कर्णालीमा वर्षा र हिमपात, कृषकहरू उत्साहित (तस्बिरहरू)
_arfDo0XWRn.jpg)
सुर्खेत । कर्णाली प्रदेशमा हिमपात र वर्षा भएको छ । शुक्रबार बिहानैदेखि कर्णालीका सबैजसो जिल्लामा वर्षा भइरहेको छ भने हिमाली जिल्लामा हिमपात भइरहेको छ ।
हिमपात र वर्षा शनिबार पनि निरन्तर छ । हिमपातसँगै भएको वर्षातले किसानहरू भने उत्साहित छन् । यो वर्ष लामो समयसम्म पानी नपर्दा खडेरीले हिउँदे बाली सुक्न थालेको थियो ।
हिउँदे बाली सुक्न थालेसँगै कृषकहरू उत्पादनमा ह्रास आउने चिन्तामा थिए । तर, हिमपातसँग वर्षातले राहत दिएको कृषकहरू बताउँछन् । ‘पानी नपर्दा लगाएको गहुँ लगायतका अन्नबाली सुक्नै लागेका थिए, पानी आउँदा थोरै भएपनि राहत भयो,’हुम्लाका रत्नप्रसाद जैसी भन्छन्, ‘खासमा हिमालतिर अलि अगाडि नै हिमपात हुनुपर्ने हो तर, भएन ।’
यसअघि पुस र माघमै हिमपात र वर्षा हुने गरेको थियो । यो पटक भने ढिलो गरी वर्षा भयो ।
पश्चिम दैलेखको ठाटीकाँधका नामबहादुर शाही भन्छन्, ‘लगाएको गहुँ, जौ सुक्न थालिसकेका थिए, ढिलै भएपनि पानीले राहत दियो ।’
विशेषगरी जुम्ला, हुम्ला, मुगु, डोल्पामा भने हिउँले ढपक्कै ढाकेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने कर्णालीका हिमाली जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो ।
जुम्लाका स्याउ तथा ओखर कृषक हरिश कुँवरका अनुसार आकाशबाट पानी नपर्दा स्याउ र ओखरका बिरुवा रोप्न सकिएको थिएन । ‘लगाएको सबै अन्नबाली चौपट हुने अवस्था आएको थियो,’ उनी भन्छन्, ‘हिमपात र वर्षाले थोरै भएपनि राहत दियो ।’
जुम्लाका पत्रकारका नेत्र शाहीका अनुसार हरेक वर्ष हिउँदे सिजनमा हिउँ पर्थ्यो । यो वर्ष करिब ६ महिनादेखि वर्षा हुन सकेन । ढिलै भएपनि हिमपात र वर्षाले जुम्ली किसानमा खुसी छाएको उनले रातोपाटीलाई बताए । ‘हिजोदेखि जुम्लाका डाँडाकाँडा हिमपातले ढपक्कै भएका छन्, निरन्तर २४ घण्टादेखि पानी परिरहेकाले कृषि उत्पादनमा टेवा पुर्याउने छ,’ उनले भने, ‘स्याउ, ओखरदेखि आलु लगायत हिउँदे बालीका लागि वर्षा पर्याप्त आयो ।’
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारी ढिलै भएपनि पानी परेपछि कृषकलाई स्याउ, ओखरका बिरुवा रोप्न, गडा सुधार गर्न र खनजोत गर्न सहज हुने बताए ।
हिमपातले हुम्ला, मुगुको हवाई सेवा अवरुद्ध हुनुका साथै जनजीवन सामान्य रुपमा प्रभावित भएपनि किसानमा भने खुसीयाली ल्याएको हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष देवकी तिमल्सिनाले रातोपाटीलाई बताइन् ।‘यो हिमपात भनेको अन्न फलाउने हो,’ उनले भनिन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले हिमपात र वर्षाका कारण नाग्म–गमगढी सडक अवरुद्ध भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
-
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
-
व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण