शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय

नेताले पढ्दै पढ्दैनन् ?

शनिबार, १७ फागुन २०८१, १७ : १०
शनिबार, १७ फागुन २०८१

पोखरा । नेपाली समाजमा एउटा सर्वमान्य मानक बनेको छ,  ‘नेताले पढ्दै पढ्दैनन् ।’  के साँच्चै नेताले नपढ्ने हुन् त ? पढ्दा कस्ता के पढ्छन् ? कस्ता पुस्तक पढ्छन् ? यिनै प्रश्नको पेरीफेरिमा पोखरामा शनिबार बहस चल्यो । 

फेवाताल किनारको बाराहीघाटमा बुकवर्म फाउण्डेसनको आयोजनामा जारी १२ औं संस्करणको एनसेल फाण्डेसन नेपाल लिटरेचर फेस्टिभलमा ‘नेताले किन पढ्नुपर्छ ?’ अन्तरक्रियामा जनता समाजवादी पार्टी (नयाँ शक्ति) का नेता हिसिला यमी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल, राजनीतिशास्त्री हरि शर्मासँग राजनीतिक अध्येयता शंकर तिवारीले सवालहरू तेर्स्याए । बहसमा सहभागी तीनै जना नेताले पढ्नुपर्नेमा एकमत भए । 

राजनीतिशास्त्री शर्माले नेपाली राजनीतिज्ञहरूले कम पढ्ने तर्क प्रस्तुत गरे । ‘राजनीतिज्ञहरूले कम पढ्छन् भन्नलाई मलाई कुनै संकुचन छैन । किनभने जनताको आकांक्षा, उर्लँदो इच्छालाई पढ्न सकिरहेका छैनन्’, उनले भने, ‘यो कुनै किताबसँग सम्बन्धित छैन । तर, किताबलाई पढ्ने कुरा महत्त्वपूर्ण छ ।’

उनले किताब मात्रै नभएर नेताले मान्छेको भावना बुझ्नुपर्ने बताए । ‘पढ्ने विषय पुस्तक मात्रै पढ्ने होइन । मान्छेको भावना बुझ्न सक्ने नेताले पढे की पढेनन् भन्ने कुरातिर जान्छ’, उनी थप्छन्, ‘ज्ञानको माध्यम पहिला किताब थियो । अहिलेको जेन–जी ट्याब्लेट भएर आएको छ । आइफोन भएर आएको छ । पुस्तक एउटा माध्यम हो । अक्षरहरू आफैँ बोल्दैनन्, अक्षरहरूलाई बोलाइनुपर्छ । लेखकले बोलाउनुपर्छ । पाठक त्यसमा आबद्ध हुन्छन् । ’

उनले पढ्नुलाई व्यापकताको संज्ञा दिए । राजनीतिज्ञ मनोवैज्ञानिक हुनुपर्ने विचार व्यक्त गरे । नेताले पढिदिओस् भन्ने जनताको चाहनालाई सकारात्मक रूपमा लिनुपर्नेमा उनको जोड छ । ‘हाम्रो इच्छा के हो भने हाम्रो नेताले नेतृत्वले पढ्दिओस् भन्ने आकांक्षाबाट आएको हो । यो सकारात्मक छ मैले नकारात्मक लिइनँ ।’

जनता समाजवादी पार्टी (नयाँ शक्ति) की नेतृ यमी पनि नेताले पढ्नुपर्नेमा सहमत छिन् । उनले रूपान्तरणको राजनीति गर्न पढ्नुको विकल्प नभएको ठोकुवा गरिन् । ‘राजनीतिज्ञले सबै पढ्नुपर्छ । राजनीतिमा पनि कुन खालको राजनीति हो ? सत्ता केन्द्रित राजनीति हो भने मान्छेलाई पढेर स्वार्थमा पार्न सक्ने हो भने सत्ता अर्को पटक पनि आउँछ । तर, रूपान्तरणको राजनीति गर्ने हो भने पढ्नुपर्छ, पढ्नुपर्छ, पढ्नुपर्छ । र संसारका चर्चित नेताहरूले असाध्यै पढेको देखिन्छ’, उनले भनेकी छन् ।

सत्तादेखि सत्ताका लागि हो भने पढ्न आवश्यक नभएको उनको भनाइ थियो । पपुलिज्म खोज्ने नेताहरूले कम पढेको उनको टिप्पणी छ । नेतृ यमीले जनयुद्ध सुरु भएपछि किताब पढ्ने अभ्यास बढेको बताइन् ।  जनयुद्धको क्रममा रोल्पामा ६ महिने कारबाही पर्दा डा. बाबुराम भट्टराईसँगको संगतले धरै किताब पढ्ने भएको बताइन् । ‘माओ र लेनिनवाद’ का किताबहरू रटेको उनको स्मरणमा ताजै छ । 

जनयुद्धका बेला नपढेको नेतासँग आफू प्रभावित भएको किस्सा पनि उनले सुनाउन भ्याइन् । ‘सबैभन्दा ठुलो कुरा के सिके भने हामी जस्तो पढेलेखेको मान्छे डिग्रीवालाहरूको एउटा घमण्ड हुन्छ ज्ञानको घमण्ड । तर, जनयुद्धमा गइसकेपछि नपढेका मान्छेलाई चान्स दियो भने उनीहरू यति सृजनशील हुँदो रहेछ । यति कलात्मक हुँदो रहेछ । मैले त तिनीहरूलाई नमनै गरेँ’, उनले उल्लेख गरिन् । 

डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएको बखत ‘प्रथम महिला’ को कामबारे हिलारी क्लिन्टनको पुस्तक पढेको सुनाइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनालले अहिले उड्डयनसँगै परराष्ट्र नीति र कूटनीतिक विषयका पुस्तक पढिरहेको सुनाए ।  चेतना र चिन्तन निर्माणमा पुस्तकको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले व्यवहार परिवर्तनमा किताब पढेपछि सघाएको उनी सुनाउँछन् । ‘चेतना वृद्धिको लागि पढ्नुको अत्यन्तै ठुलो महत्त्व हुन्छ जस्तो लाग्छ । त्यो म पटक पटक अनुभव गर्छु’, उनी भन्छन् ।

पपुलिष्ट नेतामा समाजको प्रचलित मानसिकतालाई तुरुन्तै पढ्न सक्ने खुबी भएको उनले बताए । ‘कुन भाषा, कुन शब्दावली बिक्छ भन्ने कुरा उसको पढाइको क्षमता हुन्छ । किताबको ज्ञान भन्दा पनि समाजको मनोविज्ञानको एकदम चाँडो पढ्न सक्ने क्षमता उसमा देखिन्छ’, उनले भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?