त्रिदेशीय पर्यटन, नेपाललाई अवसर

काठमाडौं । नेपालमा पहिलोपटक आयोजना भएको त्रिदेशीय पर्यटन एक्स्पो (नेपाल इन्डिया चाइना एक्स्पो) नाइस–२०२५ मा नेपालको प्रवर्द्धन गरिएको छ । छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने र पर्यटन प्रवर्द्धनमा समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा यही फागुन १२ देखि १४ गतेसम्म प्रदर्शनी आयोजना गरिएको थियो ।
‘प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टर’ले नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार सरोकारवालाको सहकार्यमा आयोजना गरेको एक्स्पोमा एक सयभन्दा बढी अन्तरराष्ट्रिय सहभागी र राष्ट्रिय पर्यटन सरोकारवालासहित १४ देशका ६ सयभन्दा बढी प्रतिनिधि सहभागी थिए । प्रदर्शनीले तीन देशका सरकारी र निजी क्षेत्रका पर्यटन तथा आतिथ्य सरोकारवाला संस्थालाई एकै थलोमा ल्याएर उनीहरूबीच व्यावसायिक अनुभवका साथै नेटवर्किङ र व्यापार अवसर उपलब्ध गराएको हो ।
त्रिदेशीय पर्यटन प्रदर्शनी नेपालमा आयोजना हुनु आफैँमा महत्त्वपूर्ण विषय भएको र यसले नेपालको पर्यटनको सम्भावना उजागर गर्न भूमिका खेलेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी बताउँछन् ।
सन् २०१९ मै नेपाल पर्यटन बोर्डले सन् २०२० को नेपाल भ्रमण वर्षलाई लक्षित गरेर नाइस कार्यक्रमको परिकल्पना गरेको थियो । कोरोना महामारीका कारण भ्रमण वर्ष नै स्थगन भएपछि नाइस कार्यक्रम पनि रोकिएको थियो । अहिले पाटा नेपाल, पोखरा पर्यटन परिषद्लगायत सरोकारवाला संस्थासँगको सहकार्यमा सफलतापूर्वक सम्पन्न भएको नाइस कार्यक्रमले भविष्यमा दुई ठूला छिमेकी देशबाट पर्यटकलाई नेपालमा आकर्षण गर्न कार्यक्रम सान्दर्भिक हुने सिइओ जोशीले बताए ।
भारत र चीन पर्यटनको ठूलो स्रोत बजार मानिन्छन् । एक्स्पो सफलतापूर्वक सम्पन्न भएको र यसबाट नेपाल गन्तव्यको प्रवर्द्धनमा टेवा पुगेको आयोजक पाटा नेपाल च्याप्टरले शनिबार विज्ञप्तिमार्फत जनाएको छ । प्रदर्शनीले छिमेकी दुई ठूला राष्ट्र भारत र चीनबाट अधिकतम् पर्यटक भित्र्याउन योगदान गरेको पर्यटन व्यवसायीले बताएका छन् ।
यसअघि एक्स्पोको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नाइस–२०२५ ले नेपाल, भारत र चीनबीचको गहिरो ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई झल्काउने विश्वास व्यक्त गरेका थिए । उनले दुई छिमेकी राष्ट्रबीचको पुलको रूपमा नेपालको रणनीतिक भूमिका र विशाल जनसङ्ख्या तथा तीव्रगतिमा बढ्दो अर्थतन्त्रबाट फाइदा लिन सक्ने सम्भावनाबारे प्रकाश पारे ।
मन्त्री पाण्डेले पूर्वाधार सुधार, नेपालको अन्तरराष्ट्रिय विमानस्थलका चुनौती समाधान, युरोपेली सङ्घ (इयूं) को हवाई सुरक्षा प्रतिबन्धलाई सम्बोधन गर्ने, भिसा प्रक्रियालाई सुव्यवस्थित गर्ने, कनेक्टिभिटी अभिवृद्धि र विश्वस्तरको पर्यटन सेवा सुनिश्चित गरी पर्यटन उद्योगलाई बलियो बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले यस प्रदेशको अथाह पर्यटकीय सम्भावनाको उजागर गर्न र विदेशीलाई आकर्षित गर्न कार्यक्रम उपयोगी भएको बताए । पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाले पनि नाइसले पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताए ।
यस्तै, पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाईले दुई ठूला स्रोत बजार भारत र चीनलाई सदुपयोग गरेर नेपाललाई प्रमुख गन्तव्यका रूपमा स्थापित गरिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा कसको मूल्य कति ?
-
ला लिगा : बार्सा र लेगानेस विजयी, अन्य दुई खेल बराबरी
-
माथिल्लो अरुणको पहुँचमार्ग निर्माण सुरु
-
सगरमाथा संवादको तयारी तीव्र
-
लगानी कोषका योगदानकर्तादेखि कर्मचारीलाई गङ्गालालमा छुट
-
१२ बजे, १२ समाचार : टोखामा सुटर पक्राउ गर्न प्रहरीले गोली चलायोदेखि विप्लवले कालिकोटमा गरे भेडा फार्मको उद्घाटनसम्म