शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

निर्माण क्षेत्रमा मुलुकलाई ‘आत्मनिर्भर’ बनाउन सघाउँदै एनएस इन्जिनियरिङ

शुक्रबार, १६ फागुन २०८१, १३ : २१
शुक्रबार, १६ फागुन २०८१

काठमाडौँ । नेपाल कति बन्यो ? यसको जवाफ त्यति सहज छैन । तर, भौतिक निर्माणको हिसाबले हेर्ने हो भने विश्वका विकसित मुलुकको तुलनामा हामी धेरै नै पछाडि छौं । नेपाल भर्खरै मात्र अतिकम विकसित देशबाट विकासशील देशमा प्रवेश गर्ने चरणमा छ । यो अवस्थाले पनि विकास निर्माणको हाम्रो गन्तव्य हजारौँ माइल पर रहेको अनुमान गर्न सकिन्छ । 

नेपालमा अहिलेसम्म झन्डै ३५ हजार किलोमिटर सडक बनेको सरकारी तथ्यांक छ । लम्बाइको हिसाबले यो कम होइन । तर, यी सडक दीर्घकालसम्म यही रूपमा चल्न सक्दैनन्, धेरैजसो सडक स्तरोन्नति गर्नुपर्छ । जलविद्युत् उत्पादनको अवस्था अहिले ३५०० मेगावाटको हाराहारीमा छ, जबकि नेपालमा पचासौँ हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना देखिन्छ । सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्नेगरी ऊर्जा मार्गचित्र नै तयार गरिसकेको छ ।

त्यतिमात्रै होइन, हामीले सहरको व्यवस्थित विकास गर्नु पर्नेछ । औद्योगिक क्षेत्र र संरचनाहरू निर्माण गर्नु पर्नेछ । सडकसँगै रेल, मोनोरेल, मेट्रोरेलजस्ता पूर्वाधारलाई पनि अघि बढाउनु पर्नेछ । यातायात खर्च घटाउन एकपछि अर्को द्रुतमार्ग निर्माणको आवश्यकता हुनेछ जसका लागि सयौँ टनेल र हजारौँ ठुला र अग्ला पुल निर्माण गर्नुपर्नेछ । 

Rock laboratory test

रक ल्याबरोटरी टेस्ट

समुन्नत नेपालका लागि हामीले तयार गरेका योजनालाई पूर्वाधारको अहिलेको अवस्थासँग तुलना गर्ने हो भने देशको निर्माण मुस्किलले ५÷७ प्रतिशत भएको विज्ञहरू बताउँछन् । देश निर्माणको यो अवस्था आफैँमा उत्साहजनक होइन । 

तर जति निर्माण भयो, त्यसमध्ये पनि धेरैजसो अरूले नै बनाइदिए, हामी त्यसको प्रयोगकर्ता मात्रै भयौँ । सबैभन्दा पहिलो त्रिभुवन राजपथ भारतले बनाइदियो, सबैभन्दा व्यस्त पृथ्वी राजमार्ग चीनले बनाइदियो, सबैभन्दा लामो पूर्व–पश्चिम राजमार्ग भारत र सोभियत संघ (रुस) ले बनाइदिए । अरनिको राजमार्ग पनि चीनले बनाइदियो । बीपी राजमार्ग जापानले बनाइदियो । 

नेपाली स्रोतमा नै बनाइएका आयोजना स्वदेशी निर्माण कम्पनीको ग्लोबल टेन्डरमार्फत विदेशीलाई नै बनाउन दिने अवस्था रह्यो, जुन अहिले पनि छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न भएमा मेलम्ची खानेपानी, अपर तामाकोशीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल निर्माणमा पनि हामी सहजकर्ता मात्रै भयौँ । 

Rock mechanical test

रक मेकानिकल टेस्ट

ग्लोबल टेन्डरमार्फत विदेशीलाई नै ल्याएर बनाउने चलन अहिलेसम्म पनि छ । ती आयोजनामा प्राविधिक मात्रै होइन, सामान्य कामदारसमेत विदेशबाटै ल्याइन्छ । यता हाम्रा युवा भने काम नपाएर विदेशी मुलुकमा पसिना बगाउँदै छन्, यसले जनसांख्यिक संकट सिर्जना गर्दैछ । 

निर्माण क्षेत्रमा नेपालको क्षमता बढाएर नेपाललाई आत्मनिर्भरताको बाटोमा अघि बढाउने उद्देश्यसहित पाँच जना इन्जिनियरहरु मिलेर एउटा परामर्शदाता कम्पनी सुरु गरेका थिए । एनएस इन्जिनियरिङ एन्ड जियोटेक्निकल सर्भिसेस नामक उक्त कम्पनीले देशकै ठुला परियोजना निर्माणको साक्षी बन्न थालेको छ । 

कम्पनीले अहिले राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढिरहेको काठमाडौँ–तराई (मधेस) फास्ट ट्रयाक (द्रुतमार्ग) देखि एसियन हाइवेसम्म कम्पनीले परामर्श तथा परीक्षण सेवा दिएर विदेशी परामर्शदाता ल्याउनुपर्ने अवस्था अन्त्य गरिदिएको छ । 

त्यस्तै, नलगाड, फुकोट कर्णाली, अपर अरुण, सुपर त्रिशूली, बुढीगण्डकी, कालीगण्डकी, अपर भेरीजस्ता हाइड्रोपावरका आयोजना विकासका लागि परामर्शदाताको रूपमा कम्पनीले एउटा महत्त्वपूर्ण आधार प्रदान गरेको कम्पनीका  निर्देशक माधव पोखरेल दाबी गर्छन् । कम्पनीको कामले परामर्शदाता र परीक्षणका रूपमा बिदेसिने करोडौँ रुपैयाँ रोकिएको उनको भनाइ छ । 

  • ‘इन्जिनियरिङ परीक्षणमा क्रान्ति’

उक्त कम्पनीले मुख्यतया निर्माण क्षेत्रसँग सम्बन्धित सर्वेक्षण र परीक्षणको काम गर्दै आएको छ । जमिनमा ठुलादेखि साना कुनै पनि संरचना निर्माण गर्दा भू–सतह वा भू–गर्भको अवस्थादेखि निर्माणमा प्रयोग हुने सामग्रीसम्म गुणस्तर परीक्षण अनिवार्य हुन्छ । यसअन्तर्गत मुख्यतया जियोलोजिकल सर्वे (भौगोलिक सर्वेक्षण), जियो फिजिकल सर्वे (भू–भौतिक सर्वेक्षण) र जियो टेक्निकल सर्वे (भू–प्राविधिक सर्वेक्षण) पर्दछन् । यी सबै काम यो कम्पनीले गर्ने निर्देशक पोखरेलको भनाइ छ ।

जियोलोजिकल सर्वेले पृथ्वीको सतहको भौतिक अवस्थाबारे सर्वेक्षण गर्छ । यसले भूगोलको अवस्था, पहाड, चट्टान, माटो, नदी, खनिज पदार्थको स्रोत लगायतको अवस्था विश्लेषण गर्छ । यसले भविष्यमा हुनसक्ने विभिन्न प्राकृतिक प्रकोपबाट आयोजनामा पर्नसक्ने जोखिमको विश्लेषण गर्छ । यो सर्वेक्षणपछि कुनै पनि स्थानमा निर्माण गर्न लागिएको संरचना उपयुक्त छ कि छैन र त्यसमा के कस्ता सुधार गर्नुपर्छ भन्ने सिफारिस गर्छ । 

Girder load test

ग्रीडर लोड टेस्ट

त्यस्तै, जियोफिजिकल सर्वेले पृथ्वीको सतहमुनीको संरचना तथा खनिज सामाग्रीको अवस्था पत्ता लगाउने काम गर्छ । यसका लागि ग्रेभिटी (गुरुत्वाकर्षण), म्याग्नेटिक, इलेक्ट्रिकल, सेस्मिक (भूकम्पीय) रेस्पोन्सलगायत प्रविधिबाट पृथ्वीको सतहभन्दा केही तलसम्मको अवस्थाको परीक्षण गरिन्छ । यसअन्तर्गत पृथ्वी सतहमा डिभाइस राखिन्छ । यसबाट वेभ (तरङ्ग) लाई पृथ्वीको गहिराइसम्म पठाइन्छ । त्यस्तो वेभको रेस्पोन्सका आधारमा त्यहाँभित्रको के कस्तो अवस्था छ भनेर विश्लेषण हुने पोखरेलको भनाइ छ । सेस्मिक विधिबाट ल्याबले २० देखि ५०० मिटर तलसम्मको सूचना प्राप्त गर्दै आएको उनी बताउँछन् ।

अर्कोतर्फ जियोटेक्निकल (भू–प्राविधिक) विश्लेषणअन्तर्गत भने भू–सतहभन्दा धेरै तलसम्म पुगेरै त्यहाँको अवस्था जाँच गरिन्छ । यसका लागि फिल्डमै गएर, ड्रिलिङ गरेर तथा बोरहोल खनेर जमिनको भित्री सतहका खनिज एवं चट्टानको नमुना लिने र यसको परीक्षण गर्ने काम गरिन्छ । त्यस्तै, भूगर्भको माटोको स्ट्रेन्थ, कम्प्रेसिबिलिटी, प्रमियाबिलिटी टेस्टलगायत अन्य भौतिक अवस्थाबारे यसअन्तर्गत अध्ययन गरिन्छ । कम्पनीले फास्ट ट्रयाक र एसियन हाइवेमा यस्तै प्रकारका परामर्शसम्बन्धी काम गरिसकेको छ ।

फास्ट ट्रयाकमा कम्पनीले सुरुङको माथिल्लो बिन्दुबाट ४६० मिटर गहिरो ड्रिल होल बनाएर सफलतापूर्वक परीक्षण गरेको थियो । रोड टनेलको क्षेत्रमा यो ड्रिल होल नेपालकै सबैभन्दा गहिरो भएको कम्पनीको दाबी छ ।

अहिले कम्पनीले पाइलसम्बन्धी सम्पूर्ण टेस्ट गर्छ । यसअन्तर्गत पाइल इन्टिग्रिटी टेस्ट, पाइल डाइनामिक एनालाइसिस (पीडीए) टेस्ट, स्टाटिक लोड टेस्ट, क्रसहोल्ड सोनिक टेस्ट, पाइल पुलआउट टेस्टजस्ता परीक्षण हुने गरेको छ । खासगरी पुलहरू निर्माण सम्पन्न भइसकेपछि त्यसको क्षमता ठीक छ/छैन भनेर लोड दिएर टेस्टिङ गरिन्छ । एसियन हाइवेमा कम्पनीले लोड टेस्टको काम पनि गरिसकेको छ । फास्ट ट्रयाकमा भने निर्माणकै चरणमा रहेकोले यो टेस्ट हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।

Dandi test

डण्डी टेस्ट

कम्पनीले चिनियाँ प्राविधिकसँग मिलेर ओसेल टेस्ट गर्दै आएको छ । यो भनेको कुनै पनि पुलको पाइल भार धान्ने क्षमता मापन गर्ने विधि हो । त्यस्तै, लाइभ मोटार टेस्टले चुना र माटोबाट बन्ने संरचनाको गुणस्तर मापन गर्छ । पुरातात्विक संरचनाको रिनोभेसनका लागि यो विधि प्रयोग हुने गर्छ । त्यस्तै, कम्पनीले फ्लाई आस टेस्टसमेत गर्दै आएको छ । 

उता चट्टानमा गरिने हाइड्रोफ्याक्चर, प्लेट ज्याकिङ, डाइलेटोमिटर, इनसिटु सियर टेस्ट, प्लेट लोडटेस्ट जस्ता मेकानिकल टेस्टमा समेत कम्पनीले सफलता हासिल गरेको जनाएको छ । सुरुङ, पावर हाउस, बाँधजस्ता महत्त्वपूर्ण संरचना डिजाइनमा अपरिहार्य मानिने कम्पनीले जनाएको छ । 

यी सबै सर्वेक्षणबाट लिइने नमुना टेस्टिङका लागि कम्पनीले आफ्नै सुविधासम्पन्न ल्याब स्थापना गरेको छ । कम्पनीले ठुला आयोजना निर्माणका सामग्रीको गुणस्तर यही ल्याबमा परीक्षण गर्दै आएको जनाएको छ । खानेपानी, सिँचाइलगायत क्षेत्रमा प्रयोग हुने एचडीपी पाइप, जियोटेक्स्टाइल तथा जीआई पाइपको टेस्ट पहिलोपटक नेपालमै गर्ने व्यवस्था गरिएको कम्पनीको दाबी छ । साथै पुल निर्माणमा प्रयोग गरिने मेटल एवं पीभीसी सिथिङ टेस्ट टक्टसमेत परीक्षण हुने कम्पनीले जनाएको छ । 

ल्याबमा सिमेन्ट, डन्डी, गिटी, बालुवा, एचडीईपी पाइप, जियोटेक्सटाइल, जीआई तार, प्लाइउडजस्ता निर्माणसँग सम्बन्धित सामग्रीको स्वतन्त्र रूपमा गुणस्तर परीक्षणसमेत गरिन्छ । कम्पनीले नेपालमै डन्डीको केमिकल कम्पोजिसन टेस्टको सेवा पनि स्पेटोमिटर प्रविधिबाट विगत चार वर्षदेखि उपलब्ध गराउँदै आएको जनाएको छ । 

घर वा अन्य संरचना निर्माण गर्न चाहनेले आफूले प्रयोग गर्ने सामग्रीको नमुना ल्याएर परीक्षण गर्नसक्ने डाइरेक्टर पोखरेल बताउँछन् । ‘कोही ग्राहकले आफूले किनेको सिमेन्ट, डन्डीजस्ता कुनै पनि निर्माण सामग्री गुणस्तरीय छ कि छैन भनेर हेर्न चाहनुहुन्छ भने नमुना लिएर आउन सक्नुहुन्छ । हामी टेस्टिङ गरेर तत्कालै यसको रिपोर्ट दिन सक्छौं,’ उनी भन्छन् । एनएस इन्जिनियरिङले ग्राहक, परामर्शदाता र ठेकेदार सबैको उपस्थितिमा यी परीक्षण गर्ने भएकोले यसको विश्वसनीयता उच्च रहने गरेको कम्पनीको दाबी छ ।

  • नयाँ जनशक्ति उत्पादनमा सहयोग

त्यसो त, कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत इन्जिनियरिङ तथा ल्याब टेस्टिङका विद्यार्थीलाई ल्याबको प्रयोग तथा सिकाइमा सघाउँदै आएको जनाएको छ । यो प्रयासले यो क्षेत्रका जनशक्तिमा आत्मनिर्भर बनाउन सहयोग गर्ने पोखरेल बताउँछन् । अहिले जियोफिजिकल, रक मेकानिकल होस्. तथा इन्फास्ट्रक्चरसँग जोडिएका मेटेरियल टेस्टिङ, सिभिल इन्जिनियरिङलगायत टेस्टिङ विधामा स्नातकोत्तरदेखि विद्यावारिधि गर्दै गरेका विद्यार्थी ल्याबसँग जोडिएर काम गरिरहेका उनको भनाइ छ । 

Wood test

उड टेस्ट

एक दशकको अन्तरालमा कम्पनीले गरेको प्रगतिले नेपाल निर्माण तथा परीक्षण क्षेत्रमा जनशक्ति उत्पादनका लागि आत्मनिर्भर बन्न सक्छ भन्ने विश्वास बढ्दै गएको निर्देशक पोखरेल बताउँछन् । उनी भन्छन्, ‘नेपालमा बन्ने भौतिक संरचनाको लागि चाहिने कुनै पनि सर्वेक्षण र परीक्षण नेपाली कम्पनी र नेपाली जनशक्तिले गर्नसक्ने अवस्था होस् भन्ने हाम्रो लक्ष्य हो । हाम्रो यो प्रयासले नेपालमा गुणस्तरीय सामाग्रीको प्रयोगलाई बढवा दिँदै उच्चकोटीको संरचना निर्माणलाई सुनिश्चित गर्ने र नेपालीलाई निर्माणसँग जोड्ने काममा समेत सहयोग पुर्‍याएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?