शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

विमला तुम्खेवाका तीन कविता

शनिबार, १७ फागुन २०८१, १६ : ००
शनिबार, १७ फागुन २०८१

१) सार्वजनिक बसमा एक दिन 

सहरमा घनघोर पानी परेको छ 
हत्तारिँदै दगुरेको पुरानो माइक्रो बस 
फोहोर सडकपेटी र यात्रुहरूका उदास अनुहार 
साग बेचेर हस्याङफस्याङ गर्दै घर फर्कंदै गरेकी अपरिचित महिला 
बसभित्रका सबै सबै स्तब्ध यात्रीहरू 
मेरो छेउमा चुपचाप बसेको मैलो अनुहार भएको केटो 
यी प्रतिविम्बले के दर्शाउन खोजेको छ ? 
हो, धेरैपछि आज म सार्वजनिक बसको यात्रामा छु । 
ती थाकेका आँखाहरूले 
सोध्न खोजेको प्रश्न 
चुपचाप लामो आख्यान हो 
काठमाडौँ सहरको हिलाम्मे सडक छिचोलरे हिँडिरहेको यो सिटी बस 
मेरो पनि उदास उदास जीवनको प्रतिविम्ब हो 
नागरिकलाई किच्लाझैँ गर्दै 
कतै रात्रिभोजमा तुफानले हुइँकिएको 
पीएमको यो गाडीको आतंक 
कति दिक्कलाग्दो छ 
मृत्युभन्दा पनि दिक्दार र झर्कोलाग्दो 
अफिस जाँदा होस् वा साथीहरूसँग भेट हुँदा 
कि यो सहरको पुरानो मन्दिर र गल्लीहरू चहार्दा
कि भृकुटीमण्डपको सुनिता खाजा घरमा त्यसै त्यसै टोलाइरहँदा 
कि यसो कहिलेकाहीँ हुने जम्काभेटमा 
देशको आदिवासी कवि चन्द्रवीर तुम्बापोले भन्ने गरेको 
यो देश हाम्रो होइन, भूगोल मात्र हाम्रो हो भन्ने शब्द 
त्यसरी आक्रोश ओकल्नु 
यो देशको निम्ति खतरनाक संकेत हो ?
विचारको कति भयानक प्रस्थान हो ? 
यी दिनहरूमा भृकुटीमण्डपमा हरेक दिनजसो 
कवि 
पत्रकार 
गीतकार 
संगीतकार 
सबै सबैको उपस्थितिमा साँझ फर्कन्थ्यौँ विद्रोह बोकेर । 
कि वागबजारको पुरानो रातो घरमा क्रान्तिको कुरा गर्दा होस् 
कि जनयुद्धका ती उज्याला दिनमा मुक्तिको सपना देख्दा होस्
यात्राका ती विकराल दिनहरूमा 
म कहिल्यै यति उदास थिइनँ 
म कहिल्यै यति अटेर थिइनँ 
म कहिल्यै यति पराजित थिइनँ
म कहिल्यै यति वीभत्स थिइनँ
म कहिल्यै यति खाली–खाली थिइनँ 
केही त भइरहेछु 
किन म आक्रोशित भइरहेछु ?
किन म विचलित भइरहेछु ? 
पक्कै म केही भइरहेछु 
साँच्चै शून्य–शून्य भइरहेछु । 
बसको झ्यालबाट बाहिर नियाल्दा 
बर्सिरहेको यो वर्षात् र आकाशमा गर्जिरहेको चट्याङ
हामीबिचको मौनता तोड्ने माध्यम भइदिएको छ । 
ऊ मलाई हेर्छ पुलुक्क 
म उसलाई हेर्छु पुलुक्क 
कहिलेकाहीँ अचानक यसरी भेटिएका पात्रहरूले पनि जीवनमा कत्रो 
प्रश्न छाडेर जाँदा रहेछन् 
के म त्यो केटोको उदास अनुहारलाई बिर्सन सकुँला ? 
सायद यो बेलुकी रिङरोडको अनाम किनारमा 
रुझ्दै रुझ्दै ऊ जाँदै गर्दा पानी परेको यो क्षण म कहिल्यै भुल्नेछैन 
हो, परिवर्तनको निम्ति देखेको सपना भुलेकी छैन । 
जस्तो कि म पहिलोपल्ट अन्तरी फुपूको हात समाउँदै स्कुल गएको दिन 
जस्तो की पहिलोपल्ट आमाको आँखामा मेरो खातिर छचल्किएको माया महसुस गरेको दिन 
पहिलोपल्ट बुबाले यो संसार छाडेर जाँदाको पल 
पहिलोपल्ट लोकतन्त्र ल्याउन जुलुसमा हिँडेका ती दिनहरू 
पहिलोपल्ट कवि बन्ने सपना बोकेर 
यो सहरका कवि गोष्ठीमा हिँडेका ती दिनहरू 
ओहो ! सम्झँदा पनि सपना हो कि विपना जस्तो लाग्छ 
कसरी कसरी बीस वर्षदेखि यो सहरमा छु 
हो, धेरै वर्षपछि म आज सार्वजनिक बसको यात्रामा छु । 
००

२) म उभिनेछु यो सतिसाल रुखझैँ  

खेतलाई जोत्दै जसरी बुढो गोरु हिँडिरहन्छ यो पृथ्वीमा आफू बाँचुन्जेल 
ढुङ्गाहरूलाई जोत्दै 
माटोहरूलाई जोत्दै 
घाम छिचोल्दै 
बर्खा छिचोल्दै 
र,
बाँचिदिन्छ आफ्नो मालिकको बर्बरतापूर्ण दमनका विरुद्ध निरन्तर सतिसालझैँ 
त्यसरी नै हजारौँ माइल हिँडेर म आएको हो यहाँसम्म ।

हजारौँ वर्षपछि मलाई ज्ञात भएको हो 
मान्छे भएर जन्मनुको रहस्य 
हजारौँ वर्षको यातनापछि सिकेको हो मुस्कुराउनु 
हजारौँ वर्षको यातनापछि बुझेको हो मेरो अस्तित्व 
हजारौँ वर्षको बर्बरतापछि सिकेको हो प्रश्न गर्न 
हजारौँ वर्षको यात्रापछि आएको हो यहाँसम्म ।

यो जीवनको अन्त्य जसरी पनि हुन सक्छ 
जस्तै, 
मर्न सक्छु म तिम्रो अत्याचारका विरुद्धमा बोल्दै गर्दा 
मर्न सक्छु कुनै पशुजस्तै निर्मम यातनाले थलिएर 
यहीँ कतै दिनको उज्यालोमा 
मर्न सक्छु यही संसद् भवनअघि मेरो कञ्चटमा गोली लागेर 
घटनाक्रम जे पनि हुन सक्छ 
हतारमा आमाको मुटुको औषधी किन्न हस्पिटल जाँदै गर्दा खोस्न सक्छ
रिन्यु नगरेको निहुँमा मेरो पुरारो स्कुटरको लाइसेन्स 
र,
छाप्नेछ सहरको चर्चित साप्ताहिकले घटनालाई तोडमोड गरेर
तर, 
दुर्भाग्य छेउमै आउनेछ कुनै कर्पोरेट दलालको जयजयकार ।

कुनै दिन म हिरासतमै मरेको समाचार आइहाले मेरो लासबाट हराउनेछ 
मेरो आखा 
मेरो मुटु 
मेरो कलेजो 
मेरो किड्नी 
मेरो मस्तिष्क
तर,
मेरो मस्तिष्कलाई हजारौँ टुक्राहरूमा विभाजन गरे पनि बदल्न सक्ने छैन 
मेरो विचारलाई 
मेरो अडानलाई 
मेरो सपनालाई ।

हराउनेछु कालो धुवाँसँगै यी हावाका कणहरूमा 
हराउनेछु सेता बादलहरूमा 
हराउनेछु यही माटोमा 
हराउनेछु चुपचाप चुपचाप सुकेर गएको मेरो रातो रगत जस्तै यही धर्तीमा ।

दिउँसै सिंहदरबारअगाडि गोली हान्न सक्छ मलाई 
पुलिसले 
आर्मीले 
दलालले 
र, डल्नेछु रुख डले जसरी 
मेरो हत्या सभा समारोह बिच हुन सक्छ 
जसरी पनि जहिले पनि हुन सक्छ ।

जे पनि हुन सक्छ 
सर्वोच्च अदालतमा म देशद्रोही भएको मोटो मिसिल तयार हुनेछ 
ममाथि कालो कोट लगाएको पोसाकधारीहरूले बहस गर्नेछन् 
यो देशद्रोही हो भनेर 
यो विखण्डनकारी हो भनेर 
यो अपराधी हो भनेर 
र, एकदिन निस्कनेछ मेनस्ट्रिम मिडियामा म हराएको सूचना । 

कतै म हराइहालेँ सोच्नु मेरो हत्या भएको हो 
र, यो समाचार सुनाइदिनु परिवर्तन चाहने ती तमाम मजदुरहरूलाई 
तमाम आमाहरूलाई 
तमाम स्वाभिमानी मनहरूलाई 
तिनीहरूलाई सबैलाई 
जो यति क्रूर र प्रतिकूल परिस्थितिमा पनि बाटोहरू खुला देख्छन् 
र,
उत्साहपूर्ण बाँचिरहेछन् हरेस नखाई ।
 
मारिन सक्छु म हजारौँ वर्षदेखि उनीहरूले
गरेको अत्यचारको विरुद्धमा बोल्दै गर्दा 
जो सुकिलो राष्ट्रिय पोसाकमा अक्सर भेटिने गर्छन् सभा–समारोहहरूमा 
र, 
तिम्रो नजिक नजिक आउँदै कुरा गर्न सक्छन्
मानव अधिकारको 
स्वातन्त्रताको 
परिवर्तन र मुक्तिको ।
अचानक म हराए भने हुनेछु
माथि निकै माथि बादलसँगै उडिरहेको चराजस्तै उन्मुक्त र स्वतन्त्र 
यो आकाशमा चमचमाइरहेको तारालाई हेरेर बुझ 
म, 
त्यही तारा हुँ रातको अँध्यारोमा बलिरहेको 
र, 
फर्कनेछु तमान परिस्थितिहरूलाई सामना गर्दै पप्पी फूल भएर 
सम्झीराख म हराए भने 
निकाल्न सक्छ यो दशको मेनस्ट्रिम अखबारहरूमा
मान्छे हराएको सूचना भनेर मेरो अनुहार भएको विज्ञापन 
र, गोहीजस्तै सलबलाउँदै तिनै पोसाकधारी हत्याराहरू सरिक हुनेछन् मेरो श्रद्धाञ्जली सभामा ।  
००

३) उनीहरू मानिसको शक्तिअघि निरन्तर लडिरहे ! 

जब म
बिहान–दिउँसो–साँझ कुनै पनि समय आँगन बढारिरहेको हुन्छु 
ताँती लागेर हिँडिरहेका कमिलाको बथान देख्छु 
सोच्छु – बथानका बथान कहाँ हिँडेका होलान् यिनीहरू ? 
मानिसहरू त सहरमा भर्खरै उठिरहेछन् !
केही हप्ता पहिले त हो
घरको पर्खालभरि उनीहरू हिँडिरहेको बाटो भत्काइदिएको...
खम्बा र बिमहरूमा उनीहरूले मेहनतले बनाएको बाटोहरू भत्काइदिएको...
यत्तिका साथीहरूको मृत्युपश्चात् पनि 
जति बाँचेका छन् उनीहरू सबैभन्दा हतारमा छन् 
आफ्ना हजारौँ साथीहरूको सहकर्मीको मृत्युपश्चात् पनि निरन्तर हिँडिरहेछन् ।

हरेकपल्ट उनीहरूको यात्रालाई देखेर 
मभित्र एउटा आन्दोलन उत्पन्न हुन्छ 
आफ्नै जीवनले भोगी ल्याएका हजार सन्दर्भहरू सम्झना आउँछ ।
र, 
गम खान्छु जस्तै हुरी बतासले पनि किन यिनको संकल्पलाई डगमगिन दिएन ?
सिक्न त धेरै रहेछ उनीहरूबाट मैले
उनीहरूको एकता र संकल्प देखेर म एक लामो यात्राको अठोट गर्छु ।

किन आफ्ना हजारौँ सहकर्मीहरूको मृत्युपश्चात् पनि उनीहरू निरन्तर हिँडिरहे ?
किन मानिसहरूको शक्तिको अघि निरन्तर लडिरहे ? 
ओहो ! 
विष्मयकारी र लामबद्ध हिँडिरहेका तिम्रो आकार देख्दा लाग्छ 
जीवन कति रोमाञ्चित र भव्य छ 
र,
कति रङ्गीन छ भर्खरै जरुवा पानीबाट छुट्टिएर माथि–माथि उडिरहेका यी बाफझैँ ।
हरेकपल्ट
आँगन बढार्दा होस् कि भान्साका दलिनहरूमा 
आमाले बनाएका जाँडको ओथारोहरूमा 
सुँगुरको मासु सुकाएर राखेको पोरोङ्गोहरूमा 
राष्ट्रपतिको सचिवालयहरूमा तहीँतहीँ लामबद्ध हिँडिरहेकै छन्  
उनीहरू शान्त र निरन्तर बगिरहने महासागरको गतिझैँ ।
तर,
आफैँभित्र उत्तर खोजिरहेको मेरो आफ्नै मनोदशा 
एक नवीन यात्राको सुरुवात हो 
एक कलिलो घामको न्यानो हो 
कि कहिलेकाहीँ यी सबै परिस्थितिहरूबाट अघि बढ्नु पनि आउने दिनहरूमा गज्जब हुनेछ । 
००० 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विमला तुम्खेवा
विमला तुम्खेवा
लेखकबाट थप

छुटाउनुभयो कि ?