अबको तीन वर्षमा धेरै नयाँ पुल देख्न सकिनेछ : महानिर्देशक पोखरेल

पूर्व–पश्चिम (महेन्द्र) राजमार्गका कयौँ पुल जीर्ण अवस्थामा पुग्दा पनि विकल्प खोज्नतिर सरकारी निकायको ध्यान गएको छैन । पूर्व–पश्चिम राजमार्गका पुलको अवस्था र पुराना पुल हटाएर नयाँ निर्माण गर्नेबारे सरकारको योजना के–कस्तो छ भन्नेबारे सडक विभागका महानिर्देशक रामहरि पोखरेलसँग रातोपाटीका लागि अली असगर देवानले कुराकानी गरेका छन् ।
प्रस्तुत छ, महानिर्देशक पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश–
- पूर्व–पश्चिम राजमार्गमा अहिले सोभियत संघको पालामा बनेका पुल प्रयोगमै छन् । ती पुलको आयु कति हो ?
प्रायः आरसीसी स्ट्रक्चरहरूको अधिकतम आयु ५० वर्ष हुन्छ । महेन्द्र राजमार्गमा बनेका पुलहरूको आयु पनि त्यही हो । ५० वर्षको हाराहारीमै ती सबै पुलका आयु छन् ।
- यसको अर्थ ती पुलमा यात्रा गर्नु भनेको जोखिम मोल्नु नै हो ?
यसमा विभिन्न अवस्थाले असर पारिरहेको हुन्छ । खोलाको असर, खिया लाग्दा पुग्ने असरले पुलको आयु प्रभावित हुन्छ । यस्ता समस्या भएन भने सामान्यतः सिमेन्टले बनेको स्ट्रकचरहरूको आयु ५० वर्ष नै हो ।
५० वर्ष भन्दैमा यसले काम नगर्नेचाहिँ होइन । काम त थप केही वर्षसम्म गरिरहन्छ । हाम्रो कति त्यस्ता पुल छन्, जुन सय वर्षसम्म पनि टिकेका छन् । यद्यपि एकदम ‘सेफ’ भनेको हामी ५० वर्षसम्मका पुललाई मान्छौँ ।
- एकातिर पुलको आयु सकिएको छ भने अर्कोतिर यिनै पुल भएर सय टनसम्मका मालवाहक सवारी साधन गुडिरहेका छन् । यो अवस्थामा हामी कहिलेसम्म रहने ?
त्यस्तो तनाब लिनु पर्दैन । हामीले द्रूत गतिमा काम गरिरहेका छौँ । भटाभट टेण्डर भइरहेका छन् । नयाँ पुल बनिरहेका छन् ।
पूर्व–पश्चिमका सबैजसो साना पुल ‘रिप्लेस’ भइरहेका छन् । यसमा हामीले पुलको परीक्षण, अवस्थाबारे जाँच गरेका छौँ ।
जुन पुलहरूको अवस्था बलियो छ, मजबुत छ, त्यसलाई अहिले हामीले प्रयोग गरिरहेका छौँ । अवस्था ठिक नभएका पुलहरूको भने हामीले भटाभट ‘रिप्लेस’ गरिरहेका छौँ ।
बाटो विस्तारसँगै काम नलाग्ने पुलहरूको विकल्पमा नयाँ पुल बनाउने हाम्रो कार्यक्रम नै छ । अहिले बागमतीसम्मका पुलका त ठेक्का नै लागिसकेको छ । काँकडभित्तादेखि बागमतीसम्मका पुल अब चाँडै नयाँ निर्माण हुनेछन् ।
बाराको दुधौरा पुल निर्माण गर्न थालिएको लामो समय भइसक्यो । अहिलेसम्म त्यो पुल तयार भइसकेको छैन । एउटा पुल बनाउन वर्षौं लाग्ने यो अवस्थाले यत्तिका पुल कहिले ‘रिप्लेस’ भइसक्छन् ?
होइन, दुधौरा पुल अलपत्र परेको होइन । त्यहाँ चार लेनको सडक निर्माण भइरहेको छ । त्यसकारण अलिकति समय लागिरहेको छ ।
गत वर्ष त्यहाँको काम बराबरको पेसा ठेकदारले पाएनन्, जुनकारण अलि ढिलाइ भएको हो । यसमा अरु केही अन्य कारण छैन । त्यो पुलको काम भइरहेको छ ।
पहिला त सिङ्गल लेनको पुल बनाउने गरिन्थ्यो । अहिले भने ठुला पुलको ठेक्का लगाइएको छ । ठुलो ‘कन्ट्रयाक्टर’ ल्याइएको छ । त्यसकारण यसमा कुनै समस्या हुँदैन ।
म अरु त केही भन्दिनँ, तर एउटा कुरा गर्वले भन्छु–अबको तीन वर्षभित्र महेन्द्र राजमार्गमा धेरै पुल हामीले नयाँ पाउने छौँ । अर्थात् नयाँ पुल निर्माण भइसक्छन् ।
पथलैया–हेटौंडाको एउटा पार्ट ठेक्का लाग्न बाँकी छ । यो बाहेक महेन्द्र राजमार्गका अन्य पुलको ठेक्का भइसकेको छ ।
- एउटा पुल बनाउन कति जति लागत लाग्छ ?
यो कुरा पुलको निर्माणको अवस्थामा फरक छ । पुलको लम्बाइ कति छ ? त्यसमा कस्तो खाले पुल बनाइँदै छ, त्यो अवस्था हेरेर लागत लाग्ने गर्दछ । सामान्यतया प्रतिमिटर लम्बाइ २० लाख रुपैयाँ लाग्ने गरेको छ । अर्थात् एक मिटर पुल बनाउन कम्तीमा २० लाख रुपैयाँको बजेट लाग्दछ ।
यो भनेको फेरि ‘टु लेन’ को पुलको हिसाब हो । चार लेनको हिसाब गर्ने हो भने यसको ‘डबल’ लाग्छ ।
- यी पुलहरू बनाउन हामीसँग आर्थिक स्रोत पर्याप्त छ ?
हामीसँग पुल बनाउने त्यस्तो क्षमता छैन । अहिले पनि अरुको सहयोगमा बनाइरहेका छौँ । कुनै पुल ‘एडीबी’ को सहयोगमा बनिरहेका छन् भने कुनै विश्व बैंकको सहयोगमा बनिरहेका छन् ।
अहिले त पुल बनाउने हाम्रो बजेटको स्रोत नै यी दुई वटा निकाय हुन् । कतिपय पुराना पुल आफ्नै स्रोतले पनि बनाइरहेका छौँ । उपलब्ध स्रोत साधनलाई मध्यनजर गरेर केही पुराना पुल विस्थापित गरेर नयाँ पुल हामीले बनाइरहेका छौँ ।
अब तेस्रो फेजको सहमति भइरहेको छ । छिट्टै यसको ‘एग्रीमेन्ट’ हुन्छ । त्यसपछि हाईवेका पुलहरू, बाँकी रहेका पुलहरू यो फेजमा निर्माण गरिनेछ ।
- हाईवेमा धेरै पुल बनाउन थालिएको छ । अब बन्ने पुल कस्ताखाले हुन्छन् ? कुन स्तरको पुल बनाइँदैछ ?
अहिले हामीले धेरै अध्ययन अनुसन्धान गरेर पुलहरू बनाइरहेका छौँ । महेन्द्र राजमार्गमा धेरै पुल स्पेसल बनाइँदैछ । कतिपय ठाउँमा ‘सिग्नेचर’ पुल बनाउन लागिएको छ भने कतिपय ठाउँमा अर्को स्पेसल पुल बनाइँदैछ । कतै आरसीसी पुल पनि बनाइन्छ । यो सबै भनेको माग अनुसार बनाउने नै हो ।
जस्तै नारायणीमा र बुटवलको तिनाउमा सिग्नेचर पुल बनाउन लागिएको छ भने बागमती, कमला, लालबकैया जस्ता महत्त्वपूर्ण ठाउँहरूमा हामीले स्पेसल पुल बनाउन गइरहेका छौँ । जहाँ जस्तो अवश्यकता महसुस हुन्छ, त्यस्तै डिजाइनको पुल बनाउने योजना हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक फुटबल खेल्न एन्जिला तुम्बापो ग्रिस प्रस्थान
-
वीर अस्पतालले दुई सिफ्टमा शल्यक्रिया सेवा सुरु गर्ने
-
शिक्षा विधेयक विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गर्छौं : गृहमन्त्री लेखक
-
संसारकै लामो धार्मिक पदयात्रा मिथिला परिक्रमा सुरु, यस्तो छ परिक्रमा पथ
-
रेफ्रीमाथि खनिएपछि चार खेलको प्रतिबन्धमा परे चर्चित प्रशिक्षक मोउरिन्हो
-
समिरको लुक्स सार्वजनिक गर्दै ‘बलिदान’ फूलपातीमा आउने घोषणा