शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय

उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात

शुक्रबार, १६ फागुन २०८१, २२ : ४१
शुक्रबार, १६ फागुन २०८१

मुस्ताङ । उपल्लो मुस्ताङको उच्च लेकमा आज बिहानदेखि हिमपात भएको छ । उच्च हिमाली लेकमा हिमपात भए पनि बस्ती क्षेत्रमा भने हिमपात हुन सकेको छैन । उपल्लो मुस्ताङमा यो मौसमको पहिलो हिमपात परेको स्थानीय बताउँछन् ।

चराङबाट माथि उत्तरी कोरला नाकासम्मको उच्च लेकमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । उच्च लेकमा हिमपात भएसँगै यहाँका डाँडाकाँडा सेताम्मे हुन थालेका उनले बताए ।

‘बिहानैदेखि मौसम प्रतिकूल भएकाले हिउँ पर्ने सम्भावना थियो’, प्रमुख पौडेलले भने, ‘बस्तीमाथिको लेकमा हिउँ परे पनि बस्ती क्षेत्रमा भने हिउँ परेको छैन, आंशिक वर्षा भने भएको छ ।’ उनका अनुसार उच्च लेक र खर्कमा हिमपात भएसँगै बस्ती आसपासका डाँडाकाँडा मनमोहक र सुन्दर देखिएका छन् ।

‘यसअघि बर्सेनि उपल्लो मुस्ताङमा कात्तिकमा हिउँ पर्ने गथ्र्यो । हिउँको समयमा तीन–चारपटकसम्म हिउँ पर्ने गर्दथ्यो । यस वर्ष भने पहिलो पटक हिउँ परेको छ’, पौडेलले भने । यस क्षेत्रमा हिउँ परेसँगै उपल्लो मुस्ताङ र उत्तरी कोरलानाका अवलोकनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटक हिउँ खेल्दै रमाइरहेका उनको भनाइ छ ।

यसैगरी मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ क्षेत्रमा पनि सामान्य हिमपात भएको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए । उनले आज बिहानदेखि सामान्य हिमापात भए पनि तापक्रम बढेकाले हिउँ जमिनमा जम्न नसकेको बताए । उनका अनुसार मुक्तिनाथमा फागुनको पहिलो साता पनि आंशिक हिमपात भएको थियो । 

मुक्तिनाथ क्षेत्र र उपल्लो मुस्ताङका उच्च लेकमा आंशिक हिमपात भए पनि तल्लो मुस्ताङमा हिमपात हुन सकेको छैन । हिउँ पर्ने सम्भावना रहेको बताउँदै उत्तरी क्षेत्रमा आएको हुरीबतासले हिउँ पर्न नसकेको जोमसोमका स्थानीय अजित थकालीले बताए । मुस्ताङको मौसम प्रतिकूलतासँगै अत्यधिक चिसो बढेको छ । हिउँ परेमा न्यानो महसुस हुने भन्दै हिउँ नपर्दा चिसो बढेकाले जनजीवन थप प्रभावित बनेको उनको भनाइ छ । 

हिउँदयामको अनुकूल समयमा परेको हिउँ किसानका लागि बरदान सावित भन्दै अहिले बेमौसमे हिउँले किसानलाई क्षति पुर्याउने स्थानीय थकालीले उल्लेख गरे । ‘गर्मीयाम सुरु हुन लागेको र यहाँको शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूलमा फूल फुल्न थालेकाले भारी हिमपातले स्याउसहित अन्य अन्नबालीलाई असर पुग्न सक्ने सम्भावन छ’, उनले भने ।

पछिल्लो समय जलवायु परिवर्तनको असरले मुस्ताङमा भारी हिमपात हुन सकेको छैन । जलवायु परिवर्तनको असरका कारण कुनै वर्ष भारी हिउँ पर्ने, कुनै वर्ष आंशिक र कुनै वर्ष हिउँ नै नपर्ने गरेको स्थानीय बताउँछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?