दुईपटकको च्याम्पियन अस्ट्रेलिया र ‘डार्क हर्स’ अफगानिस्तानबिच ‘गर या मर’ भिडन्त

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करणमा शुक्रबार बलियो अस्ट्रेलियाले उत्साही अफगानिस्तानको सामना गर्दैछ । खेल अस्ट्रेलिया र अफगानिस्तानबिचको खेल लाहोरस्थित गद्दाफी स्टेडियममा नेपाली समय अनुसार, दिउँसो १४ः४५ बजे सुरु हुनेछ ।
यो खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण छ । यो खेलमा विजयी हुने टोली समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्ने छ । यो खेलमा पराजित भए अफगानिस्तानको टोली भने उपाधि होडबाट बाहिरिने छ ।
यो खेलमा अफगानिस्तानसँग पराजित भए अस्ट्रेलियाको सेमिफाइनल प्रवेश गर्ने सम्भावना पनि कम हुनेछ । त्यसपछि अस्ट्रेलियाले सेमिफाइनल प्रवेशको झिनो सम्भावनाबिच शनिबार खेलिने दक्षिण अफ्रिका र इङ्ल्यान्डबिचको खेलको प्रतिक्षा गर्नु पर्ने हुन्छ ।
समूह ‘बी’ तालिकामा चारवटै टोलीले दुई–दुई खेल खेलिसक्दा तीन अंकसहित दक्षिण अफ्रिका पहिलो र समान अंकसहित अस्ट्रेलिया दोस्रो स्थानमा आसिन छन् । दुई अंकसहित अफगानिस्तान तेस्रो र अंक बटुल्न नसकेको इङ्ल्यान्ड चौथो स्थानमा छन् ।
इङ्ल्यान्ड यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । आफ्नो अघिल्लो खेलमा अफगानिस्तानसँग अप्रत्यासित हार व्यहोरेपछि अन्तिम खेलअगावै इङ्ल्यान्ड उपाधि होडबाट बाहिरिएको हो । पहिलो संस्करणदेखि नै सहभागी हुँदै आएको बलियो इङ्ल्यान्डलाई हराएपछि ‘डार्क हर्स’ अफगानिस्तान निकै उत्साही छ ।
जारी प्रतियोगितामा अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा इङ्ल्यान्डलाई पाँच विकेटले हराएको थियो । अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो । अफगानिस्तान भने आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग एक सय सात रनले पराजित भएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो वरीयताले भने अस्ट्रेलियालाई नवप्रवेशी अफगानिस्तानभन्दा निकै बलियो देखाउँछ । पछिल्लो आईसीसी वरीयतामा अस्ट्रेलिया दोस्रो स्थानमा आसिन छ । उक्त वरीयतामा अफगानिस्तान आठौँ स्थानमा छ ।
च्याम्पियन्स ट्रफीमा अस्ट्रेलिया
अस्ट्रेलियाले सन् १९९८ मा सम्पन्न पहिलो संस्करणदेखि नै आईसीसी च्याम्पियन्स ट्रफीमा निरन्तर रुपमा सहभागिता जनाउँदै आएको छ । त्यसैले च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाको यो लगातार नर्वौ सहभागिता हो ।
अस्ट्रेलिया लगातार दुईपटक च्याम्पियन्स ट्रफीको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो । पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आए पनि अस्ट्रेलियाले च्याम्पियन्स ट्रफीको उपाधि जित्न पाँचौँ संस्करणसम्म प्रतिक्षा गर्नु परेको थियो ।
सन् २००६ मा सम्पन्न पाँचौँ संस्करणको फाइनलमा अस्ट्रेलियन टोलीले बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिजलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै उपाधि जितेको थियो । त्यतिबेला रिकी पोन्टिङको कप्तानीमा अस्ट्रेलियाले उपाधि चुमेको थियो ।
यसैगरी, च्याम्पियन्स ट्रफीको छैटौँ संस्करण सन् २००९ मा दक्षिण अफ्रिकामा आयोजना भएको थियो । उक्त संस्करणको उपाधि पनि अस्ट्रेलियाले नै जितेको थियो । त्यो संस्करणको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ६ विकेटले हराएको थियो ।
त्यतिबेला पनि पोन्टिङ नै अस्ट्रेलियाका कप्तान थिए । यसदेखि वाहेक अस्ट्रेलियन टोली च्याम्पियन्स ट्रफीको फाइनलसम्म पनि पुग्न सकेको छैन ।
च्याम्पियन्स ट्रफीमा अफागानिस्तान
आईसीसी च्याम्पियन्स ट्रफीमा अफगानिस्तानको यो पहिलो सहभागिता हो । त्यसैले च्याम्पियन्स ट्रफीको इतिहासमा अफगानिस्तान सबैभन्दा कान्छो राष्ट्र पनि हो ।
यसपटक च्याम्पियन्स ट्रफीमा सहभागी हुने टोलीहरुको टुंगो लगाउन सन् २०२३ को आईसीसी एकदिवसीय विश्वकपलाई आधार बनाइएको थियो ।
सन् २०२३ को एकदिवसीय विश्वकपमा माथिल्लो आठ स्थानमा रहेका टोलीले च्याम्पियन्स ट्रफी खेल्ने अवसर पाएका हुन् । उक्त विश्वकपको सेमिफाइनलमा पुग्ने चार टोली भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड र दक्षिण अफ्रिका स्वतः च्याम्पियन्स ट्रफीमा छनोट भएका थिए ।
पाकिस्तान सन् २०२३ को विश्वकपमा अंक तालिकाको पाँचौँ स्थानमा थियो । उक्त विश्वकपमा अफगानिस्तान छैटौँ, इङ्ल्यान्ड सातौँ र बंगलादेश आठौँ भएका थिए । त्यसैले यी तीन टोलीले पनि च्याम्पियन्स ट्रफी खेल्ने अवसर पाए ।
यसरी अफगानिस्तानले पहिलो पटक प्रतियोगितामा छनोट भयो । अफागानिस्तानले जारी च्याम्पियन्स ट्रफीको अघिल्लो खेलमा बलियो इङ्ल्यान्डलाई आठ रनले हराएको थियो । च्याम्पियन्स ट्रफीको इतिहासमा अफगानिस्तानको यो नै पहिलो जित हो ।
च्याम्पियन्स ट्रफीमा पहिलो भिडन्त
अफगानिस्तान र अस्ट्रेलियाले च्याम्पियन्स ट्रफी क्रिकेटमा पहिलो पटक आपसमा भिडन्त गर्न लागेका हुन् । अस्ट्रेलियाको नवौँ सहभागिता भए पनि च्याम्पियन्स ट्रफीमा अफगानिस्तानको यो नै पहिलो सहभागिता भएकाले यी दुई टोली पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।
एकदिवसीय अन्तर्राष्ट्रियमा अस्ट्रेलिया हावी
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म अस्ट्रेलिया र अफगानिस्तानबिच भएको भिडन्तमा अस्ट्रेलिया हावी भएको तथ्याङ्कले देखाउँछ । हालसम्म यी दुई टोलीबिच चारवटा एकदिवसीय खेल खेलिएको छ ।
त्यसमध्ये चारवटै खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई हराएको छ । अस्ट्रेलियाले तीनवटा खेल न्यूट्रल भेन्यूमा र एउटा खेल घरेलु मैदानमा जितेको हो । अफगानिस्तानको घरेलु मैदानमा भने हालसम्म यी दुई टोलीबिच भिडन्त भएको छैन ।
म्याक्सवेल नायक बनेको विश्वकपको रोमाञ्चक भिडन्त
पछिल्लो पटक अस्ट्रेलिया र अफगानिस्तानबिच सन् २०२३ को आईसीसी एकदिवसीय विश्वकपमा भिडन्त भएको थियो । त्यो खेल निकै रोमाञ्चक थियो । त्यो खेलमा टस जिती पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ९१ रन बनाएको थियो ।
अफगानिस्तानका लागि ओपनर इब्राहिम जदरानले अविजित एक सय २९ रन बनाएका थिए । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले १८.३ ओभरमै केवल ९१ रन बनाउँदा सातवटा महत्वपूर्ण विकेट गुमाइसकेको थियो ।
समग्रमा अस्ट्रेलिया हारको अत्यन्तै नजिक पुगिसकेको थियो । यस्तो स्थितिमा छैटौँ नम्बरमा क्रिज समाल्न आएका ग्लेन म्याक्सवेलले चमत्कारिक ब्याटिङ गर्दै अस्ट्रेलियालाई जितसम्म पुर्याएका थिए । वास्तबमै म्याक्सवेलको ब्याटिङ हेर्नलायक थियो ।
उक्त खेलमा म्याक्सवेलले अविजित दुई सय एक रन बनाएका थिए । एक सय ८१ मिनेट क्रिजमा सँघर्ष गरेका म्याक्सवेलले केवल एक सय २८ बलमा १० छक्का र २१ वटा चौका हिर्काएर धेरैले आश्चर्यमा पारेका थिए ।
म्याक्सवेलकै उत्कृष्ट प्रदर्शनका कारण अस्ट्रेलियाले ४६.५ ओभरमै सात विकेट गुमाएर दुई सय ९३ रन बनाउँदै िविजयलक्ष्य पार गरेको थियो । उनी प्लेयर अफ दि म्याच घोषित भए । उक्त विश्वकपको उपाधि पनि अस्ट्रेलियाले नै चुमेको थियो ।
विश्व क्रिकेटमा म्याक्सवेलको उक्त प्रदर्शनको अहिले पनि चर्चा हुने गरेको छ । जारी च्याम्पियन्स ट्रफीमा पनि म्याक्सवेल टोलीका महत्वपूर्ण सदस्य हुन् । इङ्ल्यान्डविरुद्धको खेलमा अस्ट्रेलियालाई जितसम्म पुर्याउन पनि उनको भूमिका महत्वपूर्ण थियो ।
लयमा छन् इब्राहिम जदरान र अजमतुल्लाह ओमरजाई
जारी च्याम्पियन्स ट्रफीमा अफगानिस्तानका ब्याट्सम्यान इब्राहिम जदरान लयमा देखिएका छन् । उनी जारी च्याम्पियन्स ट्रफीमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि दोस्रो स्थानमा आसिन छन् ।
इङ्ल्यान्डविरुद्धको अघिल्लो खेलमा टोलीलाई रोमाञ्चक जित दिलाउन पनि उनले एक सय ७७ रनको पाली खेलेका थिए । यस क्रममा उनले केवल एक सय ४६ बलको सामना गरी ६ छक्का र १२ वटा चौका हिर्काएका थिए ।
इब्राहिम जदरानले जारी प्रतियोगिताको दुई खेलमा कुल एक सय ९४ रन बनाइसकेका छन् । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पहिलो स्थानमा भने इङ्ल्यान्डका बेन डकेट छन् । उनले दुई खेलमा कुल दुई सय तीन रन बनाएका छन् ।
शुक्रबार खेलिने अस्ट्रेलियाविरुद्धको खेलमा इब्राहिम जदरान सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पहिलो स्थानमा उक्लने बलियो सम्भावना छ । जारी च्याम्पियन्स ट्रफीमा सर्वाधिक विकेट लिने बलरको सूचिमा पनि अफगानिस्तानकै अजमतुल्लाह ओमरजाई छन् । उनले दुई खेलमा ६ विकेट लिइसकेका छन् ।
अस्ट्रेलियालाई जस इङ्लिस र बेन ड्वारशसको भर
जारी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियन ब्याट्सम्यान जस इङ्लिस लयमा देखिएका छन् । उनले एउटा उत्कृष्ट शतक पनि प्रहार गरिसकेका छन् । उनकै उत्कृष्ट प्रदर्शनमा अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा इङ्ल्यान्डलाई हराएको थियो ।
तीन सय ५२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियालाई जितसम्म पुर्याउन इङ्लिसले अविजित एक सय २० रनको योगदान गरेका थिए । यस क्रममा उनले केवल ८६ बलको सामना गरी ६ छक्का र आठवटा चौका हिर्काएका थिए ।
यसका अतिरिक्त, अस्ट्रेलियन टोलीमा स्टिभन स्मिथ, म्याथ्यू सर्ट, एलेक्स केरी, ट्राभिस हेड, ग्लेन म्याक्सवेलजस्ता प्रभावशाली ब्याट्सम्यान पनि छन् । जारी प्रतियोगितामा अस्ट्रेलियाका लागि सर्वाधिक विकेट लिने बलर भने बेन ड्वारशस हुन् । उनले जारी प्रतियोगितामा एक खेल खेल्दै तीन विकेट लिएका छन् ।
ब्याट्सम्यानलाई साथ दिने पिच
अस्ट्रेलिया र अफगानिस्तानबिच खेल हुने गद्दाफी स्टेडियमको पिच भने ब्याट्सम्यानलाई सहयोग पुर्याउने प्रकृतिको रहेको छ । त्यसैले यो स्टेडियममा ठुलो स्कोर बन्ने गरेको छ । हालसम्म यो स्टेडियममा ७१ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ ।
त्यसमध्ये ३६ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जित हात पारेका छन् । यो स्टेडियममा जवाफी ब्याटिङ गर्ने टोलीले ३३ खेलमा जित हात पारेका छन् । एक खेल बराबरीमा सकिएको छ भने एक खेल अनिर्णित रुपमा टुंगिएको छ ।
यो स्टेडियममा हालसम्म बनेको सबैभन्दा ठुलो स्कोर तीन विकेट गुमाएर तीन सय ७५ रन हो । उक्त स्कोर सन् २०१५ मा जिम्बाबेविरुद्ध पाकिस्तानले बनाएको थियो । यो स्टेडियममा कुनै पनि टोलीले पुरा गरेको विजयलक्ष्य भने पाँच विकेट गुमाएर तीन सय ५६ रन हो । यो लक्ष्य जारी च्याम्पियन्स ट्रफीमै अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्ध हासिल गरेको थियो ।
वर्षाले खेल बिथोल्ने सम्भावना
अस्ट्रेलिया र अफगानिस्तानबिच शुक्रबार लाहोरस्थित गद्दाफी स्टेडियममा हुने खेल वर्षाले बिथोल्ने प्रवल सम्भावना रहेको छ । शुक्रबार लाहोरमा वर्षाको सम्भावना ७१ प्रतिशत रहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
शुक्रबार दिनभर लाहोरको आकाश बाक्लो बादलले ढाकिएको हुनेछ । लाहोरको तापक्रम ११ देखि १९ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ । हावाको गति भने १३ किलोमिटर प्रति घण्टा रहने समाचारमा जनाइएको छ ।
अस्ट्रेलिया र अफगानिस्तानको सम्भावित टोली
अस्ट्रेलिया : स्टिभन स्मिथ (कप्तान), म्याथ्यू शर्ट, ट्राभिस हेड, मार्नस लाबुशेन, एलेक्स केरी, जस इङ्लिस (विकेटकिपर), ग्लेन म्याक्सवेल, बेन ड्वारशस, नाथन एलिस, स्पेन्सर जोन्सन र एडम जाम्पा ।
अफागानिस्तान : हशमतुल्लाह साहिदी (कप्तान), इब्राहिम जदरान, रहमानुल्लाह गुरबाज, सेदिकुल्लाह अटल, रहमत शाह, अजमतुल्लाह ओमरजाई, मोहम्मद नाबी, गुलबदिन नाइब, राशिद खान, नुर अहमद र फजल–हक फारुकी ।
ICC Champions Trophy, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक फुटबल खेल्न एन्जिला तुम्बापो ग्रिस प्रस्थान
-
वीर अस्पतालले दुई सिफ्टमा शल्यक्रिया सेवा सुरु गर्ने
-
शिक्षा विधेयक विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गर्छौं : गृहमन्त्री लेखक
-
संसारकै लामो धार्मिक पदयात्रा मिथिला परिक्रमा सुरु, यस्तो छ परिक्रमा पथ
-
रेफ्रीमाथि खनिएपछि चार खेलको प्रतिबन्धमा परे चर्चित प्रशिक्षक मोउरिन्हो
-
समिरको लुक्स सार्वजनिक गर्दै ‘बलिदान’ फूलपातीमा आउने घोषणा