शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

लुम्बिनी प्रदेश सरकार राजस्व सङ्कलनमा कमजोर

आन्तरिक स्रोतबाट लक्ष्यको जम्मा २२ प्रतिशतमात्र राजस्व
शुक्रबार, १६ फागुन २०८१, ०७ : १४
शुक्रबार, १६ फागुन २०८१

बुटवल । लुम्बिनी प्रदेश सरकारको राजस्व सङ्कलनमा कमजोर देखिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको माघ मसान्तसम्म कुल अनुमानित लक्ष्यको ४४ प्रतिशतमात्र राजस्व सङ्कलन गरेको छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख दीपक ज्ञवालीका अनुसार सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान तथा बाँडफाँटबाट प्राप्त हुने विभिन्न कर, आन्तरिक आय तथा नगद मौज्दात बापत माघसम्म १७ अर्ब १५ करोड ७९ लाख रुपैयाँ सङ्कलन भएको हो ।

प्रदेशको आन्तरिक स्रोतबाट ४ अर्ब ७१ करोड २० लाख रुपैयाँ उठाउने लक्ष्य भए पनि माघ महिनाको अन्त्यसम्म एक अर्ब ५ करोड ९९ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ, जुन जम्मा २२ प्रतिशतमात्रै हो ।

प्रदेश सरकारले आन्तरिक आयतर्फ रहेको कृषिमा ५२ लाख ६१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा जम्मा १ हजार ५ सयमात्रै सङ्कलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । सरकारी सम्पत्तिको बहालबाट ७८ लाख ३२ हजार सङ्कलन गर्ने लक्ष्य रहे पनि हालसम्म ४ लाख ३६ हजार ४०६ रुपैयाँमात्रै सङ्कलन भएको छ ।

अन्य स्रोतबाट प्राप्त बाँडफाँट नहुने रोयल्टीबाट ४ लाख ६ हजार २६७ रुपैयाँ सङ्कलन भएको छ । यस्तै कृषि उत्पादनको बिक्रीबाट ४ करोड ६९ लाख ९४ हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा हालसम्म ६९ लाख ३० हजार ६० रुपैयाँ राजस्व सङ्कलन भएको छ । अन्य स्रोतबाट पनि अपेक्षा गरिएअनुसार राजस्व सङ्कलन भएको छैन ।

कोष तथा लेखा नियन्त्रकको तथ्याङ्क अनुसार सरकारी सम्पत्तिको बिक्रीबाट कुल लक्ष्यको ७.११ प्रतिशत राजस्व प्राप्त भएको छ । यो शीर्षकमा १८ लाख ५ हजार ५३५ रुपैयाँमात्रै राजस्व सङ्कलन भएको छ । अन्य बिक्रीबाट जम्मा ६१३ रुपैयाँमात्रै राजस्व सङ्कलन भएको छ ।

नहर तथा कुलो उपभोग बापतको शुल्कबाट ९ हजार १०० रुपैयाँ राजस्व प्राप्त भएको छ । अन्य सेवा शुल्क तथा बिक्रीबाट ३१ हजार २०० रुपैयाँ अर्थात् लक्ष्यको ३.४१ मात्रै सङ्कलन भएको छ ।

शिक्षा क्षेत्रको आम्दानी शीर्षकमा माघ मसान्तसम्म प्रदेशले २८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । परीक्षा शुल्कबापत २ करोड १८ लाख ४८ हजार ७५९ रुपैयाँ सङ्कलन भएको छ ।

यस्तै यातायात क्षेत्रको आम्दानीबाट लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यको २९.७४ प्रतिशत अर्थात् ११ करोड ६४ लाख ६५ हजार ८७२ रुपैयाँ सङ्कलन गरेको छ

अन्य प्रशासनिक सेवा शुल्कबाट ५ करोड ८० लाख ७ हजार ५९३ रुपैयाँ सङ्कलन गरेको छ । यो रकम लक्ष्यको ३३.२७ प्रतिशत हो ।

व्यवसाय रजिस्ट्रेसन दस्तुरतर्फ लक्ष्यको २०.९ प्रतिशत अर्थात् ४ करोड ९८ लाख ३२ हजार ६१६ रुपैयाँ सङ्कलन भएको छ । रेडियो/एफ. एम. सञ्चालन दस्तुरबाट २० हजार,  टेलिभिजन सञ्चालन दस्तुरबाट एक लाख ६० हजार रुपैयाँ सङ्कलन भएको देखिन्छ । चालक अनुमति पत्र, सवारी दर्ताबाट ४५ करोड  ४२ लाख ८२ हजार ६८५ रुपैयाँ सङ्कलन भएको छ । यो शीर्षकमा सङ्कलन हुने राजस्व लक्ष्यको २३.२७ प्रतिशत हो ।

यस्तै वन क्षेत्रबाट २० करोड ५८ लाख ५६ हजार एक रुपैयाँ सङ्कलन भएको छ । न्यायिक दण्ड जरिवाना र जफत बापत १ लाख ६३ हजार ६२२ रुपैयाँ सङ्कलन भएको छ । प्रशासनिक दण्ड जरिवाना र जफतबाट १० करोड ४७ लाख ७ हजार ३३७ रुपैयाँ सङ्कलन भएको छ ।

धरौटी सदरस्याह शीर्षकमा ४५ लाख ६२ हजार ८०१ रुपैयाँ सङ्कलन भएको छ । अन्य राजस्वबाट १९ लाख ३४ हजार ८०६ रुपैयाँ सङ्कलन भएको छ ।

यस्तै प्रदेशका बेरुजु, निकासी, अनुदान फिर्ता शीर्षकमा पनि आम्दानी भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका संयोजक हुमराज भुसालले प्रादेशिक अर्थतन्त्रले आफूलाई दिगो र भरपर्दो आम्दानीका आधारहरू खोज्नेभन्दा पनि सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारबाट आउने रोयल्टी तथा विशेष अनुदान एवं समपूरक अनुदानबाट आउने रकमबाट आफ्नो आर्थिक गतिविधि बढाउन खोज्दा यस्तो अवस्था आएको बताए । उनले प्रदेशको राजस्व सङ्कलनको योजनामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री दिनेश पन्थीले राजस्व सङ्कलन अहिले तुलनात्मक रूपमा कमजोर देखिए पनि अब आउने महिनामा वृद्धि हुने आधारहरू रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप

छुटाउनुभयो कि ?