‘सातौँ कक्षाका झगडालु विद्यार्थीहरू जस्तै’

वासिङ्टन डिसी । युक्रेनी सेनाका सर्वोच्च कमाण्डर ओलेक्जान्डर सिर्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहसको मुद्दामा युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई सार्वजनिक रूपमा समर्थन गरेका छन्।
शुक्रबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो अमेरिका भ्रमणमा रहेका बेला अमेरिकी राष्ट्रपतिको कार्यालय ओभल अफिसमा मिडियाको अगाडि ट्रम्पसँग बहस गरे। यस क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि जेलेन्स्कीसँग चर्को बहस गरेका थिए।
टेलिग्राममा एक पोस्टमा, सिर्स्कीले लेखे, ‘देशको सशस्त्र सेना युक्रेन, युक्रेनका जनता र यसका कमाण्डर-इन-चीफ जेलेन्स्कीको साथमा उभिएको छ। हाम्रो शक्ति एकतामा निहित छ।’
ट्रम्पसँगको बहसपछि युक्रेनकी विपक्षी दलकी सांसद इन्ना सोभसोनाले पनि राष्ट्रपति जेलेन्स्कीलाई समर्थन गरेकी छिन्। ‘युक्रेनका राष्ट्रपतिमाथि अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति जेडी भान्सले आक्रमण गरेका थिए,’ होलोस (भ्वाइस) पार्टीकी सदस्य इन्ना सोभसोनाले बीबीसीको वर्ल्ड टुनाइट कार्यक्रममा भनिन्।
इन्नाका अनुसार उनले यस्तो आक्रामक व्यवहारको कल्पना पनि गरेकी थिइनन्। ‘मलाई विश्वास छ कि राष्ट्रपति जेलेन्स्कीले सम्पूर्ण युक्रेनको प्रतिनिधित्व गरिरहनुभएको थियो। ट्रम्प र भान्सले स्पष्ट रूपमा उनको अपमान गर्ने प्रयास गरेका थिए। उनीहरूले स्पष्ट रूपमा भने कि राष्ट्रपति जेलेन्स्की युद्धको निरन्तरताको लागि जिम्मेवार छन्, यो पूर्ण रूपमा अस्वीकार्य छ,’ उनले भनिन् ।
उनले थपिन्, मेरो ध्यान सबैभन्दा बढी आकर्षित गर्ने कुरा के हो भने केही दिन अघि अमेरिकी टोलीले आक्रमण गर्ने देश रुसका प्रतिनिधिहरूसँग धेरै राम्रो र मैत्रीपूर्ण व्यवहार गरिरहेका थिए। आक्रमण भएको देशको राष्ट्रपतिसँग कुरा गर्दा, उहाँहरुले अभद्र र आक्रामक तरिकाले बोल्नुभएको थियो, जुन स्वीकार गर्न सकिँदैन।’
यसैगरी, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसले युक्रेनमा गैरकानूनी र अनुचित रूपमा आक्रमण गरेको बताएका छन्। ट्रुडोले आफ्नो सामाजिक सञ्जाल खातामा लेखे , ‘तीन वर्षदेखि युक्रेनले साहस र लचिलोपनका साथ प्रतिकार गरेको छ। लोकतन्त्र, स्वतन्त्रता र सार्वभौमिकताको लागि उनीहरूको लडाई सबैका लागि महत्वपूर्ण छ।’ ट्रुडोले क्यानडाले युक्रेनलाई आफ्नो समर्थन जारी राख्ने बताएका छन्।
ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले भने अमेरिकी जनता युक्रेनलाई पैसा दिँदा दिँदै 'थाकिसकेको' बताएकी छिन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै लेभिटले भनिन्, ‘उहाँ (युक्रेनी राष्ट्रपति जेलेन्स्की) यस युद्धको व्यावहारिक वास्तविकतालाई स्वीकार गर्न अस्वीकार गरिरहनुभएको छ। यो युद्ध धेरै वर्षदेखि चलिरहेको छ, उनका देशवासीहरू मरिरहेका छन्। र यो युद्धलाई आर्थिक सहयोग गर्नेहरू, अमेरिकी जनता, पैसा तिर्न थाकेका छन् ।’
उनले जेलेन्स्कीले अहिले आफूलाई २०२२ मा युद्ध सुरु भएको भन्दा ‘धेरै फरक परिस्थिति’ मा भेट्टाएको बताइन्। उनले भनिन्, ‘परिस्थिति जेलेन्स्कीको पक्षमा छैन, राष्ट्रपति ट्रम्पको पक्षमा छ। ट्रम्पको प्राथमिकता अघिल्लो अमेरिकी प्रशासन भन्दा फरक छ र उहाँ युद्धको अन्त्य चाहनुहुन्छ। तर जेलेन्स्की अहिले यो चाहनुहुन्छ जस्तो लाग्दैन।’
पेन्सिलभेनिया डेमोक्र्याटिक पार्टीकी सांसद मेडेलिन डीनले राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई उनीहरूको ‘लज्जास्पद व्यवहार’ को लागि माफी माग्न आग्रह गरेकी छिन्।
‘तिनीहरूले सातौँ कक्षाका झगडालु विद्यार्थीहरू जस्तै व्यवहार गरे,’ मेडेलिन डीनले बीबीसीको द वर्ल्ड टुनाइटलाई बताइन्। मेडेलिन डीनले जेडी भान्सलाई विवाद बढाउने काम गरेको आरोप लगाइन्।
डीनले गत वर्ष पनि युक्रेनको भ्रमण गरेकी थिइन् । ‘मैले जेलेन्स्की र उनीसँग काम गर्ने सबैजनाबाट, जनरलहरू र साधारण सिपाहीहरूबाट सुनेको कुरा यो हो, ‘धन्यवाद, धन्यवाद, धन्यवाद, हामी तपाईंमा भरोसा गरिरहेका छौँ,’ डीनले भनिन्।
यसैबिच, अमेरिकी कांग्रेसकी पूर्व सभामुख न्यान्सी पेलोसीले ह्वाइट हाउसमा भएको घटनालाई ‘लज्जास्पद व्यवहार’ भनेकी छिन्।
‘युक्रेनका निर्वाचित नेतालाई राष्ट्रपतिको कार्यालयमा आमन्त्रित गर्नु र सम्मानजनक तरिकाले उहाँसँग कुराकानी गर्नु संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको लागि शक्ति प्रदर्शन हुने थियो। तर राष्ट्रपति ट्रम्पको लज्जास्पद व्यवहारबाट तपाईंले यो कहिल्यै थाहा पाउनुहुने थिएन। पुटिन धेरै खुसी भएको हुनुपर्छ,’ पेलोसीले इन्स्टाग्राममा लेखिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा संघीय स्वास्थ्यकर्मीलाई कामबाट निकाल्न थालियो, कार्यालय पुगेकाहरूलाई गेटमै रोकियो
-
बारमा सत्ता र प्रतिपक्षको भिडन्त : दुवैलाई ‘राजावादी वकिल’को काँध
-
‘दुई ठुला शक्ति नेतृत्वमा आउँदा बारको आवाज झन् बुलन्द हुन्छ’
-
रमा–कृष्ण साहित्य सम्मान समालोचक चूडामणि बन्धुलाई
-
‘अहिलेको चुनाव दल भर्सेस कानुन व्यवसायी हो’
-
भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने १० वटा परियोजनाहरूको एमओयूमा हस्ताक्षर