शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय
नेप्से

साताको सेयर बजार : पुनर्बीमाले थामेको बजारलाई मौद्रिक नीतिको साथ

शुक्रबार, १६ फागुन २०८१, १३ : ११
शुक्रबार, १६ फागुन २०८१

काठमाडौँ । यो साता सेयर बजार परिसूचक ७१.३० अंकले बढेको छ । चार दिन कारोबार भएको यो सातामा सबै दिन नेप्से परिसूचक सकारात्मक हुँदा बजार परिसूचक २ हजार ८ सय १५ दशमलव ०४ विन्दुमा पुगेको हो । अघिल्लो साता बिहीबार अन्तिम कारोबार हुँदा बजार परिसूचक २ हजार ७ सय ४३ दशमलव ७४ अंकमा बन्द भएको थियो । 

यो साता आइतबार बजार परिसूचक ११.६६ अंकले बढेको थियो । उक्त दिन ११ अर्ब ४२ करोड रुपैयाँ बराबको सेयर कारोबार भएको थियो । यो दिन १ लाख ७ हजार वटा कारोबार हुँदा १ करोड ३४ लाख ९४ हजार कित्ता सेयर किनबेच भएको थियो । 

त्यस्तै, सोमबार बजार परिसूचकमा झिन वृद्धि देखिएको थियो । ३.३५ अंकले बजारमा यो दिन १० अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेको तथ्यांक छ । यो दिन १ लाख १ हजार पटक कारोबार हुँदा कुल १ करोड ८७ लाख कित्ता सेयरको कारोबार भएको थियो । 

मंगलबार बजार परिसूचक ७.१३ अंकले बढेको थियो । यो दिन कारोबार रकम घटेर ९ अर्ब ६१ करोडमा सीमित भएको थियो । उक्त दिन ९५ हजार कारोबारमा करिब ९६ लाख १० हजार कित्ता सेयर किनबेच भएको थियो । 

मंगलबार साँझ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्यो । उक्त समीक्षाले खासगरी बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित असल कर्जाको प्रोभिजनिङलाई ०.१० प्रतिशत विन्दुले घटाएर १ प्रतिशतमा झारेको थियो । 

मौद्रिक नीतिको यो व्यवस्थापछि बिहीबार खुलेको सेयर बजार एकै दिन ४९.१५ अंकले बढेको बढ्यो । योसँगै बजार परिसूचक अहिलेको अवस्थामा पुगेको हो । बजारको यो सूचक गत वर्ष भदौ १० गते २ हजार ८ सय ९४ दशमलव ५७ विन्दुमा थियो । उक्त दिन बजार परिसूचक एकै दिन १११.९६ अंकले घटेपछि अहिलेको विन्दुभन्दा माथि जान सकेको थिएन । मौद्रिक नीतिको धक्काले बजारलाई ६ महिना अघिको अवस्थामा पुर्‍याइदिएको हो । 

पुनर्बीमाको उछालले दुई सातादेखि निरन्तर वृद्धि

त्यसो त, बजार परिसूचक विगत दुई सातादेखि निरन्तर बढ्दै आएको देखिन्छ । अघिल्लो साता पनि चार दिन कारोबार हुँदा समग्र बजार परिसूचक ६५.२७ विन्दुले बढेको थियो । यो साता ३७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा यो साता परिसूचक र कारोबार दुवैमा वृद्धि देखिएको हो । 

यो साता बजारमा मूल्य बढ्ने भन्दा घट्ने कम्पनी हाबी देखिएको छ । बिहीबार बाहेक अरु सबै दिन बजारमा बढ्ने भन्दा घट्ने कम्पनको संख्या बढी थियो । बुधबार बजारमा १०४ कम्पनीको मूल्य बढ्दा १३२ कम्पनीको मूल्य घटेको थियो । मंगलबार ९२ कम्पनीको मूल्य बढ्दा १४७ कम्पनीको मूल्य घटेको देखिन्छ । त्यस्तै सोमबार ९२ कम्पनीको मूल्य बढ्दा १४९ कम्पनीको मूल्य घटेको देखिन्छ । आइतबार पनि ९१ कम्पनीको मात्रै मूल्य बढ्दा १४८ कम्पनीको मूल्य घटेको देखिन्छ । 

अधिकांश कम्पनीको मूल्य घट्दा पनि बजार बढ्नुमा पुनर्बीमा कम्पनी प्रभाव मुख्य कारण देखिएको छ । १३ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पुँजी भएको नेपाल पुनर्बीमा कम्पनी र १० अर्ब ७१ करोड रुपैयाँको चुक्ता पुँजी भएका कम्पनीको वृद्धिका कारण समग्र बजार माथि उक्लिएको हो । 

दुई साताअघि ८४४ रुपैयाँ रहेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको मूल्य अहिले १०२९ रुपैयाँ पुगेको छ । त्यस्तै, दुई साता अघि नै अहिले १३२१ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष माघमा नै बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको चुक्ता पुँजी एक वर्षभित्र २० अर्ब पुर्‍याउन निर्देशन दिएको थियो । यो अवधि घर्किसकेको अवस्थामा ती कम्पनीहरूलाई पुँजी वृद्धि गर्ने दबाब छ । मर्जरको सम्भावना नभएका ती कम्पनीहरूले ठुलो मात्रामा हकप्रद ल्याउनुपर्ने अवस्था रहेकोले यी कम्पनीको मूल्य बढेको हुनसक्ने सेयर बजार विश्लेषक देव गुरागाईँ बताउँछन् ।

विश्लेषक गुरागाईँका बिहीबारको वृद्धि मौद्रिक नीतिको सेन्टिमेन्टको प्रभाव भएको बताउँछन् । वास्तविकतामा भने मौद्रिक नीतिले बजार बढ्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ । यद्यपि नेपाल राष्ट्र बैंकको आगामी नेतृत्व कस्तो आउँछ भन्ने विषयले बजारलाई कता लैजाने भन्ने संकेत गर्ने उनको भनाइ छ । ‘हिजो अलिकति बढे पनि अहिलेसम्म बजारको ट्रेन्ड साइडवेज नै हो, राष्ट्र बैंकमा राम्रो नेतृत्व आयो भने बजार तीन हजारसम्म पुग्नसक्ने देखिन्छ,’ गुरागाईँ भन्छन् ।

नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैत २४ गते सकिँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?