शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय
बलिदानी दिवस

‘दमन वा हिंसाको मुख्य जननी सत्ता हो भन्ने कुरा कांग्रेस–एमालेले बुझेनन्’

शुक्रबार, १६ फागुन २०८१, १६ : २३
शुक्रबार, १६ फागुन २०८१

हिजोआज सहिद र बेपत्ता परिवारको नाममा प्रतिष्ठान, फाउन्डेसन, संघ, सङ्ग्रहालय, स्मृति पार्क आदिको संख्या बढ्दो छ । एउटै नीति, विधि र कार्यक्रमबाट बलिदान र बलिदानी गर्ने सबै सहिद र बेपत्ता योद्धाहरूको योगदानलाई संस्थागत गर्ने प्रक्रिया कमजोर बन्दा जनयुद्धमा भएको बलिदान नै कैयौँ सन्दर्भमा बाटो बिराएजस्तो अनुभूति हामीलाई भइराखेको छ । 

यस स्थितिमा सहिद परिवार र योद्धाहरूको पहलमा आफन्तको योगदानलाई सम्झने विभिन्न संरचना र कार्यक्रम बनाउँदै अघि बढेको देखिन्छ, जुन अन्यथा भएन । 

त्यसो त नेताहरूको नाममा, जो सहिद हुनुहुन्न, राज्यको मनग्य स्रोतमा खुलेका प्रतिष्ठानको संख्या पनि कम छैन । नेताका नाममा खुलेका प्रतिष्ठान उद्देश्य केन्द्रित छन् कि छैनन् ? या पार्टीका गुट–उपगुट र स्वार्थका अमुक सदस्यहरूको मागीखाने भाँडो भएका छन् ? राष्ट्रिय आँखाबाट गम्भीर समीक्षा गर्नुपर्ने बेला भएको छ । 

संस्थागत र सामूहिक विचार, योजना र पहल निष्प्रभावी बन्दा सहिद परिवार र बेपत्ता योद्धा परिवारभित्र पनि वर्ग विभाजन भएको अनुभूति हुन्छ । पहुँच हुनेले आफन्तको नाममा अनेकौँ संस्था र प्रतिष्ठान बनाएर सम्झने माध्यम बनाएका छन् । जसको पहुँच छैन, त्यस्ता सहिद परिवार र बेपत्ता योद्धा परिवारका सदस्यहरूले आफ्ना सदस्यहरूले बलिदान गरेको दिन कार्यक्रम गर्न नसक्नु निकै अमिलो विषय बन्दै आएको छ । 

यसको सकारात्मक हल भनेको समान नीति तथा कार्यक्रममार्फत सबै सहिद र बेपत्ता योद्धाका परिवारलाई संस्थागत गर्नु हो । अझै पनि यसो गर्न सकिएन भने उहाँहरूको योगदान खुम्चनुमात्र होइन, बलिदानबाट प्राप्त परिवर्तनसमेत गुम्ने खतरा छ । यसअर्थमा जनयुद्धको नेतृत्व गर्ने पार्टी, यसका नेता तथा कार्यकर्ता भित्रैदेखि गम्भीर हुनुपर्ने देखिन्छ । 

यति भनिसकेपछि मैले सहिदको विभिन्न परिभाषा राखेको छु । जनयुद्ध क्रान्तिकारी राजनीतिसँग जोडिएको छ । यो शब्दमात्र होइन, क्रान्तिकारी राजनीतिको सार अभिव्यक्त गर्ने पदावली हो, जोसँग जनसेना अनिवार्य जोडिएको हुन्छ । यही सारलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष माओ त्सेतुङले जनसेना नभएको पार्टीसँग आफ्नो भन्ने केही पनि हुँदैन भन्ने विषयवस्तुलाई निकै गम्भीरतापूर्वक उठाउनुभएको कुरा स्मरण गर्न चाहन्छु । 

जनयुद्धको प्रयोग र अवधारणाको विकास नयाँ चिनियाँ कम्युनिस्ट सन्दर्भमा माओ त्सोतुङले मूर्त गरे । जुन समाज अर्धसामन्ती र अर्थउपनिवेसिक भनेर विश्लेषण गरिएको थियो, त्यसको मूल चरित्र किसान बाहुल्य ग्रामीण समाज, त्यस्ता समाजमा किसानलाई प्रत्यक्ष भेटेर बुझाउन, संगठित गर्ने र जनयुद्धमा सहयोग लिने नीति बनेको थियो । 

संस्थागत र सामूहिक विचार, योजना र पहल निष्प्रभावी बन्दा सहिद परिवार र बेपत्ता योद्धा परिवारभित्र पनि वर्ग विभाजन भएको अनुभूति हुन्छ । पहुँच हुनेले आफन्तको नाममा अनेकौँ संस्था र प्रतिष्ठान बनाएर सम्झने माध्यम बनाएका छन् । जसको पहुँच छैन, त्यस्ता सहिद परिवार र बेपत्ता योद्धा परिवारका सदस्यहरूले आफ्ना सदस्यहरूले बलिदान गरेको दिन कार्यक्रम गर्न नसक्नु निकै अमिलो विषय बन्दै आएको छ । 

सानो शक्तिले ठुलो शक्तिसँग छापामार तरिकाले लड्ने, गाउँ केन्द्रित वर्ग संघर्षलाई विस्तारित गरेर केन्द्रीय सत्तालाई घेरा हाल्ने र आक्रमण गर्ने नीतिलाई दीर्घकालीन जनयुद्धको कार्यदिशा भनिएको थियो । दीर्घकालीन जनयुद्धको पहिलो सफल प्रयोगमा लिनुपर्दा चीनमा नै भयो । त्यस कार्यदिशा अनुसार विश्वका झण्डै १८ देशमा जनयुद्ध चलेको देखिन्छ । तीमध्ये नेपाल पनि एउटा थियो, जुन १० वर्षपछि अन्त्य भएको घोषणा गरियो । 

  • जनयुद्धको मौलिकता 

हाम्रो जनयुद्धको केही मौलिकता छन् । जनयुद्ध मात्रात्मक रूपमा केही मौलिक देखिन्छ । बहु चीन काङसाङ भनेको एउटै आधार इलाका होइन । चीनको चीन काङसाङ शब्द मैले प्रयोग गरेँ । नेपाली समाजको विगतको वर्ग संघर्षको इतिहास, विभिन्न विद्रोहको इतिहास हेर्दा बहु चीन काङसाङबाट अगाडि जानुपर्छ भन्ने अवधारणा हाम्रो पार्टीले अगाडि बढाएको थियो । 

बहु चीन काङसाङको अवधारणाको प्रयोग एउटा, गाउँ र सहर, कानुनी र गैरकानुनी, देशभित्र र बाहिर, फौजी र राजनीति आदि कामलाई मुख्य र सहायक जसलाई जोड र ध्यान दिने भनियो । कार्यनीति शृङ्खलाको प्रयोग गरियो । 

राजनीतिक अभियानको उत्कर्षमा फौजी आक्रमण र फौजी आक्रमणको पुष्टिका लागि अर्को राजनीतिक अभियानको निरन्तर शृङ्खला जनमुक्ति सेनाको निर्माण र परिचालन यसका मौलिकता भेटिने पक्ष हुन् । 

जनयुद्ध भनेको युद्धमात्र होइन । यो वर्गीय युद्ध थियो । सुरुदेखि यसमा विमति राख्ने, विरोध गर्ने, दमन गर्ने, सिद्ध्याउने पक्ष र यसलाई साथ दिने, सहयोग गर्ने, समर्थन गर्ने, संलग्न हुने पक्ष बिचको लडाइँ थियो । त्यो आवश्यकता कुनै न कुनै रूपमा जरुरी थियो । जनयुद्ध सुरु गर्ने बेलामा पार्टीले यसको खाका कोरेको थियो । को हाम्रा समर्थक हुन् ? को मित्र हुन् र को शत्रु हुन् भनेर वर्ग विश्लेषण गरेको थियो । 

२०५२ सालको तेस्रो विस्तारित बैठकले नेपाली सशस्त्र युद्धको स्वरुप, साना र प्रेरणा शक्तिको स्पष्ट खाका कोरेको थियो । त्यसमा क्रान्तिको निशाना भनेर सामन्त, जमिनदार, नोकरशाह र दलाल पुँजीपति वर्गलाई भनिएको थियो । प्रेरक शक्ति सर्वहारा वर्ग, श्रमिक, मध्यम किसान वर्ग, न्यून पुँजीपति वर्ग र राष्ट्रिय पुँजीपति वर्गलाई जनयुद्धको मित्र शक्ति वा प्रेरक शक्ति भनेर त्यतिबेला माओवादीले दस्तावेजमा उल्लेख गरेको थियो । 

समाजमा रहेका जाली, फटाहा, शोषक र विभेदको नेतृत्व गर्ने वर्ग जनयुद्धको विरोध गर्नेमा थिए । समाजमा सबैभन्दा उत्पीडित वर्ग, जाति, लिङ्ग समुदाय समर्थनमा उभिएका थिए । यसकारण जनयुद्ध श्रमजीवी वर्गको मुक्तिको युद्ध भन्न सकिन्छ । यसको पुष्ट्याइँ समाजका सबैभन्दा उत्पीडित समुदाय, महिला, दलित जनयुद्धमा सहभागिताबाट भएको बलिदानबाट हुन्छ । जनमुक्ति सेनामा ४० प्रतिशत महिला सहभागी भएको र सहादत महिला कमाण्डरको संख्या झण्डै १३७ को संख्या हुनुले यसलाई पुष्टि गर्छ । 

  • विद्रोहसँग कसरी जोडियो ? 

पूर्वपञ्चको पार्टी, नेपाली कांग्रेस र एमाले सुरुदेखि जनयुद्धलाई दमन गर्नका निम्ति योजना बनाउने र दमनलाई प्रोत्साहित गर्ने शक्तिहरू थिए । कांग्रेस नेतृत्वको सरकारले २०५१÷५२ सालमा चलाएको रोमियो अप्रेसन, एमालेले २०५४ साल साउन २८ गते विज्ञेप्ति जारी गरेर माओवादी आतंककारीको प्रतिकारमा उत्रन दिएको निर्देशन, वामदेव गौतम गृहमन्त्री हुँदा आतंककारी तथा विध्वंसात्मक गतिविधि नियन्त्रण तथा सजाय गर्न बनेको विधेयक–२०५४ ल्याएर माओवादीलाई समाप्त पार्न खोजेको, २०५५ सालमा कांग्रेस नेतृत्व सरकारले चलाएको ‘किलो शेरा टु अप्रेसन’ जुन घेरा हाल्ने र हत्या गर्ने थियो । त्यो अप्रेसनमा मात्रै झण्डै पाँच सय जनाको हत्या गरिएको थियो । 

२०५८ सालमा संकटकाल लगाएपछि आतंककारी नियन्त्रण गर्न शाही सेनालाई दिएको विशेष अधिकार, एमाले लगायत समर्थनमा कांग्रेस नेतृत्वको सरकारले २०५९ वैशाखमा माओवादीविरुद्ध जारी गरेको रेडकर्नर नोटिस, टाउकाको मूल्य तोक्ने, टाउको काटेर ल्याउनेलाई त्यही झोलाभरि पैसा दिने घोषणा तत्कालीन गृहराज्यमन्त्री देवेन्द्रराज कडेलले गरेका थिए । 

यिनै धारणा, योजना माओवादीलाई सिद्ध्याउने जाली रुप रहेका कांग्रेस, एमाले लगायतका दलहरूले माओवादी आन्दोलन हिंसा र आतंकारी थियो, अपराधीकरण थियो भनिरहेका छन् । उनीहरूले हिंसाको जननी सत्ता हो भन्ने बुझेनन् । सत्ताको विकास नै विरोधीमाथि दमन गर्न भएको थियो । त्यसकारण दमन वा हिंसाको मूख्य जननी सत्ता हो । 

यसको प्रारम्भ र विकास त्यसरी भएको थियो । जनयुद्धकालमा जुन सत्ताको नेतृत्व गरिराखेको थियो, २०४७ सालको संविधानमार्फत हिंसाको मुख्य जननी त्यो संविधान र त्यसअन्तर्गत बसेर काम गर्ने सत्ताका विभिन्न अभयहरू थिए ।   

जनयुद्ध समग्र युद्ध थियो । फौजीमात्र होइन, वैचारिक कमाण्डमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र फौजी युद्धको योग एकातिर थियो भने अर्कोतिर क्रान्तिकारी कम्युनिस्ट पार्टी मूख्यतः २०४८ सालमा बनेको नेकपा(एकता केन्द्र) हो । २०५२ सालमा यसलाई नेकपा(माओवादी) बनाइयो । त्यसलाई हामीले क्रान्तिकारी कम्युनिस्ट पार्टी भन्यौँ । 

जनमुक्ति सेना प्रारम्भमा लडाकु दल हुँदै २०५८ सालमा जनुमक्ति सेनाको रुपमा विकसित भयो । संयुक्त मोर्चा जसलाई हामीले जनसरकार भन्छौँ, स्थानीय सरकार हुँदै केन्द्रीय जनसरकारको रुपमा २०५८ मंसिरमा केन्द्रीय सरकारको रुपमा संयुक्त क्रान्तिकारी जनपरिषद्को गठन भएको थियो । यी दुई कोणबाट समग्र युद्ध थियो ।

  • जनस्तरबाट समग्र युद्धलाई योगदान

समग्र युद्धको अर्को पाटो जनयुद्ध र सेनाबिचको सम्बन्ध बाटो देखाउने, आफ्नो गाँस काटेर खुवाउने, भारी बोक्ने, लेख्ने, गीत गाउने, लेख्ने, बन्दुक बोकेर प्रत्यक्ष लड्नेहरूको योग जनयुद्ध थियो । यसमा एउटा पक्षमात्र कमजोर थियो भने जनयुद्धको सुरुवात र विकास सायद सम्भव हुने थिएन । 

(बलिदानी दिवस–२०८१ को अवसरमा फागुन १४ गते बारपाक सुलिकोट, गोरखामा आयोजित कार्यक्रममा न्यौपानेले राखेको मन्तव्य)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लेखनाथ न्यौपाने
लेखनाथ न्यौपाने
लेखकबाट थप