छोरा घर फर्कने आशामा १७ महिना बिते

धनगढी । इजरायलमा हमासको कब्जामा परेका कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ। छोरो कहिले फर्किन्छ भन्ने पर्खाइमा उनका बाबु महानन्द जोशी र आमा पद्मा जोशी १७ महिनादेखि व्याकुल छन्। युद्धले मात्र होइन, पर्खाइको पीडाले पनि उनीहरूलाई थकित बनाएको छ।
केही दिनअघि प्यालेस्टाइनको अतिवादी समूह हमास र इजरायलबिच गजामा युद्धविराम भएपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित जोशी परिवारमा आशाको किरण पलाएको थियो। तर, त्यो आशा अझै पनि केवल आशामै सीमित छ। हमासले आफ्नो नियन्त्रणमा रहेका केही कैदीहरूलाई रिहा गरिसकेको भए पनि विपिनको नाम रिहाइ सूचीमा नपरेपछि परिवार झनै चिन्तित बनेको छ।
‘रिहाइ सूचीमा छोरोको नाम नदेख्दा मन रुन्छ। छिटोभन्दा छिटो विपिनको रिहाइ होस् भन्ने हाम्रो एक मात्र कामना हो। सरकारबाट हामीले धेरै आशा गरेका छौँ,’विपिनका बाबु महानन्द जोशी भन्छन्।
विपिन २०८० को असोज २० गतेदेखि हमासको कब्जामा छन्। छोराको अवस्था अज्ञात भएपछि जोशी दम्पतीको जीवन नै अन्धकारमय बनेको छ।
‘१७ महिनामा न भोक लाग्यो, न निद्रा। छोराको बाटो हेर्दै दिनरात बिताएका छौँ। समाचारमा के भयो भनेर बारम्बार खोज्छौँ। कहिलेकाहीँ झूटा समाचारहरूले पनि हामीलाई झन् निराश बनाउँछ,’महानन्द भन्छन्।
पछिल्ला १७ महिनामा विपिनका बाबुआमाले धेरै निकायहरूमा हारगुहार गरिसकेका छन्। पूर्वराष्ट्रपति, वर्तमान राष्ट्रपति, पूर्वप्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायत सरकारी तथा गैरसरकारी संस्थाहरूमा उनीहरू पटक–पटक पुगे। तर, आश्वासन बाहेक हातमा केही परेको छैन।
गत वर्षको मंसिरमा इजरायली सेनाले सार्वजनिक गरेको एक भिडिओमा हमासका लडाकूहरू घाइतेहरूलाई अस्पताल पुर्याउँदै गरेको देख्न सकिन्थ्यो। इजरायली सेनाले त्यहाँ देखिएका व्यक्तिहरूमध्ये एकजना नेपाली हुनसक्ने आशंका गरेको थियो। भिडिओ सार्वजनिक भएपछि विपिनका परिवारमा थप पीडा बढेको थियो।
अहिले युद्धविरामपछि विभिन्न बन्दीहरू मुक्त भइरहेका छन्। यो समाचारले विपिनको आमालाई थोरै भए पनि आशावादी बनाएको छ।
‘केही खबर आयो कि भनेर पटकपटक सोध्छु। छोरोको रिहाइ भएको खबर सुन्ने दिन कहिले आउँछ भन्ने कुराले मन भारी हुन्छ,’ उनकी आमा पद्मा भन्छिन्।
विपिनका बाबु–आमा शिक्षक हुन्। तर, छोरो बेपत्ता भएपछि उनीहरू सामान्य जीवन बाँच्न सकिरहेका छैनन्।
‘पढाउन जान्छौँ, तर मनले केही मान्दैन। काममा फर्किनु बाध्यता हो, तर सोच्ने कुरा एउटै छ— विपिन कहिले फर्किन्छ,’ महानन्द भन्छन्।
हालै युद्धविराम भएपछि विपिनको परिवार पुनः आशावादी बनेको छ। तर, यसपटक सरकारले गम्भीर पहल गरेर विपिनलाई चाँडो रिहा गराउनुपर्ने उनीहरूको माग छ।
‘छोरालाई देख्दासम्म मनको आगो निभ्दैन। सरकारको जिम्मेवारी हो, विपिनलाई सकुशल घर फर्काउने। आश्वासन मात्र हैन, अब वास्तविक कदम चाल्नुपर्छ,' विपिनका आमा भन्छिन्।
विपिन सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर क्याम्पसबाट लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका थिए। सोही कार्यक्रम अन्तर्गत गएका अन्य १० जना नेपाली विद्यार्थी युद्धको क्रममा मारिए। तर, विपिन अहिलेसम्म बेपत्ता छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमि सम्बन्धी अध्यादेशमा एकमत छैनन् मधेस केन्द्रित दल
-
नेपाल–जापानबिच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री ओली
-
मधेसको शिक्षाबारे प्रचण्डलाई गराइयो ध्यानाकर्षण
-
निर्माण क्षेत्रमा मुलुकलाई ‘आत्मनिर्भर’ बनाउन सघाउँदै एनएस इन्जिनियरिङ
-
फिल्म ‘अञ्जिला’को ट्रेलर सार्वजनिक
-
पाकिस्तानमा च्याम्पियन्स ट्रफी नखेलेपछि एसिया कप आयोजनाको अधिकार गुमायो भारतले