उपल्लो मुस्ताङको माथिल्लो भेगमा हिमपात

मुस्ताङ । उपल्लो मुस्ताङको उच्च भेगमा हिमपात भएको छ । उच्च हिमाली लेकमा हिमपात भए पनि बस्ती क्षेत्रमा भने हिमपात हुन सकेको छैन । उपल्लो मुस्ताङमा यो मौसमको पहिलो हिमपात परेको स्थानीय बताउँछन् । चराङबाट माथि उत्तरी कोरला नाकासम्मको उच्च लेकमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । उच्च लेकमा हिमपात भएसँगै यहाँका डाँडाकाँडा सेताम्मे हुन थालेका उनले बताए ।
‘बिहानैदेखि मौसम प्रतिकूल भएकाले हिउँ पर्ने सम्भावना थियो”, प्रमुख पौडेलले भने, ‘बस्तीमाथिको लेकमा हिउँ परे पनि बस्ती क्षेत्रमा भने हिउँ परेको छैन, आंशिक वर्षा भने भएको छ ।’ उनका अनुसार उच्च लेक र खर्कमा हिमपात भएसँगै बस्ती आसपासका डाँडाकाँडा मनमोहक र सुन्दर देखिएका छन् ।
यसैगरी मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मुक्तिनाथ क्षेत्रमा पनि सामान्य हिमपात भएको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए । उनले शनिबार बिहानदेखि सामान्य हिमापात भए पनि तापक्रम बढेकाले हिउँ जमिनमा जम्न नसकेको बताए । उनका अनुसार मुक्तिनाथमा फागुनको पहिलो साता पनि आंशिक हिमपात भएको थियो ।
मुक्तिनाथ क्षेत्र र उपल्लो मुस्ताङका उच्च लेकमा आंशिक हिमपात भए पनि तल्लो मुस्ताङमा हिमपात हुन सकेको छैन । हिउँ पर्ने सम्भावना रहेको बताउँदै उत्तरी क्षेत्रमा आएको हुरीबतासले हिउँ पर्न नसकेको जोमसोमका स्थानीय अजित थकालीले बताए । मुस्ताङको मौसम प्रतिकूलतासँगै अत्यधिक चिसो बढेको छ । हिउँ परेमा न्यानो महसुस हुने भन्दै हिउँ नपर्दा चिसो बढेकाले जनजीवन थप प्रभावित बनेको उनको भनाइ छ ।
हिउँदयामको अनुकूल समयमा परेको हिउँ किसानका लागि बरदान सावित भन्दै अहिले बेमौसमे हिउँले किसानलाई क्षति पुर्याउने स्थानीय थकालीले उल्लेख गरे । पछिल्लो समय जलवायु परिवर्तनको असरले मुस्ताङमा भारी हिमपात हुन सकेको छैन । जलवायु परिवर्तनको असरका कारण कुनै वर्ष भारी हिउँ पर्ने, कुनै वर्ष आंशिक र कुनै वर्ष हिउँ नै नपर्ने गरेको स्थानीय बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो अरुणको पहुँचमार्ग निर्माण सुरु
-
सगरमाथा संवादको तयारी तीव्र
-
लगानी कोषका योगदानकर्तादेखि कर्मचारीलाई गङ्गालालमा छुट
-
१२ बजे, १२ समाचार : टोखामा सुटर पक्राउ गर्न प्रहरीले गोली चलायोदेखि विप्लवले कालिकोटमा गरे भेडा फार्मको उद्घाटनसम्म
-
रियल सोसिडाडलाई हराउँदै शीर्ष स्थानमा बार्सिलोनाको पुनरागमन
-
मादी गाउँपालिका स्थापना दिवसमा खुला भलिबल प्रतियोगिता