सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अर्थतन्त्र

किन बढ्यो पुनर्बीमा कम्पनीको सेयर मूल्य?

आइतबार, १८ फागुन २०८१, ०६ : ४५
आइतबार, १८ फागुन २०८१

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) कारोबारमा पुनर्बीमा कम्पनीको सेयर मूल्य र कारोबार रकममा समेत निरन्तर वृद्धि भइरहेको छ । दुई सातामा अधिंकाश कारोबारमा पुनर्बीमा कम्पनीको सेयर कारोबार उच्च भएको छ भने मूल्यमा पनि वृद्धि भएको छ ।

धितोपत्रको दोस्रो बजार नेप्से कारोबारमा पछिल्लो दुई सातामा मूल्य र कारोबारका हिसाबले हिमालयन रिइन्स्योरन्स कम्पनी सबैभन्दा अगाडि छ ।

कारोबार रकमका आधारमा हेर्ने हो भने पछिल्लो दुई सातामा दुई पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरन्स र नेपाल पुनर्बीमा कम्पनीबिच प्रतिस्पर्धा देखिएको छ । फागुन ४ गते आइतबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै कारोबार भएको थियो । यस दिन उक्त कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

सातामा दुई कम्पनीको लगातार उच्च कारोबार

अघिल्लो मंगलबार अर्थात् फागुन ५ गते भने हिमालयन रिइन्स्योरन्सको कारोबार रकम उच्च देखिएको थियो । त्यस्तै अघिल्लो साताको अन्तिम कारोबारको दिन बिहीबार (फागुन ८ गते) कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी पहिलो र हिमालयन रिइन्स्योरेन्स दोस्रो स्थानमा थियो । जसमा नेपाल पुनर्बीमाको ६५ करोड ६६ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको ३८ करोड ३७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

यो साता चार दिन कारोबार भयो । जसअनुसार फागुन ११ गते आइतबार कारोबार रकम, कारोबार संख्या र कारोबार भएको सेयर संख्या तीन वटाकै आधारमा हिमालयन रिइन्स्योरेन्स अगाडि देखिएको थियो । जुन दिन नेपाल पुनर्बीमा कम्पनीको मूल्य ७.०५ प्रतिशत तथा हिमालयन रिइन्स्योरेन्स कम्पनीको मूल्य ५.४१ प्रतिशतले बढेको थियो । योसँगै नेपाल रिइन्स्योरेन्सको १० अर्ब १८ करोडको कारोबार भएको थियो भने हिमालयन रिइन्स्योरेन्सको ४ अर्ब ९९ करोड कारोबार भएको थियो ।

साताको दोस्रो कारोबारको दिन पनि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको ८९ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो भने नेपाल पुनर्बीमा कम्पनीको साढे ८० करोडभन्दा बढीको सेयर कारोबार भएको थियो । 

तेस्रो कारोबार दिन पनि कारोबार रकम र संख्याको आधारमा हिमालयन रिइस्योरेन्स कम्पनी अगाडि थियो । हिमालयन रिइन्स्योरेन्सको १ अर्ब २ करोड ६२ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री हुँदा नेपाल पुनर्बीमा कम्पनीको ८३ करोडभन्दा बढीको सेयर किनबेच भएको थियो ।

साताको अन्तिम कारोबार दिन बिहीबार पनि हिमालयन रिइन्स्योरेन्सको कारोबार शीर्ष स्थानमा थियो । सो कम्पनीको ९६ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री हुँदा नेपाल पुनर्बीमा कम्पनीको पनि करिब साढे ७६ करोडको सेयर कारोबार भएको थियो ।

सेयर कारोबार र मूल्य दुवैमा वृद्धि

दुई पुनर्बीमा कम्पनीको सेयर कारोबारमा मात्रै नभएर पछिल्लो दुई सातामा सेयर मूल्य पनि वृद्धि भएको छ । दुई साता लगानीकर्ताको आकर्षण पुनर्बीमा कम्पनीमा बढ्नाले कम्पनीको सेयर कारोबार र मूल्यमा वृद्धि भएको देख्न सकिन्छ । पछिल्लो दुई हप्तामा नेप्से परिसूचक पनि १३६.५७ अंकले वृद्धि भएको छ ।

फागुन लागेसँगै सेयर बजार उकालो लागिरहेको छ । माघ मसान्तसँग तुलना गर्दा दुवै पुनर्बीमा कम्पनीको सेयरमूल्य बढेको देखिन्छ । फागुन ४ गते नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९८० रुपैयाँ थियो । फागुन १३ गते बिहीबारसम्म आइपुग्दा यसको मूल्य बढेर १ हजार ३०४ रुपैयाँ कायम भएको छ ।

त्यस्तै हिमालयन रिइन्स्योरेन्सको माघ मसान्तमा प्रतिकित्ता ८४९ रुपैयाँ रहेको सेयर मूल्य फागुन १३ गते प्रतिकित्ता १ हजार २५ रुपैयाँ कायम भएको छ । फागुनमा नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३२४ रुपैयाँले र हिमालयन रिइन्स्योरेन्सको प्रतिकित्ता १७६ रुपैयाँले बढेको छ ।

कम्पनीमाथि लगानीकर्ताको विश्वास बढ्दा आकर्षण

नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स दुई वटै कम्पनीप्रति लगानीकर्ताको विश्वास बढेकाले पनि सेयर मूल्यर कारोबार रकम उच्च भएको बताए ।

उनले नेपालमा दुई वटामात्र पुनर्बीमा कम्पनी सञ्चालन रहेको र दुवै कम्पनीको वित्तीय अवस्था राम्रो रहेकाले यी कम्पनीको सेयरमा पछिल्लो साता लगानीकर्ताको आकर्षण वृद्धि भएको दाबी गरे ।

रौनियारका अनुसार दुवै पुनर्बीमा कम्पनीहरू पुँजी वृद्धि गर्ने तयारीमा रहेकाले पनि आगामी दिनमा आकर्षक बोनस र हकप्रद सेयरमार्फत पुँजी बढाउने भएकाले लगानीकर्ता लोभिएको देखिन्छ ।

पूर्वअध्यक्ष रौनियारले नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य यसअघि पनि २ हजार रुपैयाँ नाघेकाले बढ्दो बजारमा यसअघिको मूल्यसम्म पुग्ने विश्वासले लगानीकर्ता आकर्षित भएको बताए । उनले हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको जानकारी दिए ।

नेपाल पुनर्बीमा कम्पनीले पनि पुँजी पुर्‍याउनुपर्ने बाध्यात्मक अवस्थामा हकप्रद र बोनसलाई नै जोड दिएकाले लगानीकर्ताले विश्वास गर्दा बजारमा सेयर कारोबार रकम समेत बढको रौनियारको बुझाइ छ । उनले दुई वटै कम्पनीको विदेशमा समेत शाखा विस्तार गर्न लागेकाले पनि लगानीकर्ताको आकर्षण बढेको बताए ।

रौनियारले नेपालका सेयर लगानीकर्ताहरू बढी सुरक्षित र आर्थिक रूपमा सबल कम्पनीमा लगानी बढाउन चाहेको देखिएको प्रस्ट पारे । उनले मौद्रिक नीतिको समीक्षाले लगानीकर्तामा उत्साह देखिएकाले पनि दुई कम्पनीमा आकर्षण बढेको उल्लेख गरे ।

मर्जरको सम्भावना नभएका ती कम्पनीहरूले ठुलो मात्रामा हकप्रद ल्याउनुपर्ने अवस्था रहेकाले यी कम्पनीको मूल्य बढेको हुनसक्ने सेयर बजार विश्लेषक देव गुरागाईं बताउँछन् । उनले बिहीबारको वृद्धि मौद्रिक नीतिको सेन्टिमेन्टको प्रभाव भएको प्रस्ट पारे । वास्तविकतामा भने मौद्रिक नीतिले बजार बढ्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ ।

यद्यपि नेपाल राष्ट्र बैंकको आगामी नेतृत्व कस्तो आउँछ भन्ने विषयले बजारलाई कता लैजाने भन्ने संकेत गर्ने गुरागाईंको भनाइ छ । ‘हिजो अलिकति बढे पनि अहिलेसम्म बजारको ट्रेन्ड साइडवेज नै हो, राष्ट्र बैंकमा राम्रो नेतृत्व आयो भने बजार तीन हजारसम्म पुग्नसक्ने देखिन्छ,’ उनले भने ।

सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुल्लेलले पनि पुनर्बीमा कम्पनीको आर्थिक अवस्था राम्रो भएकाले लगानीकर्ताको आकर्षण बढ्दा मूल्यमा वृद्धि भएको बताए । उनका अनुसार लगानीकर्ताको रोजाइमा दुई वटा पुनर्बीमा कम्पनी पछिल्लो सातामा परेकाले पनि कारोबार र मूल्य दुवैमा वृद्धि देखिएको हो । दुई कम्पनीको माग बढी भएकाले पनि मूल्य बढेको भन्दै बजारमा संस्थागत र व्यक्तिगत रूपमा माग बढेको उनको बुझाइ छ ।

अध्यक्ष फुल्लेलले भने, ‘माग बढेको छ । पुनर्बीमा कम्पनीले नेपालमा मात्रै नभएर विदेशमा पनि शाखा खोलेर कारोबार गर्ने वातावरण बनेको र व्यवसाय विस्तारमा सम्भावना बढी भएकाले लगानीकर्ताको आकर्षण बढेको हो ।’ उनले नेपालको पुँजीबजार आगामी दिनमा उकालो लाग्ने क्रममा रहेको बताए ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पुनर्बीमा कम्पनी अन्य कम्पनीको हिसाबले आर्थिक रूपमा सबल कम्पनी भएकाले सुरक्षित लगानीको लागि आकर्षण देखिएको बताइन् । उनले पुनर्बीमा कम्पनी ठुलो पुँजी भएका दुई वटामात्रै कम्पनी रहेको र राम्रो कम्पनीका रूपमा देखिएकाले पनि लगानीकर्ताको आकर्षण देखिएको प्रस्ट पारिन् ।

पुनर्बीमा कम्पनीहरूको विदेशमा समेत शाखा विस्तारसँगै व्यवसाय विस्तारको सम्भावना देखिएकाले लगानीकर्ता बढी प्रतिफल पाउने अपेक्षासहित आकर्षित भएको बुझाइ उनको छ ।

उनले मौद्रिक नीतिमा बैंकको असलकर्जाको प्रोभिजनिङ घटाउने प्रावधानले बैंकको नाफा बढ्ने भएकाले पनि पुँजीबजार वृद्धि हुँदा दुई कम्पनीको मूल्य र कारोबारमा वृद्धि देखिएको उल्लेख गरिन् । उनले नेपालको पुँजीबजार अब उकालो लाग्दै जाने आकलन रहेको बताइन् ।

एक वर्षभित्रै न्यूनतम चुक्तापुँजी २० अर्ब पुर्‍याउनुपर्ने बाध्यता

२०८२ माघ मसान्तसम्ममा पुनर्बीमा क्षेत्रका यी दुई कम्पनीलाई २० अर्ब रुपैयाँका दरले पुँजी कायम गर्नुपर्ने बाध्यता छ । यसअघि यी पुनर्बीमा कम्पनीलाई २०८१ माघ मसान्तसम्ममा तोकिएको पुँजी कायम गर्ने समयसीमा दिइएको थियो ।

उक्त समयभित्र पुँजी पुग्ने नदेखिएकाले नेपाल बीमा प्राधिकरणले १ वर्ष थपेर सहुलियत प्रदान गरेको छ । केही समय अघि नै दुवै कम्पनीले बोनस र हकप्रद सेयरमार्फत पुँजी बढाउने योजना बीमा प्राधिकरणमा पेस गरेका छन् ।

अहिले नेपाल पुनर्बीमा कम्पनीको १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १० अर्ब ४० करोड चुक्तापुँजी छ । उक्त पुँजीलाई दुवै कम्पनीले २० अर्ब पुर्‍याउनु पर्ने बाध्यता छ । २० अर्ब चुक्तापुँजी कायम गर्न नेपाल पुनर्बीमालाई थप ६ अर्ब ५७ करोड ७८ लाख १३ हजार रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सलाई थप ९ अर्ब ६० करोड रुपैयाँ आवश्यक छ ।

हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत अर्थात् ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रदपछि हिमालयनको चुक्तापुँजी १८ अर्ब ७२ करोड रुपैयाँ कायम हुनेछ ।

प्राधिकरणले पुनर्बीमा कम्पनीका लागि तय गरेको न्यूनतम चुक्तापुँजी कायम गर्न हिमालयन रिइन्स्योरेन्सलाई ८० प्रतिशत हकप्रदपछि पनि थप १ अर्ब २८ करोड रुपैयाँ आवश्यक हुने देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप