मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय
हास्यव्यङ्ग्य बहस

हाँसोको सिद्धान्त : किन हाँस्छ मान्छे ?

शनिबार, १७ फागुन २०८१, २० : ००
शनिबार, १७ फागुन २०८१

गायक कुमा सागरलाई गिज्याएको आरोपमा चारजना (कमेडियन : सजन श्रेष्ठ र उत्सव सापकोटा, पडकास्टर सुशान्त प्रधान र गायक सुजन जिम्बा)विरुद्ध यही फागुन ५ गते काठमाडौँ प्रहरी परिसरमा उजुरी परेको छ । आफूहरूको भाषा, लबज र संस्कृतिमाथि आँच पुर्‍याएको भन्दै नेवार समुदायका १५ व्यक्तिले उजुरी दिएका छन् । 

भर्खरै फिल्म ‘लाज शरणम्’को प्रचारलाई लिएर उच्च अदालत पाटनमा उजुरी परेको थियो । उक्त फिल्मको पोस्टर र टिजरमा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ आफ्नो जस्तै हुलिया र हावभावमा प्रस्तुत भएको भन्दै नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमले माघ २४ गते उच्च अदालतमा निवेदन दिएका थिए । जन्मकैदको सजाय भुक्तान गरिरहेका आलमको उजुरीपछि उच्च अदालतले उक्त फिल्मको प्रचारमा रोक लगायो । 

यसअघि ‘स्ट्यान्ड–अप कमेडी’ गर्ने क्रममा नेवारी लबज र नेवार समुदायलाई व्यङ्ग्य गरेको भन्दै कमेडियन अपूर्व क्षितिजविरुद्ध उजुरी परेको थियो । उनलाई प्रहरीले सुरुमा २०७९ भदौ दोस्रो साता पक्राउ गरेर दुई लाख धरौटीमा छाडेको थियो । उनी जिल्ला अदालत काठमाडौँबाट २०८० मंसिर १० गते दोषी ठहर भए । 

खासगरी गणतन्त्रपछि हामीकहाँ हास्यव्यङ्ग्य, सिनेमा लगायत कला–साहित्यका माध्यमबाट व्यक्ति वा समुदायका बोली–व्यवहार, निजीपन, संस्कार, संस्कृतिमाथि हुने विभेदजन्य, हेलाहोँचोजन्य र अपमानजन्य अभिव्यक्तिविरुद्ध आवाज उठ्न थालेका छन् । आवाजहरू उजुरी र मुद्दा बनेर प्रहरी–प्रशासनदेखि अदालतसम्म पुगेका छन् । 

हामीकहाँ लामो समयसम्म एक खालको सांस्कृतिक प्रभुत्व (कल्चरल हेजेमोनी) को अभ्यास रह्यो । वर्ण व्यवस्थामा आधारित जातीय बडप्पन र एक धर्म–संस्कृति तथा भाषाको हैकमका कारण हामीकहाँ थुप्रै जातजाति तथा समुदाय एक खालको दमनमा थिए । दलनमा परेकाहरूले गणतन्त्रपछि अलि गर्वका साथ शिर र स्वर उठाउन थालेका छन् । 

यही सिलसिलाले हामीलाई हास्यव्यङ्ग्य कस्तो हुने भन्ने बहसमा पनि तान्दै आएको छ । विश्वमा भने ‘बडी स्यामिङ’, ‘टोन स्यामिङ’, ‘कल्चरल स्यामिङ’का विषयमा बहस हुँदै आएका छन् ।

  • हास्यको सैद्धान्तिक आधार 

पूर्वीय कला–साहित्यको मर्म विशेषतः रस, भाव, शब्दशक्ति र अलंंकारहरूको कसीमा खोजिन्छ । रस र भावहरूको चर्चा भरतमुनिको नाट्यशास्त्र (भरतनाट्यम्) मा गरिएको छ । नाट्यशास्त्रमा विशेषतः चार रसबाट अन्य चार रसको उत्पत्ति भएको उल्लेख छ — शृङ्गारबाट हास्य, रौद्र्रबाट करुण, वीरबाट अद्भुत, बीभत्सबाट भयानक रसको उत्पन्न हुन्छ, (‘भरतमुनिको नाट्यशास्त्र’; ‘भरतनाट्यम्’लाई प्रा. गोविन्द्रप्रसाद भट्टराईद्वारा नेपालीमा अनुदित ।) 

यस पुस्तक भन्छ, ‘विकृत आचार, विकृत वाक्य, विकृत अंग, विकृत वेषद्वारा मानिसलाई हँसाउने हुनाले यसलाई हास्यरस भन्दछन् भन्ने जान्नू ।’

भरतमुनिपछिका साहित्याचार्यहरूले निर्वेद नामक स्थायी भावका आधारमा शान्तरसको आविष्कार गरे । यसरी नौ रस हुन पुग्यो । नौ रसका अतिरिक्त संस्कृत साहित्याचार्यहरूले भक्ति र वत्सल रसलाई पनि स्वीकार गरेका छन् ।

अरुलाई होँच्याएको सफलतामा हाँस्न थाल्यो मानिस, जो बानी बन्दै आयो । हामीकहाँ आफ्नो मान्छेले प्रगति वा राम्रो काम गरेन भने भनिन्छ— शत्रु हँसायौ । अर्थात् कोही कमजोर हुँदा वा कसैको प्रगति नहुँदा उसको विरोधीलाई हाँसो लाग्छ ।

रसोद्र्रेक (रस वा भावको प्रबलता) सिद्धान्तलाई आफूले भन्दा अघि द्रुहिण नामक साहित्याचार्यले विवेचना गरेको भरतमुनिले उल्लेख गरेका छन् । सन् २००९ मा प्रकाशित एनपी थापाको पुस्तक ‘हास्य–व्यङ्ग्यका सिद्धान्तहरू’ अनुसार, भरतमुनिका परवर्ती अधिकांश संस्कृत साहित्याचार्यहरूले रसात्मक वाक्य वा वाक्य समूहलाई काव्यको रूपमा स्वीकार गरेका छन् । उनीहरूले रसोद्रेकको विवेचना गर्दा अन्य रसको तुलनामा हास्यरसको विवेचना अति नगण्य मात्रामा गरेको थापाको उपरोक्त पुस्तकमा उल्लेख छ । 

‘साहित्यदर्पणकार विश्वनाथले पूर्ववर्ती साहित्याचार्यहरूद्वारा प्रतिपादित रस स्वरूपको विवेचना गर्दै विकृत वेशभूषा, भावभंगिमा आदिलाई हास्य रसोद्रेकको साधन मानेका छन् । उनले आफूमा रहेको वा अरुमा रहेको विकृति हाँसोको कारण हुन सक्छ भन्ने तथ्यप्रति ध्यान नै दिएका छैनन् । उनले केवल हाँसो उठ्ने कारणहरू जस्तै आकार–प्रकार, रूपरंग, छाँटकाँट आदिमा विकृति, विसंगति हुनुपर्छ भन्ने मात्र उल्लेख गरेका छन्,’ थापाले लेखेका छन्, ‘संस्कृत साहित्यचार्यहरूका अनुसार कुनै प्रकारको असंगति अथवा विकृति हास्यको स्रोत हो । असंगति उक्ति, विकृति अथवा व्यक्तिमा निहित भए पनि मानव हृदयमा प्रसन्नता उत्पन्न गर्छ र हास्यको रूपमा अभिव्यक्ति हुन्छ । प्रशन्नताभूतिबाट उत्पन्न हुने आस्वादजन्य अनुभूति नै हास्य हो । हास्यको रूप आलम्बन (साहित्यशास्त्रमा रस निष्पत्तिको कारण) को स्वरूपमा आधारित हुन्छ ।’

‘भरतनाट्यम्’ अनुसार हास्यरसका ६ भेद छन्— १) स्मित, २) हसित, ३) विहसित, ४) उपहसित, ५) अपहसित र अतिहसित । 

संस्कृत साहित्याचार्यहरूले स्मित र हसित उत्तम श्रेणीका पात्रहरू, विहसित र अपहसित मध्यम श्रेणीका पात्रहरू अनि अपहसित र अतिहसितलाई निम्नकोटिका पात्रहरूको क्रियामा दृष्टिगोचर हुन्छ भन्ने मन्तव्य प्रकट गरेका छन् ।

संस्कृत साहित्याचार्य विश्वनाथले आफ्नो साहित्यदर्पणमा हास्यको ६ भेद देखाएका छन् । 

१) स्मित

यो हाँसोमा केवल नेत्र विकसित हुन्छ । मर्यादित भावमा प्रसन्नता व्यक्त गर्ने र खुसी, सुखी एवं हँसिलो अनुहार देखाउने हास्य स्मित हास्य हो । यसमा फूर्ति, ईष्र्या वा घृणाका भावहरू रहँदैनन् । 

२) हसित 

यो हाँसो अलिकति दन्त प्रदर्शनसहित मसिनो आवाज निकालेर हाँसिन्छ । यद्यपि शिष्टता भंग हुन नदिई ईष्र्याको पुट बोकेको हाँसो प्रकट हुनु नै हसित हाँसो हो । यसमा हास्यदशा केही प्रस्टिन खोज्छ । 

३) विहसित 

यो हाँसोसँग केही अस्फुट ध्वनि पनि निस्कन्छ । शरीरमा चेष्टा–प्रचेष्टा पनि देखिन्छन् । हाँसो प्रकट हुने क्रममा नाक फुल्ने; दृष्टि वक्र हुने; टाउको र काँध हल्लिने आदि क्रिया समेत देखिन्छन् । यसमा केही अमर्यादा र आक्षेपका अभिव्यक्ति प्रक्षेपित हुन खोज्छन् । 

४) उपहसित 

यो हाँसो हाँस्दा शिर हल्लन्छ, आँखा सन्किन्छ, खित्ता नै छुट्छ । यसबाट निन्दा, अपमान खिसी जस्ता तात्पर्यहरू व्यक्त हुन्छन् । यस हाँसोभित्र आक्षेपका छटाहरू पाइने हुनाले यसलाई मध्यम स्तरमा राखिएको हो ।

५) अपहसित 

यो हाँसोमा आँखाबाट आँसु छचल्किन्छ । वाचिक र आंगिक रूपमा विभिन्न विकृति देखिन थाल्छन् । टाउको हल्लने, आवाज लटपटिने जस्ता प्रतिक्रिया यस हाँसोमा प्रकट हुन्छन् । यस हाँसोमा आक्षेप, निन्दा, घृणाजस्ता भावहरू पूर्णतया प्रकट हुन पुग्छन् । 

६) अतिहसित 

यो हाँसोको प्रभाव सम्पूर्ण शरीरमा पर्छ । हाँस्दा पूरै शरीर हल्लिन्छ । यो हाँसोले अनुशासन र मर्यादाको सीमा उल्लंघन गर्छ । हाँस्ने मान्छेले पेट मिच्दै आंगिक विकृति प्रदर्शन गर्छ । यस प्रकारको हाँसोमा खिल्ली वा आक्षेप निहित हुन्छ । यस हाँसोलाई निन्दा र गालीको मूलस्रोत मानिन्छ । 

उता, पाश्चात्य साहित्यमा सोफोक्लिज लगायतका नाटकमा प्रयुक्त हास्य भावलाई लिएर प्लेटो र अरस्तुले हास्यव्यङ्ग्यको चर्चा गरेको पाइन्छ । यद्यपि पश्चिमा समीक्षकहरूले हास्यको मूल कारण पत्ता लगाउन १७औँ शताब्दीदेखि नै विवेचनात्मक एवं विश्लेषात्मक कार्य प्रारम्भ गरेका हुन् । थापाले उपरोक्त पुस्तकमा लेखेका छन्, ‘असंगतिले मानिसलाई हँसाउँछ भन्दै जेम्स बिटी र सोरेन किर्केगार्डले १८औँ शताब्दीको पहिलो दशकमा असंगतिलाई हास्यको स्रोत बनाए । १७औँ शताब्दीका फ्रान्सिसी वैज्ञानिक एवं मनोवेत्ता बेल्ज पास्कललाई असंगति सम्बन्धी हास्य सिद्धान्तको प्रतिपादक स्वीकार गरिएको छ । यी सबै हास्यशास्त्रीहरूले हास्य विचार र अवस्थाहरूको उदेकलाग्दो, असंगतिपूर्ण अथवा अनपेक्षित सम्मिश्रणमा केन्द्रित रहने मतलाई पुष्टि गरेका छन् ।’

थापाका अनुसार पाश्चात्य साहित्यमा विशेषतः आठ प्रकारका हाँसोका भेदहरू पाइन्छन्— १) हास्य (ह्युमर), २) उपहास वा व्यङ्ग्य (सटायर), ३) वाग्वैदग्ध्य (विट), ४) भ्रान्त वा वक्रोक्ति (आइरोनी), ५) नक्कल वा अनुकरण (प्यारोडी), ६) स्वाँग वा ढोँग (फार्स), ७) कार्टून वा व्यङ्ग्यचित्र र ८) आक्षेप (ल्याम्पुन) ।

  • जति ठुलो हाँसो उति तुच्छ किन ?

हाँस्नु छैन कदापि नारीहरूले वेश्या हुन्या हाँस्तछन् ।

वेश्या लौ नहउन तथापि घरको काम ती सबै नास्तछन् ।।

माथिका हरफ आदिकवि भानुभक्तले १९१९ सालमा रचेका थिए, जुन उनको कृति ‘वधूशिक्षा’मा छ ।

भरतनाट्यम्मा उल्लेख छ, ‘हास्यरस स्त्री र नीच प्रकृतिमा ज्यादा मात्रामा देखिन्छ ।’

भरतनाट्यम्लाई पाँचौँ वेद मानिएको छ । भरतनाट्यम्मा ब्रह्माले भनेका छन्, ‘चारै वेदहरू स्त्री र शूद्र आदि जातिहरूलाई सुनाउन योग्य छैनन्, तसर्थ सबै जातिलाई सुनाउने हुने पाँचौँ वेद सृष्टि गर्दछु जुन वेद धर्म, अर्थ, कीर्ति, कारक र उपदेशले समेत युक्त छ । लोकज्ञानको संकलनले सहित भएको र पछिका सबै दुनियाँका लागि सबै थरी कर्म मार्गको पथप्रदर्शक समेत छ ।’ 

पूर्वीय दर्शनमा हाँसोको विवेचना नाट्यशास्त्रबाट भयो । नाट्याभिनयको मात्रै होइन, जीवनकै एक महत्त्वपूर्ण तत्त्व हो हाँसो ।  

यद्यपि हामीकहाँ उहिलेदेखि नै जति ठुलो हाँसो उति तुच्छ किन भयो ? यो प्रश्नको विवेचना महत्त्वपूर्ण छ । 

साना केटाकेटीले आफूलाई पिट्ने वा रुवाउने ठुला मान्छेको नक्कल वा अनुकरण गर्छन्; रुँदारुँदै पनि आफूलाई दुःख दिने मान्छे जसरी बोलेको छ उसरी नै बोल्छन् । समाज वा राज्यका शक्तिशाली र कथित ठुलो पद–प्रतिष्ठा भएका व्यक्तिले आफूभन्दा कमजोरलाई नक्कल वा अनुकरण गरेर होँच्याउनु वा गिज्याउनु त स्वाभाविक हुँदै आयो । 

हरिवंश आचार्य भन्छन्, ‘हामीले ऊ बेला हास्यव्यङ्ग्य गर्दा फुटबलजस्तै छलाइछलाई गोल हान्थ्यौँ । अहिले पेनल्टी हानेजस्तो ड्याङ–ड्याङ हान्न थालिएको छ । व्यक्तिकेन्द्रित हुँदा हास्यव्यङ्ग्यको सुन्दरता बिग्रन्छ । व्यक्तिकेन्द्रित भन्दा पनि सिम्बोलिक हास्यव्यङ्ग्यमा सुन्दरता हुन्छ । पेनल्टी हानेजस्तो सिधै व्यक्तिकेन्द्रित भयो भने हास्यव्यङ्ग्य गाली बन्छ ।’

सभ्यता र संस्कृतिको इतिहासमा मानवका विभिन्न समुदाय प्रकृतिसँग मात्रै जुधेनन्, अन्य समुदायसँग पनि जुधे र सिके । आफू सभ्य देखिन उसले अर्को कमजोर समुदाय वा राज्यको संस्कार, संस्कृति, आचार–व्यवहार र बोलीलाई होँच्याउन थाल्यो; अरुलाई होँच्याएको सफलतामा हाँस्न थाल्यो, जो बानी बन्दै आयो । हामीकहाँ आफ्नो मान्छेले प्रगति वा राम्रो काम गरेन भने भनिन्छ— शत्रु हँसायौ । अर्थात् कोही कमजोर हुँदा वा कसैको प्रगति नहुँदा उसको विरोधीलाई हाँसो लाग्छ । 

सामान्यतः स्मित वा मधुर हाँसोले व्यक्तिको आनन्द, सम्पन्नता, स्वास्थ्य, आन्तरिक शक्ति आदिलाई प्रकट गर्छ । यसमा व्यङ्ग्य हुँदै नहुने भन्ने होइन । चर्को हाँसो व्यक्तिको अंग स्पर्श वा काउकुती र अरुको निन्दा, अरुको कमजोरी वा अरुको छोटो बुद्धिसँग सम्बन्धित हुन्छ । अरुले लाउन, खान, बोल्न, कुनै काम गर्न जानेन वा ढंग पुर्‍याएन भने देख्ने वा सुन्ने व्यक्तिलाई हाँसो लाग्छ । अरुको कमजोरीलाई औँल्याएर व्यंग्य गरियो र त्यसले श्रोता वा दर्शकलाई स्वाद पर्‍यो भने चर्को हाँसो लाग्न सक्छ । 

सामान्यतः मनोविज्ञानले भन्छ, भित्र दुःखी मानिसहरु बाहिर चको हाँसो हाँस्छन् । मनोविद् सेमोर फिसरले भनेका छन्, ‘हाँसो भनेको मानसिक आघातलाई लुकाउने एउटा उपाय हो ।’ 

लक्ष्मीप्रसाद देवकोटाले ‘लक्ष्मी निबन्ध संग्रह’मा लेखेका छन्, ‘हास्यरस त्यहाँ निक्लन्छ, जहाँ स्वाभाविक तथा आदती रूप र ढंगको अभावले हाम्रो विरोधको चैतन्यलाई कुतकुत्याउँछ । ...साधुलाई नास्तिकको बहसले हाँसो उठ्दछ, त्यस्तै नास्तिकलाई साधुहरूको सिद्धान्तले । नेपालीको पोसाक नेपालीअगाडि हाँसो उठ्ने चिज हुँदैन, तर लन्डनमा अंग्रेजहरूलाई अनौठा लाग्दछ र उनीहरू हाँस्छन् । यहाँ आदती कक्षासँग विरोध पर्न गयो ।’

प्राचीन समाजमा चर्को हाँसोको अर्थ लाग्थ्यो— अरुलाई बढी नै होँच्याउनु र निन्दा गर्नु । समाज वा राज्यमा उच्च पद–प्रतिष्ठा भएकाहरूले आफूभन्दा कमजोर राज्य वा समुदायका मानिसले हाँसेको मन पराउँदैनथे । उनीहरूलाई लाग्थ्यो— यसले मलाई, मेरो वा हाम्रो कमजोरीलाई गिज्याइरहेको छ । त्यसैले अपहसित र अतिहसितलाई अधम हाँसो मानियो । यही बुझाइ र अभ्यासका कारण पूर्वीय समाजमा दिल खोलेर हाँस्ने स्त्री वेश्या र पुरुषलाई शूद्र सरह मानियो । आजसम्म हामी यसमै अभ्यस्त छौँ । अरुको लबज, संस्कार–संस्कृति, आचार–व्यवहारले हामीलाई हाँसो लाग्छ । तिनलाई हाँसोको विषय बनाएर हामीले तुष्टि लिन्छौँ । 

  • नेपालमा हास्यव्यङ्ग्य 

हास्य र व्यङ्ग्य दुई शब्दको भिन्दाभिन्दै अर्थ छन् । ‘हास्य’ शब्दले अनुहारमा उत्रने आनन्दको भाव र मुखबाट निस्कने ध्वनिलाई संकेत गर्छ । जुन साहित्यका नौ रसमध्ये एक भयो । 

‘व्यङ्ग्य’ शब्दले एउटा कुरा भनेझैँ गरी अर्कै कुरा भनेर छेडखानी गर्ने बुझाउँछ । अझ भनौँ शब्दशक्तिका तीन भेद (अभिधा, व्यञ्जना र लक्षणा)मध्ये व्यङ्ग्यले व्यञ्जनाबाट बुझिने गूढ अर्थलाई बोध गराउँछ । 

पाश्चात्य विद्वानहरूले कुनै व्यक्ति, वस्तु अथवा संगठन र सरकारहरूलाई सौम्य वा तीक्ष्ण रूपमा झकझकाउन र घोँच्नका निम्ति गरिने उपहासलाई व्यङ्ग्य (सटायर)को संज्ञा दिएका छन् । 

हाम्रो साहित्यिक इतिहासमा शक्तिवल्लभ अर्यालको नाटक हास्यकदम्ब (वि.सं. १८५५) देखि हास्यव्यङ्ग्य विधा भित्रिएको पाइन्छ । हामीकहाँ जनताले सार्वजनिक रूपमै हँसाउने प्रस्तुति वा कार्यक्रम गर्न पाएको भने प्रजातन्त्रपछि त्यो पनि पञ्चायतकालमा हो । विशेषतः नाचघर र प्रज्ञा प्रतिष्ठान खुलेपछि मनोरञ्जनात्मक प्रस्तुति वा प्रहसनले निरन्तरता पाए । 

हास्यरसको ६ भेदमध्येको स्मित र हसित उत्तम श्रेणीका पात्रहरू, विहसित र अपहसित मध्यम श्रेणीका पात्रहरू अनि अपहसित र अतिहसितलाई निम्नकोटिका पात्रहरूको क्रियामा दृष्टिगोचर हुन्छ भन्ने मन्तव्य प्रकट गरेका छन् ।

हामीकहाँ कार्टुन कला वा व्यङ्ग्यचित्रले भने सन् १९५० को दशकमा पत्रपत्रिकामा स्थान पाउन थालेका हुन्, (कुन्दन अर्यालको पुस्तक : नेपालमा कार्टूनकलाको इतिहास) ।    

हास्यव्यङ्ग्य प्रस्तुति वा प्रहसनको कुरा गर्दा— हामीकहाँ पञ्चायतकालमै सरकारका काम–कारबाहीमाथि व्यङ्ग्य गर्न थालिएको थियो । आजभन्दा ४३ वर्षअघि प्रज्ञा प्रतिष्ठानमा भएको गाईजात्रामा मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) को ‘यमलोक’ नामक प्रहसनमा देशको बजेट, विकास, न्याय आदि मरेर यमलोक पुगेको भन्दै व्यङ्ग्य गरिएको थियो । मह जोडीले पञ्चायतकालमा गरेको व्यङ्ग्यले देशमा बहुदल हुँदै गणतन्त्र आउँदासम्मको अवस्थालाई हानेको छ । 

आजभन्दा करिब ३६ वर्षअघि, स्वरसम्राट नारायणगोपालले मदनकृष्ण र हरिवंशका बारेमा भनेका थिए— ‘नेपाली रंगमञ्चको क्षेत्रमा मदनकृष्ण श्रेष्ठ र हरिवंंश आचार्यलाई मैले केही वर्षयता निकै सशक्त एवं सफल कार्यक्रम गर्ने कलाकारका रूपमा चिन्दै आएको छु । यी दुईको जोडी आज नेपाली हास्यव्यङ्ग्यको क्षेत्रमा जति लोकप्रिय छ, त्यति सायद अरु छैनन् । यो जोडी बेजोड छ’ (२०४६ सालमा प्रकाशित कैलाश भण्डारीको पुस्तक ‘मदनकृष्ण र हरिवंश’) । 

यस पुस्तक अनुसार, २०४५ सालमा छापिएको ‘रूपरंग’ मनोरञ्जन मासिकको एउटा अंकमा नारायणगोपालले महजोडीलाई सुझाव समेत दिएका थिए— ‘खासगरी समसामयिक राजनीतिक व्यङ्ग्य प्रदर्शनमा यिनीहरू बढी सफल देखिन्छन् । यसमा अझ सामाजिक व्यङ्ग्यात्मक नाटक–प्रहसनहरू पनि मञ्चन गरे भने झन् राम्रो हुने थियो ।’ 

नारायणगोपालको यस भनाइमा सामाजिक विसंगति र विकृतिप्रति व्यङ्ग्य गरिनुपर्ने आग्रह र अपेक्षा लुकेको छ । समाजमा व्यङ्ग्य गर्नुपर्ने विषय धेरै छन् । भ्रष्टाचारदेखि कतिपय कुसंस्कृतिलाई कुनै कलाकारले मात्रै होइन, सबै समुदायले एक स्वरमा व्यङ्ग्य गर्नुपर्नेछ । तर प्रश्न उठ्छ— हास्यव्यङ्ग्य वा मनोरञ्जनको नाममा अझै पनि हामी अरुको भाषा, लबज, निजीपन, आकृति, संस्कृति, आचार–व्यवहारलाई गिज्याउनै अभ्यस्त त छैनौँ ?  

हरिवंश आचार्यले शुक्रबार मोबाइल फोनमार्फत रातोपाटीलाई भने, ‘हामीले ऊ बेला हास्यव्यङ्ग्य गर्दा फुटबलजस्तै छलाइछलाई गोल हान्थ्यौँ । अहिले पेनल्टी हानेजस्तो ड्याङ–ड्याङ हान्न थालिएको छ । व्यक्तिकेन्द्रित हुँदा हास्यव्यङ्ग्यको सुन्दरता बिग्रन्छ । व्यक्तिकेन्द्रित भन्दा पनि सिम्बोलिक हास्यव्यङ्ग्यमा सुन्दरता हुन्छ । पेनल्टी हानेजस्तो सिधै व्यक्तिकेन्द्रित भयो भने हास्यव्यङ्ग्य गाली बन्छ ।’    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप