शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय
कला

वुमन भ्वाइसेस : शक्ति, पहिचान र रूपान्तरण

शनिबार, १७ फागुन २०८१, १९ : ००
शनिबार, १७ फागुन २०८१

ग्यालरी कक्षभित्र कलाकै एक अंगका रूपमा एउटा कृत्रिम कोठा बनाएको थियो । त्यसभित्र पर्दामा विभिन्न दृश्य अर्थात् कला हेर्न सकिन्थ्यो । त्यस कृत्रिम कोठामा छिरेर भावकले आफूले आफैँलाई सिनेमामा हेरेजस्तो गरी हेर्न सक्थे । त्यहाँ अनेक दृश्य हेरिरहँदा अर्थात् बाहिरी सुखको चाहना राखिरहेका बेला भावकले अचानक पर्दामा आफ्नै अनुहार देख्थे र आफ्नो उपस्थिति बोध गर्थे । यस परिदृश्यले भावकलाई आफूभित्रको सम्पन्नतालाई अनुभव गराएको थियो । यसर्थ यस कलालाई गहिरो कलागत दर्शन बोकेको ‘कन्सेप्चुअल कला’ कला भन्नुपर्छ । 

mahima

‘पावर विदिन’ नामक यो कलाकी सर्जक हुन्, महिमा सिंह । पछिल्ला २० वर्षदेखि यस्तायस्तै कलाको सिर्जना गर्दै आइरहेकी सिंह सक्रिय कलाकार हुन् । 

झट्ट हेर्दा ‘भिडियो आर्ट’ जस्तो देखिए पनि अनेकौँ प्राविधिक पक्ष जोडिएकाले उनको यो कला पृथक् देखिन्थ्यो, अर्थात् भिडियो आर्टकै अत्याधुनिक स्वरूपमा थियो । भावकको सहभागिताविना पूरा नहुने यो कला ‘पार्टिसिपेटोरी आर्ट’को चरम उत्कर्ष पनि थियो । कलाकार अनि भावकको बराबरीको सहभागिता हुनु नै यो कलाको विशेषता हो । भावक अनवरत रूपमा गतिविधिमा संलग्न भइराख्दा चाहिँ यसले पर्फर्मेन्स आर्टको स्वरूप पनि बोकेको देखिन्थ्यो ।

ragini upadhya

यही फेब्रुअरी १४ देखि २७ तारिखसम्म काठमाडौँको बबरमहलस्थित ‘नेपाल आर्ट काउन्सिल’मा चलेको ‘वुमन भ्वाइस’ नामक कला प्रदर्शनीमा महिमासँगै १४ महिला कलाकार सहभागी थिए— विधाता केसी, एरिना ताम्राकार, कृशा ताम्राकार, प्रमिला बज्राचार्य, प्रतिमा थकाली, रागिनी उपाध्याय, रजनी सिंख्वाल, रञ्जु यादव, सविता डंगोल, सम्झना राजभण्डारी, सङ्गी श्रेष्ठ, सुशीला सिंह र शुष्मा शाक्य । यी सबैजसो कलाकार गएका दशकदेखि नेपाली समसामयिक कलामा सक्रिय हुँदै कुनै न कुनै कोणबाट महिलाको सामाजिक मुद्दामा काम गर्दै आएका छन् । यी मूलधारका युवा महिला कलाकारका कलामा सशक्त विचार देखिन्छ । क्युरेटर आयुषा श्रेष्ठ रहेकी यस प्रदर्शनीको नाम ‘वुमन भ्वाइस’मा थप तीनवटा शब्द पनि गाँसिएका छन्— स्ट्रेन्थ (शक्ति), आइडेन्टिटी (पहिचान) र ट्रान्सफर्मेसन (रूपान्तरण) । यस प्रदर्शनीले समग्रमा महिलाको शक्ति, पहिचान र रूपान्तरणलाई नै सम्बोधन गरेको छ । 

सामाजिक मुद्दा (विशेषतः महिलाका मुद्दा) लाई चर्को गरी उठाइएका कला नै यस प्रदर्शनीमा राखिएका थिए । सबैजसो कलामा यतिखेर विश्वकला जगतमा देखिएका समसामयिक प्रवृत्ति देखापरेका छन् । सँगसँगै यी कला आकर्षक अनि मनमोहक पनि छन् । 

कलाभित्र छिर्दा... 

यसपालिको प्रदर्शनीमा विधाता केसीले आफ्नो कलाको नाम ‘यु’ (तिमी) राखेकी थिइन् । यु आफैँमा सशक्तीकरणको प्रतिविम्ब हो र हुनुपर्छ भन्ने अनुभूति उनलाई भएको रहेछ । यद्यपि उनले आफ्नो कलामा आकारलाई प्रश्रय दिएकी छैनन् । गोलो ठुलो रातो सपाट क्यानभासमाथि लेखिएका थुप्रै शब्द नै उनको कलाको प्रकृति बनेको छ । शब्दहरूले भरिएको उनको यो आकारविहीन कामले महिलाको विविध भूमिकाको वकालत गर्छ भन्ने उनको दाबी छ ।

bidhata kc

महिलाले निधारमा लगाउने रातो टीकाजस्तो क्यानभासले महिलाको ऊर्जा वा आन्तरिक शक्तिलाई संकेत गरेझैँ लाग्छ । रातो टीका महिलाको आन्तरिक शक्तिको प्रतीकात्मक विम्ब पनि हो । उनको यो कामले महिलाको पहिचानका अनेकौँ रूप वा अवस्था प्रतिनिधित्व गरेको छ । महिलाले थुप्रै भूमिकालाई निभाउनुपर्ने, निभाइरहेको अवस्थाको समेत यसले प्रतिविम्बित गरेको छ । 

erina tamrakar

एरिनाले आफ्नो कलाको नाम ‘शक्ति’ नाम राखेकी थिइन् । उनको कलामा तेस्रो आँखाको सन्दर्भ आएको छ, जसले ‘इन्लाइटमेन्ट’ अनि आत्मावलोकन, अन्तनिरीक्षण आदिलाई समेत उठान गरेको । झट्ट हेर्दा चित्रपटमा ठुलो मुखाकृति देखिन्छ । यसैको निधारमा भर्टिकल रूपमा तेस्रो आँखा आएको छ, जुन अन्तर्मनको शक्तिको विम्ब पनि हो । यस्तायस्तै चित्रहरू उनले अनगिन्ती बनाएकी छन् । यसर्थ पनि यो उनको स्थापित कलागत सिग्नेचर हो । यसपालिको उनको कलाले महिलाको अन्तर्मनमा बसेको अथाह शक्तिको प्रतिनिधित्व गरेको देखिन्छ । 

sangee shrestha

सङ्गी श्रेष्ठ ‘तमसो मा जोर्तिगमय’ नामक कला लिएर देखापरिन् । अलिकता आध्यात्मिकता, योगा र धर्मका कुरालाई उप्काउँदै त्यसमा आजको जीवनयापनलाई जोड्ने उपक्रम उनले गरेकी छन् । उनका कलामा मानव जीवनसँगै देवीको आध्यात्मिक रूपको पनि दर्शन भएजस्तो महसुस हुन्छ । अर्थपूर्ण हस्तमुद्रासहित आधुनिक देवीको प्रतिमूर्ति बन्न गएको देखिन्छ । उनको यस कलाले अँध्यारोबाट उज्यालोतर्फ अग्रसर हुन प्रेरित गरेजस्तो लाग्छ ।

संगीले पछिल्ला केही वर्षदेखि यस्ता–यस्तै मानवीय आकारलाई ज्यामितीय सपाट फर्ममा संयोजित गर्ने गर्छन् । जसबाट भावाभिव्यक्ति अनि विचारहरू सहजै प्रस्फुटन हुने गर्छन् । यस्तायस्तै प्रकृति र स्वभावका काम उनले थुप्रै गरेकी छन् । यसैले गर्दा पनि उनको एक अलग्ग कलागत सिग्नेचर स्थापित छ । 

sabita dangol 1

यसपल्ट तीनजना कलाकार सविता डंगोल, रजनी सिंख्वाल र रञ्जु यादव) ले आफ्ना कलालाई लोक, परम्परागत अनि संस्कृतिमा जोडेका छन् । परम्परागत कलाको डेकोरेटिभ फर्ममा कला सिर्जना गरिबस्ने सविताले गएको दशकदेखि इस्यु–बेस (मुद्दामा आधारित) काम गर्दै आइरहेकी छिन् । एक अलग्गै कलागत–सिग्नेचर बनाइसकेकी सविता राम्रा पर्फर्मेन्स आर्टिस्ट पनि हुन् । यसपल्ट उनले थोरै अलग्ग विषयमा काम गरेकी छन् । उनको काममा पारम्परिक बुट्टाले भरिएका पहाड, फूलबुट्टाले भरिएका गाई–गोरुको जोडी मनमोहक देखिन्छ । गोरुका जिउमा शङ्ख, महिला र पुरुषले लगाउने गरेका अलग–अलग जुत्ताहरूले थोरै स्वैर काल्पनिकतामा जुहारी खेल्दै गरेको झैँ पनि देखिन्छ । जोडीलाई प्रस्तुत गर्ने उनको पुरानै स्वभाव हो । उनको अर्को चित्रमा हात्तीको जोडी देख्न सकिन्छ । बुट्टैबुट्टाले भरिएको उनका यी दुवै काम शान्त र स्वाभाविक मुद्रामा देखिन्छन् ।

इको–सिस्टमलाई मान्छेले भन्दा बढी जनावरले बुझ्छ भन्ने उनको अवधारणा हो । वन–जंगललाई जनावरले बिगार्दैनन्, जतनसँग संरक्षण गरिराख्छन् भन्ने भाव उनका यी कलामा आएका छन् । मान्छेले प्रकृतिलाई मासेर वा भत्काएर आफ्नो घर बनाउँछन् तर जनावरले प्रकृतिलाई नै आफ्नो घर ठान्छन् । यस्तायस्तै विचारहरू गाँसिएर उनका कला देखापरेका छन् । 

ranju yadav

रञ्जु मूलतः मिथिला लोककलामा क्रियाशील कलाकार हुन् । वर्षौंदेखि मिथिला कलामा उम्दा कला गर्दै आएकी रञ्जुले यसपल्ट समसामयिक कलाको चौखटमा प्रवेश गर्न खोजेकी छिन् । मिथिला कलाका मोटिफ, अंकन पद्धति, लोक–कलागत संरचनालाई प्रयोग गरी उनले यसपालि ‘कन्सेप्चुअल आर्ट’ बनाएकी छन् । उनका कलामा चिसो शीतल रङको वातावरण छ, जसमा आमाका आकांक्षा प्रतिविम्बित भएका छन् । मिथिला कलामा सदैव देखापर्ने विम्बहरू (माछा, हात्ती, कमलका फूल, मयुर आदि) नै उनको कलामा प्रयोग भएका छन् । यसबाहेक सौन्दर्यता, शक्ति अनि ज्ञानको रूप पनि उनको कलामा प्रकट भएको देखिन्छ । उनको क्यानभासको केन्द्रमा चित्रमा पुस्तक पढिरहेकी गर्भवती महिलाको नाभिबाट कमलको फूल निस्केको र यही फूलमाथि देवी सरस्वतीले पनि पुस्तक पढिरहेको देखिन्छ । स्वयंमा देवी सरस्वतीको रूप अनि प्रतीकात्मक पुस्तक आदिले आजको समसामयिक स्थितिलाई सम्झाउँछ । लोककलाको स्पष्ट पहिचान हँुदै गर्दा पनि समसामयिक कला बन्न पुगेको उनको यो कला परोक्ष रूपमा महिला मुद्दामै केन्द्रीभूत देखिन्छ । 

rajani sinkhwal

रजनीको ‘त्रिशक्ति’ नामक चित्रले मूलतः तीन देवी (लक्ष्मी, पार्वती र सरस्वती)लाई प्रतिनिधित्व गर्छ । उनी मूलतः परम्परागत पौभा चित्रकार हुन् । परम्परागत उनको यो चित्रले नारी शक्तिलाई देखाएको छ । आधुनिक विचारहरू पनि गाँसिदा यस परम्परागत कलामा समसामयिकताको सुगन्ध महसुस गर्न सकिन्छ । ज्ञान, शक्ति, सौन्दर्यता आदिको प्रतीकात्मक विम्ब भएकै कारण पनि यो उनको कला आजका महिलाहरूको आन्तरिक शक्तिको द्योतक बन्न गएको देखिन्छ । 

सन् १९८० तिर उदाएकी रागिनीको ‘वुमन इन् वार’ नामक चित्रले युद्धको विषमतालाई देखाएको छ । युद्धले धनजनको मात्र विनाश गर्दैन, मानव–मानवबिच भइरहेको माया र सद्भावलाई पनि बिथोल्छ; समाजकै संरचना पनि भताभुङ्ग पारिदिन्छ यही दर्दनाक कथा भन्न उनको क्यानभासमा दुईवटा पेस्तोल, कमलका फूल र नारी हत्केला विम्बका रूपमा आएका छन् । 

krisha tamrakara

यस्तै कृशाको ‘साइलेन्ट बाउन्डरिज’ नामक कला अलग्गै देखिन्छ । स–साना ६ वटा कलामा फरक विषयले प्रवेश पाएको छ । जग (भाँडो), प्रेसर कुकर, चप्पल, प्याजले भरिएको झोला, टुथपेस्ट र ब्रस राखिएको डब्बा, ब्याग आदि उनको चित्रमा आएका छन् । समग्रमा यी सबै चित्र एउटै हुन्, जुन एउटै धागोमा उनिएको एउटा मालाजस्तो आएका छन् । यी सबैलाई जेलमा बसेजस्तो गरी फलामेतारले घेरेर राखिएको छ । उनी भन्छिन्, ‘बुझ्नै गाह्रो हुने सीमामा हामीले अरुहरूलाई पनि राखिदिन्छौँ । यद्यपि हामीले रूपान्तरण चाहन्छौँ ।’ उनको कलागत आग्रह यही हो कि मानिस होउन् वा वस्तु तिनीहरु स्वतन्त्र अवस्थामा हुनुपर्छ । 

शुष्मा शाक्यले चाहिँ ‘ब्रह्मविहार’ नामक कला बनाएकी छन् । यो उनको काममा मिक्स प्रिन्ट मिडिया अनि ‘ह्यान्ड स्टिचिङ’को प्रयोग भएको देखिन्छ । यो आफैँमा नौलो माध्यमको प्रयोगात्मक काम हो । यस कारण पनि उनको सिर्जना अरुभन्दा नितान्त फरक ढंगको देखिन्छ । हिजोआज प्रिन्ट मेकिङ कला तीव्र रूपमा बढिरहेको विधा हो । शुष्मा समसामयिक प्रिन्ट कला गर्ने कलाकारमध्ये अग्रपंक्तिमा देखिन आउँछिन् । प्रिन्ट मिडिया कला अन्तर्गत पनि किसिम किसिमका माध्यम रहे–गरेको देखिन्छ । यसै प्रिन्ट कलामाथि स्टिचिङ थपेर अमूर्ततामै पनि नौलो स्वाद पस्कनु सर्वथा नयाँ तरिका हो । आमा र बच्चाको अनकन्डिसनल प्रेम आफैँमा व्रह्मविहार गुणजस्तै हो; यही आध्यात्मिक विशेषतालाई उनले आफ्नो कलामा जोड्न खोजेको देखिन्छ । 

सम्झनाले मिक्स मिडियामा टँुडाल सिरिज बनाएकी छन् । टुँडाल आफैँ पनि आध्यात्मिक र ऐस्थिटक्सको समिश्रण हो । घर, मन्दिर लगायत संरचनामा प्रयोग हुने यसले नेपालको आफ्नै मौलिकतालाई बोकेको छ । अनि हरेक तलालाई थाम्ने टेको हुनु र त्यसमाथि कलात्मक हुनुले यो वास्तुकलाभित्र पर्छ । मानवको आपसी सम्बन्ध वा कलात्मक सहाराको प्रत्याभूति दिन सम्झनाले परम्परागत वास्तुकलाको अभिन्न अंग टुँडाललाई आफ्नो चित्रमा ल्याएकी हुन् ।

उनले टुँडाललाई आधारबिन्दु बनाएर विगत र आजको सन्दर्भ जोड्न पनि खोजेकी छन् । उनका पाँचवटा चित्रमा नृत्य मुद्रामा रहेका महिलालाई अवलोकन गर्न सकिन्छ । सबै नारी आकृति कमलकै फूलमाथि अर्धनग्न देखिन्छन् । महिलाको लचकताले भरिपूर्ण र छरिता जिउडाल टुँडालमा आएका छन् र यसको अलग्ग महत्त्व रहन गएको छ । कता–कता यसलाई तान्त्रिक यौनको अवधारणालाई प्रत्याभूति दिने कलात्मक देवस्थलको रूपमा पनि हेर्ने गरिन्छ । 

pramila bajracharya

प्रमिलाले ‘नारी एक माया अनेक’ थिमलाई आफ्नो चित्रमा उतारेकी छन् । उनका चारवटा गोलाकार क्यानभासमा भावयुक्त स्त्री अनुहारहरू आएका छन् । कुनै पनि महिला हँसिला देखिँदैनन् । कामले थाकेका, हैरान खेपेका अनि अशान्त मन बोकेका महिलाहरू उनको क्यानभासमा देखिनुले आजका महिलाको अवस्थालाई उजागर गरेको छ । 

pratima thakali

प्रतिमाले ‘क्याटालिस्ट’ नामक काममार्फत वातावरणको भूमिकालाई क्यानभासमा उतारेकी छन् । फूलहरूले ढाकिएको दृश्य आउने उनका कलामा उनले आफ्नै अनुभवलाई बाँडेकी वा आकार दिएकी छन्, जसले समाज विकासको ध्येय राखेको देखिन्छ । 

सुशीलाको काम अलि अचम्मको नामका साथ देखिन गएको छ । ‘प फ ब भ म अनरिभेल्ड’ उनको कलाको नाम हो । मिक्स मिडियामा बनेको यो काममा उनकै सिङ्गो अनुहारलाई देख्न सकिन्छ । गाढा रातोपनको अनुहार केही खोजेजस्तो सोचेजस्तो गम्भीर भावमा देखिन्छ । अनुहारलाई तारले बेरेको वा घेरेको देखिन्छ । 

सानो छँदा क ख ग अक्षरहरू सिक्दै गर्दा किन ‘कपुरी क’ भनेर सिकाएको होला ! आज पनि उनलाई कपुरीको माने थाहा छैन । यसरी अक्षर पढ्दै जाँदा जब ‘राम्रो म’ आउँथ्यो, त्यसले उनलाई राम्रै गरी समातेको रहेछ । यसैबाट उनीमा अनेक अवधारणा जन्मन पुगेछ— म नै राम्रो, मनै ठिक, म नै उच्च तहको मान्छे आदि । यसैको प्रतिफलका रूपमा उनका कला यहाँ देखापरेका हुन् । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप

छुटाउनुभयो कि ?