शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा च्याम्पियन्स ट्रफी नखेलेपछि एसिया कप आयोजनाको अधिकार गुमायो भारतले

शुक्रबार, १६ फागुन २०८१, १३ : १४
शुक्रबार, १६ फागुन २०८१

काठमाडौँ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले आगामी एसिया कप टी–२० क्रिकेट प्रतियोगिता आयोजनाको अधिकार भारतलाई दिएको थियो । प्रतियोगिता आगामी सेप्टेम्बरमा भारतमा आयोजना हुनुपर्ने थियो । 

तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले च्याम्पियन्स ट्रफीको नवौँ संस्करण खेल्न भारतीय टोलीलाई पाकिस्तान नपठाउने निर्णय ग¥यो । त्यसपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पनि भारतीय भूमिमा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने अडान लियो । 

च्याम्पियन्स ट्रफीअघि यी दुबै क्रिकेट बोर्डको अडानमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) पनि सहमत भयो । त्यसलै अहिले आएर सन् २०२५ मा आयोजना हुने भनिएको एसीसी एसिया कपको १७औँ संस्करण भारतबाट अन्यतै सारिने पक्का भएको छ ।

अहिले एसीसी नयाँ आयोजकको खोजिमा छ । सम्भवतः एसिया कपको आगामी संस्करण श्रीलंका र संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना गरिने छ । आगामी एसिया कपमा आठवटा टोलीको सहभागिता रहने छ ।  प्रतियोगितामा पाँच टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सहभागी हुनेछन् । यसका अतिरिक्त, यूएई, ओमान र हङ्कङले पनि आगामी टी–२० एसिया कपमा सहभागिता जनाउने छन् । 

यूएई, ओमान र हङ्कङ सन् २०२४ मा सम्पन्न एसीसी प्रिमियर कपबाट एसिया कपमा छनोट भएका हुन् । प्रिमियर कपमा माथिल्लो तीन स्थानमा रहने टोली एसिया कपमा छनोट हुने प्रावधान थियो । सोही अनुरुप, यूएई विजेता, ओमान उपविजेता र हङ्कङ तेस्रो भएको थियो ।

प्रिमियर कपको फाइनल खेलमा यूएईले ओमानलाई ५५ रनले हराएको थियो । तेस्रो स्थानका लागि खेलिएको खेलमा भने हङ्कङले नेपाललाई चार विकेटले पराजित गरेको थियो । अघिल्लो संस्करणको एसिया कप भने नेपालले पनि खेलेको थियो । 

सन् २०२६ मा आयोजना हुने आईसीसी टी–२० विश्वकपलाई ध्यानमा राखी एसिया कपको आगामी संस्करण पनि टी–२० ढाँचामा खेलाउन लागिएको हो । सन् २०२६ को टी–२० विश्वकप भने भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्दैछन् । 

आगामी एसिया कपमा भारत र पाकिस्तान फेरि एकपटक आमने–सामने हुनेछन् । खेल तालिका अझै सार्वजनिक गरिएको छैन । तर, एसीसीले भारत र पाकिस्तानलाई एउटै समूहमा राखेर तालिका सार्वजनिक गर्ने तयारी गरेको छ । 

उक्त एसिया कपमा पाकिस्तान र भारत फाइनलसम्म पुगेमा यी दुई टोलीबिच समूहगत चरणसहित तीनपटक भिडन्त हुनेछ । प्रतियोगिताको प्रारम्भिक चरणमा सहभागी आठवटा टोलीलाई दुई समूहमा राखेर भिडन्त गराइने छ । प्रारम्भिक चरणपछि दुबै समूहबाट दुई–दुई टोली सुपर–४ चरणमा प्रवेश गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?