जनहत्या र राज्यआतङ्कको विरोधस्वरूप लेखिएका कथामा कलात्मक आयाम

(‘समकालीन कथामा जनयुद्धको प्रतिविम्बनका कलात्मक आयाम’ शीर्षकको प्रा.डा. गोपीन्द्र पौडेलको शोधप्रबन्धलाई हामीले अघिल्लो सातादेखि क्रमशः प्रकाशन गर्दै आएका छौँ ।)
१) पर्खाल–आतङ्क
प्रस्तुत कथाका कथाकार रोहित दाहाल हुन् । राज्यआतङ्कको अनौठो दृष्टान्त प्रस्तुत भएको यो कथा दाहालकै ‘स्पातले बनेका मान्छेहरू’ नामक कथासङ्ग्रहमा सङ्ग्रहित छ । दाहालको यस कथामा जनयुद्ध आरम्भ हुँदै गर्दा राज्यको शान्ति सुरक्षा कायम गर्ने निकाय पुलिस प्रशासनको हतास मनस्थितिका साथै त्यही मनस्थितिका कारण राज्य आतङ्कसम्बन्धी के–कस्ता गतिविधि हुने गर्ने भन्ने दृष्टान्तलाई कथा विम्बका माध्यमबाट प्रस्तुत गरिएको छ ।
माओवादी जनयुद्धका कारण झन्डै हतास एवं मनोरुग्ण बनेको पुलिस प्रशासनको नाइके इन्स्पेक्टरको असहज मनस्थितिको चित्रण कलात्मक भङ्गीमा गरिएको छ । समग्र घटना प्रक्रियाको केन्द्रमा इन्स्पेक्टर प्रजापति छ भने उसको मानसिक मनोदशालाई पाठकसमक्ष प्रस्तुत गर्न माओवादी जनयुद्धका क्रियालाई प्रस्तुत गरिएको छ । दिनहुँजसो मात्र होइन, छिनछिनमा सडकमा ओहोरदोहोर गर्ने युवायुवतीलाई छोप्दै प्रहरी भ्यानमा कोच्दै र हिरासतको कस्टडीमा ठेल्दै गर्नु प्रहरी प्रशासनको दैनन्दिनी क्रिया भएको छ । वडा प्रहरी कार्यालयको इन्स्पेक्टरलाई उचित–अनुचित छुट्याउनुभन्दा पनि माथिको आदेशबमोजिम काम देखाउनु र त्यसैको भरमा तक्मा र प्रमोसन हात पार्नुछ । परिस्थिति भने इन्स्पेक्टरले सोचेजस्तो उसको वशमा छैन भन्ने कुरा उसको उखरमाउला वचन र व्यवहारबाट थाहा पाउन सकिन्छ ।
माओवादीका क्रियाकलाप र विशेषतः दिनहुँजसो सडकछेउका पर्खालमा हुने वालपेन्टिङ अर्थात् जनयुद्धको समर्थन र सरकारको विरोधमा लेखिएका नाराले इन्स्पेक्टर प्रजापतिका सन्दर्भमा उद्दीपकको काम गरेका छन् । परिणामतः ऊ मानसिक सन्तुलन गुमाउने अवस्थामा पुगेको छ । यहाँ उसका क्रियाकलापलाई कलात्मक बान्कीका साथ प्रस्तुत गरिएको र तिनै उद्दीपक क्रिया नै उसको असहज मनोदशाका कारक बनेका छन् ।
उसले दिनमा पुलिसलाई नारा मेट्न लगाउँछ, दुई–चारजना युवायुवतीलाई कस्टडीमा कोचेर चरम यातना दिन्छ अनि उसले त्यस रात प्रशन्नता व्यक्त गर्छ तर भोलिपल्ट पर्खालमा उस्तै नारा लेखिन्छन्, ऊ अवाक् बन्छ अनि प्रतीक्षा गर्छ आतङ्कवाद विरोधी ऐनको । यस कथामा इन्स्पिेक्टर प्रजापतिको चारित्रीकरण अत्यन्त सुन्दर भङ्गीमा गरिएको छ । पर्खालमा नारा लेख्नेहरू एउटा मिटर टेम्पोमा चढेर गए भन्ने हुलियाका आधारमा १५ सय नौ नम्बरको टेम्पो चालकलाई समातेर ल्याउन आदेश जारी गर्नुले पनि इन्स्पेक्टर प्रजापतिको मनस्थिति सन्तुलित छैन भन्ने पुष्टि हुन्छ ।
प्रस्तुत कथामा पुलिसका जवानहरू छन्, वालपेन्टिङमा सक्रिय माओवादी कार्यकर्ता छन्, पक्राउ पर्ने टेम्पोचालक लगायत पुलिस कस्टडीमा भित्रिने युवायुवती पनि पात्रका रूपमा प्रस्तुत छन् । यस कथाको केन्द्रीय भूमिकामा भने इन्स्पेक्टर प्रजापति रहेको हुनाले ऊ यस कथाको दृष्टिकेन्द्रीय पात्र हो । अर्थात् प्रस्तुत कथाका समग्र विषयप्रसङ्ग र घटना क्रमले उसको मानसिक अवस्थाको प्रस्तुति गरेका छन् । सङ्घर्षमय बाह्य परिवेश कथानकको विकासमा सहयोगी बनेको भए पनि मुख्यतया इन्स्पेक्टरको मनोगत परिवेश अत्यन्त प्रभावशाली रूपमा प्रस्तुत भएको छ । यहाँ इस्पेक्टर प्रजापति व्यक्ति पात्र नभएर सत्तासीन वर्गको प्रतिविम्ब हो, राज्यसत्ताको प्रतिनिधि हो । यसबाट के पनि बुझ्न सकिन्छ भने त्यतिबेलाको राज्यसत्ता भन्नु पनि मानसिक सन्तुलन गुमाएको अर्धपागलजस्तै थियो अर्थात् इन्स्पेक्टर प्रजापतिजस्तै ।
यसमा धेरै समाख्यानात्मक एवं थोरै संवादात्मक शैलीको प्रयोग देख्न सकिन्छ । सरल सम्प्रेष्य भाषाको प्रयोगका साथमा कसिलो संरचना भए पनि यसको रूपविन्यास प्रभावशाली देखिन्न । संरचना र प्रस्तुति शैलीका दृष्टिले कथा सुन्दर बनेको छ ।
२) सङ्कटकाल
कथाकार सी. बी. गजुरेलद्वारा लिखित प्रस्तुत कया उनकै प्रतिरोध कथासङ्ग्रहमा सङ्गृहीत छ । यस कथामा माओवादी जनयुद्धलाई दमन गर्ने मात्र होइन निमिट्यान्न पार्ने उद्देश्यले सङ्कटकाल लगाएपछिको अत्यन्त कहालीलाग्दो परिवेशको झझल्को पाइन्छ ।
यस कथामा इन्स्पिेक्टर प्रजापतिको चारित्रीकरण अत्यन्त सुन्दर भङ्गीमा गरिएको छ । पर्खालमा नारा लेख्नेहरू एउटा मिटर टेम्पोमा चढेर गए भन्ने हुलियाका आधारमा १५ सय नौ नम्बरको टेम्पो चालकलाई समातेर ल्याउन आदेश जारी गर्नुले पनि इन्स्पेक्टर प्रजापतिको मनस्थिति सन्तुलित छैन भन्ने पुष्टि हुन्छ ।
राज्यसत्ताका भरौटे शाही सेनाद्वारा चलाइएको श्वेतआतङ्का बिचमा कष्टपूर्ण एवं अत्यासलाग्दो मानवीय जीवनका केही प्रतिनिधि पात्र र घटना सन्दर्भलाई कथ्य विषय बनाएर कथाकलाका रूपमा स्वस्थ आकार प्रदान गरिएको छ । जनहत्या र राज्यआतङ्कका माध्यमबाट जनताको विद्रोहलाई साम्य पार्नु दिवास्वप्न मात्र हो भन्ने वैचारिक सन्देश सम्प्रेषण गर्ने यस कथामा समुचित परिवेशको प्रत्यङ्कन तथा पात्रका बिचको कार्यकारणयुक्त क्रिया–व्यापारका साथै घटनाको तर्कसङ्गत व्यवस्थापनका माध्यमबाट कलात्मक स्वरूपको निर्माण भएको छ ।
यस कथामा एकातिर श्रम/व्यवसाय गरेर जीविकोपार्जन गर्ने श्रमजीवी पात्र छन् भने अर्कोतिर सत्ताद्वारा पालित पोषित सेनाको जत्था र विशेषतः लप्टन र जम्दार पदधारी खुनी दुश्मनहरू कुख्यात पात्रका रूपमा प्रस्तुत छन् । यसरी हेर्दा यसमा आरनमा काम गर्ने मनबहादुर विश्वकर्मा, व्यापार व्यवसाय गर्ने जितबहादुर पुन तथा शिक्षण पेसामा कार्यरत शिक्षक किशोरजस्ता सत्विचार, उद्दात चेत तथा उद्दाम भाव भएका पात्र छन् भने अर्कोतिर सेनाका लप्टन तथा जम्दारलगायत असत् एवं कलुषित विचारका पात्र क्रियाव्यापारमा संलग्न छन् । ती पात्र आ–आफ्नो वर्ग, विचार, चिन्तनअनुरूप क्रियाव्यापारमा संलग्न भएका छन् र सोही अनुरूपको चरित्र निर्माण गरेका छन् । अन्त्यमा वर्ग सङ्घर्षको सामान्य नियमअनुरूप सत् तथा श्रमजीवी पात्रको जय र असत् तथा उत्पीडक पात्रको पराजय यसमा देखाइएको छ । एक दिनको अन्तरालमा मनबहादुर र जितबहादुर शाही सेनाको हिसासतबाट छुट्नु अनि उनीहरू (हेडमास्टर किशोरकी दुलही निर्मला समेत) लाई जनसरकारबाट भव्य स्वागत गरिनु तथा त्यसको ठिक चार दिनपछि गैरीगाउँको सेनाको ब्यारेक र सबै सैनिकहरू माओवादी आक्रमणमा परेर ध्वस्त बनाइनुले त्यसको पुष्टि हुन्छ ।
यस कथामा बाह्य सर्वज्ञाता दृष्टिबिन्दुको प्रयोग भएको छ । यसमा मनबहादुर विश्वकर्मा, जितबहादुर पुन तथा शिक्षक किशोरमाथि कथाकारको समान दृष्टि पर्न गएको छ । यी यस कथामा मुख्य भूमिकामा क्रियाशील पात्र हुन् । त्यसो त मनबहादुरकी श्रीमती, जितबहादुर पुनकी श्रीमती, शिक्षक किशोरकी श्रीमती निर्मला र मनबहादुरलाई गिरफ्तार गर्दा प्रतिवाद गर्ने विद्यार्थीको भूमिका पनि सराहनीय रहेको छ । राज्यआतङ्कको निशानामा परेका यी पात्र भनेका उत्पीडित एवं श्रमिक वर्गका प्रतिनिधि हुन् जसले आफ्नो स्वत्व र स्वाभिमान गुमाएका छैनन् ।
बाह्य द्वन्द्व तीव्र बनेको यस कथामा परिवेशको चित्रण सम्यक् रूपमा भएको छ । मनबहादुर गिरफ्तारीमा पर्नुपूर्वको वस्तुगत परिवेश, जितबहादुर पुनलाई गिरफ्तार गर्नुपूर्वको शंसय र आतङ्कमय परिवेश अनि हेडसर किशोरलार्ई गिफ्तार गरेपछिको आतङ्मय परिदेशको प्रत्यङ्कनले कथालाई थप कलात्मक बान्की प्रदान गरेको छ । कथाकलाका लागि अपेक्षित सुन्दर रूपविन्यास तथा भाषा संरचनामा रहेको कसिलोपनले पनि थप सौन्दर्यनिर्माणको काम गरेको छ । सेनाको ब्यारेकमाथि भएको सफल आक्रमणले राज्यआतङ्कद्वारा पीडित जनताको पङ्क्तिमा आशा र भरोसाको सञ्चार भएको छ ।
३) सङ्कल्प यात्रा
कथाकार सौगात आचार्यको ‘सङ्कल्प–यात्रा ’ कथासङ्ग्रहमा सङ्कलित यस कथामा जनहत्या र राज्यआतङ्कको निकृष्ट दृष्टान्त प्रस्तुत भएको छ । जनयुद्धका समयमा तात्कालीन फासिस्ट राज्यसत्ता कति नृशंस थियो र जनसामान्यउपर कस्तो व्यवहार गरिन्थ्यो भन्ने यथार्थबोध यस कथाबाट प्राप्त गर्न सकिन्छ । आततायी शासकहरू जतिजति हिंस्रक बन्दै जान्छन् उति नै जनताको पङ्क्ति पनि बदलाभाव र प्रतिशोधको मसाल बोकेर विद्रोहमा सरिक हुन्छ भन्ने वैचारिक सन्देश यस कथामार्फत संवहन भएको छ ।
सघन संरचना, मझौला आयाम तथा चुस्त एवम् शालीन प्रकृतिको प्रस्तुति शैलीले कथाकलाका दृष्टिमा प्रस्तुत कथा सुन्दर बनेको छ । अझ त्यसमा पनि यस कथालाई सुन्दर बनाउने उपकरण भनेका यसका पात्र हुन्, परिवेशको युक्तिपूर्ण चित्रण हो र वस्तुविन्यासमा रहेको सुन्दर सीप हो । अर्थात्, यस कथालाई सुन्दर बनाउने आधार भनेको पात्र, परिवेश र वस्तुका बिचको अन्तःसम्बन्ध अनि परिणति पछ्याउने सुन्दर प्रारूप हो । यसमा पात्रको चयन, चारित्रीकरण र प्रारूपीकरण प्रक्रिया अत्यन्त सुन्दर र प्रभावकारी बनेको छ । प्रस्तुत कथामा जानकी चौधरी, उसको बाबु रामलौटन चौधरी र उसको भाइ प्रकाश चौधरीको चयन गरिएको छ । त्यसो त पुलिसहरू, गाउँलेहरू पनि यहाँ सहभागी छन् । जानकी चौधरी र उसको बाबु रामलौटन चौधरी मुख्य भूमिकामा छन् भने पुलिस कमान्डर लगायत पुलिसहरू र प्रकाश सहायक पात्र हुन् । त्यहाँ उपस्थित छिमेकी गाउँलेहरू भने गौण पात्रका रूपमा उपस्थित छन् ।
जानकी चौधरीको चारित्रिक विकास अत्यन्त स्वाभाविक र संवेदनशील देखिन्छ । जानकी चौधरीको त्यस क्षणमा दुई विपरीत संवेदनाले फन्का मारेका छन् । मुलुकमा वर्गयुद्धको वेगमय यात्रा, रतम राज्यआतङ्क, रामलौटनको गिरफ्तारीजस्ता पृष्ठभूमिका बिचमा जानकी चौधरीको बिहेको तामझाम चलेको छ । आँगनमा डोली सजाइएको छ, गाउँले इष्टमित्रहरू भेला भएका छन्, खानपिन र रसरङ्ग चलेको छ, त्यसबिचमा पुलिसले रामलौटनको लास घरको आँगनमा राखिदिन्छ, छिनभरमै त्यो खुसी र रमाइलो परिवेशमा एकाएक सन्नाटा छाउँछ, त्यस खुसीमाथि एकाएक तुषारपात हुन्छ । कथा विपरीत दिशातर्फ मोडिन्छ, परिणामतः विवाहका निम्ति जुटेका गाउँलेहरू मलामीका रूपमा रूपान्तरित हुन्छन् । गाउँले हतियारले सुसज्जित भएर जानकीको नेतृत्वमा बदलाभाव र प्रतिशोधयुक्त मलामीको जुलुस अगि बढ्छ । यसबखत राज्यआतङ्कको नृशंस दृष्टान्त यसमा देख्न सकिन्छ जुन यथार्थको अत्यन्त संवेदनशील पाटो हो, नयाँ यथार्थको जीवन्त दृष्टान्त पनि हो ।
जानकी चौधरी यस कथाकी दृष्टिकेन्द्रीय पात्र हो । बाह्य सर्वज्ञाता दृष्टिविन्दु रहेको यस कथामा जानकीको उपस्थिति र क्रियाशीलता आद्योपान्त देख्न सकिन्छ । ऊ यस कथाकी नायिका हो जसको चारित्रिक विकासले कठोरतम मोड पार गरेको छ । जानकी परिस्थितिको सामना गर्दै सङ्र्घरत पात्र हो, अनपढ भए पनि अत्यन्त सचेत नारी पात्र हो । ऊ आफ्नो बाबु समलौटनको सेवासुसारका लागि पार्टीमा पूर्णकालीन जिम्मेवारीमा रहन सकिन, विवाहपश्चात् सङ्घर्षमा लाग्ने सोच बनिरहँदा बुबाको यो हबिगत भयो तथापि बदला भावले चुलिएकी जानकी चौधरी संयमित भएकी छ, हरेस खाएकी छैन ।
आँगनमा डोली सजाइएको छ, गाउँले इष्टमित्रहरू भेला भएका छन्, खानपिन र रसरङ्ग चलेको छ, त्यसबिचमा पुलिसले रामलौटनको लास घरको आँगनमा राखिदिन्छ, छिनभरमै त्यो खुसी र रमाइलो परिवेशमा एकाएक सन्नाटा छाउँछ, त्यस खुसीमाथि एकाएक तुषारपात हुन्छ ।
यस कथाको आरम्भ मध्यवर्ती घटना क्रमबाट भएको हुनाले यसको कथारेखा परावर्तित क्रममा अघि बढेको छ । रागात्मक एवं कोमल भाषिक प्रयोगले कथा सुन्दर बनेको छ । आख्यान्योचित रूपविन्यास, कथानकमा भएको नाटकीय परिवर्तन, कथाको ठाउँ–ठाउँमा प्रयुक्त दार्शनिक अभिव्यक्तिले पनि कथालाई कलात्मक बान्की प्रदान गरेका छन् । संरचनागत बनोट तथा रूपविन्यासगत बुनोटका साथै कुतूहल र संशयले पाठकीय मनोभावनालाई डोर्याउने क्षमता यसले राख्छ । यति हुँदाहुँदै पनि आफ्नो बाबुलाई बेपत्ता बनाइएको क्षणमा नै उसले लामझामका साथ विवाह गर्ने निधो गर्नु त्यति स्वाभाविक भने मानिन्न ।
४) औँसीको रात
कथाकार हरिहर खनालद्वारा लिखित प्रस्तुत कथा खनालकै ‘युद्धको पीडा’ नामक कथासङ्ग्रहमा सङ्कलित छ । जनयुद्धका समयमा तात्कालीन सरकारद्वारा जारी गरिएको सङ्कटकाल र त्यसकै आडमा चलाइएको राज्यआतङ्कले सिङ्गो मुलुकको जनजीवन आतङ्कित रहेको त्यस कालखण्डलाई कथाकारले औँसीको रातको उपमा दिएका छन् । यस कथाको नायक पात्र प्रकाशद्वारा प्रस्तुत ‘रात जति नै क्रुर भए पनि त्यसको अन्त्य अवश्यम्भावी छ । भोलि पक्कै उज्यालो हुन्छ’ (पृ.१०) भन्ने मौन कथनले आशावादको सम्प्रेषण गरेको छ । अर्को अर्थमा यस कथाले वर्तमान जतिसुकै कष्टकर भए पनि सुन्दर भविष्यतर्फको सङ्केत गरेको छ ।
पाठकलाई सुन्दर भविष्यतर्फ डोर्याउने यस कथामा कथाकलासम्बन्धी उपकरणको सुन्दर समीकरण देख्न सकिन्छ । विषयवस्तु, परिवेश तथा पात्रको चयन र तिनको विन्यासमा देखिएको कलात्मक सिद्धिले कथा सुन्दर बनेको छ । यस कथामा प्रयुक्त परिवेशको प्रत्यङ्कन अत्यन्त सुन्दर छ जसले बाह्य परिवेशको वस्तुगत पीठिका मात्र प्रस्तुत गर्दैन अपितु पात्रका अन्तरकुन्तरको मनोभाव समेतको प्रस्तुत गर्दछ । कथाको पृष्ठभूमिस्वरूप प्रस्तुत भएको त्रासदीपूर्ण परिवेशका रूपमा शिक्षक तथा विद्यार्थी राज्यहारा गिरफ्तारीमा पर्नु र सङ्कटकाल नामको कालरात्रिको आरम्भ हुनुजस्ता घटनाले क्याम्पसको वातावरण नै आतङ्कित बनेको छ, एकैपटक सात–सातजना प्राध्यापकहरूको गिरफ्तारीले कक्षा कोठामा पठनपाठन शून्य छ । बाह्य परिवेश र घटनाका कारण आम जनमानसले अड्कलेर सास फेर्ने स्थिति बनेको छ भने त्यसको प्रतिछाया यस कथाका पात्र प्रकाश, सुभद्रा र सुधा लगायत सबैमा परेको छ । अर्थात्, यस कथामा जेजस्तो परिवेश घटनाका पूर्वापर प्रसङ्गमा प्रत्यङ्कन भएको छ त्यसबाट पाठकलाई पात्रका मनोभावनासँग खेल्न सजिलो भएको छ ।
मूलतः सङ्कटकालको घोषणा अनि त्यसले निर्माण गरेको त्रासदी नै यस कथाको विषयवस्तुको केन्द्र बनेको छ । त्यस आतङ्कमय परिवेशको सिकार भएको छ लेखक एवं प्राध्यायक प्रकाश । यद्यपि सुभद्रा, सुधा लगायत पात्र पनि त्यस त्रासदीबाट मुक्त छैनन् तर रातको सन्नाटाका बिचमा सरकारी सुरक्षा फौजको घेराबन्दीमा परेर प्रकाशले गिरफ्तारी दिएको छ । पात्रको चयन तथा चारित्रीकरणमा चुस्त एवं विश्वसनीय प्रारूप निर्माण गरिएको छ जसको माध्यमबाट यस कथाका पात्र आफ्नो भूमिकामा खरो उत्रेका छन् । यस कथाका पात्र परिस्थितिको सामना गर्न तत्पर छन् तापनि तिनका अन्तरकुन्तरमा त्रासदी बलशाली रहेको छ । आखिर सम्भावनाको आकलन गर्न सक्ने क्षमता सबै पात्रमा विद्यमान भएर पनि त्रासदीको पल्ला भारी देखिन्छ । सुभद्रामा त्यसो हुनु स्वाभाविकै भए पनि प्रकाशका सन्दर्भमा त्यति शोभनीय मानिन्न ।
पात्र, परिवेश र वस्तुको सुन्दर त्रिकोणात्मक समीकरण रहेको प्रस्तुत कथाको कथानकको विकास तात्क्षणिक रूपमा भएको छ । कार्यकारण शृङ्खलामा आधारित घटनाको निर्माणले यसको कथानक ढाँचा रैखिक रूपमा अघि बढेको छ । बाह्य सर्वज्ञाता दृष्टिविन्दुको प्रयोग भएको यस कथाको दृष्टिकेन्द्रीय पात्र प्रकाश हो । त्यति मात्र होइन प्रकाश एउटा शालीन लेखक हो र ‘बमको छिर्का’ कथासङ्ग्रहको प्रसङ्गमा प्रकाश भन्नु स्वयं कथाकार हरिहर खनाल पनि हो । प्रकाश अनेक प्रकृतिका त्रासदीका बिचमा राज्यआतङ्कको चपेटामा परेको भए पनि ऊ आशावादी पात्र हो जसले कहालीलाग्दो आँैसीको रातपछि उज्यालोतर्फको सङ्केत गरेको छ ।
कथा कथनसम्बन्धी सिप र अनुभवले गर्दा प्रस्तुत कथाको भाषा तथा प्रस्तुति शैली सुन्दर बनेको छ । परिष्कृत भाषा र भङ्गीपूर्ण रूपविन्यासले कथालाई पठनीय बनाएको छ । टाक्सिएको मन्, चुक घोप्ट्याएजस्तै अँध्यारो, विषाद्को हुन्डरी, मन अमिलो हुनु जस्ता पदावलीको सार्थक प्रयोगले पात्र र परिवेशको विशिष्टीकरण भएको छ । कथाका सरंचक घटकको व्यवस्थित विन्यास तथा कथनपद्धतिमा देखिने कलात्मक बान्कीले कथाकलाका दृष्टिमा यो सुन्दर कथा हो जसले कथ्य वस्तुलाई पनि सुन्दर रूपमा प्रस्तुत गरेको छ ।
५) घाम झुल्किनुअघि
प्रस्तुत कथाका कथाकार मातृका पोखरेल हुन् । ‘घाम झुल्किनुअघि’ नामक कथासङ्ग्रहमा सङ्ग्रहित यस कथाले जनयुद्धका समयमा राज्यसत्ताद्वारा चलाइदएको जनहत्या र राज्यआतङ्कको अत्यन्त वीभत्स एवं कारूणिक दृश्य प्रस्तुत गरेको छ । तात्कालीन राज्यसत्ता आम जनताप्रति कति निर्मम, कठोर र क्रूर थियो भन्ने दृष्टान्त प्रस्तुत गर्ने यस कथामा सत्ताका शाही सैनिकको आततायी चरित्र अनि एउटी चिया पसल्नी माइली मगर्नीको कारुणिक एवं आतङ्कित मनस्थिको सम्यक् चित्रण गरिएको छ ।
यस कथामा कथाकलाको निर्माणस्वरूप पात्र, परिवेश र वस्तुको सुन्दर समायोजन गरिएको छ । मुख्य घटना घट्नुपूर्वको परिवेशको वर्णनले कुसङ्केतनको आभास दिने गर्छ । बिहानीपखको समय, चिसो सिरेटोका कारण कठ्याङ्ग्रिँदो जाडो, सिन्धुलीस्थित बेतिनी गाउँको माइलीको चियापसल अनि संत्रासमय वातावरणका बिचमा शाही सेनाको जत्थाले एउटा युवकलाई माइली मगर्नीको पसलसामु लिएर आउनुले कहालीलाग्दो घटनाको सङ्केत पाइन्छ ।
यस कथाकी मुख्य पात्र माइली मगर्नी शाही सेनाबाटै यौन शोषणमा परेकी सिधासादा पात्र हो जसले बाउको थर–ठेगान नभएको छोरालाई जन्म दिएकी छ । त्यसैले शाही सेनाप्रति माइलीको सख्त घृणाभाव रहिआएको छ । उसलाई जबर्जस्ती चियाको आदेश गरिन्छ, उसकै (र उसको सात वर्षे छोरासमेत) सामुमा युवकलाई फुटबल खेलाइन्छ र अन्त्यमा भाग्न लगाई गोली ठोकेर सिध्याइन्छ । माइली मगर्नी र उसको छोरो नचाहेर पनि यो वीमत्स दृश्य हेर्न बाध्य छन् जसको कारण ती दुई आमाछोरामा मानसिक आघात परेको छ । यो भनेको दानवरूपी शाही सेनाको परपीडक प्रवृत्ति समेत हो ।
प्रस्तुत कथामा गोलीको सिकार भएको युवक निरीह पात्र हो । उसको भाइ माओवादी भएको निहुँमा युवकको हत्या गरिएको छ । यसमा माइली मगर्नी र उसको सात वर्षे छोराका सन्दर्भमा युवकमाथि शाही सेनाद्वारा भएको पाशविक दमनले उद्दीपकको काम गरेको छ । त्यही कारण माइली मगर्नीका आमाछोरा अत्यन्त मर्माहत भएका छन् । बाह्य सर्वज्ञाता दृष्टिबिन्दु रहेको यस कथामा माइली मगर्नी दृष्टिकेन्द्रीय पात्र हो । ऊ केही पनि गर्न सक्दिनँ मात्र क्रूर घटनाको साक्षी बन्नुबाहेक ।
यस कथामा चुस्तपन छ, लम्बेतान वर्णन कहीँकतै पनि छैन । यहाँ शाही सेना र माइलीका बिचमा चुस्त प्रकृतिको संवाद देख्न सकिन्छ । त्यसो त थोरै संवाद शाही सेना र युवकका बिचमा पनि देख्न सकिन्छ त्यो भनेको युवकलाई भाग्न लगाएर उसलाई गोली ठोक्ने प्रपञ्च मात्र हो । आख्यान्योचित भाषा तथा प्रस्तुति शैलीले कथा सुन्दर बनेको छ । यसमा पात्रको उदात्तीकरण हुन नसके पनि जनहत्या र राज्यआतङ्कको कठोर दृष्टान्त प्रस्तुत भएको छ । यसमा प्रयुक्त आलङ्गरिक दृष्टान्त र सुक्तिले कथाको रूपविन्यासलाई आकर्षक बनाएको पाइन्छ । सिन्धुलीका विभिन्न स्थानको झझल्को अनि पात्रका बिचको संवादले कथाको नाटकीय विकास र विस्तारको सङ्केत गर्दछन् ।
६) बादलभित्र
प्रस्तुत कथाका कथाकार नवीन विभास हुन् । विभासकै ‘आधा बाटो हिँडेपछि’ नामक कथासङ्ग्रहमा सङ्कलित प्रस्तुत कथामा पनि जनहत्या र राज्यआतङ्कको निकृष्ट दृष्टान्त पाउन सकिन्छ । राज्यसत्ताद्वारा सञ्चालन गरिएको जनहत्या र राज्यआतङ्कसम्बन्धी क्रियाकलापले राज्यसत्ताकै विरुद्ध लाग्न उत्प्रेरित गर्छ भन्ने वैचारिक सन्देश सम्प्रेषण गर्ने प्रस्तुत कथा भन्नु आठ घर–परिवार विष्टका कपडा सिलाएर बल्लतल्ल जीवन गुजारा चलाइरहेको दमाई परिवारको इतिवृत्तान्त हो । जोखी दमिनी, उसको छोरो सुकलाल, सुकलालकी दुलही पेउली र सुकलालको एउटा छोरोसमेत पाँच जनाको दर्दनाक कथा हो, पीडादायक कथा हो ।
यसै त मुखियाबाट हुने उत्पीडन अभावले खँजारेको जीवन अनि त्यसमाथि राज्यसत्ताका नङ्ग्राले दागा धरेको यथार्थपरक परिघटनालाई सुन्दर प्रारूपीकरणका माध्यमबाट सुन्दर कथाको निर्माण गरिएको छ । यसमा पात्रका बिचको क्रिया व्यापार अत्यन्त प्रभावकारी रहेको छ जसले कथानकको विकासमा भरपुर सहयोग गरेको छ । परिपुष्ट कथानक रहेको यस कथामा दई प्रकृतिका पात्र क्रियाशील छन् । एकातिर सदावहार उत्पीडित जोखी दमिनीको परिवार छ भने अर्कोतिर राज्यसत्ताद्वारा पालित पुलिस र सेना उत्पीडक पात्र छन् । दमाई परिवारको जीवनको सहारा एउटा लुगा सिलाउने कल (मेसिन) छ । त्यही मेसिन राज्यसत्ता र उसको प्रजातन्त्रको दुस्मन बन्यो । त्यसको परिणाम माओवादीसँग हिमचिम बढायो, माओवादीका झन्डा सिलायो, माओवादीलाई खाना खुवायो भन्ने आरोप सुकलालमाथि लगाएर त्यही कललाई गिरफ्तार गरियो । उत्पीडनका निकृष्ट शृङ्खला बढ्दै जाँदा सुकलालको समेत हत्या गरेर त्यो निरीह परिवारलाई बेसहारा बनाइयो । त्यति मात्र होइन परिवारलाई भित्र थुनेर घामपानी छेक्न नसक्ने घर नामको छाप्रोमा आगो लगाइयो र मान्छे अनि लालाबाला सबैलाई खरानी बनाइयो, संयोगले जोखी दमिनी बाँच्न सफल भई आगोका लप्काबाट फुत्केर ।
जनहत्या र राज्यआतङ्कको दानवी रूप प्रस्तुत गर्ने यस कथामा पात्र, परिवेश र वस्तुका बिच सुन्दर समीकरण भएको छ । यस कथाको सुरुमा वर्णित परिवेशले पात्रको दयनीय अवस्थाको परिचय दिन्छ । त्यसो त सेना पुलिसको दमनका कारण यस कथाका दमाई परिवारका पात्रमा मानसिक आघात समेत पारेको छ । आखिर जोखी दमिनीको यो परिवार माओवादी समर्थक पनि होइन र माओवादीसँग यिनीहरूको कुनै साइनो/सम्पर्क छैन तापनि सम्पूर्ण परिवार र भएको जेथा गुमाएर एक्ली भएकी जोखी दमिनीले जीवन जिउने, गाउँबस्ती नयाँ बनाउने सपना बोकेर आन्दोलनमा सरिक भएकी छ भन्ने सङ्केत पनि कथावाचकबाट प्राप्त गर्न सकिन्छ । बाह्य सर्वज्ञाता दृष्टिबिन्दु रहेको यस कथाकी दृष्टिकेन्द्रीय पात्र जोखी दमिनी हो । सिङ्गो कथामा देखिने उसको भूमिकाले त्यसको पुष्टि गर्दछ ।
यसको कथन/पद्धति विशिष्ट प्रकारको छ । यसको कथानक पनि सरल रेखामा यात्रा नगरी पेउलीको पूर्व स्मृतिस्वरूप प्रस्तुत हुनुले यसमा परावर्तित कथानक ढाँचा रहन गएको छ । यसको भाषा आलङ्कारिक, रागात्मक एवं प्रतीकात्मक रहेको छ । यस कथामा स्थानीय कथ्य भाषाको प्रयोग अधिक देख्न सकिन्छ । कतिपय पद तथा पदावली त सम्प्रेषणीय बन्न सकेका छैनन् । भाषिका मात्र नभएर व्यक्तिबोलीका विशिष्टता तथा स्थानीय कथ्य रूपको प्रयोगले पाठकलाई थोरै असहज बनाउन सक्छ । जस्तो ः घोगा (मकै), सुल्पा (सुल्फा), भाँरा (भाँडा), आस्ता (आज ता), गर्को (गरुङ्गो) दिश्मा (देशमा), लखे (केटा), जस्ता धेरै शब्द बोधगम्य लाग्दैनन्, यस्तो प्रयोगमा सम्पर्क नेपाली भाषाको अर्थ दिँदा राम्रो हुन्थ्यो । यसमा चुस्त प्रकृतिको कथनभन्दा पनि मसिनो/मिहीन वर्णन अनि अनुप्रासीयता समेत पाउन सकिन्छ । यस प्रकृतिको कथन शिल्पले रोल्पामा बोलिने कथ्य भाषाको झझल्को दिन्छ । निचोडमा भन्नुपर्दा यसको कथा कथन बान्की र भङ्गी विशिष्ट प्रकारको देखिन्छ ।
७) फूलमती घर फर्कनै पाइन
कथाकार शशीकिरणको प्रस्तुत कथाले पनि जनहत्या र राज्यआतङ्कको वीभत्स दृष्टान्त प्रस्तुत गरेको छ । जनयुद्धका समयमा तात्कालीन फासिस्ट सत्ताले जनसामान्यलाई आतङ्ककारी देख्ने अनि पाशविक दमनको सहारा लिने गरेको कटु सत्यलाई यसमा खुलासा गरिएको छ । यसअघि नै फूलमतीको लोग्नेलाई बेपत्ता बनाइएको यथार्थ पनि फूलमतीकै स्मृतिस्वरूप प्रस्तुत भएको छ । तीनवटा नानीकी आमा फूलमतीले केही नानाचाचा र खर्चपर्चका लागि इस्कुस लिएर बजार जानलाग्दा शाही सेनाको क्रूर जत्थाले हैरानी खेलाएको छ भने फर्केेर घर आउन लाग्दा त्यही आततायी जत्थाले बलात्कारपछि उसको हत्या गरेको छ । फूलमतीले जीवनलीला समाप्त गरे पनि घरमा भएका तीनवटा अनाथ एवं अबला नानीहरूको अवस्था अत्यन्त संवेद्य बनेर प्रस्तुत भएको छ ।
यस कथालाई कलात्मक बान्की दिन पात्र, परिवेश र विषयवस्तुका बिचमा सुन्दर तादात्म्य कायम गरिएको छ । पात्रका बिचको क्रियाव्यापार अनि घटनाको पूर्वापर प्रसङ्गमा वस्तुगत एवं मनोगत परिवेशको सम्यक् चित्रण यसमा भएको छ । फूलमती जीवनसङ्घर्षमा नारिएकी पात्र हो जसका सामु आफ्ना तीनवटा नानीहरूको भरणपोषण गम्भीर समस्या बनेको छ । उसका सामु बजारको कफ्र्यूभन्दा पनि इस्कुस बेचेर भोका पेट र नाङ्गा शरीर ढाक्ने समस्या जटिल बनेको छ, ऊ आफ्नो उत्तरदायित्वप्रति दृढ सङ्कल्पित छ । यस कथामा फूलमतीसँग फाटफुट संवादमा आउने गाउँले जनहरू, फूलमतीका ससाना नानीहरू अनि दानव रूपधारी शाही सेनाका जत्थाहरू पात्रका रूपमा प्रस्तुत भए पनि यस कथाको केन्द्रमा फूलमती रहेकी छ । त्यसैले यो फूलमतीको कथा हो । फूलमतीको हत्या गरेर उसका बालबच्चाको बिल्लीवाठ गराउने राज्यसत्ताका मतियार शाही सेना नरभक्षी दानवको रूपमा यहाँ प्रस्तुत भएको छ ।
बाह्य सीमित दृष्टिबिन्दु रहेको यस कथामा फूलमतीका केन्द्रीयतामा सम्पूर्ण घटनाक्रमको विकास र विस्तार भएको छ । कथानकको विकासमा समाख्यानात्मक र संवादात्मक दुवै विधिको प्रयोग भए पनि समाख्याताको वर्णनले विशेष स्थान पाएको छ । वस्तुतः नाटकीय भन्दा पनि समाख्यानात्मक विधिको प्रयोग यसमा भएको छ । यसको भाषा तथा प्रस्तुति शैलीमा चुस्तपन र शालीनता छ । सरल कथनपद्धति तथा आख्यान्योचित रूपविन्यासले कलात्मक बान्कीमा सहयोग पुर्याएको छ । विचार र कलाको सुन्दर संयोजन भएको यस कथामा पाठकीय जिज्ञासाले पर्याप्त स्थान पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडाको आक्रमणबाट एक घाइते
-
वरिष्ठ अधिवक्ता वीरेन्द्र ठाकुरको नेतृत्वमा कानुन व्यवसायी केन्द्रीय समिति पुनर्गठन
-
रोस्टिङ कमेडी अलि सजिलो
-
प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको विषयमा उपप्रमुख डंगोलद्वारा प्रमुख साहको विरोध
-
सत्ता पक्ष नेता भन्छन्– राजनीतिक दल विभाजनसम्बन्धी विधेयक दल फुटाउने उद्देश्यले ल्याउन लागेको होइन
-
वुमन भ्वाइसेस : शक्ति, पहिचान र रूपान्तरण