आइतबार, १८ फागुन २०८१
ताजा लोकप्रिय
अधिवेशन

एमाले मोरङको अधिवेशनमा आएनन् ओली र पोखरेल, बादलले गरे उद्घाटन

अध्यक्षका लागि संस्थापन र अर्को पक्षबीच प्रतिस्पर्धा हुने निश्चित

शनिबार, १७ फागुन २०८१, २१ : १४
शनिबार, १७ फागुन २०८१

विराटनगर । अक्सर आफ्नो पार्टीको अधिवेशन तथा कार्यक्रमहरू नछुटाउने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल शनिबार उद्घाटन भएको मोरङको दशौं अधिवेशनमा अनुपस्थित रहे । 

अध्यक्ष ओली आउने भनेर प्रचारित उक्त अधिवेशनको उद्घाटन भने उपाध्यक्ष रामबहादुर थापा (बादल)ले गरे । पूर्वमाओवादी नेतासमेत रहेका बादलले अधिवेशन उद्घाटन गर्दा एमाले मोरङमा खासै रौनक देखिएन । तर, अधिवेशन उद्घाटन भएसँगै नयाँ नेतृत्वको विषयले प्रवेश पाएको छ ।

तत्कालीन पार्टीको नेतृत्व तहमा माधवकुमार नेपाल रहँदा पनि ओलीलाई काँध थापेको जिल्ला हो मोरङ । त्यसवेला देशका सबै जिल्लाको अध्यक्षमा संस्थापन पक्ष हाबी रहँदा मोरङमा भने ओली पक्ष हाबी भएको थियो । तर, अहिले ओली पक्ष (संस्थापन) मोरङमा कमजोर देखिएको कारण उनी अधिवेशन उद्घाटनमा नआएको चर्चा छ । 

केही समय अगाडि एमालेको राजनीतिमा आउने चर्चा गरिएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एक हप्ता लामो मोरङ बसेर फर्किएकी थिइन् । त्यसवेलै भण्डारीले नेता विनोद ढकाल पक्षलाई मोरङको नेतृत्वमा ल्याउन लबिङ गरेको चर्चा छ । तर ढकाललाई हाल एमाले अध्यक्ष ओलीले जिम्मेवारीविहीन बनाउँदै लगेका छन् । उनी पक्षलाई कमजोर बनाउन संस्थापन पक्षले विराटनगर महानगरका तत्कालीन अध्यक्ष सागर थापालगायतको टिमलाई मानगढ खानेपानीको निर्वाचनको निहुँमा कारबाही गरेको थियो । त्यसपछि ढकाल पक्षले संस्थापन पक्षलाई निरन्तर चुनौती खडा गर्दै आएको छ । 

जिल्ला अधिवेशनमा पनि ढकाल पक्षले नेता अजम्बर राईलाई अध्यक्षमा अगाडि सारेको छ । उपाध्यक्षमा सागर थापा र सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाको चर्चा छ । सो पक्षलाई जिताउन ढकाल पक्षका नेताहरू जोडतोडले लागेका छन् । संस्थापन पक्षले भने नेता राजकुमार ओझाको नेतृत्वमा उपाध्यक्षमा शान्ति लिम्बू र सचिवमा रविन थापालाई अघि सार्ने चर्चा छ । संस्थापन पक्षबाट भने पार्टी उपाध्यक्ष गुरु बराल, नेता भानुभक्त ढकाल, केन्द्रीय सदस्य इन्चार्ज जीवन घिमिरे, लेखा समिति सभापति ऋषिकेश पोखरेल, प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतले लबिङ गरिरहेका छन् । विपक्षमा भने विनोद ढकाल तथा केन्द्रीय सदस्यहरू रामलाल साह, यज्ञराज बाँस्कोटा, नैनकला ओझालगायत छन् । 

संस्थापन पक्षले बाबुराम कार्कीको स्वभावजन्य कारणले उनलाई ब्याक गरेको चर्चा छ । यद्यपि संस्थापन पक्षकै प्रदेश इन्चार्ज शेरधन राईले ओझालाई नरुचाएको चर्चा छ । कार्कीलाई उम्मेद्वार बनाउन मोरङ इन्चार्ज जीवन घिमिरे, उपाध्यक्ष गुरु बराल, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलहरूले चाहे पनि भानुभक्त ढकालको जोडबलमा ओझालाई अगाडि सार्ने एमाले स्रोत दाबी गर्छ । बाबुराम कार्कीको कमजोर अवस्था रहेको सो पक्षको विश्लेषण छ ।

तुलनात्मक रूपमा युवा मतदाताको सेन्टिमेन्ट क्यास गर्न सकिने र १० बुँदे पक्षधरको मतलाई एक ठाउँमा संगठित गर्न सक्ने आधार देखाएर ओझालाई उम्मेद्वार बनाउन लागिएको चर्चा छ । तर, यो दुई वटै सम्भावना नरहेको इतरपक्षको दाबी छ । किनकि, १० बुँदे पक्षधर जिल्लाका शीर्ष नेताहरू ज्ञानेन्द्र सुवेदी, किशोर राईलगायत ओझाको विपक्षमा छन् । 

स्वभावले इमानदार अजम्बर राई भने पूर्व दुलारी गाविसका अध्यक्ष हुन् । यस्तै तत्कालीन जिल्ला विकास समितिका सदस्य र हालका जिल्ला समन्वय समितिका प्रमुख हुन् । पूर्व शिक्षकसमेत रहेका राईको सरल रहेकै कारण उनीप्रति सहानुभूति राख्ने मतदाताको संख्या उल्लेख्य रहेको सो पक्षको दाबी छ । 

स्थानीयस्तरमा ढकाल पक्ष हाबी

सबैभन्दा धेरै प्रतिनिधि रहेको विराटनगरमा ढकाल पक्षको अत्यधिक बहुमत रहेको चर्चा छ । विराटनगरमा भएका १ सय २६ प्रतिनिधिमध्ये ८० प्रतिशत आफ्नो पक्षमा रहेको संस्थापन विपक्षको दाबी छ । 

कानेपोखरी गाउँपालिकामा ५१ जना प्रतिनिधि छन् । जसमध्ये लगभग ४० जना भन्दा बढी प्रतिनिधिले संस्थापनको विपक्षमा रहेको दाबी छ । सो पालिकामा स्थापित नेता प्रदेश सदस्य तारा बहादुर काफ्ले, उपाध्यक्ष भोला अधिकारी लगायतले संस्थापन इतरपक्षको लबिङ गरिरहँदा संस्थापन पक्षबाट भने भर्खरै सुकुमबासी समस्या समाधान आयोगको जिल्ला अध्यक्ष रहेका नविन पौडेलले नेतृत्व गरिरहेका छन् ।

पालिका अध्यक्ष राजमती इङ्नाम, पार्टी अध्यक्ष सुशील बुढाथोकी र नेता चरण गुरुङ स्पष्ट खुलिसकेका छैनन् । तर, ढकाल पक्षले उनीहरूलाई खुल्न दबाब दिइरहेको छ । 
रतुवामाईमा ४१ जना प्रतिनिधि रहेका छन् । जसमध्ये ३० जनाबढी प्रतिनिधिले संस्थापनको विपक्षमा रहेको बताइन्छ । रतुवामाईमा राईको पक्षमा लबिङका लागि पूर्वजिल्ला सदस्य गोपी चापागाईं, जिल्ला सदस्य दुर्गा विष्टले कमान्ड गर्नेछन् । विष्ट यसअघिको पालिका प्रमुखको उम्मेद्वारसमेत थिए । अर्को पक्षको कमान्ड उक्त पालिकामा सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका ऋषिकेश पोखरेलदेखि मेघराज कट्टेलसम्म देखिएका छन् । रतुवामाईमा संस्थापन पक्षले वडा नम्बर ९ र ६ मा बहुमत प्रतिनिधि ल्याउन सफल भए पनि अन्य वडामा न्यून प्रतिनिधि रहेको बताइन्छ ।

उता, केराबारी गाउँपालिकामा २७ जना प्रतिनिधि छन् । उक्त पालिकामा संस्थापन पक्षबाट मोरङको उपाध्यक्ष शान्ति लिम्बूले कमान्ड गरिरहँदा विपक्षमा भने प्रदेश सांसद खड्ग बस्नेत, पालिका अध्यक्ष सुमन मिरिङचिङले चुनौती दिएका छन् । स्रोतका अनुसार २७ जनामा तीन जना प्रतिनिधि मात्रै ओझाको पक्षमा खुलेको बताइन्छ । प्रदेश सदस्य डिल्ली अधिकारी भने दुवै पक्षमा नखुलेको बताइन्छ । 

उता, सुनवर्षी नगरपालिकामा २५ प्रतिनिधि छन् । जसमध्ये बहुमत प्रतिनिधि संस्थापनको पक्षमा रहेको बताइन्छ । बढी प्रतिनिधि रहेका १ नम्बर वडामा संस्थापन पक्षको शून्य रहे पनि २ र ३ नम्बर वडामा आधा–आधा प्रतिनिधि रहेको बताइन्छ । यो पालिकामा प्रदेश सांसद लिलाबल्लभ अधिकारी, जिल्ला सदस्य हेमेश्वर राई, पालिका उपप्रमुख मिरा दासलगायतले इतर पक्षलाई समर्थन गरेका छन् । पालिका प्रमुख श्यामप्रसाद राजवंशी भने संस्थापन पक्षमा लागेका छन् । उक्त पालिकाको केही वडा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको प्रभाव क्षेत्र पनि मानिन्छ । 

यस्तै प्रतिनिधि संख्या ५२ जना रहेको बेलबारी नगरपालिकामा प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी र पालिका प्रमुख डिपी राईले संस्थापन इतर पक्षलाई समर्थन गर्ने भएका छन् । सुवेदी र राई स्थानीयस्तरमा केही बेमेल रहेको देखिए पनि जिल्ला अध्यक्षमा अजम्बर राई बनाउनुपर्छ भन्नेमा दुवै पक्ष खुलेर लागेका छन् । संस्थापन पक्षबाट भने उक्त पालिकामा हालका जिल्ला सचिव रविन थापा, नेतृ शान्ति तामाङलगायत खटिरहेका छन् ।

अध्यक्षका प्रत्याशी रहेका इरान राई भने कुन पक्षमा लाग्छन् भन्न सक्ने अवस्था नरहेको एमाले प्रतिनिधिहरू नै बताउँछन् । उनलाई संस्थापन पक्षले नै प्रतिनिधिमा आउनबाट रोकेको कारण इतर पक्षलाई सहयोग गर्ने सो पक्षको आशा छ । 

यस्तै ४३ जना प्रतिनिधि रहेको उर्लाबारी नगरपालिकामा दुवै पक्षले दाबी गरेका छन् । यद्यपि त्यहाँ बराबरी हुने सम्भावना रहेको एमाले स्रोत बताउँछ । त्यहाँ संस्थापन पक्षका प्रदेश सांसद उमाकान्त गौतम, अनेमसंघकी नेतृ भीष्म रेग्मीलगायतले ओझाको पक्षमा लबिङ गर्ने देखिन्छ । संस्थापन इतर पक्षबाट भने पालिकाका एमाले जिल्ला सदस्य गंगा बाँस्तोला, अग्नि भट्टराईलगायत खटिएका छन् । पालिकाका प्रमुख गंगा खरेल भने अहिलेसम्म कुनै पक्षमा नखुलेको बताइन्छ । 

उता लेटाङमा भने संस्थापन पक्ष बलियो रहेको बताइन्छ । ३४ जना प्रतिनिधि रहेको उक्त पालिकामा संस्थापन पक्षबाट प्रदेश अध्यक्ष घनश्याम खतिवडाले कमान्ड गरिरहेका छन् भने इतर पक्षबाट पालिका प्रमुख भुपेन्द्र लावती लागिरहेका छन् । उपप्रमुख कृष्णकुमारी पोखरेल निरौलालाई संस्थापन पक्षले नै प्रतिनिधि आउन रोकेको कारण उनी पनि इतर पक्षमा लाग्ने देखिन्छ ।

यस्तै १६ जना प्रतिनिधि रहेको ग्रामथानमा इतर पक्ष बलियो रहेको सो पक्षको दाबी छ । यहाँ प्रदेश सांसद जयप्रकाश चौधरी, ललिता कुमारी चौधरी, उपाध्यक्ष गुणावती धामी, जिल्ला सदस्य कुमार आचार्य, प्रयाग न्यौपानेलगायत नेताहरू संस्थापनको विपक्षमा छन् । संस्थापन पक्षबाट भने ग्रामथानमा प्रदेश सदस्य नरेन्द्र बस्नेत खटिए पनि उनको प्रभाव न्यून रहेको बताइन्छ । १० जना प्रतिनिधि रहेको कटहरीमा शतप्रतिशत प्रतिनिधि संस्थापन इतर पक्षको रहेको दाबी छ । कटहरीमा संस्थापन इतर पक्षबाट मुकेश बुढाथोकीले कमान्ड गरिरहेका छन् । 

यस्तै ५४ सदस्य रहेको पथरीशनिश्चरे नगरपालिकामा पनि संस्थापन इतर पक्षको बहुमत रहेको दाबी छ । उक्त पालिकामा इतर पक्षबाट केन्द्रीय सदस्य यज्ञराज बाँस्कोटा, प्रदेश सदस्यहरू नेता किशोर राई, देवराज तिम्सिना, पार्थबहादुर बुढाथोकी, भगत थपलियालगायत नेताहरू खुलेका छन् । संस्थापन पक्षमा भने उक्त पालिकामा प्रदेश सदस्य यमुना बाँस्तोलाले कमान्ड गरिरहेको बताइन्छ । 

यस्तै २३ जना प्रतिनिधि रहेको बुढीगंगा गाउँपालिकामा पनि संस्थापन इतर पक्षको शतप्रतिशत मत रहेको दाबी गरेको छ । उक्त पालिकामा प्रदेश सदस्यसमेत रहेका नेता सत्यनारायण चौधरी, नेतृ रिता न्यौपाने पनि संस्थापन पक्षबाट असन्तुष्ट रहेको बताइन्छ । संस्थापन पक्षको भने उक्त पालिकामा सशक्त नेता देखिएका छैनन् ।

यस्तै ४६ जना प्रतिनिधि रहेको रंगेली नगरपालिकामा भने पालिका प्रमुख दिलिप बगडियाको भूमिकालाई मुख्य मानिएको छ । बगडियालाई पार्टीमा भित्र्याउन पहल गरेको जस ऋषिकेश पोखरेलले लिन चाहने र आफ्नो पक्षमा आए भविष्यमा नेता बनाउन संस्थापन इतर पक्षको प्रलोभनले उनी अनिर्णित अवस्थामा छन् । दुवै पक्षमा उनले आफ्नो सहयोग रहने बताए पनि कसलाई सहयोग गर्ने भन्ने विषयमा निकटस्थहरूसँग पनि नखुलेको बताइन्छ । उक्त पालिकामा इतर पक्षबाट जिल्ला सदस्य उषा झा, दिनेश ठाकुर, मनोज अग्रवाल खुलेर लागेका छन् । झा इतर पक्षबाट उपसचिवको उम्मेद्वारको रुपमा चर्चामा छन् । 

९६ जना प्रतिनिधि रहेको सुन्दरहरैंचा नगरपालिकामा ६० प्रतिशत बढी प्रतिनिधि संस्थापन इतर पक्षको रहेको बताइन्छ । दुवै पक्षबाट अध्यक्षका उम्मेद्वार बनेका राजकुमार ओझा र अजम्बर राई यही पालिकाका मतदाता हुन् । दुवैले आफ्नो पक्षमा भोटलाई कायम राख्न निक्कै मेहनत गरिरहेको बताइन्छ । यहाँ इतर पक्षबाट पालिका प्रमुख केदार गुरागाईं, युवा नेता सन्तोष वान्तवा, अर्जुन अधिकारी, शिक्षक नेता पितकुमार श्रेष्ठलगायत छन् । संस्थापन पक्षमा भने ओझालाई संघीय निर्वाचनमा पराजित नेता भानुभक्त ढकाल तथा एमाले उपाध्यक्ष गुरु बरालले साथ दिएका छन् । 

यस्तै २६ जना प्रतिनिधि रहेको मिक्लाजुङ गाउँपालिकामा दुवै पक्षले आ–आफ्नो बहुमत रहेको दाबी गरेको छ । उक्त पालिकामा पूर्व पालिका अध्यक्ष देवीप्रसाद आचार्य संस्थापन इतर पक्षमा लाग्दा नरेन्द्रप्रसाद ढुंगेल तटस्थ देखिएका छन् । 

जहदामा र धनपाल थान गाउँपालिकामा पनि बहुमत पक्ष संस्थापन इतरमा रहेको दाबी छ । जहदामा १० जना प्रतिनिधि छन् भने धनपालथानमा १२ जना रहेका छन् । ती दुवै पालिकामा केन्द्रीय सदस्य रामलाल साहले विपक्षीको तर्फबाट कमान्ड गरिरहेको बताइन्छ । 

उता, मजदुरबाट चयन भएका ११ जना प्रतिनिधिहरू शतप्रतिशत संस्थापन इतर पक्षमा छन् । यस्तै बुद्धिजीवीबाट ३ र प्रेस चौतारीबाट आएका ३ जना नै संस्थापन इतर पक्षको रहेको स्रोतको दाबी छ । जनवर्गीय संगठनबाट आएका दलित प्रतिनिधिहरूमा भने संस्थापन पक्षकै बहुमत रहेको बताइन्छ । यस्तै १७ वटै पालिकाबाट आएका थप ५१ जना दलित प्रतिनिधि र जिल्ला कमिटीले मनोनित गरेको ४६ प्रतिनिधिमा पनि संस्थापन पक्षको बहुमत छ । विद्यार्थी र युवाबाट आएका १० जना प्रतिनिधि संस्थापन पक्षमा छन् भने अखिल नेपाल महिला संघबाट आएका ५ जना प्रतिनिधि नै संस्थापनको विपक्षमा रहेको चर्चा छ । 

तर, कुराकानीका क्रममा गरिएको तथ्यलाई आधार मान्ने हो भने दुवै पक्ष आफ्नो पक्षको बहुमत हुने दाबी गर्छ । संस्थापन पक्षले मोरङको भूगोलबाट आउने ६ सय ७६ प्रतिनिधि र जनवर्गीय संगठनहरूबाट आउने १ सय ८८ जना प्रतिनिधिमध्ये ६६ प्रतिशत आफ्नो पक्षको रहेको दाबी गरेको छ ।

इतर पक्षले भने ५९ प्रतिशत प्रतिनिधि आफ्नो पक्षको रहेको दाबी गरेको छ । नेकपा एमाले मोरङको अधिवेशनमा ९ सय १४ जना प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप

छुटाउनुभयो कि ?