीका विद्यार्थी संगठन अनेरास्ववियू अध्यक्ष महेश श्रेष्ठले समेत यो पटक तालमेल नगरी अघि बढ्न लागेको बताए । पार्टीबाट पनि स्ववियु निर्वाचन गराउनुपर्छ भन्ने निर्देशन आएको बताउँदै त्यही अनुसार सिङ्गो संगठन निर्वाचनको तयारीमा जुटेको उनले बताए ।
केन्द्रबाट तालमेल गर्ने भन्ने नीति नरहेको बताउँदै उनले तल क्याम्पसहरूमा आवश्यकता अनुसार तालमेल गर्न सकिने प्रस्ट पारे । संगठनका तर्फबाट घोषणापत्र र अपिल बनाइसकेको जानकारी दिँदै उनले केही दिनमा सार्वजनिक गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय