आठ अग्रज कविका कवितासँगै ‘काठमाडौँ उत्सव’ सुरु

काठमाडौँ । साहित्य, संस्कृति र कलाको उत्सव ‘काठमाडौँ उत्सव’ शुक्रबार ८ जना स्थापित कविहरुका कविता वाचनसँगै सुरु भएको छ । नेपाल पर्यटन बोर्डको हलमा आयोजना भएको उत्सवको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, वैरागी काइँला, सुलोचना मानन्धर, विप्लव प्रतीक, उषा शेरचन, तुलसी दिवस, होमनाथ सुवेदी र दिनेश अधिकारीले आफ्ना कविता सुनाएसँगै भएको छ ।
कार्यक्रममा काठमाडौँ उत्सवका सल्लाहकार ओम रिजालले महोत्सव कला संस्कृतिका धरोहरहरूसँगै भुइँमान्छेहरुका आवाज समेत समेट्ने उत्सव भएको बताए ।
दुई दिनसम्म चल्ने उत्सवमा जम्मा १५ सत्र छन् । आयोजक समूह नै युवा भएको महोत्सवमा धेरैभन्दा धेरै युवा पुस्ताको काम, उपस्थिति र सोचलाई प्राथमिकता राखिएको उत्सवका संयोजक बाबु त्रिपाठीले बताए ।
नाममै काठमाडौँ जोडिएको उत्सवको पहिलो दिनको पहिलो सत्र काठमाडौँकै संस्कृति विशेष हुँदै छ । सत्रमा ‘सम्पदा, संस्कृति र सभ्यता’ शीर्षकमा अरुण गुप्तो, नानी हेरा शाक्य र रवीन्द्र पुरीले काठमाडौँको संस्कृतिको ऐतिहासिक तथा मौलिक पक्षबारे छलफल गर्नेछन्। सत्रको सहजीकरण पत्रकार राजेन्द्र बाँनियाले गर्नेछन् ।
उत्सवको पहिलो दिन लेखक ध्रुवचन्द्र गौतम र वसन्त चौधरीबीच ‘अक्षरका आयामहरु’ शीर्षकमा अर्को छलफल हुँदै छ । लोकप्रिय गायिका शान्तिश्री परियारको संर्घर्षदेखि लोभलाग्दो सफलतासम्मको अर्को सत्र पनि पहिलो दिनको मुख्य आकर्षण हो । शान्तिश्रीले कवि दीप दर्पणसँग साधना र सफलता शीर्षकमा छलफल गर्नेछिन् ।
ज्ञान विवेक र विज्ञान’ विषयमा हुने अर्को सत्र लेखक विमल आचार्यले सञ्चालन गर्नेछन्। विभिन्न उमेर समूहका पुस्तक प्रेमीबिच लोकप्रिय बुकाहोलिक्सकी समूहकी संस्थापक सगुना शाहले कलेजमा पढिरहेका तन्नेरी विद्यार्थीसँग ‘सानो संसार, ठुलो संसार’ शीर्षकमा भलाकुसारी गर्नेछिन् ।
अर्को सत्रमा राजेन्द्र सापकोटा, जिस्वन तुलाधर श्रेष्ठ र लक्ष्मण गौतमबिच पर्यटनमा पहल शीर्षकमा छलफल हुँदै छ । सत्र सहजीकरण पत्रकार विराट अनुपमले गर्नेछन्।
उत्सवमा आममान्छेका अनुभवलाई समेत प्राथमिकतामा राखेर छलफल सत्र राखिएको छ। दशकौंदेखि मकै र चिया बेचेर लामो अनुभव सँगाले दुई वक्ताहरूको अनुभव समेटिएको भुइँका कुरा शीर्षकको सत्र लेखक विना थिङले सञ्चालन गर्नेछिन्।
संवाद र कविता गजल प्रस्तुतिबाहेक महोत्सवमा काठमाडौँको सभ्यता झल्काउने रैथाने खाना, चित्रकला प्रदर्शनी र बुक स्टलसमेत राखिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
-
बेल्जियमको नर्सिङ होममा छुरा प्रहार गरी दुई जनाको हत्या
-
साक्षर अभियान सञ्चालन गर्न स्थानीय तहलाई प्रचण्डको आह्वान
-
भूमिसम्बन्धी अध्यादेश बिचौलियाका लागि ल्याइयो: कर्ण
-
सरकारले ल्याएको अध्यादेश राष्ट्रहितमा छैन : उपेन्द्र यादव
-
निःशुल्क कपडा उपलब्ध गराउँदै ‘कपडा बैंक’