आइतबार, १८ फागुन २०८१
ताजा लोकप्रिय
अध्यादेश

‘अध्यादेश पास गराउन सत्तारुढ दल सांसद खरिदतिर लागे’

शनिबार, १७ फागुन २०८१, २१ : ००
शनिबार, १७ फागुन २०८१

काठमाडौँ । ६ वटा अध्यादेश पास गराउन फागुन २१ गते सरकारले जोडदार तयारीका साथ संसद‍्मा पेस गर्दै छ । 

त्यसका लागि सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले मधेस केन्द्रित दललाई प्रयास गरिरहेका छन् । 

हिजो बसेको कांग्रेस–एमाले गठबन्धनको बैठकले अध्यादेशमा सहमति जुटाउन उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग नेपालसँग कुराकानी गर्दैछ । 

तर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने अध्यादेश पास गराउन सत्ताधारी दलहरू सांसद खरिद–बिक्रीमा लागेको आरोप लगाएका छन् । 

अध्यादेशबारेमा आयोजना गरिएको बृहत् अन्तर्क्रियामा अध्यक्ष यादवले भूमिसम्बन्धी अध्यादेश खारेजीको माग पनि गरे । 

उनले भूमिसम्बन्धी अध्यादेश आत्मघाती भएको र पास गराउन सत्ताधारी दल लागि परेका बताए । ‘बिचौलियाहरू सांसद खरिद–बिक्रीमा लागेका छन्, अध्यादेश पारित भयो भने आन्दोलनमा जान्छौँ,’ उनले भने । 

राष्ट्रिय सभामा तीन सांसद रहेको जसपा नेपाल अध्यादेश पास गराउन निर्णायक छ । २९ सांसद पुगिसकेको सरकारलाई अध्यादेश पास गराउन मात्र एक सांसद आवश्यक छ । यस्तोमा सांसद खरिद–बिक्री हुने जसपा नेपालले आशंका गरेको हो । 

एक जना सांसद जसरी पनि जोहो गर्ने कसरतमा कांग्रेस–एमालेका नेताहरू लागिपरेका छन् । त्यसका लागि सांसदहरूलाई विभिन्न प्रलोभन दिन लागिएको भन्दै यादवले यस्तो अभिव्यक्ति दिएका हुन् । 

जसपा नेपालबाट राष्ट्रियसभा सदस्य मृगेन्द्रकु्मार सिंह यादवले सत्ताधारी दल अध्यादेश पास गराउन जुनसुकै हदसम्म जानसक्ने अवस्था देखिएको बताए । भने, ‘हाम्रो पार्टीका अध्यक्ष उपेन्द्रजीले केही संकेत पाएर नै यस्तो कुरा बाहिर ल्याउनुभएको होला, मकहाँ त्यस्तो अफर वा दबाब अहिलेसम्म आइपुगेको छैन ।’ तर एकीकृत नेकपा समाजवादी र आफ्नो पार्टीका केही सांसदलाई भने सत्तारुढ दलले खरिद गर्ने प्रयास गरिरहेको उनले खुलाए । 

अध्यक्ष यादवले भूमिसम्बन्धी अध्यादेश फिर्ता नलिए अन्य पाँच वटा अध्यादेशमा पनि सहयोग नगर्ने बताइसकेका छन् । 

उता लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पनि भूमिसम्बन्धी अध्यादेशमा रहेका त्रुटि सच्याए मात्र पास गराउन सहयोग गर्ने बताइरहेका छन् । पार्टीका महासचिव डा.सुरेन्द्रकुमार झाले सत्ता गठबन्धन बैठकले नै कार्यदल बनाएर अध्यादेशमा देखिएको त्रुटि अध्ययन गरी सच्याउने भनेकाले आफूलाई विश्वास लागेको बताए । त्रुटि नसच्याई पास गराए आफ्नो पार्टीले केही निर्णय गर्ने उनको भनाइ थियो । 

अध्यक्ष यादवले सांसद खरिद–बिक्रीको कुरा उठाउनु गम्भीर भएकाले छानबिनको माग पनि गरे । अध्यादेश पास गराउन कांग्रेस–एमाले नै यो हदसम्म जान्छन् जस्तो आफूलाई नलागेको पनि उनको भनाइ थियो । 

कांग्रेस नेता चिनकाजी श्रेष्ठले भने एउटा अध्यादेश पास गराउन कांग्रेस–एमाले त्यो हदसम्म जान्छ भन्ने नलागेको बताए । ‘अध्यादेश सहमतिमै पास गराउने हो, त्यसका लागि दलका नेताहरूले छलफल गरिरहेका छन्,’ उनले भने, ‘सहमति भएन भने केही बिग्रिँदैन त्यसका लागि प्रयासहरू जारी राख्नुपर्छ, केही सुधार गर्नुप¥यो भने त्यसका लागि पनि तयार हुनुपर्छ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?