एउटा स्वतन्त्र उम्मेदवारको साबिती बयान

व्यक्तिगत गोपनीयताको सम्मान गर्दै नामहरू उल्लेख गर्नु मनासिब लागेन र गर्न चाहिनँ साथै सामाजिक सञ्जालमा फोटो पोस्ट्याउनु पनि उचित लागेन ।
कुरो गत उपनिर्वाचन २०८१ को हो ।
देशको अवस्थाका बारेमा एउटा सचेत नागरिकको चासो रहने नै भयो । उपचुनाव अगाडि हामी मित्रहरू समूहमा बसेर देशको अवस्था खोतल्थ्यौँ, चर्चा गथ्र्यौं र चिन्ता पनि । मनमा देश दुख्थ्यो । आर्थिक रूपमा देश तन्नम हुँदै गएको अवस्थाले घाँटी थिचेको अनुभव हुन्थ्यो । देशको ऋण रकम सुन्दा छाती भारी र शरीर सिताङ्ग हुन्थ्यो, उकुस–मुकुस हुन्थ्योे । यो अवस्था सुधार्नु र सुव्यवस्था गर्छौं भनेर आएका प्रमुख पार्टीहरूको सिन्डिकेट नगरपालिका हुँदै वडासम्म व्याप्त देखेर थप चिन्तित हुन्थ्यौँ । बजेट विनियोजन र पूर्वाधार निर्माण दलको सिन्डिकेटकै कारण बिथोलिएकामा दिक्क मान्थ्यौँ ।
टोल, छिमेक, समाज सबैतिर दलका कार्यकर्ता मात्रै देखिन्थे । जनता देख्न दुर्लभ हुन्थ्यो । पार्टीले मान्छे बन्न दिएन, कार्यकर्ता बनायो भन्दै दाह्रा किट्थ्यौँ । पूर्वाधार विकासका लागि विनियोजित बजेट धुजा–धुजा गरी च्यातिन्थ्यो, आफू र आफ्नाहरूमा भाग लाग्थे र थोरै बाँकी बजेट रकम विकासको नाउँमा छर्दै मान्छे मान्छेबिच भेद पैदा गरेको देख्थ्यौँ । हामीचाहिँ समाज टुक्र्याए भनेर रिसाउँथ्यौँ । अब हामी गाउँभित्रै बाँडियौँ, टोलभित्र छरप्रस्ट भयौँ र घरभित्रै विभाजित भयौँ । हामीभित्रको एकता खोसियो । अनि नगर, गाउँ र टोल बिचल्ली पारेकामा दललाई जिम्मेवार ठहर्याउँथ्यौ ।
हाम्रो अगाडि समस्या र चुनौतीको पहाड ठिङ्ग उभिन्थ्यो । हामी विस्तार जुट्दै समाधानको बाटो पैल्याउने उपाय खोज्थ्यौँ । चुनाव नै अन्तिम र महत्त्वपूर्ण माध्यम हो, जसले समस्यालाई जरैदेखि ओखल्न सक्छ भनेर निक्र्योल गर्यौँ । गैरदलीय, स्वतन्त्र व्यक्ति मेयर भएर आए मात्रै समस्या हल हुने कुरामा हाम्रो मतैक्यता भयो । थोरै आशावादिता पलायो । हामी हौसियौँ, मुठी कसेर हात तनक्क तन्काउँदै दरिलोसँग जमिनमा टेक्यौँ र चुनावलाई दलविहीन नगर नेतृत्व प्राप्त गर्ने महत्त्वपूर्ण औजारका रूपमा उपयोग गर्ने सर्वसम्मत निर्णय गर्यौँ । अब उप्रान्त नगरपालिकामा ती दलले जित्न हुँदैन, जसको आजसम्मको क्रियाकलापले नगर क्षेत्र विखण्डित भएको छ । त्यसैले गैरदलीय उम्मेदवारले जित्नुपर्छ भन्यौँ । दल विरुद्ध ‘नो भोट’को अभियान चलाउने सल्लाहमा सन्तोष गर्दै र टोल समाजमा हल्का हल्ला पनि गर्न थाल्यौँ ।
उपचुनाव आयो ।
म कीर्तिपुर नगरपालिकाको मेयर पदको गैरदलीय उम्मेदवार भएँ । साथीहरू पुलकित भए । मैले इस्टकोट चुनाव चिन्न पाएँ । साथीहरूमा छुट्टै उत्साह छायो । समग्र नगरलाई दलको दलदलबाट माथि उठाउने मेरो मूल मुद्दा थियो । साथीहरूले त्यसलाई सहमतिको मुद्दा बनाए । स्थानीय तह गैरदलीय बनाउने एजेन्डा पनि थियो । यसको सबैले अपनत्व लिए । किनकि साथीभाइहरूको दह्रो समर्थनमा उठेको थिएँ । सबैको साथ रह्यो, सहयोग पाइयो र सहभागिता पनि देखिन्थ्यो ।
चुनावी माहोल चल्दै थियो ।
हेर्दाहेर्दै साथीहरू कार्यकर्ताबाट रैतीमा अवतरित भइसकेका थिए । बडो कौशलका साथ जनता जोत्न सिपालु पार्टीहरूको जुवामा साथीहरू गोरु बनेर नारिन थालिसकेका थिए । दलको मेजमानीमा लट्ठै हुँदै गए । तीन दशकदेखि एउटै फर्मुलाले जितेका दलहरूलाई फेरि सफल हुने बाटो खोलिदिए ।
चुनावी कार्यक्रममा व्यस्त रह्यौँ । चुनावी एजेन्डासहित कार्यक्रम लिएर हामी मतदाताको बस्ती भित्र छिर्यौँ । दलहरू पनि आफ्ना चुनावी कार्यक्रमसहित आए । हामी एजेन्डा बोकेर गयौँ, दलहरू साम, दाम दण्ड, भेदको नीति लिएर मतदातामा गए । उनीहरू गाउँ छिरे, टोल छिरे, घरघर छिरे, चोटा कोठा छिरे, घरका मझेरी र मटानमा पनि छिरे । दलका नेताहरू मतदाताहरूसँग नाता सोझ्याउँदै छिरे, सपना बाँड्न छिरे, योजनाका आश्वासन दिन छिरे, पैसाको प्रलोभन दिन छिरे, भोज र मोजको स्वाद चखाउन छिरे, जनताको पाउमा परेर अनुनय–विनय गर्न पनि छिरे र त्यो पनि नहुने ठाउँमा धम्कीको भाषा बोल्दै छिरे । ठिक यही समयमा दलका मान्छेहरू हाम्रो समूहभित्र पनि छिरे, व्यक्ति–व्यक्तिमा छिरे, सबै हतकण्डा अपनाउँदै छिरे ।
यति भइसक्दासम्म शिरमा देश, मनमा राष्ट्रियता बोकेका स्वाभिमानी मित्रहरूमा परिवर्तन देखियो । दल चुम्बक भयो, साथीहरू फलाम बने । उनीहरू नागरिकबाट कार्यकर्तामा रूपान्तरित हुन थाले । उनीहरूले देश, नगर, टोल बिर्सेर पार्टीका तहगत कमिटीहरू नै सर्वोपरि देखिसकेका थिए । अब मित्रहरूबाटै दलीय व्यवस्थामा दलकै आड लाग्नुपर्ने आवाज सुनिन थाल्यो । गैरदलीय प्रतिनिधिको नगर कार्यपालिकामा हैसियत नै हुँदैन, जितेर केही हुन्न, चर्चा नगर्नु नै श्रेयष्कर छ भनेर बोल्न थालेँ । देशमा सरकार सञ्चालन गर्ने दलविरुद्ध जान नहुने ज्ञान बाँड्न थालेँ ।
हेर्दाहेर्दै साथीहरू कार्यकर्ताबाट रैतीमा अवतरित भइसकेका थिए । बडो कौशलका साथ जनता जोत्न सिपालु पार्टीहरूको जुवामा साथीहरू गोरु बनेर नारिन थालिसकेका थिए । दलको मेजमानीमा लट्ठै हुँदै गए । तीन दशकदेखि एउटै फर्मुलाले जितेका दलहरूलाई फेरि सफल हुने बाटो खोलिदिए । अन्ततः खुलमखुला दलकै चिह्नमा छाप लागे, दलले भोट पाए, दललाई नै चुनाव जिताइदिए । जे नहुनुपर्ने, त्यही भयो, किनकि जे हुने गथ्र्यो त्यही भयो ।
चुनाव सकियो ।
चुनावी चमक सकियो । नारा जुलुस सकियो, बधाई र धन्यवादका आवाजहरू सुनिन छाडे । चुनावपछिको एकाध महिनामा मित्रहरूको चुनावी रङ फिक्का पर्दै बिस्तारै खुइलिन थाल्यो । मित्रहरूको खुट्टाले आफ्नै भुइँमा टेकेको थाहा पाए । चुनावमा प्राप्त अर्थ सकियो, कार्यकर्ता हुँदै रैती बन्नुको अर्थ पनि सकियो । खाएको भोज पच्यो, गरेको मोज बिस्र्यो, बाइकमा हालेको तेल सकियो । दलले वास्ता गर्न छाडेपछि शक्तिको रन्को हराउँदै गयो ।
अब पुनः उनीहरूलाई आफूभित्रको नागरिकले झकझक्यायो । तन्द्राबाट झल्याँस्स भए, बिउँझिए । आफूलाई रैतीको तहमा पाए, अब टिक्न गाह्रो भयो, फेरि नागरिक बन्ने हुटहुटी बढ्यो । अब अवतरणको प्रक्रिया सुरु भयो । मुटुमा देश पनि दुख्न थाल्यो । अनि दल विरुद्धको असन्तुष्टि टुसाउन थाले । उनीहरूलाई नगर, गाउँ, वडा, टोल, छिमेकको बिछट्टै माया लागेर आयो । दलीय बेथिति र उदाङ्गो सिन्डिकेट छर्लङ्ग देख्न थाले । फेरि दलहरू जनतामारा लाग्न लागे । चुनाव सकिएको केही महिना नबित्दै तिनै दलहरूलाई सरापेको रुन्चे स्वर सामाजिक सञ्जालमा पोखिन थाले । आजभोलि साथीहरूम बर्मजियाको असली बाजेको पेडाझैँ असली नागरिक बनेर दलतिर फर्केर धारेहात उध्याउन थालिसके । दलले हामीलाई बिगार्यो कि हामीले दललाई बिगार्यौँ भन्ने साथीहरूले ठम्याउनै सकेनन् । सारा बेथिति र हाम्रो हबिगतको कारक हामी हौँ भन्ने शरम लाग्यो । सबैको कारक दल नै हो भन्ने स्थापित गर्न न्वारनदेखिको बल लगाउँदै छन् । अब त दलविरुद्ध रुवाबासी सुरु भइसक्यो ।
साथीहरूले दलका नेताहरूको औजार बनेका रहेछौँ भन्ने पनि थाहा पाएनन् र चुनाव अवधिभरको हाम्रो रैती व्यवहार नै सबै समस्याको जड हो भन्ने मान्नै चाहेनन् । आफ्नो आङको भैँसी देखेनन् । यो पुरानै आदत हो । दैलो देख्न ढिला भयो । खै अब के गर्न सकिएला र ? भोलि दलले हाम्रै खल्तीको पैसा खोसेर हाम्रै घरअगाडि बाटो बनाएको हेर्ने दिन टाढा छैन । त्यतिबेला यिनै दलको ज्यादतीले मुटु गाँठो पार्दै भक्कानिएर रोएको दिन सान्त्वना दिने कोही हुने छैनन् । टुलुटुलु हेर्नुबाहेक अरु उपाय केही हुनेछैन ।
ममा प्रश्न उब्जन्छ, दल जितेर जनता हार्ने प्रक्रिया नै निर्वाचन हो कि ? यो आवधिक निर्वाचन भनेको नागरिकलाई आवधिक रूपमा रैती बनाउने प्रक्रिया हो भनेर बुझ्दा के फरक पर्ला र ? आखिर हुने त्यही हो, होइन र ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाका लागि नेपाली राजदूत तम्बाहाङ्फे सबैको साझा बन्न नसकेको आरोप (विज्ञप्तिसहित)
-
जुम्लामा वर्षा र हिमपात हुँदा किसानलाई राहत
-
तस्बिरमा हेर्नुहोस् काठमाडौँ महानगरको शैक्षिक मेला
-
मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागतका लागि सार्वजनिक बिदा
-
पब्लिक यूथ क्याम्पस स्ववियु सभापतिमा शाहीको उम्मेदवारी घोषणा
-
कराते कप अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान