‘साना गाई हटाएर २० लिटर दूध दिने खालका पाल्नुपर्छ’

काठमाडौँ । प्रोटिन शरीरको सम्पूर्णका विकासका लागि नभई नहुने खाद्य तत्त्व हो । यो तत्त्व पशुजन्य पदार्थबाट प्राप्त हुन्छ । हामी अहिले कतिपय पशुजन्य पदार्थमा आत्मनिर्भर भइसकेका छौँ ।
आत्मनिर्भरपश्चत हाम्रो उद्देश्य मुलुकलाई समृद्ध बनाउने हो । जसका लागि पशुजन्य पदार्थलाई निर्यात गर्नुपर्ने देखिएको छ । हामीले केही वस्तुहरू निर्यात गरिसेका पनि छौँ । दूध तथा दुग्धजन्य पदार्थ, माछा, मासु तथा अण्डा उत्पादनमा मुलुक आत्मनिर्भर उन्मुख छ । देशभर वार्षिक करिब करिब २६ लाख १४ हजार मेट्रिक टन लिटर दूध उत्पादन भइरहेको छ ।
करिब ९० लिटर दूध प्रतिवर्ष प्रतिनेपालीलाई पुग्ने उत्पादन छ । वार्षिक १ अर्ब ६० करोड अण्डा उत्पादन भइरहेको छ । अर्थात् ५४–५५ वटा अण्डा प्रतिव्यक्ति प्रतिवर्ष हुन्छ ।
नेपालमा एक जनालाई वार्षिक रूपमा २१ किलो मासु पुग्छ । यति उत्पादन गरिरहँदा पन्छिने अवस्था हुँदैन । बरु बढी उत्पादन गरेर निर्यात गर्नेतर्फ लाग्नु पर्छ । दुग्धजन्य पदार्थमा छुर्पी ३ अर्ब ३ करोड रुपैयाँ अमेरिका, क्यानाडालगायत मुलुकमा निर्यात हुन्छ । चीनमा राँगा र भैँसीको मासु निर्यातका लागि कार्य भइरहेको छ । गत वर्ष १२० मेट्रिक टन भैँसीको मासु निर्यात भयो । अर्थात् ३ देखि ४ करोड रुपैयाँको मासु अन्य मुलुक निर्यात हुँदै आएको छ ।
मासु व्यापार गर्न प्रयासरत छौँ । त्यसैगरी जापानामा १५ करोड रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थ निर्यात भएका छन् । आज मुलुक बाख्रामय भएको छ । झन्डै १ करोड ४५ लाख खसी र बोका छन् । ५ लाख बढी भेडा छन् । अब खसी बोका कतार, यूएईमा पनि निर्यात गर्न सकिने सम्भावना हुन सक्छ । पछिल्लो समय त्यहाँ खसी बोका लैजाने बहस भएको छ ।
पशुमा लाग्ने केही रोगहरूलाई उन्मूलन गर्नेतिर लागेका छौँ । अबको दुई तीन वर्ष भेडामा लाग्ने पीपीआर रोगको अन्त्य हुन्छ । त्यसको भ्याक्सिन उत्पादन स्वदेशमा उत्पादन हुन्छ । पीपीआरको खोप यो वर्षबाट नियमित लगाउने अभियान छ । मुलुकमा केही हुँदैनभन्दा केही हुँदै छ भन्ने लागेको छ । अब सन् २०३० सम्म नेपालबाट खोरेत रोग निर्मूल पार्ने लक्ष्य छ । यसका लागि अभियान पनि छ । हामीले केही निश्चित क्षेत्रमा रोग नियन्त्रण गर्ने भनेर लागेका छौँ । इलाममा सुरुवात गरिसकेका छौँ ।
जहाँ उत्पादन हुन्छ, त्यहाँको क्षेत्रलाई खोरेतमुक्त बनाउने भनेर लागेका छौँ । त्यसैगरी भैँसीको सम्पूर्ण अंग प्रयोग हुन्छ । भैँसीको सिङ, छाला, हड्डीलगायत प्रयोग हुन्छ । गत वर्ष मात्रै ५० करोडको भैँसीको छाला निर्यात भएको छ । चीन मासु निर्यात गरिरहँदा त्यहाँ पनि बधशालामा छाला निकालिन्छ । भैँसीलाई प्रवर्द्धन गर्ने योजना छ । यसको कुनै वस्तु खेरा जाँदैन ।
गाईको संख्या बढ्नु र घट्नुले मुलुकको समृद्धिसँग जोडिँदैन । परापूर्वदेखि पालिँदै आएका गाई छन् । त्यसको संरक्षण जहाँ पालिन्छ , त्यहीँ गर्ने कार्यक्रम छ । साना १० वटा गाई २० देखि २५ लिटर दूध दिने गाई पाल्नुपर्छ । साना गाईका संख्या घटाउन ‘सेक्स सिमेन’ प्रयोग गर्नेछौँ । जसमा बाछी बढी जन्मिने सिमेन प्रयोग हुन्छ । करिब ९० देखि ९४ प्रतिशत बाछी जन्मिन्छन् । यसो गर्दा बाछा नै नजन्माउने भन्ने भने होइन ।
कुखुरा क्षेत्र निजी क्षेत्रले चलाएको सेक्टर हो । यसलाई सहज वातावरण बनाउन हामी सहयोग गर्दै आएका छौँ । खुला सीमाबाट अवैध रूपमा भित्रिने गरेका गुनासा आएका छन् । यस्ता गुनासालाई सम्बोधन गर्न तथा निगरानी गर्न सरोकारवाला निकायसँग समन्वय गर्ने छौँ । बर्ड फ्लुलगायत रोगका लागि खोप ल्याउन नीतिगत रूपमै हामी लाग्ने छौँ ।
(पशु सेवा विभागका महानिर्देशक दाहालले फागुन १५ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्ति)