माओवादीको मिसन–०८४ : ठुलो दल बन्ने कि निर्णायक शक्ति ?

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियानमा व्यस्त छ । झापाको कचनकवलबाट फागुन १२ गतेदेखि सुरु भएको अभियान यतिबेला मधेस प्रदेशमा प्रवेश गरेको छ ।
अभियानका क्रममा गाउँबस्तीमा पुगेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेतृत्व टिम स्थानीय जनतासँग भलाकुसारीमा व्यस्त छन् । एक जिल्लामा एक दिन स्थानीय जनताको घरमा बस्ने नीति अनुसार सञ्चालन भएको अभियान चैत ७ गते कञ्चनपुर पुगेर समापन हुनेछ ।
वैशाख महिनामा दोस्रो चरणको मध्यपहाडी राजमार्गमा आधारित जागरण अभियान सञ्चालन गर्ने माओवादी केन्द्रीय समिति बैठकले निर्णय गरिसकेको छ । पुस २३ मा सम्पन्न बैठकले महाधिवेशनअघि ६ महिना जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अर्को ६ महिनामा महाधिवेशनको तयारी गर्ने भनिएको थियो ।
शुक्रबार तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाका स्थानीय बासिन्दासँग भेटघाट गरेका प्रचण्डले विगतमा माओवादी र मधेसी जनता बिचको बलियो सम्बन्धलाई कमजोर पार्न विभिन्न जालझेल भएको जिकिर गरे । मधेसलाई अधिकार सम्पन्न बनाउने काम माओवादीले नै गरेकाले मधेसका समग्र विकास निर्माण र पहिचानका लागि फेरि साथ दिन उनले आग्रह गरे ।
‘माओवादी कमजोर हुँदा मधेसी जनता पनि कमजोर हुने, मधेसको विकास निर्माण र समृद्धि पनि कमजोर हुने, आत्मसम्मान र पहिचान पनि कमजोर हुँदै गयो,’ प्रचण्डले भने ।
अब माओवादी र मधेसी जनताको एकता बलियो बनाउन, भ्रष्टाचार निर्मूल पार्न, सुशासन कायम गर्न, मधेसको विकास निर्माण र समृद्धिमा ध्यान केन्द्रित गर्न आफू लगायत पार्टीको सिङ्गो नेतृत्व टिम अहिले तराई मधेस अभियानमा आएको उनको भनाइ थियो ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग केन्द्रित अभियानलाई छाडेर हुलाकी र मध्यपहाडी राजमार्गलाई माओवादीले प्राथमिकतामा राख्नुको उद्देश्य मिसन–०८४ लाई जोडेर हेरिएको छ । तराईका २१ जिल्ला जोडिएको हुलाकी मार्ग र पहाडका २४ जिल्ला जोडिएको पुष्पलाल मार्ग आसपास सबैभन्दा बढी मतदाता छन् । २०७० को निर्वाचनपछि यी क्षेत्रमा माओवादी निरन्तर खुम्चिँदै गएको छ ।
१० वर्ष लामो सशस्त्र युद्ध त्यागेर माओवादीले २०६४ को संविधान सभा निर्वाचनमा भाग लिएको थियो । त्यतिबेला २३८ सिट जितेर माओवादी सबैभन्दा ठुलो दल बनेको थियो । अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचन माओवादीमय हुने दाबी गर्दै आएका छन् ।
२०६४ सालको वैभव फर्काउने उद्देश्य राखेर जागरण अभियान राखिएको सचिव चक्रपाणि खनाल बताउँछन् । ‘हुलाकी र मध्यपहाडीमा अलि नयाँ शिराबाट सोच्ने वर्ग भएका हुनाले हामीले यस क्षेत्रमा अलि बढी जोड दिएका हौँ । वास्तवमा माओवादीले नै एजेन्डा उठाएको रहेछ भनेर मधेसका जनताले बुझेका छन्,’ उनले भने ।
माओवादी घर–घर आएन भनेर गुनासो आएपछि अभियान राखिएको खनालले बताए । उनले भने, ‘आम मधेसी समुदायलाई भेटघाट गर्ने, ठुल्ठुला सभाभन्दा स–साना सभामा अध्यक्ष पुग्ने, अन्य सबै पदाधिकारी, नेताहरू सबै ठाउँमा पुग्नेछन् । वैशाखमा फेरि मध्यपहाडी केन्द्रित अभियान सञ्चालन गर्नेछौँ ।’
यस्तो अभियानले २०८४ (आगामी निर्वाचन)लाई राम्रै गर्ने खनाल बताउँछन् ।
१० वर्ष लामो सशस्त्र युद्ध त्यागेर माओवादीले २०६४ को संविधान सभा निर्वाचनमा भाग लिएको थियो । त्यतिबेला २३८ सिट जितेर माओवादी सबैभन्दा ठुलो दल बनेको थियो । अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचन माओवादीमय हुने दाबी गर्दै आएका छन् ।
२०७९ को निर्वाचनसम्म आइपुग्दा ३२ सिटमा खुम्चिएको माओवादी यसबिचमा वर्ग केन्द्रितभन्दा पनि सत्ता केन्द्रित भएको आरोप लाग्यो । कांग्रेस र एमालेको काँध पटकपटक फेरेर सत्ता स्वार्थमा चुर्लुम्म डुबेको माओवादीलाई गत असार १७ गते ७ बुँदे सहमति गरेर दुवै दलले एकैपटक साथ छोडे । त्यसपछि माओवादी केन्द्रले जनतामा जाने निधो गरेको हो ।
शान्ति प्रक्रियामा आएको १८ वर्ष सत्तामा बसेर बिग्रिएको, जनताको एजेण्डा छाडेको, वर्ग भूलेको, सहिद तथा बेपत्ता परिवारबाट टाढिएकाले माओवादी आन्दोलन नै कमजोर भएको निष्कर्ष केन्द्रीय समिति बैठकले निकाल्यो । सोही निष्कर्षको आधारमा जनता केन्द्रित अभियानमा जोडिएका माओवादीका नेताहरूले २०८४ को निर्वाचनमा आफ्नै शक्तिमा ठुलो दल बन्ने जिकिर गर्दै आएका छन् ।
२०८४ मा ठुलो दल होइन निर्णायक शक्ति
बाहिर सार्वजनिक खपतका लागि एक्लै निर्वाचन लडेर ठुलो दल बन्ने जिकिर गरे पनि अहिलेको अवस्थामा ठुलो दल नभइ निर्णयक शक्ति बन्ने योजनामा रहेको माओवादीका एक नेताले बताएका छन् ।
‘खासगरी प्रचण्ड नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा गरेको राम्रो काम, भ्रष्ट तथा तस्करलाई जोगाउन बनेको गठबन्धन सरकारका कारण माओवादीप्रति जनमत आकर्षित भएको देखिन्छ,’ ती नेताले भने, ‘तर ०८४ मा ठुलो दल बन्न अहिलेको मेहनतले पुग्दैन । कांग्रेस वा एमाले नै ठुलो दल बन्छ ।’
बाहिर सार्वजनिक खपतका लागि नेताहरूले ०८४ मा ठुलो दल बन्ने दाबी गरे पनि खासमा निर्णायक शक्ति बन्ने अभियानमा रहेको उनले प्रस्ट पारे । सोही निष्कर्षका साथ सिङ्गो हेडक्वाटरलाई अभियानमा जोडेको उनको भनाइ छ ।
मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा माओवादीले अनपेक्षित मत र सिट संख्या बढाएको थियो । सत्ताच्यूत भएपछि लगभग देशका सबै भागमा पुगेका प्रचण्ड जनसम्पर्कबाट निकै उत्साहित देखिन्छन् ।
आगामी निर्वाचनमा कांग्रेसको जनमत तटस्थ रहने, एमाले र रास्वपाको मत घट्ने र त्यसको फाइदा माओवादीलाई हुने ती नेताले दाबी गरे । बाँकी कार्यकाल सत्तामा नगएर ओली सरकारको बदमासीलाई भण्डाफोर गर्दै आत्मसमीक्षा सहित फेरि जनताबिच एकाकार हुन सके माओवादीले कम्तीमा २५ सिट प्रत्यक्ष जित्ने र समानुपातिकतर्फ २० लाख मत पुर्याउन सकिने ती नेता बताउँछन् ।
‘माओवादीले आत्मसमीक्षा गरेर जनताको बिचमा जाने, आन्तरिक गुटबन्दी अन्त्य गरेमा हामीले ५० देखि ५५ सिट ल्याउन सकिने देखिन्छ,’ उनले भने, ‘समाजवादी लगायत अन्य दलले २५ देखि ३० सिट ल्याएमा माओवादी निर्णायक शक्ति बन्न सक्ने आधार मंसिरमा भएको स्थानीय तह उपनिर्वाचनले देखाएको छ ।’
मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा माओवादीले अनपेक्षित मत र सिट संख्या बढाएको थियो । सत्ताच्यूत भएपछि लगभग देशका सबै भागमा पुगेका प्रचण्ड जनसम्पर्कबाट निकै उत्साहित देखिन्छन् ।
माओवादीलाई निर्णायक शक्ति बन्नका लागि अहिलेको प्रयासले नपुग्ने ती नेताले प्रस्ट पारे । ‘पहिलो कुरा हामीले संगठनात्मक कुरा सच्याउनुपर्छ । लेनिनकालीन संगठनात्मक शैली सही छैन,’ सचिव खनालले भने, ‘लेनिन र माओले विकास गरेको संगठनात्मक सिद्धान्तलाई आधार मानेर हामीले आफ्नै मौलिक संरचना बनाउनुपर्छ ।’
अहिले पनि पार्टीभित्र कतै न कतै बाबुराम प्रवृत्ति (कम्युनिस्टको आधारभूत सिद्धान्त छाड्ने)ले संगठनमा समस्या देखिएको उनले बताए ।
सबैभन्दा महत्त्वपूर्ण कुरा सही एजेन्डा तय गर्ने र इमानदारीपूर्वक जनतामा प्रस्तुत भएर जाने भन्नेमै बहस भइरहेको खनालको भनाइ छ ।
उपमहासचिव गिरिराजमणि पोखरेलले पनि पार्टीभित्र देखिएको गुट तथा उपगुटले समस्या ल्याउन सक्ने स्वीकार गरे ।
पार्टीभित्र झाङ्गिँदै गइरहेको आन्तरिक गुटबन्दी तथा स्वार्थ समूहलाई व्यवस्थापन गरी एकताबद्ध भएर जान सकिएको खण्डमा अभियानको उपलब्धि राम्रै हुने उनको बुझाइ छ । उनले फुट, इगो, वैचारिक रूपमा अस्पष्टताबाट पार्टी मुक्त हुन नसके दुर्घटनातर्फ जानसक्ने खतरा पनि औँल्याए ।
उपमहासचिव गिरिराजमणि पोखरेलले पनि पार्टीभित्र देखिएको गुट तथा उपगुटले समस्या ल्याउन सक्ने स्वीकार गरे ।
‘अलिअलि पार्टीभित्र गुटबन्दीका समस्याले अप्ठ्यारो बनाएको छ । गठबन्धन र गुटबन्दीलाई चिर्दै वामपन्थीसँग सहकार्य गर्दै अगाडि गइयो भने एउटा आधार बन्छ,’ उनले भने, ‘पार्टीको ध्यान अब सत्तामा नभइ जनता केन्द्रित हुनुपर्छ ।’
पोखरेलले नेपालको अग्रगामी दिशामा परिवर्तन र उपलब्धिको कोणबाट रक्षा गर्न गठबन्धन पनि एउटा समस्या भएकाले एकल ढंगले चुनावमा जाने प्रस्ट पारे । त्यसकै कारण उपनिर्वाचनमा जनताले माओवादीलाई सकारात्मक सन्देश दिएको उनको भनाइ छ ।
पोखरेलले भने, ‘भोलिको दिनमा अझ मेहनत गरेर गयौँ भने आगामी दिनमा एक्लै चुनाव लड्न सक्छौँ ।’
पोखरेलले पूर्वी तथा सहरी क्षेत्रमा जनमत बढाउनका लागि पार्टीले ध्यान केन्द्रित गरिरहेको जिकिर गरे । विगतको चार महिने अभियान, तराई मधेस जागरण अभियानले माओवादीप्रति जनमत आकर्षित भएको उनले बताए ।
‘पहिलाको चार महिने अभियान, पछिल्लो संगठन निर्माण र अब चलाउने अभियान सहर केन्द्रित दिशातर्फ जान्छ । नेताहरूको कार्यविभाजन पनि सहरी क्षेत्र केन्द्रित गरिएको छ । जिम्मेवारी समेत सोही ढंगले दिएको छ,’ उनले भने ।
‘अहिले जनताले सुशासन खोजेका छन् । भ्रष्टाचार विरुद्धको अभियान नै चुनाव जित्ने प्रमुख आधार हो,’ पोखरेलले भने ।
२०८४ मा माओवादीले जनमत र सिटसंख्या बढाउने मूख्य आधारका रूपमा प्रचण्ड नेतृत्वको पछिल्लो सरकारले सञ्चालन गरेको सुशासन, सामाजिक न्याय, समृद्धि प्रमुख भएको पोखरेलले जिकिर गरे । पूर्व–पश्चिम हुलाकी, मध्यपहाडी राजमार्ग केन्द्रित अभियान, संगठन सुदृढीकरण, समाजवादी मोर्चामार्फत वामपन्थी शक्तिबिच एकता, सहकार्य र ध्रुवीकरण, ओली नेतृत्वको गठबन्धन सरकारको बढ्दो अलोकप्रियता र समुदायमा आधारित समाजवादी विचारधाराकै आधारमा आफूहरू स्थापित हुने पोखरेलले प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा सैन्य कारबाहीमा ६ आतङ्ककारी मारिए
-
गैँडाको आक्रमणबाट एक घाइते
-
वरिष्ठ अधिवक्ता वीरेन्द्र ठाकुरको नेतृत्वमा कानुन व्यवसायी केन्द्रीय समिति पुनर्गठन
-
रोस्टिङ कमेडी अलि सजिलो
-
प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको विषयमा उपप्रमुख डंगोलद्वारा प्रमुख साहको विरोध
-
सत्ता पक्ष नेता भन्छन्– राजनीतिक दल विभाजनसम्बन्धी विधेयक दल फुटाउने उद्देश्यले ल्याउन लागेको होइन