आइतबार, १८ फागुन २०८१
ताजा लोकप्रिय

नेमकिपाको महाधिवेशन :  बिजुक्छेंको राजनीतिक प्रशिक्षण, १९ गते नयाँ नेतृत्व चयन

शनिबार, १७ फागुन २०८१, २३ : ०७
शनिबार, १७ फागुन २०८१

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको महाधिवेशन जारी रहेको छ । शनिबार अध्यक्ष नारायणमान बिजुक्छेंले राजनीतिक प्रशिक्षण दिएका छन् ।
 सो क्रममा उनले आफ्ना लागि नभई देश र समाजका लागि बाँच्ने भावना बोकेर अगाडि बढ्न नेमकिपाका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । 

भक्तपुरमा जारी बन्द सत्रमा उनले सच्चा कम्युनिष्टले आफ्ना र आफ्ना छोराछारीका लागि नभई देशको आमूल परिवर्तनका लागि सोच्नुपर्ने बताए । “कम्युनिष्टमा त्याग र समर्पणको भावना हुनुपर्छ, आफ्ना छोराछोरीका लागि नभई सिङ्गो देश र समाजका लागि सोच्नुपर्छ । वर्गविहीन समाजको स्थापनामा लाग्नुपर्छ । उत्पादनका सामानलाई सामाजिकीकरण र समाजका लागि बाँच्ने मुख्य भावना हुनुपर्छ । सांस्कृतिकस्तर उठाउने, समाजवादको स्थापना अन्तिम लक्ष्य हुनुपर्छ । तपाईंहरु यहीँ बाटोमा हिँड्नुपर्छ”, अध्यक्ष बिजुक्छेंले भने । 

उनले गलत काम गर्ने व्यक्ति पार्टीमा हुन नहुने भन्दै देश र जनतालाई आघात पुग्ने गरी कसैले गलत काम गर्छ भने पार्टीले तत्काल कारबाही गर्ने बताए । 

बन्दसत्रमा अध्यक्ष बिजुक्छेंको प्रशिक्षण सकिएपछि जिल्ला, प्रदेश र केन्द्रीय नेता तथा जनवर्गीय सङ्गठन प्रमुखहरूले प्रतिवेदन पेस गरेको पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंले जानकारी दिए । नेमकिपाको महाधिवेशन बिहीबारदेखि सुरु भएको थियो । 

उद्घाटसत्र पछिको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि बृहत् छलफल भएको जानकारी दिँदै उनले महाधिवेशनको तेस्रो दिन भोलि पनि प्रस्तुत प्रतिवेदनमाथि छलफल हुने बताए । 
यसैगरी पार्टीका सचिव प्रेम सुवालले पनि प्रतिवेदन पेस गर्ने र उक्त प्रतिवेदनमाथि बृहत् छलफल हुनेछ ।  प्रस्तुत सबै प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्ययोजना र नीति तथा कार्यक्रम तयार गर्ने गोसाईंले जानकारी दिए । 

फागुन १९ गतेसम्म सञ्चालन हुने पार्टीको आठौँ महाधिवेशनमा सहभागी ५० जिल्लाबाट आएका करिब तीन सय महाधिवेशन प्रतिनिधिले १९ गते पार्टीको नयाँ नेतृत्व चयन गर्ने उनले बताए । 

अध्यक्ष बिजुक्छेको नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवा भएको राससको समाचारमा उल्लेख छ । यसअघिको सातौँ महाधविशेनले बिजुक्छेंको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको  थियो । अब को नेतृत्वमा आउने भन्नेबारे नेमकिपाले खुलाएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?