सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : हाकिमको विषयलाई लिएर बालेन-सुनिता टकरावदेखि दल विभाजनसम्बन्धी विधेयक ल्याउने सरकारको तयारीसम्म

आइतबार, १८ फागुन २०८१, ०० : १०
आइतबार, १८ फागुन २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 
१. ह्वाइट हाउसमा चर्काचर्की
शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबिच भएको भेट चर्को बहसमा परिणत भयो। ट्रम्पले जेलेन्स्कीले शान्ति नचाहेको र यदि उनी सहमत भएनन् भने अमेरिका यो युद्धबाट बाहिरिने स्पष्ट गरे । ट्रम्पले युक्रेनले रुससँगको युद्ध जित्न नसक्ने दाबी पनि गरे। 

२. नेपाल बार निर्वाचन
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि आगामी चैत २३ गते निर्वाचन मिति तय भइसकेको छ । निर्वाचनका लागि ११ हजार ७ सय ७२ जनाको प्रारम्भिक नामावलीसमेत सार्वजनिक भइसकेको छ । फागुन १८ गतेसम्म दाबी–विरोधको समय तोकिएकोमा २० गते अन्तिम नामावली सार्वजनिक हुनेछ भने फागुन २२ गते उम्मेदवारी दरखास्त आह्वान गरिएको छ ।

३. बालेनको विरोध
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको विषयमा उपप्रमुख सुनिता डंगोलले प्रमुख बालेन साहको विरोध गरेकी छन् । महानगरको प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको विषयलाई लिएर उपप्रमुख  डंगोलले प्रमुख साहप्रति असन्तुष्टि जनाएकी हुन् ।   

४. राजनीतिक दल विभाजन
सरकारले राजनीतिक दल विभाजनसम्बन्धी विधेयक ल्याउने तयारी गरेको छ । शुक्रबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राजनीतिक दल विभाजनसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको बताएपछि यतिबेला राजनीतिक वृत्तमा तरंग पैदा भएको हो । 

 

५. नेमकिपाको महाधिवेशन 
नेपाल मजदुर किसान पार्टीको महाधिवेशन जारी रहेको छ । शनिबार अध्यक्ष नारायणमान बिजुक्छेंले राजनीतिक प्रशिक्षण दिएका छन् । सो क्रममा उनले आफ्ना लागि नभई देश र समाजका लागि बाँच्ने भावना बोकेर अगाडि बढ्न नेमकिपाका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । 

६. भूमीसम्बन्धी अध्यादेश
६ वटा अध्यादेश पास गराउन फागुन २१ गते सरकारले जोडदार तयारीका साथ संसद‍्मा पेस गर्दै छ । त्यसका लागि सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले मधेस केन्द्रित दललाई प्रयास गरिरहेका छन् । 

७. हास्यव्यङ्ग्य बहस
गायक कुमा सागरलाई गिज्याएको आरोपमा चारजना (कमेडियन)  सजन श्रेष्ठ र उत्सव सापकोटा, पडकास्टर सुशान्त प्रधान र गायक सुजन जिम्बा) विरुद्ध यही फागुन ५ गते काठमाडौँ प्रहरी परिसरमा उजुरी परेको छ । आफूहरूको भाषा, लबज र संस्कृतिमाथि आँच पुर्‍याएको भन्दै नेवार समुदायका १५ व्यक्तिले उजुरी दिएका छन् ।

८. माओवादी अभियान
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियानमा व्यस्त छ । झापाको कचनकवलबाट फागुन १२ गतेदेखि सुरु भएको अभियान यतिबेला मधेस प्रदेशमा प्रवेश गरेको छ ।

९. रिंकु सदा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

१०. सीले अघि सारेका विचारबारे छलफल
काठमाडौँमा चिनियाँ राष्ट्रपति सी जिन पिङको विचारसँग जोडिएको ‘भौतिक र संस्कृति नैतिक उन्नति, संस्कृतिमा सी जिन पिङको विचार’ विषयक राष्ट्रिय कार्यशाला आयोजना गरिएको छ । शनिवार आयोजित सो कार्यशालामा चिनियाँ राष्ट्रपति सीले अघि सारेका सांस्कृतिक सुधार र प्रगतिसँग जोडिएका विचारबारे बहस भएको हो । 

११. बैतडीमा गोली चल्यो, २२ वर्षीय युवक घाइते
बैतडीको दोगडाकेदार गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका छन् । शनिबार राति ८ बजे कालागाउँ चौसिला भन्ने ठाउँमा गोली चल्दा २२ वर्षीय सुरेन्द्र विष्ट घाइते भएको प्रहरीले जनाएको छ । 

१२. फोटोफिचर
सामाखुसीमा जम्मा भएर आएका पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरू दरबारमार्ग पुगेका छन् । उनीहरुले नारायणहिटीमा श्रीमान् गम्भीर नेपाली गाएका थिए ।

विद्यालय शिक्षाको गुणस्तर सुधार्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि शैक्षिक मेला आयोजना गरेको छ । राष्ट्रिय सभा गृहमा शुक्रबारदेखि सुरु भएको मेला शनिबारसम्म सञ्चालन हुने महानगरपालिकाले जनाएको छ । 

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको ४ किलोमिटर सडक यात्रा गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । घाम लाग्दा धुलाम्मे हुने र पानी पर्दा हिलाम्मे हुने यो सडकको विशेषता नै बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?