शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय

रिंकु सदा हत्याको दोषीलाई कारबाही नगरे आन्दोलन

शनिबार, १७ फागुन २०८१, १६ : १०
शनिबार, १७ फागुन २०८१

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले रिंकु सदा हत्याको छानबिन गरी दोषीमाथि कारबाहीका लागि माग गरेका छन् । सरकारले पीडितलाई न्याय दिलाउन चासो नदेखाए पार्टीले कडा आन्दोलन गर्ने चेतावनीसमेत उनले दिएका हुन् । 

अध्यक्ष महतोले आज एक विज्ञप्ति जारी गरी सिरहा नवराजपुर गाउँपालिका– १ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु भएको यतिका दिन बितिसक्दा पनि सरकार गम्भीर नदेखिएको उल्लेख गरेका छन् । 

अपराधीहरूलाई संरक्षण दिने, प्रमाण नष्ट गर्ने वा घटनालाई राजनीतिक संरक्षण दिने जुनसुकै प्रयासलाई आफ्नो पार्टीले कडा विरोध गरेको भन्दै अध्यक्ष महतोले पीडित परिवारलाई शीघ्र न्याय दिलाउन र दोषीलाई कडा कारबाही गर्न माग गरे । 

उनले भनेका छन्, ‘आज विश्व नागरिक सुरक्षा दिवस पनि हो तर नेपालका नागरिक आफूलाई सुरक्षित महसुस गर्न सकिरहेको छैन ।’  नेपालमा पछिल्ला दिनहरूमा धाक–धम्की, गुण्डागर्दी, हत्या, हिंसा, बलात्कार र अन्य जघन्य अपराधहरूमा वृद्धि भइरहेको भन्दै उनले कानुनी राज्यको अस्तित्वमाथि गम्भीर प्रश्न उठाएको बताए । 

यदि यस्तो अपराधलाई रोकथाम गर्न कडा नीति अवलम्बन गरिएन भने नागरिकको सुरक्षामा गम्भीर संकट उत्पन्न हुने बताउँदै उनले न्यायका लागि संघर्षरत सबै नागरिक, अधिकारकर्मी र न्यायप्रेमी संघसंस्थासँग ऐक्यबद्धता जनाउँदै, रिंकु सदा हत्या काण्ड लगायतको अन्यायविरुद्ध सशक्त दबाब सिर्जना गर्न अपिल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?