शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय
अर्धवार्षिक रिपोर्ट

६ महिनामा विद्युत् प्राधिकरण : ७० अर्बको व्यापार, साढे ११ अर्ब नाफा

शुक्रबार, १६ फागुन २०८१, १२ : ५५
शुक्रबार, १६ फागुन २०८१

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आव २०८१/८२ को पहिलो ६ महिनासम्म कमाएको नाफाको विवरण सार्वजनिक गरेको छ । यस अनुसार प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको जनाएको छ । 

यो अवधिमा विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजना लगायतमा भएको जम्मा खर्च जम्मा ५९ अर्ब ८ करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ । यो आधारमा हेर्दा साउनदेखि पुस मसान्तसम्मको नाफा करकट्टी गर्नुअघि ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले कार्यकारी निर्देशक कुलमान घिसिङको पहिलो कार्यकालको सुरुवातदेखिकै नाफाको विवरण समेत सार्वजनिक गरेको छ । आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूबाट निरन्तर नाफामा रहेको प्राधिकरणले जनाएको छ ।

गत आव २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । आफूले कमाएको नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवम् सुदृढीकरण र विद्युतीकरण तर्फका आयोजनाहरूमा लगानी गरिरहेको छ । 

प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत् बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ । यस अवधिमा प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीहरूबाट १ अर्ब १५ करोड र अन्य निजी उत्पादक कम्पनीहरूबाट ५ अर्ब १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत् खरिद गरिएको छ । खरिद गरिएको विद्युत्का लागि ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी भएको छ । 

भारतबाट २४ करोड २० लाख युनिट विद्युत् आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ । गत साउनदेखि पुससम्ममा १ अर्ब ७७ करोड १८ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरिएको छ । 

यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेट अन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणका तर्फबाट १३ अर्ब ३५ करोड रुपैयाँ खर्च गरिएको छ । वैदेशिक सहायता सोझै भुक्तानीतर्फ १० अर्ब ४९ करोड रुपैयाँ खर्च भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?