शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

चोर ठानेर प्रतिकार गर्दा आफ्नै छोराको मृत्यु

शुक्रबार, १६ फागुन २०८१, २० : २२
शुक्रबार, १६ फागुन २०८१

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एक दम्पतीले चोर ठानेर प्रतिकार गर्दा आफ्नै छोराको मृत्यु भएको छ । सो घटनामा प्रतिकार गर्ने बाबुआमा समेत घाइते भएका छन् ।

मृत्यु हुनेमा इन्द्रसरोवर गाउँपालिका–३ अदुवाबारीका ३९ वर्षीय भरथकुमार भ्लोन रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

बिहीबार राति चोरी गर्न आएको भनी मिनबहादुर र उनकी श्रीमती देवीमाया भ्लोनले घरेलु औजारले हिर्काउँदा गम्भीर घाइते भएका भरथ कुमारको उपचारको क्रममा भरतपुरस्थित सरकारी अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार भरथकुमारलाई उनकै बाबुआमाले चोर ठानेर हिर्काएका थिए । भ्लोनको शुक्रबार दिउँसो पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको प्रारम्भिक जानकारी दिने क्रममा चोरी गर्ने उद्देश्यले घरभित्र छिरेका व्यक्तिले घरधनी मिनबहादुर र उनको श्रीमती देवीमायालाई आँखामा खुर्सानीको धुलो छरेको र देवीमायाले घरेलु औजारले प्रतिकार गर्दा चोरी गर्न आएका अन्दाजी ४० वर्षीय पुरुष घाइते भएको जनाएको थियो । अस्पतालमा उपचारकै क्रममा ती व्यक्तिको मृत्यु भएपछि प्रहरीले मृतक पुरुष मिनबहादुर र देवीमायाका छोरा रहेको खुलासा गरेको हो ।

मृत्यु भएका व्यक्ति मिनबहादुर र देवीमायाकै छोरा भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए । ‘चोरी गर्न आएको भनी मिनबहादुर र देवीमायाको आक्रमणबाट घाइते भएका व्यक्तिको सुरुमा परिचय खुलेको थिएन,’ डीएसपी अर्यालले भने, ‘पछि मिनबहादुर र देवीमायाकै छोरा भएको पुष्टि भएको हो ।’

प्रहरी प्रवक्ता अर्यालले घटनामा भ्लोन दम्पती पनि घाइते भएको बताए । उनका अनुसार मिनबहादुरको बायाँ हातको औंला र करङको हड्डी तथा देवीमायाको करङको हड्डी भाँचिएको छ । उनीहरूलाई उपचारका लागि परिवारले काठमाडौँ लगेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाए लगतै सिस्नेरी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले तीनै जनालाई उद्धार गरी उपचारका लागि अस्पताल ल्याएको प्रवक्ता अर्यालको भनाइ छ ।

प्रवक्ता अर्यालले सुरुमा आज्ञात भनिएका व्यक्ति भ्लोन दम्पतिको जेठो छोरो पुष्टि भएको र घटना शंकस्पद भएकाले थप अनुसन्धान प्रक्रिया अघि बढाएको बताए । ‘घरमा वृद्ध दम्पतीमात्रै बस्दै आएको स्थानीयले बताएका छन् ।

‘भरथकुमार आफ्नै घरमा चोरी गर्न आएको देखिन्छ । वृद्ध दम्पतीको आँखामा खुर्सानीको धुलो दलेर चोर्ने प्रयास गरेपछि प्रतिकार भएको भन्ने जानकारीमा आएकोले घटना शंकास्पद छ’, डीएसपी अर्यालले भने, ‘घटनाका विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएका छौँ ।’

मृतक भरथकुमार काठमाडौँ बस्दै आएको र ४ वर्षदेखि घर नआएको स्थानीयले जानकारी दिएको प्रहरी प्रवक्ता अर्यालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?