शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियाका लागि नेपाली राजदूत तुम्बाहाङ्फे सबैको साझा बन्न नसकेको आरोप (विज्ञप्तिसहित)

शनिबार, १७ फागुन २०८१, १४ : ४६
शनिबार, १७ फागुन २०८१

काठमाडौँ । विपिन कुमार गुरुङ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) दक्षिण कोरियाले नेपाली राजदूत शिवमाया तुम्बाहाङ्फे सबैको साझा हुन नसकेको आरोप लगाएको छ । 

गुरुङ र महासचिव प्रशान्त राज बानियाँले जारी गरेको विज्ञप्तिमा आफूहरुले गरेको कार्यक्रममा राजदूत अनुपस्थित हुने र अर्को पक्षको कार्यक्रममा चाहिँ सहभागी भएर विभेद गर्ने काम भएको उल्लेख छ।  

केही समयअघि गुरुङ नेतृत्वको एनआरएनएले दक्षिण कोरियाले ‘बुद्ध वाज बर्न इन नेपाल’ कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा राजदूत शिवमायालाई बोलाइएपनि उनी आउने भनेर अन्तिम समयमा गएकी थिइनन् । 

‘बुद्ध वाज बर्न इन नेपाल जस्तो ऐतिहासिक अर्थ बोकेको कार्यक्रममा देशको प्रतिनिधित्व गर्ने राजदूत उपस्थित नहुँदा हामीलाई निकै दुखित तुल्याएको थियो । किनकि एनआरएनए नेपालदेखि विभाजनमा भएकोले उहाँ उपस्थित नहुनु भएको सामान्य लियौँ । तर त्यसको केही समय नहुँदै उहाँ अर्को धारको एनआरएनएको कार्यक्रममा उपस्थित भएर अन्तरक्रिया गर्ने समाचार पढ्न पायौँ, जुन दुःखद र पूर्वाग्रही भएको ठहर गरिएको छ’, विज्ञप्तिमा भनिएको छ । 

एनआरएनएको विवादको असरले दक्षिण कोरियामा समेत दुई एनआरएनए भएकोमा एक पक्षलाई मात्रै साथ दिएर आफूहरूलाई बेवास्ता गरेको गुरुङ पक्षीय एनआरएनएको भनाइ छ । 

जबकि सर्वोच्च अदालतको परमादेशले शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन आगामी मार्चमा हुन लागेको विज्ञप्तिमा उल्लेख छ । सोही समितिले प्रत्येक देशका राष्ट्रिय समन्वय परिषदहरुलाई परिपत्र गरेर समान हैसियत र अधिकार प्रदान गरी एकता अधिवेशन गर्न अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस्तै संरक्षक शेष घले र तत्कालीन अध्यक्ष विनोद कुँवर पक्षले समाएको विधि, विधान अनुसार केन्द्रका अध्यक्ष उपस्थितिमा दक्षिण कोरियामा एनआरएनए कमिटी गठन भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राजदूतावास र राजदूत जस्तो महामहिम र बौद्धिक व्यक्तित्वले अदालतको परमादेशलाई पनि रद्दीको टोकरीमा मिल्काउनु भएको हामीलाई र यो विभेदलाई केलाउनेलाई सहजै अनुमान हुनेमा दक्षिण कोरिया विनोद कुँवर पक्षीय एनआरएनको ठहर रहेको छ। राजदूत कोरियाको लागि सबैको अभिभावक भई यस विवादलाई मिलाएर लैजाने, सबै पक्षलाई एक ठाउँमा राखेर एकता र सहकार्यका लागि सशक्त आह्वान गर्नुपर्ने हाम्रो आशालाई उहाँको पक्षपातको सिलसिलाले हामीलाई अझ मर्माहत तुल्याएको छ।’

राजदूतले एक पक्षलाई मात्र प्रमोट गरिरहे उनको यो शैलीको विरोध र  बहिष्कार हुने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ । ‘उहाँका यस्ता पूर्वाग्रही र एक पक्षलाई मात्र प्रमोट गर्ने प्रवृत्ति, कोरियामा रहेको एनआरएनए पक्षधर र सम्पूर्ण नेपाली समुदायलाई विभाजित तथा छिन्नभिन्न पार्ने गतिविधि भएको हाम्रो ठहर छ’, विज्ञप्तिमा भनिएको छ, ‘महामहिमज्युका यस्ता प्रवृत्ति, पूर्वाग्रही र एक पक्षलाई पोस्ने शैलीलाई हाम्रो विरोध र बहिस्कार रहने चेतावनी दिन चाहन्छौँ ।'

13

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?