शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरको 'काठमाडौँ शैक्षिक मेला' सुरु

शुक्रबार, १६ फागुन २०८१, २० : ५७
शुक्रबार, १६ फागुन २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभागृहमा काठमाडौँ शैक्षिक मेला सुरु गरेको छ । मेला भोलिसम्म चल्नेछ ।  

महानगरपालिकाले विद्यालयहरूमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालेका कार्यक्रमहरूबाट विद्यार्थीहरूमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सिपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गरिएको हो ।  

व्यवहारिक शिक्षाका लागि विद्यालय शिक्षाको नवप्रवर्तन आधारित अभ्यासमा सिकाइ, भोगाइ र असल अभ्यासको आदानप्रदान गर्न मेलाबाट पृष्ठपोषण प्राप्त हुने अपेक्षा गरिएको छ ।

मेला उद्घाटन गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, बालमैत्री शिक्षण सिकाइबाट असल र सफल नागरिक उत्पादनमा महानगरपालिकाको जोड रहेको बताइन् । 'अन्य कार्यक्रमहरूमा विद्यार्थी र अभिभावकहरूको नेतृत्व देखिन्थ्यो । आजको कार्यक्रम व्यवस्थापनमा विद्यार्थीहरूकै नेतृत्व रह्यो । यो महत्त्वपूर्ण कुरा हो,' उनले भनिन् । 

सामुदायिक विद्यालयबाट थालिएको शैक्षिक सुधारका कार्यक्रमअन्तर्गत यस पटक संस्थागत विद्यालयलाई पनि जोडिएको बताउँदै उनले शिक्षाको स्तरोन्नतिका लागि मेलाले कोशेढुङ्गा स्थापित गर्ने, आगामी कार्यक्रमका लागि आयामिक पृष्ठपोषण प्रदान गर्ने बताइन् । 

received_956426110024334

शैक्षिक सत्रको अन्त्यमा सैद्धान्तिक विषयको लिखित परीक्षा भएजस्तै व्यवहारिक र प्रयोगात्मक कक्षाहरूको नतिजा मापन औजारका रूपमा मेलालाई लिइएको छ ।

विद्यालय शिक्षालाई वैज्ञानिक र व्यवहारिक तथा विद्यार्थीको रुचि र अभिभावकहरूको चाहनाअनुरूप सञ्चालन गर्नका लागि महानगरपालिकाले सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालेको छ । 

मेलामा शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरूको क्षमता विकासलगायतका कार्यक्रमको बिम्ब मेलामा समेटिएका छन् । मेला आयोजनाका लागि महानगरपालिकाको सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरूले सहजीकरण भएको छ । प्रस्तुति र प्रदर्शनीको मुख्य भूमिकामा विद्यार्थीहरू नै छन् । 

प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरूले नृत्य, अभिनय, नाट्य, संवादका माध्यमबाट नवीनतम सिकाइ गतिविधि प्रदर्शन गरेका थिए । बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शित भए । शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनाकालाई अवलोकनका लागि निमन्त्रणा गरिएको थियो । 

सामुदायिक विद्यालयहरूले दिवा खाजाका रूपमा ३० रुपैयाँमा उपलब्ध गराउने खाजा १० वटा स्टलबाट सबैलाई ३० रुपैयाँमा नै उपलब्ध गराइयो । यस्तै नेपाल भाषाको सिकाइ विधि, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक वादन तथा गायन प्रस्तुति समावेश गरिएका छन् । 

विद्यार्थी नमुना संसद् अभ्यास मेलाको महत्त्वपूर्ण आकर्षण हो । विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल, बुक फ्री फ्राइडेको बावा उपसमूहअन्तर्गत मरुहिटी पानीको गुण जाँच तथा प्रविधिमार्फत सिकाइको प्रदर्शनी, विद्यार्थीका अनुभूति कोरिएका १ हजार बढी स्केचिङ र स्कल्प्चरको नमुना प्रदर्शनी, टिचर कलेज प्रोग्राम सम्बन्धी गतिविधि तथा नतिजा सुधारका असल अभ्यासको आदानप्रदान, महानगरपालिकाका शैक्षिक गतिविधिको जानकारीका लागि सूचना केन्द्र मेला अवलोकन गर्न पाइनेछ । 

कार्यक्रमका ३ चरणमध्ये फेस्ट पहिलो चरणको कार्यक्रम हो । दोस्रो चरणमा चालु शैक्षिक सत्रको अन्तिम बुक फ्री फ्राइडेका दिन (२०८१ फागुन २३ गते) साझेदार र सरोकारवालाले आफू नजिकको सामुदायिक विद्यालयका कार्यक्रम अवलोकन गराउने योजना बनाइएको छ । 

received_1209707207410047

तेस्रो चरणमा शैक्षिक क्रियाकलापका नवीनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच अन्तर्क्रिया आयोजना गरिनेछ । 

महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार ३२९ जना विद्यार्थी र ५२४ वटा संस्थागत विद्यालयमा २ लाख १० हजार ९३४ जना गरी २ लाख ७२ हजार २६३ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय शिक्षाको विकास, स्तरोन्नति र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले महानगरपालिकाले अहिले अनुसन्धानमा आधारित लगानी बढाएको छ । जसबाट प्रारम्भिक बाल विकास सुधार, पूर्वाधार विस्तार, शिक्षक क्षमता अभिवृद्धि, शैक्षिक सामग्रीको उपलब्धता र उपयोगिता अभिवृद्धि, शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, बुक फ्री फ्राइडे (एकीकृत सिकाइ, सिर्जनात्मक सिकाइ र शिक्षामा सिप), टिचर कलेज प्रोग्राम, नतिजा सुधार कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । 

विद्यालयको पूर्वाधार र शैक्षिक वातावरणका लागि बहुवर्षे कार्यक्रमअन्तर्गत महानगर गौरव योजनामा ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ कार्यक्रम कार्यान्वयनमा छ । यस्तै, नियमित र प्राथमिकतामा राखिएको महानगर स्वर्णिम योजनाअन्तर्गत ‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय’ कार्यान्वयनमा ल्याइएका छन् । 

यसरी सञ्चालन गरिएका कार्यक्रमबाट सैद्धान्तिक शैक्षिक कार्यक्रमलाई प्रयोगात्मक र व्यवहारिक बनाएर समय सापेक्ष र उत्तरदायी नागरिक उत्पादनमा योगदान गर्ने महानगरपालिकाको लक्ष्य रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?