खानेपानीमन्त्री यादव भारत प्रस्थान

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव आज छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् ।
भारतको राजधानी नयाँ दिल्लीस्थित जलशक्ति मन्त्रालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सरकारकातर्फबाट सहभागी हुन मन्त्री यादव भारत प्रस्थान गरेको खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठले जानकारी दिइन् ।
उनले भनिन्, “यही फागुन १९ गते सोमबार हस्ताक्षर गरिने समझदारीपत्र कार्यक्रममा सहभागी हुन मन्त्री यादव आज २ः०० बजे भारत प्रस्थान गर्नुभएको हो । उक्त समझदारीपत्रमा सरकारका तर्फबाट मन्त्री यादव र भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटिलले हस्ताक्षर गर्नुहुने छ ।”
भारत र नेपाल सरकारबिच खानेपानी, सरसफाइ र फोहर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न समझौतापत्रमा हस्ताक्षर हुने जनाइएको छ । खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाइ प्रवर्द्धन, फोहर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने उक्त सम्झौताको लक्ष्य रहेको सहसचिव श्रेष्ठले बताइन् ।
उक्त सम्झौतामा भूगर्भीय पानी व्यवस्थापन, प्रविधि तथा सूचना आदान–प्रदान, वर्षात्को पानी सङ्कलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहने जनाइएको छ । उक्त सम्झौताले भारत र नेपालबिच खानेपानी तथा सरसफाइ क्षेत्रमा आपसी सहयोग बलियो बनाउने अपेक्षा गरिएको छ ।
यसैगरी भारतको नीति आयोगसँग समेत छलफल गर्ने र त्यहाँका केही राम्रा खानेपानी आयोजनाको अवलोकन भ्रमणसमेत गरिने कार्यक्रम पनि तय भएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठलगायतको सहभागिता रहने मन्त्रालयले जनाएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानीमन्त्री यादवको भारत भ्रमण स्वीकृति गरेको थियो । मन्त्री यादव मङ्गलबार स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तयार भयो बजेट क्यालेण्डर : करिब १९ खर्बको बजेट लेखिँदै
-
हावाहुरी र वर्षाले खेती नष्ट गरेपछि किसान चिन्तित
-
ठुला दुई दलको गठबन्धन देशका लागि नभई भ्रष्टाचारीलाई संरक्षण गर्न बनाएको हो : अध्यक्ष लिङ्देन
-
सुरक्षा निकायसँग सम्बन्धित ऐन–कानुन बनाउँदा सरकार दुई तिहाइको दम्भमा बस्नु हुँदैन : नेता साउद
-
प्रचण्डद्वारा रिंकु सदाको मृत्युबारे प्रजिअ र सुरक्षा प्रमुखसँग छलफल
-
नेपाल र जापानबिचको सम्बन्ध झन् घनिष्ट : उपराष्ट्रपति यादव