शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

फागुन २१ अघि अध्यादेशमा जसपा र लोसपालाई मनाउन सत्तारुढ दलले प्रयास गर्ने

शुक्रबार, १६ फागुन २०८१, २० : ५०
शुक्रबार, १६ फागुन २०८१

काठमाडौँ । सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यदल बैठकले संसद्लाई सरकारका तर्फबाट उपलब्ध गराउनुपर्ने विधेयकहरू उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकले संविधान कार्यान्वयनसँग सम्बन्धित र नियमित विधेयकहरू संसदमा लैजाने निर्णय भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । त्यसका साथै संसदमा विचाराधीन विधेयकहरू छिटो अघि बढाउन एमाले र कांग्रेसका प्रमुख सचेतकहरूले द्रुत गतिमा काम गर्ने निर्णय पनि बैठकले गरेको छ । 

त्यसैगरी संयन्त्रको बैठकमा अध्यादेशका बारेमा समेत छलफल भएको छ । त्यसक्रममा आगामी फागुन २१ गते बस्ने संसद् बैठकमा अध्यादेश निणर्याथ पेस गर्नेगरी सहमति जुटाउन सत्तापक्षसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।

‘अध्यादेशका बारेमा सत्तापक्षका दलहरू जसपा नेपाल र लोसपासहितिसँग छलफल गरेर समझदारी कायम गर्ने र सोही समझदारी अनुसार अध्यादेश निर्णयार्थ पेस गर्ने भन्ने सहमति भएको छ’, बर्तौलाको भनाइ छ । उनका अनुसार २१ गते अघि अध्यादेशबारे निष्कर्षमा पुग्ने तयारी छ ।

आजको बैठकमा कार्यदलमा रहेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेस महामन्त्री गगन थापा भने अनुपस्थित रहेका थिए । पोखरेल र थापा काठमाडौँ बाहिर रहेकाले आजको बैठकमा उपस्थित हुन नसकेको बताइएको छ । बैठकमा एमाले र कांग्रेसका प्रमुख सचेतक बर्तौला र श्याम घिमिरे सहभागी रहेका थिए । सरकारले ल्याएका ६ अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशमा लोसपा र जसपा नेपालले विरोध गर्दै आएका छन् । सोही कारण राष्ट्रिय सभामा सत्तापक्षको बहुमत नपुग्दा ती अध्यादेशहरू निर्णयार्थ पेस हुन सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?