शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय
बारको चुनाव

नेपाल बार निर्वाचन : सर्वोच्च बारकै गठबन्धन कि कांग्रेस एक्लै ?

यी हुन् नयाँ नेतृत्वका आकांक्षीहरू
शनिबार, १७ फागुन २०८१, १८ : ००
शनिबार, १७ फागुन २०८१

काठमाडौँ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि आगामी चैत २३ गते निर्वाचन मिति तय भइसकेको छ । 

निर्वाचनका लागि ११ हजार ७ सय ७२ जनाको प्रारम्भिक नामावलीसमेत सार्वजनिक भइसकेको छ । फागुन १८ गतेसम्म दाबी–विरोधको समय तोकिएकोमा २० गते अन्तिम नामावली सार्वजनिक हुनेछ भने फागुन २२ गते उम्मेदवारी दरखास्त आह्वान गरिएको छ ।

उम्मेदवारी मनोनयनको समयावधि एक साता मात्रै बाँकी रहँदा विभिन्न दलनिकट कानुन व्यवसायीहरू उम्मेदवारको टुंगो लगाउने कसरतमा जुटेका छन् । 

बारको अध्यक्षका लागि नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)बाट पाँच जना र नेकपा एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए)बाट तीन जना आकांक्षी देखिएका छन् । 

डीएलएले अध्यक्षका आकांक्षीका लागि मागेको आवेदनमा योगेन्दप्र्रसाद अधिकारी, यदुनाथ खनाल, विजय मिश्र, खम्मबहादुर खाती र योगेन्द्रबहादुर अधिकारीले आकांक्षा देखाएका छन् । यस्तै पीपीएलएबाट टीकाराम भट्टराई, ईश्वरीप्रसाद भट्टराई र रमेश कोइरालाले आकांक्षा देखाएका छन् । 

यसैगरी माओवादीनिकट गणतान्त्रिक कानुन व्यवसायी संगठन (आरपीएलए) बाट हालसम्म रमन श्रेष्ठको दाबेदारी छ । नेकपा एकीकृत समाजवादी निकट समाजवादी पेसागत कानुन व्यवसायी संगठन (एसपीएलए) बाट भने हालसम्म कुनै पनि अधिवक्ताले अध्यक्षमा दाबी पेस गरिसकेका छैनन् ।

उम्मेदवारी मनोनयनको मिति नजिकिएसँगै आकांक्षीहरूले दाबी पेस गरे पनि गठबन्धन कुन संगठनबिच हुन्छ भन्ने भने तय भइसकेको छैन । यद्यपि, हालसम्मको स्थिति सरकारमा सहभागी दल नेपाली कांग्रेस र नेकपा एमालेनिकट कानुन व्यवसायीहरू छुट्टाछुट्टै गठबन्धन बनाएर चुनावमा होमिन सक्ने देखिएको छ । अर्थात्, नेपाल बारको निर्वाचनमा पनि सर्वोच्च बारमा बनेको गठबन्धनले निरन्तरता पाउने सम्भावना देखिएको छ ।

यसअघि गत पुस तेस्रो साता सम्पन्न सर्वोच्च बार एसोसिएसनको निर्वाचनमा कांग्रेस–एस र माओवादी–एमालेनिकट संगठनहरूबिच गठबन्धन भएको थियो । नेपाल बारको निर्वाचनमा पनि सोही गठबन्धन अघि बढ्न सक्ने सम्भावना छ । यद्यपि, हालसम्म कोसँग गठबन्धन हुने भन्ने विषय तरल नै रहेको अधिवक्ताहरू बताउँछन् ।

‘एमाले र माओवादीबिच गठबन्धन हुने लगभग पक्काजस्तो भएको सुनेका छौँ । तर अहिले नै भन्न सकिन्न । हामी एसपीएलएसँगै अन्य घटकसँग पनि छलफलमै छौँ,’ डीएलएनिकट एक अधिवक्ताले बताए । गठबन्धन कस्तो बन्छ त्यसअनुसार उम्मेदवारको टुंगो लाग्ने उनको भनाइ छ । 

उनले डीपीएलएमा गठबन्धन नगरी जाने छलफल पनि भएको बताए । ‘संगठनभित्र कसैसँग गठबन्धन नगरी जाने छलफल पनि नभएको होइन । तर छुट्टाछुट्टै लडौँ भने पनि राजनीतिक हिसाबले माथि रहेका तीन वटा दल मिलेर हराइदिन्छन् कि भन्ने पनि कुरा उठेको छ,’ उनले भने, ‘कोसँग गठबन्धन गर्ने ? कसरी जाने ? भन्ने विषयमा अझै पक्का भएको छैन । जतासुकैबाट जाने अवस्था पनि छ ।’

कांग्रेसनिकट डीएलएले एकीकृत समाजवादीनिकट एसपीएलएसँग मिलेर चुनावमा होमिन खोजे पनि यता एसपीएलएको संगठन भने निरन्तर आफूहरूसँग पनि छलफलमा रहेको माओवादीनिकट कानुन व्यवसायीहरू मिल्ने दाबी गर्छन् । ‘अहिलेसम्मको स्थिति हेर्दा पीपीएलए र आरपीएलएबीच गठबन्धनको सम्भावना देखिएको छ । एसपीएलसँग पनि हामी छलफलमै छौँ । तर हालसम्म उहाँहरू डीएलएतर्फ जानुहुन्छ वा यता आउनुहुन्छ भन्ने स्पष्ट भइसकेको छैन,’ ती अधिवक्ताले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?