एआई र नयाँ डिजिटल शीतयुद्ध

हामी नयाँ विश्व व्यवस्थामा प्रवेश गर्दैछौँ । बढ्दो राष्ट्रवाद र व्यापक भूराजनीतिक प्रतिस्पर्धाले यसको छनक दिइसकेको छ । पछिल्लो तीन दशकमा अमेरिकाले अगुवाइ गर्दा ताका सिर्जित एकध्रुवीय वैश्विक आर्थिक प्रणालीका विभिन्न पक्ष अझै केही समय पक्कै कायम रहनेछन् तर पनि केही महत्त्वपूर्ण क्षेत्रमा भने ‘पुनःवैश्विकरण’ भनिएजस्तो हेरफेर हुँदैछ ।
खासगरी प्रविधिको समस्त विश्व प्रणाली ठ्याक्कै दुई चिरामा विभक्त हुँदैछ । यी दुई चिराको अगुवाइ आर्थिक महाशक्तिहरू अमेरिका र चीनले गर्नेछन् । बाँकी देशहरूले चीन वा अमेरिकामध्ये एक रोज्नुपर्ने हुन्छ । हाम्रा अगाडि चर्किंदो आर्थिक प्रतिस्पर्धा देखा पर्दैछ । यसलाई हामी ‘डिजिटल शीतयुद्ध’ भनेर बुझ्छौँ ।
डिजिटल शीतयुद्ध आर्थिक युद्ध हुनेछ । नवीनतम् प्राविधिक आविष्कारले भूराजनीतिक शक्ति निर्धारण गर्छन् । समाजलाई तीव्र र गहनस्तरमा उथलपुथल गर्न सक्ने क्षमतासहित कृत्रिम बौद्धिकता अर्थात् एआईको भूमिका निर्णायक प्रविधिको रूपमा हुनेछ । एआई सूचनाको खपत मौलाउने छ । निजी र सार्वजनिक क्षेत्रमा यसको उपयोगको स्तरले यसको क्षमता विकासको गति तय गर्नेछ । लोकतान्त्रिक विश्वले यो नवीन क्षेत्रमा आफूलाई अब्बल राख्नका लागि ती मुलुक र कम्पनीहरूले प्रतिस्पर्धा र अवरोधको सट्टा सहकार्य र रुपान्तरणको बाटो रोज्नुपर्ने हुन्छ ।
- लोकतान्त्रिक सहकार्यको नयाँ युग
आजभोलि ‘वैश्विकरणको अन्त्य’ भएको दाबी हामी यत्र–तत्र सुनिरहेका छौँ । खासमा यस्ता घोषणा आधारहीन छन् । हाम्रा सामु देखा पर्दै गरेको प्रणाली वैश्विक अन्तर–आबद्धताबाट हटेको नभएर अझै पृथक र जटिल बन्दै गएकोचाहिँ हो । धेरैजसो अवस्थामा व्यापार रोकिएको भन्दा पनि त्यसले फरक तरिका प्रयोग गर्न थालेको अवस्था छ । आउने दिनमा धेरैजसो व्यापारिक उद्योगहरू खुला र वैश्विक नै रहनेछन् । केही संवेदनशील क्षेत्र भने अब आ–आफ्नै मुलुकतर्फ केन्द्रित हुनेछन् । तिनीहरू स्थानीय आपूर्ति चक्रतर्फ फर्किने छन् ।
यस्तो लहरको सुरुवात अमेरिकाले गरेको होइन । चीनका राष्ट्रपति सी जिनपिङले सन् २०१५ मा ल्याएको ‘मेड इन चाइना’ सम्बन्धी नीतिले सुरु गरेको हो । चीन सरकारले उक्त कार्यक्रमसँगै बजारको दक्षतामा भन्दा राष्ट्रिय सम्बर्द्धनमा जोड दिएको कुरा प्रस्टसँग देखाएको थियो । राष्ट्रपति सीले उच्चस्तरको प्रविधिलगायत अर्थतन्त्रका मुख्य क्षेत्रमा अमेरिका लगायत अन्य वैश्विक शक्तिहरूलाई पछाडि पार्ने योजना अघि सारेका थिए ।
एआईमा सफलता हासिल गर्ने कुरा केवल जनसंख्याको आकारमा मात्र होइन, यसमा उपयोग हुने तथ्याङ्कको मात्रा र आकारमा पनि भर पर्छ ।
चीन सन् २०२५ सम्म प्रविधिका केही संवेदनशील क्षेत्रमा ७० प्रतिशत आत्मनिर्भरता हासिल गर्ने लक्षमा लगभग पुग्ने अवस्थामा छ । त्यही बिन्दुबाट अमेरिकाले पनि चीनको योजनालाई जवाफ दिन सुरु गर्यो । अमेरिकाले आफ्नो वर्चस्व कायमै राख्ने गरी विभिन्न उपाय लगाउन थाल्यो । यी घटनाक्रमले हामीलाई आगामी दिनमा उच्च प्रविधिको क्षेत्रमा द्वि–ध्रुवीय विश्वमा विभाजित गर्दैछन् ।
यस्तो अवस्थामा जब एआईको कुरा आउँछ । यसमा धेरै गम्भीर सन्दर्भ देखा पर्छन् । एआई वैश्विक प्रतिस्पर्धाको सम्भवतः सबैभन्दा निर्णायक प्रविधि हो । एआईको मामलामा हामी अहिले नै दह्रोगरी कसिएका दुई पृथक वातावरणमा छुट्टिसकेका छौँ । यिनीहरूमध्ये एउटाले खुला प्रणालीको समर्थन गर्छ । त्यो पक्ष लोकतन्त्र, गोपनीयता तथा व्यक्तिगत अधिकारसँग सम्बन्धित छ । अर्को पक्षचाहिँ राज्यको नियन्त्रण, सूचना–प्रवाहमा नियन्त्रण तथा खुलापनमा राजनीति प्रेरित सीमा तोक्ने कुरासँग जोडिएको छ ।
हामी अझै चीनको राजनीतिक प्रणालीमा प्रविधिले लोकतान्त्रिक बाटो डोर्याउँछ भन्ने आशा त गर्न सक्छौँ तर हाल चलिरहेको गतिविधि हेरेर पनि त्यस्तो आशालाई विश्वासमा परिणत गर्न थाल्यौँ भने हाम्रो मूल्याङ्कन क्षमतामै प्रश्न उठ्छन सक्छ । चीन त्यो दिशामा जाँदैन । भविष्यमा खुलापन तथा व्यक्तिगत अधिकार हाबी रहनु पर्छ भन्ने सोच्ने हो भने लोकतान्त्रिक मुलुकहरू एआईको बजारका अगुवा हुनैपर्छ । यसको एउटै बाटो अन्तर्राष्ट्रिय सहकार्य हो । लोकतान्त्रिक मुलुकहरू तथा नियममा आधारित विश्व व्यवस्थाका हिमायतीहरूले आपसी सहकार्यलाई प्रवर्द्धन गर्नैपर्छ ।
केही समय अघिसम्म अमेरिकाले नयाँ प्रविधि ल्याउँथ्यो र बाँकी मुलुकहरू त्यसलाई प्रयोग गर्थे । त्यसमा आफू अनुकूल सुधार गर्थे । कुनै समय थियो, अमेरिकी प्रविधि क्षेत्रले कम्प्युटर तथा इन्टरनेटजस्ता असाधारण प्रविधि आविष्कार गरेका थिए । उनीहरू आफूलाई छुट्टै र माथिल्लो हैसियतमा रहेको ठान्थे । उनीहरूको आविष्कार संसारभर तलसम्म पुग्छ भन्ने मान्थे । अमेजन, माइक्रोसफ्ट तथा गुगलले ६५ प्रतिशत ओगटेको विश्वको ‘क्लाउड’ बजारसम्म आइपुग्दा हामी त्यो अवस्था विद्यमान नै पाउछौँ । खास प्रकारका प्रविधिमा त्यस्तो सोचले काम गरेको देखियो तर, एआईको मामला अलि फरक छ । यसले सरोकारवालाहरूबिच नयाँ खालको सहकार्यको माग गर्छ ।
हिसाब गर्ने क्षमताका अलावा एआईको शक्ति यसमा प्रयोग गरिने तथ्याङ्कको मात्रामा पनि भर पर्छ । यसको अर्थ हो– आफ्नो स्थानीय तथ्याङ्कमा मात्रै भर पर्ने नीतिले एआईको अधिकतम शक्ति विकास सम्भव छैन । सन् २०१७ देखि २०२१ सम्म आइपुग्दा तथ्याङ्कमा कडाइ गर्ने नीतिमा भारी मात्रामा वृद्धि भएको छ । यसले सीमापार सहकार्यलाई अझ असहज बनाएको छ । मानव ज्ञान र क्षमता कुनै एक देश वा संस्कृतिमा मात्रै सीमित छैन । विकिपिडियामा प्रकाशित हुने विषयवस्तु र त्यसमा आधारित ज्ञानको दायरामा अंग्रेजी भाषाको हिस्सा केवल ११ प्रतिशतमात्रै भएकोबाट पनि हामी धेरै कुरा अनुमान गर्न सक्छौँ ।
अमेरिका एआई क्षेत्रको अगुवा नै हो । एआईको आधारभूत चरित्र पनि खुला समाजसँग मिल्दोजुल्दो छ । नवीनतम र अत्याधुनिक अनुसन्धानमा ऊ अझै अब्बल नै छ । तर, अमेरिकाले अन्य लोकतान्त्रिक मुलुकसँग सहकार्य गरेन भने आफ्नो स्थिति गुमाउन सक्ने देखिन्छ ।
हाम्रा कठिन समस्या समाधान गर्न सघाउन सक्ने क्षमतामा एआईलाई अब्बल बनाउनका लागि हामीले केवल एक मुलुकको भर परेर पुग्दैन । पूरा विश्वको क्षमता उधिन्नु पर्छ । फ्रान्सका आणविक वैज्ञानिकदेखि कोरियाली दार्शनिकहसम्म, भारतीय अनुसन्धानकर्तादेखि केन्याका कलाकारहरूसम्म तथा चीन छोडेर पश्चिममा आएर काम गर्दै गरेका चिनियाँ अनुसन्धानकर्तासम्मलाई यसमा समेट्नुपर्छ ।
एआईको क्षेत्रमा अनुसन्धान र विकासका लागि ठुलो पुँजी आवश्यक पर्छ । आजका दिनमा एउटै राष्ट्रले यो सबै लगानी जुटाउन धेरै अप्ठ्यारो छ । यसको जल्दो–बल्दो उदाहरणका रूपमा हामी एआईमा अत्यावश्यक सेमीकन्डक्टरको क्षेत्रमा भएको लगानीलाई हेर्न सक्छौँ । यसमा बेलायतले एक सय मिलियन तथा चिप्स उत्पादनमा एक अर्ब बेलायती पाउन्ड लगानी गर्ने योजना बनाएको छ । यो लगानी अमेरिकाको २८० अर्ब डलर र ईयूको ४३ अर्ब यूरोको तुलनामा धेरै न्यून हो । अमेरिका र युरोपले लगानी गर्न खोजेका ठुलो मात्राका यी रकमहरू पनि आवश्यकभन्दा कमै हुन् । थोरै लगानीकर्ताले मात्र ‘इन्फ्लेक्शन एआई’ जस्ता स्टार्टअपलाई लगानी योग्य रकम उपलब्ध गराउन सक्छन् । उक्त कम्पनीले एक वर्षमै १.३ अर्ब अमेरिकन डलर जम्मा गर्न सफल भएको थियो ।
पश्चिमा मुलुकहरूमा देशैपिच्छे आफ्नैखाले नियमनका विधिले गर्दा आउँदा दिनमा चिनियाँ एआईसँग प्रतिस्पर्धा गर्ने क्षमता कमजोर बनाउँदैछ । एआईमा सफलता हासिल गर्ने कुरा केवल जनसंख्याको आकारमा मात्र होइन, यसमा उपयोग हुने तथ्याङ्कको मात्रा र आकारमा पनि भर पर्छ । अमेरिकाको भन्दा चार गुणा बढी जनसंख्या भएको चीनको उच्चस्तरमा डिजिटलाइज्ड समाजले सरकार र प्राविधिक फर्महरूबिच हुने तथ्याङ्कको निर्वाध साझेदारीलाई सहज बनाएको छ । यसै विशेषताको कारण अमेरिकी तथा अन्य गैरचिनियाँ अनुसन्धानमा आधारित एआईका चिनियाँ मोडेलले पश्चिमाको क्षमतालाई सजिलै उछिन्न सक्छन् ।
चीनले शक्तिशाली एआई बनाउने सम्भावना धेरै छ । आफ्नो ठुलो आकार, केन्द्रीकृत सरकार, अन्य राष्ट्रमा भएको आफ्नो उपस्थिति सबैका कारण चीनले अन्य मुलुकको दाँजोमा शक्तिशाली एआई बनाउन सक्छ । यससँग प्रतिस्पर्धा गर्न लोकतान्त्रिक मुलुकले अन्तर्राष्ट्रिय सहकार्य गर्नु अत्यावश्यक हुन्छ । आजका मितिसम्म अमेरिका एआईको क्षेत्रमा अगुवा नै हो । एआईको आधारभूत चरित्र पनि खुला समाजसँग मिल्दोजुल्दो छ ।
नवीनतम र अत्याधुनिक अनुसन्धानमा अमेरिका अझै अब्बल नै छ तर, अमेरिकाले अन्य लोकतान्त्रिक मुलुकसँग सहकार्य गरेन भने आफ्नो स्थिति गुमाउन सक्ने देखिन्छ । यस्तो अवस्था आयो भने चीनको एआई पश्चिमा बजारमा आउनेछ । यसले लोकतान्त्रिक राजनीतिलाई ठुलो प्रभाव पार्नेछ । चीनको बर्चस्व देखाउने छ । अन्ततः संसारभर डिजिटल पूर्वाधारमा चिनियाँ उपनवेश नै खडा हुनेछ ।
पश्चिमले आफूलाई अब्बल देखाउन तथा प्रविधिलाई खुला र लोकतान्त्रिक नियन्त्रणमा राख्नका लागि एकीकृत रूपमा चलाखीपूर्वक काम गर्नुपर्ने छ ।
यसरी एआई बढ्दो गतिमा वैश्विक पूर्वाधारको अति संवेदनशील हिस्सा बन्दै छ । पश्चिमले यसमा आफूलाई अब्बल देखाउनै पर्नेछ । पश्चिमले प्रविधिलाई खुला र लोकतान्त्रिक नियन्त्रणमा राख्नका लागि चलाखीपूर्वक एकीकृत रूपमा काम गर्नुपर्ने छ । आउँदा दिनमा उन्नत एआई मोडेलहरू निर्माण गर्नका लागि अमेरिकाले भारत, सिंगापुर, जापान, दक्षिण कोरिया र युरोपेली राष्ट्रजस्ता सहयोगीसँग सहकार्य गर्नु आवश्यक छ । यसका लागि तथ्याङ्क–साझेदारी नीति तथा प्राविधिक अनुसन्धान र नवप्रवर्तनमा संयुक्त काम आवश्यक छ । युरोपेली संघको सन् २०२२ को ‘डाटा गभर्नेन्स एक्ट’ ले नागरिक र व्यवसायलाई फाइदा पुग्ने गरी सीमापार तथ्याङ्क साझेदारीको मोडेल परिकल्पना गरेको छ । यसबाट पनि हामी धेरै कुरा सिक्न सक्छौँ ।
भरपर्दो समन्वयको अभावमा एआईले अपेक्षित स्तरमा प्रभाव पार्न सक्दैन । जलवायु परिवर्तनका मोडेललाई एकतर्फी तथ्याङ्कमा तालिम गराउँदा यसले कमजोर प्रणाली बनाउँछ । यसैगरी चिकित्सा र औद्योगिक क्षेत्र सम्बन्धी सूचना र तथ्याङ्क एकै मुलुकमा मात्र सीमित हुँदैनन् । एउटै अनुसन्धान संस्थाको अग्राधिकारमा सीमित पनि हुँदैनन् । छुट्टा–छुट्टै र एक–आपसमा बाझिने खालका नियमहरूले लागत बढाउने मात्र नभएर नवप्रवर्तन र आविष्कारमै ढिलो गराउँछन् ।
यसो भन्दै गर्दा सरकारहरू एआई नियमनबाट पछि हट्नुपर्छ भन्ने आशय पक्कै होइन । बरु मुलुकहरूले नीतिमा एकरुपता तथा व्यवस्थित पद्धति अवलम्बन गर्नुपर्छ भन्न खोजेको हो । लोकतान्त्रिक राष्ट्रहरूबिचको सहकार्यले पश्चिमलाई विश्वव्यापी एआई नेताको रूपमा स्थापित गर्नेमात्रै नभएर प्रत्येक मुलुकलाई थप सशक्तिकरण पनि गराउँछ ।
एआईको कुरा गर्दा प्रायः ‘लार्ज ल्याङ्वेज मोडल’ तथा ‘जेनेरेटिभ’ क्षमताको कुरा हुनेगर्छ तर, चर्चा गर्नुपर्ने तथा एआईले ठुलो प्रभाव पार्न सक्ने क्षेत्र भनेको औद्योगिक तथा समाज रुपान्तरणमा यसले कसरी प्रभाव पार्छ भन्ने हो ।
- एआई रुपान्तरणका लागि आवश्यक काम
पश्चिमा मुलुकहरू एआई बजारमा अग्रणी बन्नका लागि उनीहरूले विभिन्न मुलुकसँग सहकार्य गरेरमात्र पुग्दैन । उनीहरूले आफ्नै देशभित्र पनि उत्तिकै सहकार्य गर्नुपर्छ । खासगरी सरकारी संस्थाहरू तथा नागरिक समाजबिचमा जीवन्त सहकार्य आवश्यक छ । अहिले एआईको कुरा गर्दा प्रायः ‘लार्ज ल्याङ्वेज मोडल’ तथा ‘जेनेरेटिभ’ क्षमताको कुरा हुनेगर्छ तर, चर्चा गर्नुपर्ने तथा एआईले ठुलो प्रभाव पार्न सक्ने क्षेत्र भनेको औद्योगिक तथा समाज रुपान्तरणमा यसले कसरी प्रभाव पार्छ भन्ने हो । यस्तो व्यापक तथा साँचो रुपान्तरणका लागि यस क्षेत्रमा संलग्न व्यक्ति तथा संस्थाहरू बृहत् समाजसँग अनिवार्य रूपमा जोडिएको हुनुपर्छ ।
हामी अहिले नै एआईको रूपान्तरणकारी क्षमता अनुभूत गर्न थालेका छौँ । एआईमा पहुँच भएकाहरूलाई यसले धेरैथोक उपलब्ध गराउन थालेको छ । उनीहरू अहिले नै धेरै कुरामा अगाडि हुने सम्भावना बढेर गएको छ । कक्षाकोठामा एआईले प्रत्येक विद्यार्थीलाई छुट्टाछुट्टै ध्यान दिन तथा उनीहरूलाई अभूतपूर्व सामग्रीमा पहुँच पुर्याउन सक्छ । कार्यस्थलमा एआईले बारम्बार दोहोरिने तथा झन्झटिला काम गर्नबाट कामदारलाई मुक्त गर्न सक्छ ताकि तिनीहरू उच्चस्तरका समस्याहरूमा ध्यान केन्द्रित गर्न सकुन् ।
यतिमात्र नभएर एआईसँग हामीले गर्न नसक्ने काम पत्ता लगाउने क्षमता पनि छ । उदाहरणका लागि विभिन्न रोगका औषधिको खोजीलाई नै लिनुहोस । हामीले अझै उपचार गर्न नसक्ने अवस्थामा रहेका दुःसाध्य रोगको समाधान गर्ने औषधिको खोजीमा एआईले सहजै परीक्षण गर्न सक्छ वा मेडिकल इमेजिङ नै भनौँ, जसमा एआईको सहायताले पहिलेभन्दा धेरै रोगहरू अगाडि नै पत्ता लगाउन सकिन्छ । जलवायु परिवर्तनका मामलामा एआईले पूर्वानुमानका मोडेललाई प्रभावकारी बनाउन सक्छ ।
हामी अहिले दोबाटोको मुखमा उभिएका छौँ । हामी स्वचालन तथा विनाशको बाटो हिड्न पनि सक्छौँ वा सहचालन र सबलीकरणको बाटो हुँदै आफूलाई थप उत्पादक बनाउने, सन्तुलित जीवन बाँच्ने अवस्था सिर्जना गर्ने तथा हाम्रा कामहरूमा अझै धेरै प्रभावकारिता हासिल गर्ने बाटो पनि हिँड्न सक्छौँ ।
जनसंख्याको कमजोर हिस्साका लागि दुर्लभ तर घातक प्रकोपहरूको सम्भावनाबारे पत्ता लगाएर पूर्वसूचित गर्न सक्छ । रक्षा प्रविधिको क्षेत्रमा झन् व्यापक सम्भावना हुन सक्छन् । एआईले युद्धका सम्भावनाहरू पहिल्याउन तथा आक्रमणबाट जोगिने वा रोक्ने कुरालाई प्रभावकारी बनाउन सक्छ । यी सम्भावना हुन् तर, यथार्थमा परिणत हुन्छन् नै भन्ने कुनै निश्चितता छैन । जसरी एआईले व्यापक सम्भावना र अवसर प्रदान गर्छ । यसले त्यत्तिकै जोखिमहरू पनि हाम्रा सामु ल्याउन सक्छ ।
एआईले ल्याउनसक्ने खतराबारे छलफल गर्दैगर्दा मानवतामाथि नै यसले विपत्ति ल्याउँछ कि भन्ने हो । विभिन्न छलफलहरू पनि त्यसैमा केन्द्रित रहेर हुँदै गरेका छन् । यो दीर्घकालीन विषय हो । तत्कालका लागि एआईले जताततै लोकतान्त्रिक प्रणालीलाई अस्थिर बनाउँदै छ । परिष्कृत ‘बोट’हरू तथा यथार्थ जस्तै भान हुने ‘डिपफेक’हरूको माध्यमबाट गलत तथा भ्रामक सूचना सम्प्रेषण गर्न सजिलो बनाएर एआईले लोकतान्त्रिक अभ्यासमा चुनौती बढाइरहेको छ । एआईले लोकतन्त्रका मूल्यमाथि प्रश्न खडा गर्ने समय आइसकेको छ ।
सोच्नुस त ! एआईको सुविधा सम्पन्न तानाशाही प्रणालीले लोकतान्त्रिक व्यवस्थालाई हराइदियो भने के होला ? जस्तो कि एआई जडित निगरानीले अपराधमा ठुलो नियन्त्रण गर्न सक्छ वा मानिसको निजी सूचनामा हस्तक्षेप गरेर प्राप्त केन्द्रिकृत तथ्याङ्क प्रणालीले आममानिसको स्वास्थ्य सेवामा पहँुचको मामिलामा ठुलो परिवर्तन ल्याउन सक्छ । यस्तो अवस्थामा अधिनायकवादी व्यवस्थाले राम्रो काम गरेको देखिन्छ । एआईको विकास हुदै जाँदा अलोकतान्त्रिक विकल्प फस्टाउँदै जान सक्छन् । यस्ता सम्भावना अब धेरै टाढा छैनन् ।
हामी अहिले दोबाटोको मुखमा उभिएका छौँ । हामी स्वचालन तथा विनाशको बाटो हिँड्न पनि सक्छौँ वा सह–चालन र सबलिकरणको बाटो हुँदै आफूलाई थप उत्पादक बनाउने, सन्तुलित जीवन बाँच्ने अवस्था सिर्जना गर्ने तथा हाम्रा कामहरूमा अझै धेरै प्रभावकारिता हासिल गर्ने बाटो पनि हिड्न सक्छौँ । यो सामाजिक सञ्जालजस्तो पटक्कै होइन । सामाजिक सञ्जालको हकमा नियमनकर्ताले विकास रोक्न वा धिमा बनाउन सम्भव थियो तर, एआईको हकमा त्यस्तो सम्भव छैन ।
एआई अघि बढ्ने सम्भवनामात्रै छ । यो केवल ‘प्लेटफर्म’ मा आएको परिवर्तन होइन । यो त समाजका प्रमुख तत्वले पहिले नै अँगालिसकेको पूर्ण–स्तरीय प्राविधिक क्रान्ति हो । यसको व्यापक प्रभाव छ ।
यस्ता दीर्घकालीन दृष्टिकोण अँगाल्ने कम्पनीहरू अबका दिनमा सबैभन्दा सफल हुनेछन् । व्यवस्थित स्व–नियमन अपनाउँदै सामाजिक मूल्यमान्यतासँग मिल्ने कम्पनीहरू सफल हुनेछन् । अब एआईको क्षेत्रमा काम गर्नेहरूले धेरै कुरामा जिम्मेवार हुनु आवश्यक छ । एआईले लोकतन्त्रलाई अस्थिर बनाउन सक्ने खतराबाट जोगाउनका लागि सार्वजनिक क्षेत्र तथा सम्बन्धित उद्योगसँग धेरै कुरामा साझेदारी पनि आवश्यक छ । एआईले हरेक क्षेत्रलाई असर गर्नेवाला छ ।
त्यसैले दिगो र सर्वाङ्गिण रुपान्तरणका लागि विविध सरोकारवालाको हितलाई विचार गर्नु आवश्यक छ । एआई युगमा परम्परागत प्राविधिक एकाङ्गिपनाबाट बाहिर निस्केर जिम्मेवार रूपमा प्रस्तुत हुनु आवश्यक हुन्छ ।
डिजिटल शीतयुद्ध जित्नका लागि अमेरिका र यसका सहयोगी मुलुकले आफूलाई एआईको बजारमा अब्बल साबित गराउनै पर्छ । साथै उत्कृष्ट एआई कम्पनीहरू निर्माणका लागि उनीहरूले नयाँ सोचका साथ अन्तर्राष्ट्रिय सहकार्यलाई गम्भीरता साथ प्राथमिकता दिनै पर्छ । यसले मात्र नवीन आविष्कारहरूमा जवाफदेहिता ल्याउन सक्छ । मानव क्षमतालाई प्रष्फुटन गराउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमला तुम्खेवाका तीन कविता
-
‘नारायणहिटीमा राखिएको श्रीपेच राजालाई लगाउँछौँ’, तस्बिरहरू
-
खानेपानीमन्त्री यादव भारत प्रस्थान
-
अखिल क्रान्तिकारीले टुंग्यायो आरआरको स्ववियु सभापति उम्मेदवार
-
नेपालमा साँचो लोकतन्त्र २०६५ सालमा जन्मिएको हो, त्यसअघि होइन
-
हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्नेछ : अध्यक्ष प्रचण्ड