गौर आँखा अस्पतालले २० लाखबढी मानिसलाई पुनः संसार देखायो
_3lvmvk4T5n.jpg)
रौतहट । गौर आँखा अस्पताल पुरेनवाले २० लाख बढी मानिसलाई पुनः संसार देखाएको छ। रौतहट सर्लाही, बारादेखि भारतसम्म लोकप्रिय पुरेनवा आँखा अस्पतालले मोतीबिन्दु लगायत रोगको सफल अपरेसन र आँखा सम्बन्धी विभिन्न रोगको उपचार गरी निको बनाएर २० लाख भन्दा बढी मानिसलाई पुनः संसार देखाएको हो।
अस्पताल सञ्चालन भएको २०५४ साल पुस महिना देखी हालसम्म कुल १ लाख, ९३ हजार ६८३ जना मोतीबिन्दु लगायत विभिन्न रोगबाट ग्रसित बिरामीको सफलता पूर्वक आँखाको अपरेसन गरी पुनः संसार देखाएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर प्रज्वल बस्नेतले बताए। त्यसैगरी सोही अवधिमा अस्पतालमा ओपिडी सेवा मार्फत कुल १८ लाख ८८२ जना आँखा रोगका बिरामीहरूको सफल उपचार गरी निको बनाएर पुनः संसार देखाएको अस्पतालका लेखा अधिकृत पवन न्यौपानेले जानकारी दिए।
आँखा अस्पताल पुरेनवामा मेडिकल डाइरेक्टर डाक्टर बस्नेतसँगै नेत्र विशेषज्ञ डाक्टर प्रिती चौधरि, सुरेन्द्र मिश्रा, मनोज साह लगायत ६६ जना कर्मचारी कार्यरत रहेका छन्। आँखाको अपरेसन फेको प्रविधि र एसआईसीएस प्रविधिबाट हुने गरेको अस्पतालले जनाएको छ।
आँखा अस्पतालमा दैनिक सरदर ओपिडी तर्फ ४५० बिरामी उपचारको लागि आउने गर्दछन्। त्यसैगरी मोतीबिन्दु लगायत विभिन्न रोगबाट ग्रसित ४५ जना बिरामीको आँखाको सफल अपरेसन हुनेगरेको अधिकृत न्यौपानेले जानकारी दिएका छन्।
नेपाल नेत्र ज्योति सङ्घ द्वारा सञ्चालित गौर आँखा अस्पताल पुरेनवाका संस्थापक तथा स्थापना गर्न महत्त्वपूर्ण योगदान दिएका आवोका जापानका डाक्टर जुन्सुके आकुराले केहीदिन अघि अस्पतालको अनुगमन गरेका थिए।
डाक्टर आकुरा लामो समय पश्चात् पुरेनवा आँखा अस्पतालको अकस्मात् अनुगमन गरेका हुन्।
तत्कालीन समाकल्याण मन्त्री स्व. शेख इद्रिस र नेपाल नेत्रज्योति सङ्घ केन्द्रीय कार्यालयको पहल र डाक्टर कमल बहादुर खडकाको सक्रियतामा नेपाल सरकारबाट २ बिगाहा डेढ कठा जग्गा प्राप्त गरीआँखा अस्पतालको स्थापना गरिएको थियो।
जापानी दातृसंस्था आओका र २४आवर टेलिभिजनको आर्थिक सहयोगमा भवन निर्माण पश्चात् बि।सं। २०५४ पौष १६ गते तत्कालीन स्वास्थ्य राज्यमन्त्री ब्रजकिशोर सिंहबाट बिधिवत रुपमा उद्घाटन भएर सञ्चालन अस्पतालले सेवा सुरु गरेको थियो। ईश २००६ अगस्ट महिना देखि कुनै पनि दातृ निकायको सहयोग नरहेको अस्पतालका लेखा अधिकृत पवन न्यौपानेले बताएका छन्।
गौर आँखा अस्पताल पुरेनवा तराई मधेस देखी भारतसम्म निकै लोकप्रिय रहेको छ। उक्त अस्पतालमा तराई मधेसका साथै आँखा सम्बन्धी रोगको उपचार तथा मोतीबिन्दु रोगको अपरेसन गराउन भारतको बिहार देखी उत्तर प्रदेशको बिरामीहरू आउने गर्दछन्।