काठमाडौँ । रातोपाटीको ‘प्रथम नेपाली महिला’ शृङ्खलाको १२ औँ एपिसोड अग्रणी नर्स विद्यावती कंसाकारका सम्बन्धमा छ । नेपालमा नर्सहरूको इतिहासमा विद्यावती कंसाकारको नाम अग्र पङ्क्तिमा लिइन्छ ।
परिचय
प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरको शासनकालमा विद्यावतीले भारतमा पुगी नर्स तालिम लिने अवसर प्राप्त गरेकी थिइन् । वि.सं.१९८५ सालमा भारतको इलाहावादमा पुगी ‘कमला–नेहरू मेमोरियल हस्पिटल’बाट विद्यावती कंसाकारले प्रसूतिसम्बन्धी १८ महिने तालिम लिएकी हुन् ।
त्यतिखेर चार नेपाली महिलाले तालिम लिने सौभाग्य पाएका थिए । विद्यावतीसँग तालिम लिनजाने अन्य महिलामा राधादेवी, धर्मदेवी तथा विष्णुदेवी थिए ।
यसबाहेक नन्दकुमारी तथा मोतीलक्ष्मी तुलाधर (एम.लक्ष्मी) ले पनि तालिममा जाने नपाएका होइनन् । तर नन्दकुमारी सम्पन्न परिवारकी भएकीले इलाहावाद पुगेर पनि केही दिन त्यहाँ बसी तालिम छाडेर आफ्नै हनुमाननगरस्थित घरमा गइन् ।
नेपाल भाषाका महाकवि चित्तधर ‘हृदय’ की बहिनी मोतीलक्ष्मी ‘उपासिका’ चाहिँ आफ्नी आमाको सेवामा संलग्न रहनुपरेकाले त्यसतर्फ जान नसकेको भनाइ छ । शिक्षा क्षेत्रमा कुहिरो लागिरहेको जहानिया राणाकाल थियो त्यो ।
त्यस्तो बेलामा विद्यावतीले भारत पुगी नर्स तालिम लिइनुलाई महिला शिक्षा तथा जागरणका दिशामा अत्यन्तै महत्वको विषय मानिन्छ । विद्यावतीले आफ्ना साथीहरू सहित तालिम सकेर नेपाल फर्किई वीर अस्पतालमा सेवा गर्न थालिन् ।
त्यतिबेलासम्म यहाँ कुनै महिला नर्स थिएनन् । स्मरणीय छ, वीर अस्पतालको निर्माण श्री ३ वीर शमशेरको शासनकालमा वि.सं.१९४७ मा भएको हो ।
वि.सं.१९६३ साल, श्रावण षष्ठी तिथिमा केलटोल, काठमाडौँमा जन्मिएकी विद्यावतीकी माता शोभालक्ष्मी हुन् भने पिता योगवीर सिंह कंसाकार हुन् । उनका हजुरबा र हजुर आमाको नाम चैत्यवीरसिंह कंसाकार र लक्ष्मीनानी कंसाकार हुन् ।
पेसाले व्यापारी योगवीर सिंह नेपाली तथा नेपाल भाषाका कवि तथा समाजसेवी हुन् ।
उनको सरसंगत भाषा तथा साहित्यसेवीहरूसँग बढी थियो । महाकवि चित्तधर ‘हृदय’ उनका शिष्य थिए ।
कविशिरोमणि लेखनाथ पौडेल तथा चक्रपाणि चालिसे जस्ता मूर्धन्य व्यक्तित्वहरूको जमघट घरमा भइरहने गथ्र्यो । योगसुधा, शकुन्तला, रानी मन्दिराया विलाप (बाखंम्ये) आदिका रचनाकार हुन्– योगवीर सिंह ।
‘धर्मसार’ नामको पर्चा लेखी वितरण गरिंदा योगवीरसिंह पक्राउ परेका थिए । उनीसँगै प्रकाशक भवानीवीर पनि पक्राउ परे ।
पछि, दश/दश रुपिया जरिवानी तिरी तारेखमा छुटेका हुन् । घरको यही शिक्षा, साहित्य, सेवा र जागरणमुखी भावनाले विद्यावतीलाई नर्स तालिम लिन र तालिम लिई फर्किएपछि आफ्नो क्षेत्रमा तल्लीन हुन प्रेरणा प्रदान गरेको हुनसक्छ ।
विद्यावतीको जीवनमा सेवा र परोपकार नै महत्वपूर्ण पक्ष बनेको देखिन्छ । त्यसैले सेवालाई नै परम धर्म भन्दथिन् उनी ।
तब त उनलाई चिन्नेहरू भन्दछन्– उनमा फोस्रो आडम्बर पटक्कै थिएन । देवीदेउता थानमा पुग्नेतिर उनले कहिल्यै चासो देखाइनन् । उनलाई यतापट्टि विश्वास पनि थिएन । उनी ‘मानवधर्म’ लाई नै सर्वोपरि मान्थिन् ।
उनको जस्तो धारणा थियो, त्यस्तै व्यवहार पनि थियो । बिहान सबेरैदेखि राति नसुतुन्जेलसम्म उनको ध्याउन्ना सेवामुखी कार्यमै लागिरहन्थ्यो ।
वीर अस्पतालमा आफ्नो समयमा त उनी काम गर्थिन् नै, यसबाहेक बिहान, बेलुकी घर–घरमा पुगी सेवा पुर्याउनु उनको अन्तर्खुशीको विषय थियो । तिनताक प्रसूतिका निम्ति अस्पताल जाने चलन थिएन ।
विद्यावती त्यस्ता महिलाहरूलाई अस्पतालको सेवा लिन हौँस्याउँथिन् । नाइँनास्ति गर्नेहरूलाई घरमै गएर भए पनि आफूले जानेको ज्ञान र सीपद्वारा सेवा पुर्याउँथिन् ।
उनको प्रेरणा र प्रोत्साहन पाएकाले अस्पताल धाउने महिलाहरूको सङ्ख्या पनि दिनानुदिन बढ्दै गयो ।
विद्यावती कंसाकार थोरै समयमै आफ्नो अथक परिश्रम, व्यापक समर्पण र सेवाभावका कारण दरबारदेखि छाप्रासम्म नाम कमाउन सफल भएकी थिइन् । त्यसैले त राजदरबारमा प्रसूति सेवा लिनुपर्यो भने विद्यावतीलाई नै बोलावट हुन्थ्यो । राजा महेन्द्रका सन्तान जन्मने बेलामा पनि उनी नै पुगेकी थिइन् ।
त्यतिखेर चारवटा घोडा नारिएको बग्गी विद्यावतीलाई लिन वरपर भएकाहरू छक्क पर्थे ।
राणाकालमा प्रधानमन्त्री, जर्नेल, कर्नेल आदिका घर–घरमा प्रसूति सेवाका निम्ति विद्यावतीलाई नै बोलाइन्थ्यो । राजदूतावासहरूमा समेत विद्यावतीले प्रसूति सेवा पुर्याउने गरेकी थिइन् ।
विद्यावतीको काँधमाथि कलिलै उमेरमा ठूलो जिम्मेवारी आइलागेको थियो । उनका चम्पावती, पद्मावती र चन्द्रवती तीन बहिनी र एक भाइ कमलवीरसिंह थिए ।
भाइ, बहिनी साना भएकाले तिनलाई हेर्ने जिम्मा पनि उनीमाथि नै थियो ।
विद्यावतीको दाम्पत्यजीवन भने अत्यन्तै अल्पकालको रह्यो । उनी बालविधवाकै रूपमा जीवनभर रहिन् ।
उनका भाइ कमलवीरसिंहका अनुसार विद्यावतीलाई असनका केटासँग बिहे गरिएको थियो । केटाको नाम समेत सम्झनामा रहेन ।
विद्यावतीकी बहिनी पद्मावतीका भनाइमा पनि उनका बारेमा पुराना कुरा सम्झना छैन । दिदी विद्यावती इलाहावादबाट फर्किएपछि बहिनीहरू जन्मिएका हुन् ।
उनी बालविधवा भएपछि बा योगवीरसिंहले नै पढाएर, लेखाएर नर्स तालिमका निम्ति पठाएका हुन् । विद्यावतीले आफ्नी बहिनीहरूलाई आमाले भन्दा बढ्ता माया गर्ने गरेको बहिनी पद्मावतीको स्मरण छ ।
बालविधवा विद्यावतीले आफू निस्सन्तान भए पनि आफ्ना भाइ, बहिनीहरूलाई वात्सल्य बर्साउन कुनै कसर छाडिनन् । पतिवियोगको वेदनालाई विद्यावतीले सेवाभावमा परिणत गरेकीले हुनसक्छ, उनी सदैव सेवा र परोपकारमै दत्तचित्त रहने गर्थिन् ।
मच्छेन्द्रबहाल अगाडि रहेको आफ्ना बुवाको पसलमा पनि उनले काम गरेकी थिइन् । उनी एकछिन् पनि त्यसै खाली बस्न सक्दिन थिइन् ।
नजिक भएका अरूलाई पनि खाली बस्न नदिने उनको स्वभाव थियो । बरु, अलिकति फुर्सत भयो कि स्वीटर बुन्न थाल्थिन् ।
उनको हृदय माया, ममता र वात्सल्यले भरिएको थियो । उनी दृढनिश्चयी, कठोर र सङ्घर्षशील नारी थिइन् ।
घरमा उनीदेखि सबै थर्कमान हुन्थे । दिनरात नभनी अरूको सेवाभावमा डुबिरहने विद्यावतीलाई पनि कुनै रोग लाग्ला भन्ने कसैले सोचेकै थिएन ।
तर त्यही भयो । वि.सं.२०१२ ताका उनलाई मधुमेह (चिनी) रोग लाग्यो ।
रोग लागे तापनि नानीदेखिको बानी उनले छाडिनन् । आफ्नो सेवाकार्यमा कुनै कमी आउन दिइनन् ।
तर रोगले च्याप्दै लगेका कारण उनले २०२२ सालमा वीर अस्पतालको जागिरबाट राजीनामा दिइन् । यसपछि उनी घरमै बसी अरूलाई सेवा गर्न थालिन् ।
रोगले च्याप्दै ल्यायो । उनी थला नै परिन् ।
बिछ्यौनामा हुँदा पनि समय खेर फाल्न नहुने ध्याउन्न उनको थियो ।
स्वीटर बुन्ने काम भए पनि गरिरहन्थिन् । उनका आँखा धमिलिँदै गए ।
उनी निकै अशक्त हुनपुगिन् । यसरी रूग्णावस्थामा उनले वि.सं.२०३२ सालको माघ १७ गते यस संसारबाट विदा लिएकी हुन् ।
वीर अस्पतालको जागिरे जीवनमा उनले अधिकृत तेस्रो तहसम्मको स्थान हासिल गरेकी थिइन् ।
समाजबाट त उनको कदर भइरहेकै थियो । विद्यावतीले राज्यका विभिन्न पदकबाट विभूषित हुने गौरव पनि प्राप्त गरेकी थिइन् ।
राणाकालको अन्धकार युगमा आफ्नो ज्ञान र सीपका माध्यमबाट सेवाभावमा लागिपरेकी विद्यावती मुलुकको नारीजागरण, शिक्षा, चेतना तथा स्वास्थ्यसेवाको इतिहासमा उल्लेख्य पृष्ठ हुन् । उनको राणाकालदेखि पञ्चायतकालसम्मको जीवनयात्रामा सेवा, परोपकार तथा स्वावलम्बन नै महत्वपूर्ण पक्ष रहेको देखिन्छ । विशेषतः उनले समाजमा पुर्याएको प्रसूतिसेवा र स्वास्थ्यचेतना उल्लेखनीय छ ।
प्रतिक्रिया