शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

‘रसियन गाउँका सडकमा बनाइने पुलको क्षमता अनुसार महेन्द्र राजमार्गका पुल बनाइएका छन्’

शुक्रबार, १६ फागुन २०८१, १० : ४६
शुक्रबार, १६ फागुन २०८१

चार वर्ष अघि मैले नेपाल सरकारको सहसचिव पदबाट अवकाश पाएँ । पेसाले म इन्जिनियर हुँ । म खासमा सोभियत युनियनबाट सन् १९९० तिर हाईवेमा डिग्री पढेर आएको हुँ ।

म सोभियत संघबाटै पढेर आएको हुनाले महेन्द्र राजमार्गको बारेमा अलि बढी चासो राख्थेँ । यस क्रममा केही कुरा जान्न पाएँ ।

म सानो छँदा नेपालमा महेन्द्र राजमार्गको अवधारणा आएको थियो । सानै छँदा संयोगवश नै भन्नु पर्ला, म यो राजमार्गको उदघाटन कार्यक्रममा सामेल भएको थिएँ ।

यो कुरा सन् १९७२ तिरको हो । तत्कालीन राजा वीरेन्द्रले यसको उदघाटन गरेका थिए । महेन्द्र राजमार्ग (पूर्व–पश्चिमसम्म) एक हजार किलोमिटरभन्दा लामो बनाइए पनि सोभियत संघले भने पथलैयादेखि ढल्केवरसम्मको सडकमात्र आफ्नो सहयोगमा बनाएको थियो ।

मलाई जाहाँसम्म याद छ, त्यसबेला सोभियत संघले ११० किलोमिटर लामो सडक बनाइदिएको थियो । यो सडक अन्तर्गतका पुल पनि सोभियत संघकै सहयोगमा बनेको थियो । सायद ६५ वटा पुल सोभियत संघबाट महेन्द्र राजमार्गमा बनाइएको हो ।

म सोभियत युनियनबाट डिग्री गरेर आएको हुनाले यहाँ त्यो देशबाट गरिएका विकासका बारेमा बढी चासोका साथ जानकारी लिन्थेँ । त्यसमा पनि हाईवेमै इन्जिनियरिङ गरेँ, जुन झन् मसँग सम्बन्धित नै रहने विषय भयो । यही कारणले यी कुरा मेरो मानसपटलमा ताजै छ ।

अर्को कुरा, फेरि म बेलारुसबाट पढेर आएको हुनाले त्यहाँका भाषा बुझ्थेँ । अनि उनीहरूले सडक बनाउँदा लेखेका कुराहरू मैले सहजीकरण गरेको हुँ ।

अब पुलको बारेमा भन्नुपर्दा सुरुमा धेरै पुल उसले काठकै बनाएको थियो । तलको जग कङ्क्रिट अनि अरु भागमा सालको काठ राखेर कतिपय पुल बनाइएको थियो ।

सहयोग गर्ने पैसा धेरै लाग्ने भएपछि सानासाना पुल काठकै बनाइएको थियो । पछि नेपाल सरकारले कङ्क्रिटको पुल बनाउँदै काठको पुल विस्थापित ग¥यो । लामा पुल भने सबै कङ्क्रिटकै बनाएको थियो ।

यी पुल बनेको करिब ५५ वर्ष पुग्न लागेको छ । जब म त्यहाँ पढिरहेको थिएँ, तब महेन्द्र राजमार्गमा बनाइएका पुलहरूको लोडिङ ‘स्ट्यान्डर्ड’को बारेमा थाहा पाएँ ।

पुल बनाउन तत्कालीन सोभियत संघको ४÷५ वटा लोडिङ ‘स्ट्यान्डर्ड’मध्ये सबैभन्दा कमजोर लोडिङको डिजाइन गरेर महेन्द्र राजमार्गका पुल बनाइएका हुन् । सिधा भाषामा भन्ने हो यी पुल रसियनले आफ्नो गाउँहरूमा प्रयोग हुने खालको डिजाइनमा बनाइदिएको हो । अर्थात् भिलेज सडकको क्षमता अनुसार यी पुल बनाइएका हुन् ।

हाईवे सडकका लागि नभइ गाउँले बाटोको लागि पुल बनाइएको मैले त्यहाँ पढ्दा र पछि यसको गुणस्तर हेर्दा थाहा पाएको हुँ । यहाँका अधिकांश पुल ‘एक्सेल’ लोडका लागि बनाइएको हो तर पुलको क्षमता भने यसरी मापन हुँदैन ।

कति चक्के गाडीले कति भार बोकेको छ, आफ्नो क्षमताभन्दा बढी बोकेको छ कि छैन भन्ने कुराले असर गर्छ । मानौँ, कुनै गाडीको १० टन बोक्ने क्षमता छ, तर त्यो आफ्नो क्षमताभन्दा बढी भार बोकेर आयो भने ‘ओभर लोड’ हुन्छ । अनि त्यसले गाडीमा एकतिर बढी चाप दिइरहेको हुन्छ, जुनकारणले जता बढी लोड हुन्छ, त्यतातिरको सडक वा पुल भासिने सम्भावना रहन्छ ।

आफ्नो एक्सेल अनुसार जति सामान बोके पनि त्यसले खासै फरक पार्दैन । किनकि, त्यो चारैतिर लोड बाँडिएको हुन्छ । जुनकारण सडक वा पुल कसैलाई असर गर्दैन ।

वास्तवमा यी पुल अहिले नाजुक अवस्थामा पुगिसकेका छन् । मेजर पुलहरू त अलि गुणस्तरीय नै बनेको थियो तर सानासाना पुलहरूको जग पनि त्यति गहिराइसम्म नगरीकन बनाइएका छन् । त्यसकारण यी पुलहरू विस्थापन गर्नुपर्ने अवस्था भइसकेको छ । यी पुल त्यसबेला अहिलेको गाडीको डिजाइन, गाडीले बोक्न सक्ने क्षमताको आधारमा बनाइएका थिएनन् । भौतिक रूपमा यी पुलले अहिलेको भार बोक्न सक्ने भए पनि नौतिक रूपमा यिनको अवस्था नाजुक छ ।

पुलहरूको रेगुलर मेन्टेनेन्स हुनुपर्छ । यो गरिरह्यो भने धेरै समयसम्म भार थेग्न सक्छन् तर मर्मत सम्भार गरिएन भने पुलहरू आफ्नो निर्धारित आयुभन्दा अगाडि नै ध्वस्त हुन्छन् । ५० वर्षमै काम नलाग्ने पनि हुन्छन् । मर्मत सम्भार भइरह्यो भने योभन्दा अलिक बढी वर्षसम्म भार थेग्न सक्छन् ।

हाम्रो देशमा मर्मत सम्भारको समयमा कसैले वास्ता गर्दैनन् । अहिले झन् धेरै पुल बन्न थालेको छ मुलुकमा । अब पुराना पुलको मर्मत सम्भारको कुरै हुँदैन । जुनकारण पुराना पुलहरू ध्वस्त हुँदै गइरहेका छन् । पुलमा खिया लाग्यो भने पेन्टिङ गर्नुपर्ने, बेरिङको चेकजाँच गरिरहनुपर्ने हो तर त्यो काम हुँदैन ।

अब महेन्द्र राजमार्गकै कुरा गर्ने हो भने यहाँ भएका सबै पुल अहिले मर्मत गर्नुपर्ने अवस्थामा छन् । मर्मत गरिएन भने पूरै खत्तम भएर जानेछ ।

अहिले ट्राफिक बढी छ । उतिबेला महेन्द्र राजमार्ग सिङ्गल लेनमा बनेको थियो । त्यो बेला एकएक घण्टामा एउटा, दुई वटा गाडी चल्थे । त्यो क्षमता अनुसार नै यी पुल बनाइएका हुन् । एउटा गाडीको लेनका लागि यी पुलहरू बनाइएका हुन् । त्यो बेला यति उद्योगभन्दा थिएन । अहिले सबै छन् । मालसामान ओसारपसार बढ्दो छ ।

अहिले साना–ठुला गरी यो राजमार्गमा दैनिक हजारौँ गाडी गुडिरहेका हुन्छन् । ५०, १०० टन बोकेर मालवाहक गाडी गुडिरहेका छन् । दुईभन्दा बढी लेनमा गाडीहरू हिँडिरहेका छन् ।

त्यसकारण यी पुलहरूको विकल्प खोज्न जरुरी छ । नयाँ पुल बनाउनुपर्ने बेला भइसकेको छ । दायाँबायाँ अरु पुलहरू थप्नु पर्छ ।

नदीको धार परिवर्तन भइरहेको हुन्छ । वर्षाको बेला अलि बढी समस्या आउन सक्छ । विकल्पमा अर्को पुल बनाइएन भने महेन्द्र राजमार्ग उच्च जोखिममा छ । केही पुल सडक विभागले बनाइरहेको देखिन्छ । समग्रमा सरकारले चाँडोभन्दा चाँडो यी पुलको दायाँबायाँ अर्को विकल्प खोजिहाल्नुपर्ने आवश्यकता छ ।

(सडक विभागमा लामो समय काम गरिसकेका अवकाश प्राप्त सहसचिव काफ्लेसँग रातोपाटीका लागि अली असगर देवानले गरेको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र शर्मा काफ्ले
राजेन्द्र शर्मा काफ्ले
लेखकबाट थप

छुटाउनुभयो कि ?