शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय

भूमिसम्बन्धी अध्यादेशले निम्त्याएको आपत्

शनिबार, १७ फागुन २०८१, १० : ४५
शनिबार, १७ फागुन २०८१

काठमाडौँ । शुक्रवार भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, २०८१ लाई केन्द्रबिन्दुमा राखेर जनता समाजवादी पार्टी नेपालले अन्तर्क्रिया कार्यक्रम गर्‍यो । सोही दिन साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्यो । सत्तारुढ दलका नेताहरू सम्मिलित बैठक र कार्यक्रमको विषय भूमिसम्बन्धी अध्यादेश रहे पनि निर्णय र निष्कर्ष भने फरक—फरक निकालिएको छ । यसले राजनीति केही दिन तरङ्गित हुने देखिएको छ । 

अन्तरक्रियामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसद खरिद विक्री गरेर भूमिसम्बन्धी अध्यादेश पारित गर्न खोजे जनआन्दोलन गर्ने चेतावनी दिए । ‘सांसद खरिद विक्री गरेर, धन्दा गरेर अध्यादेश पास गराउँछ भने हामी जनताको बीचमा जान्छौँ । अनि, जनआन्दोलनको बाटो पक्रिन्छौँ’ यादवले भने ।

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले त्यही भूमिसम्बन्धी अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभामा २१ फागुनमा बस्ने बैठकमा पेश गर्ने निर्णय गर्‍यो । बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘यसबिचमा असन्तुष्ट दलहरूसँग घनिभूत छलफल गर्ने र २१ गते दुवै सदनको बैठकमा अध्यादेश निर्णयार्थ पेश गर्ने निर्णय भएको छ ।’

प्रतिनिधि सभामा सहज बहुमत रहेका कांग्रेस एमालेसँग राष्ट्रिय सभामा जसपा नेपालको समर्थनबिना ती अध्यादेशलाई छलफलका लागि स्वीकृत गर्न आवश्यक बहुमत छैन । जसपा नेपालले माघ २९ मा संसदीय दलको बैठकबाट भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको थियो । 

त्यसपछि कांग्रेस—एमालेका नेताहरूले औपचारिक अनौपचारिक रूपमा फकाउने प्रयास गरिरहेका थिए । तर शुक्रवार अध्यादेशसम्बन्धी अन्तरक्रिया नै गरेर अध्यादेश पास गरे आन्दोलनमा उत्रिने चेतावनी दिएपछि अध्यादेशको राजनीति जटिल मोडमा पुगेको छ । तथापि सरकारले निर्णयार्थ पेश गर्ने निर्णय नै उच्चस्तरीय संयन्त्रको बैठकबाट गरेपछि टकराव हुने निश्चित भएको छ । 

सरकारलाई समर्थन गरेको जसपा नेपालले मात्रै होइन सरकारमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पनि भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेपछि कांग्रेस एमाले झन् समस्यामा देखिएका छन् । लोसपा नेपालले ३० माघमा भूमिसम्बन्धी अध्यादेश स्वीकार नगर्ने निर्णय गरेको अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति निकालेर जनाएका थिए । 

५९ सदस्यीय राष्ट्रियसभामा अध्यादेश छलफलका लागि स्वीकृत हुन ३० सांसद आवश्यक पर्छ । राष्ट्रिय सभामा कांग्रेसका १६ र एमालेका १० सांसद छन् । त्यसबाहेक एमालेकै नेतृ अञ्जना शाक्य मनोनीत कोटाबाट सदस्य छिन् । मनोनीत सांसद वामदेव गौतमले पनि सरकारलाई सहयोग गरे २८ सांसद पुग्छन् । राष्ट्रिय सभामा जसपा नेपालका तीन र लोसपा नेपालका एक सांसद छन् । जसपा नेपाललाई एक्लै फकाउन सक्दा बहुमत पुग्छ । 

जसपा नेपालका कारण उल्झन व्यहोरेको सरकारले सङ्घीय संसद्को अधिवेशन सुरु भएको ६० दिनभित्र पास गरिसक्नुपर्छ । एक महिना छलफलका लागि निर्णयार्थ प्रस्तुत नै नगरी बिताएको छ ।  

दुई दलले अस्वीकार गर्ने निर्णय गरेपछि फकाउन काँग्रेस एमालेले प्रयास नगरेका भने होइनन् । उनीहरूका माग सम्बोधन गरेर भूमिसम्बन्धी अध्यादेश परिमार्जन गर्न फागुन ३ मा बसेको सत्तारुढ सात दलको बैठकले सत्तारुढ सबै दलका एक/एक जना प्रतिनिधि सदस्य रहने गरी कार्यदल बनाउने निर्णय गरेको थियो । तर जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश परिमार्जन होइन, फिर्ता लिनुपर्ने बताएपछि सरकारले न अध्यादेशमा रहेका कन्टेन्टलाई परिमार्जन गर्न कार्यदल बनायो, न अध्यादेश फिर्ता नै लियो । 

सुरुमा सरकारले माघ २४ गते अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरेको थियो । विमतिका कारण प्रस्तुत गर्न सकेन । दोस्रो पटक फागुन ६ गते निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरे पनि जसपा नेपालले सहमति नदिएपछि रोकियो । यति सम्मकी प्रधानमन्त्री ओलीले ३ फागुनमा सत्तारुढ दलको बैठक राखेर फागुन ६ मा सङ्घीय संसदका दुवै सदनमा अध्यादेश निर्णयार्थ पेश गर्न गरेको निर्णय यादवको असहमतिका कारण रोकियो ।   

जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशलाई अस्वीकार गर्ने बताएपछि त्यो बाहेकका सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश अहिलेसम्म सङ्घीय संसद् सचिवालयमा अलपत्र छन् । 

आफू सहमत रहेका ५ अध्यादेशमा मत दिन पनि जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेको छ । यता सरकार भूमिसम्बन्धी अध्यादेश फिर्ता नलिने अडानमा छ । 

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका प्रमुख सचेतक बर्तौलाले भूमिसम्बन्धी अध्यादेश फिर्ता नलिने बताए । उनले भने, ‘भूमिसम्बन्धी अध्यादेश फिर्ता हुने सम्भावना छैन । हामी फागुन २१ को प्रतिनिधि सभामा अध्यादेश निर्णयार्थ पेश गर्छौं ।’ 

त्यसको ठिक विपरीत जसपा नेपालका प्रवक्ता मनिष सुमन भने भूमिसम्बन्धी अध्यादेश फिर्ता नलिए अन्य अध्यादेशमा पार्टीले सहयोग नगर्ने जानकारी सरकार र सत्तारुढ दलहरूलाई गराइसकेको जानकारी दिए । 

‘हामीले सरकारलाई अन्य ५ अध्यादेशमा पार्टीको सहयोग आवश्यक पर्ने भए भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन भनेका छौँ’ प्रवक्ता सुमनले भने, ‘सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएन भने हामीले अन्य ५ अध्यादेशमा पनि सहयोग गर्दैनौँ । त्यो जानकारी सरकार र सत्तारुढ दलका नेताहरूलाई गराइसकेका छौँ ।’

सत्तारुढ दलहरूभित्रै देखिएको मतभिन्नताले सहज तरिकाबाट अध्यादेश छलफलका लागि राष्ट्रिय सभामा स्वीकृत हुने अवस्था देखिँदैन । सङ्घीय संसदका दुई सदनमध्ये एक सदनमा अस्वीकृत भएपछि अध्यादेश दुवै सदनमा अस्वीकृत भएको मानिन्छ र स्वतः रद्द हुन्छन् । त्यसैले सरकारले निर्णयार्थ प्रस्तुत गर्न ढिलाइ गरेको देखिन्छ ।

निकटस्थ स्रोतले ‘ट्रयाक ‘टु’बाट भएपनि अध्यादेश स्वीकृत गर्ने तयारीमा प्रधानमन्त्री ओली र सत्तारुढ दल काँग्रेस छन् । विपक्षीमध्ये कुनै दलका राष्ट्रिय सभाका कम्तीमा २ सांसदलाई केही व्यवस्था गरेर बिरामी बनाएर अस्पतालमा भर्ना गराउने तयारी छ । त्यसको तारोमा सबैभन्दा बढी नेकपा (एकीकृत समाजवादी)का सांसद रहेका स्रोतले बतायो । 

तर एमाले प्रमुख सचेतक बर्तौला भने ‘ट्रयाक ‘टु’ आवश्यक नरहेको र दलहरूलाई सहमतिमा ल्याएर पास गरिने बताउँछन् । उनी भन्छन्, ‘अहिले ट्रयाक टु आवश्यक छैन । सत्तामा रहेका र समर्थन गरेका दलहरूलाई मनाएर हामीले अध्यादेश पास गछौँ ।’ उनीहरू सहमत नभएमा के गर्नुहुन्छ ? भन्ने प्रश्नमा बर्तौलाले त्यही बेलामा निर्णय लिने बताए । 

बर्तौला मात्रै होइन नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे पनि जसपा, नेपाल र लोसपा, नेपाललाई मनाएर अध्यादेश दुवै सदनबाट पास गरिने बताउँछन् । 

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर भने बरु सरकारबाट फिर्ता हुने तर भूमिसम्बन्धी अध्यादेश स्वीकार नगर्ने बताउँछन् । त्यतिमात्र होइन उनले पार्टीबाट ओली नेतृत्वको सरकारमा सहभागी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरतसिंह भण्डारीलाई अध्यादेशका कारण सरकारबाट फिर्ता हुनुपर्ने सम्भावना रहेको भन्दै तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताउँछन् । ‘भूमिसम्बन्धी अध्यादेश स्विकार्ने अवस्था छैन । बरु सरकारबाट हामी बाहिरिन्छौँ । त्यसका लागि पार्टीबाट मन्त्रीलाई तयारी अवस्थामा रहन भनिएको छ ।’ ठाकुरले भने । 

जसपा नेपालले राष्ट्रिय वन जङ्गल अतिक्रमण गरी, फडानी गरी अवैध बसोबास गर्ने व्यक्तिलाई जग्गा बाँड्ने मनसायले भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाएको छ । भूमिसम्बन्धी अध्यादेश २०८१ मा सार्वजनिक जग्गा, राष्ट्रिय निकुञ्ज र वन क्षेत्रभित्रको जग्गा बाँड्न विक्री वितरण गर्न कानुनले रोकिएको अवस्थामा यसरी अध्यादेश ल्याई सो क्षेत्रलाई पुनः नक्शांकन गरी नेपाल सरकारको नाममा ल्याएर आफूअनुकुल व्यक्तिलाई विभिन्न बहानामा विक्री वितरण गर्ने आशंका जसपा नेपालको छ ।  अनुपम भट्टराई/न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?