पूर्व–पश्चिम राजमार्गमा धराप बने कैयौँ पुल

वीरगन्ज । राजमार्गहरू देशको ‘लाइफलाइन’ मानिन्छन् । एक ठाउँबाट अर्को ठाउँ पुग्न होस् वा खाद्यवस्तु लगायतका सामान ढुवानी गर्न प्रयोग हुने राजमार्गको अवस्था कस्तो छ भन्ने विषयले देशको समृद्धिलाई पनि झल्काउने गर्दछ ।
पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग देशको सबैभन्दा महत्त्वपूर्ण सडक संरचना हो । पूर्वी नेपालदेखि पश्चिम नेपाललाई यो राजमार्गले जोड्छ । मधेस प्रदेशका ८ जिल्लामध्ये ७ वटा जिल्ला यो राजमार्गमा जोडिएका छन् ।
नेपालका सडक समयमा मर्मत सम्भार नहुने समस्या नौलो होइन । सडकमात्र नभएर यो राजमार्गका कतिपय पुल पाँच दशकभन्दा पुराना तथा जीर्ण छन् । जसले गर्दा पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्नु सधैँ जोखिमपूर्ण हुने गरेको छ ।
सोभियत संघ विघटन भएको ३४ वर्ष बितिसकेको छ । यद्यपि, सोभियत संघको सहयोगमा निर्माण भएका कतिपय पुलले अहिले पनि पूर्व–पश्चिम राजमार्गको सवारी चाप धान्दै आएका छन् । यहाँसम्म कि, ती पुलले कति भार वहन गर्न सक्छन् भन्ने लेखाजोखासमेत छैन ।
पूर्व–पश्चिम राजमार्ग निर्माण हुँदा मालवाहक सवारी साधनको भारवहन क्षमता सरदर १० टन हुन्थ्यो । त्यसैले सडक तथा पुल निर्माणमा पनि सोही भारवहन क्षमतालाई आधार बनाइएको हुन्थ्यो । अचेल १०० टनभन्दा बढी भारवहन क्षमता भएका सवारी साधन गुड्ने गरेको परवानीपुरस्थित हिमाल धर्मकाँटाका हरि शर्मा बताउँछन् ।
शर्माका अनुसार नेपालको सडकमा एक सयदेखि एक सय २० टन वजन बोकेका मालवाहक सवारीसाधन पनि गुड्ने गरेका छन् ।
उनले भने, ‘हाम्रो काँटाको क्षमता ८० टनको हो, यहाँबाट १२० टनसम्मका गाडीको तौल गरिएको छ । कहिलेकाहीँ त्योभन्दा बढी वजन बोकेका सवारी साधन पनि गुड्छन् ।’
एकातिर पुल पुरानो हुँदै जानु, अर्कोतिर निर्माणको समयमा मापदण्ड बनाइएको भारवहन क्षमताभन्दा कयौँ गुना बढी वजन बोकेका सवारी साधन गुड्ने गर्दा जोखिम बढेको सरोकारवाला बताउँछन् । उनीहरू पुराना पुल विस्थापन गर्ने समय भइसके पनि सरकारले चासो नदेखाएको आरोप लगाउँछन् ।
- मर्मतकै भरमा काम चलाउँदै
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटको सिमानामा रहेको बागमती पुलमा पटक–पटक धसिने तथा चर्किने समस्या देखिएको छ । हालै उक्त पुलको बिम चर्किएको थियो । यद्यपि मर्मत गरेर पुलबाट यातायात सञ्चालन भइरहेको छ ।
बागमती नदीमा बनेको पुलको ४ र ५ नम्बर स्पानको बिचमा ढलान फुटेको थियो । यस्तै, ६ र ७ नम्बर स्पानको बिच भागमा पनि समस्या आएको थियो । यी दुई वटै समस्या समाधान गरिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अरुणकुमार लाल कर्णले बताए ।
उनका अनुसार विभागबाट खटिएका दक्ष प्राविधिकको टोलीले समस्या आएका ‘ब्यारिङ प्याडेस्टल’ मर्मत सम्भार गरेपछि यातायात सञ्चालन भइरहेको छ । बागमती पुलमा अहिले आधुनिक प्रविधिबाट उच्च गुणस्तरको ‘कङ्क्रिट’ हालेर ढलान गरिएकाले तत्कालै सवारी साधन सञ्चालन गर्न मिल्ने भएको हो ।
पुलको ‘ब्यारिङ प्याडेस्टल’ मा क्षति भएपछि माघ २७ गतेदेखि यो पुलमा सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । फागुन पहिलो साता मर्मत सकिएपछि यातायात सञ्चालन गर्न थालिएको कर्णले बताए ।
सोही राजमार्गमा पर्ने लमाहा पुलको अवस्था पनि उस्तै छ । यो पुलमा पनि कङ्क्रिट फुटेको छ । यद्यपि, मर्मतकै भरमा पुलबाट सवारी आवागमन भइरहेको छ ।
बाराका बकैया, १ नम्बर, २ नम्बर, ३ नम्बर पुलका साथै रौतहटका चाँदी, लमाहा, पौराइ लगायतका पुल जीर्ण भइसकेका छन् । यस्तै सर्लाहीको बाँके, लखन्देही, फूलजोर, कालिन्जोर पुल पनि जीर्ण छन् ।
- पुलको आयु कति ?
हेटौँडा सडक डिभिजनका प्रमुख इन्जिनियर गुरुप्रसाद अधिकारीका अनुसार महेन्द्र राजमार्गको निर्माण कार्य लगभग २०२४/०२५ सालतिरै सकिएको थियो । यस आधारमा यो राजमार्ग निर्माण भएको ५६ वर्ष भइसकेको छ ।
राजमार्ग निर्माणकै क्रममा बनेका पुलको आयु पनि सोही हाराहारी भइसकेको छ । सामान्यतया कङ्क्रिटबाट बनेको कुनै पनि भौतिक संरचनाको आयु ४० देखि ५० वर्षको हुन्छ । यद्यपि, पुलको हकमा थप केही वर्ष टिकाउ हुने गरी मर्मत गर्ने परम्परा छ ।
यद्यपि, महेन्द्र राजमार्ग निर्माणकै क्रममा बनेका पुलहरूको आयु सकिएको चन्द्रनिगापुर डिभिजनका प्रमुख कर्ण बताउँछन् । यी पुलले वर्षौंदेखि क्षमताभन्दा बढी भार बोक्नुपरेको कारण यिनको आयु सोही रफ्तारमा घट्दै गएको उनको भनाइ छ ।
आयु सकिएको पुलमा सवारी साधन गुडाउनु भनेको ‘जोखिमपूर्ण’ हुने उनले प्रस्ट पारे । ‘यस्तो पुलमा कुन बेला कस्तो दुर्घटना हुन्छ भन्ने ठेगान हुँदैन,’ उनले भने ।
आयु सकिएका पुल नै प्रयोग गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर ती पुलले क्षमताभन्दा बढी भारवहन गर्नुपर्ने बाध्यता पनि छ । १०/१२ टन वजन बोकेका सवारी साधन दैनिक दुई/तीन सयको हाराहारीमा गुड्ने आकलनसहित निर्माण भएका पुलमा दैनिक पाँच हजार हाराहारीमा सवारी साधन गुड्नेमात्र होइन, सय टनभन्दा बढी वजन भएका सामान बोकेर ट्रक गुड्ने अवस्थाले जोखिमको मात्रा कयौँ गुना बढेको सरोकारवाला बताउँछन् ।
कर्णका अनुसार पुलको आयु सकिनु र यसको भारवहन क्षमताभन्दा बढीका गाडी गुड्ने जस्ता कारणले पनि बेलाबखत पुल भासिने, चर्किने गरेको हो । यस्ता पुल भत्काएर नयाँ निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
यस्ता समस्याको समाधान समयमै नखोजिने हो भने ठुलो क्षति भोग्नुपर्ने अवस्था आउनेतर्फ पनि कर्णले सचेत गराए ।
- आयु सकिएका पुलको तथ्याङ्क नै छैन विभागसँग
कुन पुलको आयु कति हो र उक्त पुलले कति भार बोक्न सक्छ भन्ने हरहिसाब नै सरकारी निकायले राखेको छैन ।
भारवहन क्षमताभन्दा बढीको सामान बोकेको भनेर अहिलेसम्म कुनै पनि सवारी साधनलाई नरोकिएको यातायात मजदुर च्याङ्बा लामा बताउँछन् ।
‘कहिलेकाहीँ ओभरलोड बोकेको फेला पारेमा चेकजाँचपिच्छे अलिअलि पैसा बुझाउनुपर्छ,’ उनले भने, ‘तर ओभरलोड छ भन्दैमा सवारी साधनलाई जानै नदिने, सामान उतारेर राख्ने भन्ने छैन । जान दिन्छन् ।’
रातोपाटीसँगको कुराकानीमा सडक डिभिजन हेटौँडाका प्रमुख इन्जिनियर गुरुप्रसाद अधिकारीले पुलको बारेमा यथेष्ट विवरण आफूहरूसँग नरहेको बताए । अझ सोभियत संघ सरकारको पालामा बनेका पुलको बारेमा त निकै कममात्र जानकारी रहेको उनको भनाइ छ ।
‘त्यतिबेला पुलको सबै जानकारी रसियन भाषामा लेखिएको थियो । त्यसैले धेरै सूचना हामीसँग छैन,’ उनले भने ।
पुलको बारेमा कार्यालय र विभागमा धेरै जानकारी नभएपछि यसको अन्य पाटोको बारेमा जानकारी राख्न समस्या आएको उनले बताए ।
२०७२ सालको भूकम्पपछि विभागबाट पनि पुलसँग सम्बन्धित सबै विवरण हराएको नाम नखुलाउने सर्तमा एक कर्मचारीले बताए । ‘धेरैजसो कागजात हराएका छन्, । कागजात गायब भएपछि पुलको विवरण सडक विभाग वा सडक डिभिजनका कार्यालयहरूमा भेटिने कुरा नै भएन,’ ती कर्मचारीले भने ।
पुल महाशाखाका इन्जिनियर विमलकुमार बस्नेतले पनि पूर्व–पश्चिम पुलका यथेष्ट विवरण नरहेको बताए । उनले भने, ‘हामीसँग कुल पुलको संख्या छ, तर कतिको आयु सकियो ? कुनकुन पुल सोभियत संघले बनाएको हो वा कुन पुलको अवस्था कस्तो छ भन्ने तथ्याङ्क मसँग छैन, अरु कसैसँग भए मलाई थाहा भएन ।’
- ‘ओभर लोड’को समस्या बढ्दो
पुल जतिसूकै जीर्ण भए पनि नभित्कउन्जेल त्यसले विश्राम पाउने अवस्था देखिँदैन । त्यसमा पनि ‘ओभर लोड’ (क्षमताभन्दा बढी भारी बोक्ने) सवारी साधनको संख्यामा कमी देखिएको छैन ।
पथलैया ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको ७ महिनामा मात्रै २२ हजार ९७४ सवारी साधनलाई ‘ओभर लोड’ अन्तर्गत कारबाही गरेको छ ।
‘ओभर लोड’ भएका सवारी साधनमाथि गरिएको कारबाहीबाट ३ करोड २५ लाख ४ हजार ७३३ रुपैयाँ राजस्व चालु आर्थिक वर्षमा संकलन भएको पथलैया ट्राफिक प्रहरी प्रमुख भीमकिरण बोगटीले बताए ।
उनका अनुसार मालवाहक सवारी साधनहरूले आफ्नो क्षमताभन्दा बढी मालबस्तु बोकेमा जरिवाना लिने गरिएको छ ।
आर्थिक वर्ष ०८०/०८१ मा मधेस प्रदेश अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा ५३ हजार ८ सय ३३ वटा सवारी साधन ‘ओभर लोड’ को कारबाहीमा परेको विवरण छ ।
पथलैया ट्राफिक प्रहरीका अनुसार ओभर लोड गर्ने सवारी साधनमा ट्रक र टिपर बढी छन् ।
- कुन जिल्लामा कति पुल ?
मधेस प्रदेश अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा लामो र छोटो गरी जम्मा १४५ वटा पुल रहेको सडक विभाग काठमाडौँ पुल महाशाखाले जनाएको छ ।
महाशाखाका इन्जिनियर बिमलकुमार बस्नेतका अनुसार सप्तरीमा ४२, सिरहामा २३, महोत्तरीमा १४, धनुषामा ११, सर्लाहीमा १७, रौतटहमा १४ र बारामा २४ वटा पुल छन् ।
सडक डिभिजन कार्यालयका अनुसार १०० मिटरभन्दा बढी लम्बाइ भएको पुललाई लामो मानिन्छ । यो हिसाबले मधेसका ७ जिल्लामा लामो पुल करिब दुई दर्जन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक फुटबल खेल्न एन्जिला तुम्बापो ग्रिस प्रस्थान
-
वीर अस्पतालले दुई सिफ्टमा शल्यक्रिया सेवा सुरु गर्ने
-
शिक्षा विधेयक विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गर्छौं : गृहमन्त्री लेखक
-
संसारकै लामो धार्मिक पदयात्रा मिथिला परिक्रमा सुरु, यस्तो छ परिक्रमा पथ
-
रेफ्रीमाथि खनिएपछि चार खेलको प्रतिबन्धमा परे चर्चित प्रशिक्षक मोउरिन्हो
-
समिरको लुक्स सार्वजनिक गर्दै ‘बलिदान’ फूलपातीमा आउने घोषणा