नेपाल र बेलायतबिच व्यापार तथा लगानीको अवसरबारे दूतावासमा अन्तरक्रिया

लन्डन । लन्डनस्थित नेपाली दूतावासले एक समारोहको आयोजना गरी नेपाल र बेलायतबिच व्यापार एवं लगानीका अवसरबारे अन्तरक्रिया गरेको छ । बेलायतमा नेपाली उत्पादन र सेवा प्रवर्द्धन गर्नुका साथै बेलायतबाट नेपालमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) बढाउने उद्देश्यले कार्यक्रको आयोजना गरिएको दूतावासले जनाएको छ ।
कार्यक्रममा बोल्दै बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले नेपाल सरकारले प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्न चालेका कदमको चर्चा गर्दै हरित परियोजना, जलविद्युत, पूर्वाधार, वित्तीय सेवा र उत्पादन जस्ता क्षेत्रमा यूकेबाट नेपालमा एफडीआई प्रवाहको ठुलो सम्भावना रहेको उल्लेख गरे । नेपालको व्यापार र लगानी नीति तथा कानुनमा निरन्तर सुधार, संस्थागत तथा कानुनी ढाँचाले व्यवसायका लागि अनुकूल वातावरण सिर्जना भएको भन्दै आश्वस्त पारेका थिए ।
साथै, दुवै देशबिच व्यापार र लगानीलाई सहज बनाउन व्यवसाय–व्यवसाय (बीटुबी) र सरकार–सरकार (जीटुजी) द्विपक्षीय संयन्त्र स्थापित गर्नुपर्ने आवश्यकतामा ध्यान दिँदै उनले बेलायतका व्यवसायीलाई नेपालमा लगानी र व्यापारको लागि सहयोग र समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा राजदूत घिमिरेले दोहोरो कर सम्झौताको विद्यमान मस्यौदालाई थप परिमार्जन गर्नुपर्ने आवश्यकतामा जोड दिँदै बेलायतमा नेपालको उल्लेखनीय डायस्पोरा उपस्थिति सकारात्मक र महत्त्वपूर्ण रहेको बताए ।
राजदूत घिमिरेले नेपाल र बेलायतबिच विभिन्न व्यावसायिक सम्बन्ध जोडेर आपसी लाभ लिन डायस्पोराका नेपाली व्यवसायीहरूलाई आग्रह पनि गरे । सहभागीहरूले दोहोरो कर उन्मुक्ति सम्झौता र अत्यावश्यक कानुनको अभावलगायत महत्त्वपूर्ण विषय उठान गरे । सहभागीले उच्चस्तरीय राजनीतिक भ्रमण र व्यापारिक प्रतिनिधिमण्डलको आवश्यकता एवं व्यापार तथा लगानीका विषयमा सहजीकरणको गति बढाउनुपर्नेमा समेत जोड दिए ।
नेपालका लागि बेलायती राजदूत रब फेनले नेपाल र बेलायतबिचको सुमधुर सम्बन्धबारे उल्लेख गरेका थिए । व्यापार वातावरण सुधारका लागि नेपाल सरकारले हालै गरेका पहलकदमीको प्रशंसा गर्दै नेपालले गरेको लगानी शिखर सम्मेलन र सगरमाथा संवाद जस्ता कार्यक्रमको प्रशंसा गरेका थिए ।
राजदूत फेनले उच्च शिक्षा, निर्यात वित्त र प्रत्यक्ष विदेशी लगानी (एफडीआई) जस्ता क्षेत्रमा नेपाल–बेलायत सहयोग र सहकार्यको दायराबारे पनि आफ्नो धारणा राखेका थिए । राजदूत फेनले बेलायतको अर्थतन्त्र विशेषगरी पर्यटन, कल्याणकारी पर्यटन, कृषि प्रशोधन, नवीकरणीय ऊर्जा र सूचना प्रविधिमा एफडीआईको महत्त्वपूर्ण भूमिका रहेको समेत बताए ।
बेलायतको विदेश मन्त्रालय (एफसीडीओ) की दक्षिण एसिया क्षेत्रीय विभागकी प्रमुख लेस्ले क्रेगले नेपालमा सूचना प्रविधि क्षेत्र फस्टाउँदै गएको उल्लेख गर्दै दुई देशबिचको सौहार्दतालाई पारस्परिक रूपमा लाभदायक आर्थिक साझेदारीमा प्रभावकारी तरिकाले परिणत गर्न नेपालको आर्थिक नीति सुधारमा जोड दिइन् ।
क्रेगले समावेशी वृद्धिको आवश्यकतालाई जोड दिँदै व्यवसायमा महिलाहरूको समावेशीकरण आवश्यक रहेको पनि उल्लेख गरिन् । बेलायतको व्यापार व्यवसाय विभागकी तमन्ना अलीले दोहोरो कर सम्झौताले बेलायत र यसका साझेदार देशहरूबिचको व्यापार प्राथमिकताहरू पङ्क्तिबद्ध गर्न के कस्तो भूमिका निर्वाह गरिरहेको छ भन्ने विषयमा उल्लेख गरेकी थिइन् । दूतावासमा भवनमा आयोजित उक्त कार्यक्रममा चार दर्जन भन्दा बढी व्यापारी तथा लगानीकर्ताबिच प्रत्यक्ष अन्तरक्रिया गरिएको थियो ।