जसले नचाए दिन दहाडै क्याम्पसभित्र बञ्चरो...

मोरङ । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा बिहीबार बिहान स्ववियुका अध्यक्ष जसवन्त पौडेल, सचिव सनिम ठकुरी र नेविसंघकै सदस्यहरू महमद सलमान लगायतले ताण्डव गरे । उक्त ताण्डवको २० सेकेन्डको एउटा र अर्को १९ सेकेन्डको भिडियोमा त्यहाँ के भएको थियो भन्ने सामान्य आकलन गर्न सकिन्छ ।
भिडियोमा क्याम्पसका स्ववियु सभापति जसवन्तले बन्चरो बोकेका छन् । उनी नेविसंघ मोरङका सभापति सरोज पोखरेललाई आक्रमण गर्न कुदेर जान्छन् । हाफ ज्याकेटको भित्री गोजीमा राखेको छोटो बिँड भएको बन्चरो निकालेर त्यहाँ पुगेका उनले पहिले सरोजलाई लात्तले हान्छन् । त्यसपछि आफैँ लड्छन् । त्यहाँबाट उठेर उनी फेरि अर्को ग्याङ भएको ठाउँमा जाँदा आफ्नो हातमा भएको बन्चरो ज्याकेटको भित्री गोजीमा हाल्छन् ।
तर, उता लडिरहेका सरोजलाई घिसारेर प्रशान्त यादव (कालो ज्याकेट लगाएका) कुटपिट गर्छन् । स्ववियुका सचिवसमेत रहेका सनिम ठकुरी नेविसंघकै अर्को पक्षकी नेतृ पूजा विश्वासलाई ढुङ्गाले हान हान भन्दै स्ववियु सदस्य सोल्जु थापा मगरलाई ढुंगा दिन्छन् ।
नेविसंघ महेन्द्र मोरङको सदस्य महमद सलमान बाँस बोकेर दौडिएको देखिन्छ । नेविसंघकै दिपक यादव पनि त्यो आक्रमणमा सहभागी देखिन्छन् । पूजा विश्वास र सोल्जु थापा मगर भने आपसमा चिथोराचिथोर गरिरहेको देखिन्छ ।
उक्त घटनाबाट पोखरेल र चुले भाइ भनिने आयुष दाहाल घाइते छन् । यस्तै नेविसंघ मोरङका सचिव गुड्डु साह र महेन्द्र मोरङमै अध्ययनरत नेविसंघ केन्द्रीय सदस्य पूजा विश्वास पनि घाइते रहेको बताइएको छ । घाइते भएका सबै कांग्रेस नेता शेखर कोइराला पक्षका हुन् । साह र विश्वासको अवस्था सामान्य छ । यता पौडेल समूहका प्रशान्त यादव र सुविक्षा थापा मगर पनि घाइते भएको जनाइएको छ ।
यसरी झगडा हुनुमा त्यहाँ कुनै कारण थिएन । नेपाल विद्यार्थी संघकै शेखर कोइराला समूह क्याम्पस इकाई गठन गर्न त्यहाँ पुगेको थियो । स्ववियु सभापति रहेका पौडेलसहितको टोली पार्टी सभापति देउवा निकटका हुन् । उनीहरूले आफ्नो समूह बाहेकलाई त्यहाँ इकाई कमिटी बनाउन नदिने तयारीमा थिए ।
नेविसंघ महेन्द्र मोरङ क्याम्पस इकाइको अहिलेको कार्यवाहक सभापति प्रशान्त यादव हुन् । तर, उनी आफैँ सभापति भन्दै आएका थिए । त्यहाँ लामो समयदेखि अधिवेशन हुन सकेको छैन । त्यही भएर नयाँ कमिटी बनाउन भनेर पोखरेल नेतृत्वसहितको टोली त्यहाँ पुगेको थियो ।
त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचन आगामी चैत ५ गतेका लागि तोकेको छ । चुनाव लागेकाले क्याम्पसको वस्तुस्थिति बुझ्न जिल्ला सभापति र सचिव आएका बेला आक्रमण भएको नेविसंघकै नेतृ पूजा विश्वास बताउँछिन् ।
‘स्ववियु चुनावलाई लक्षित गरेर क्याम्पसको वस्तुस्थिति बुझ्न आउँदा साङ्घातिक हमला भयो । स्ववियु सभापतिको नेतृत्वमा रहेका करिब ५०–६० जनाले आक्रमण गरेका हुन्,’ उनले भनिन्, ‘जिल्ला सभापति पोखरेलको टाउको र शरीरका विभिन्न भागमा समस्या देखिएको छ । तत्काल उपचारतर्फ केन्द्रित भएकाले घटनाका सम्बन्धमा थप कदम पछि चाल्छौँ ।’
सुरुमा मुक्काले प्रहार गरिएको र पछि बञ्चरोसमेत ल्याएर आक्रमण गरिएको दाबी उनको छ । विश्वासका अनुसार स्ववियुका नाममा धेरै बदमासी भएका छन् । ‘हामीले बारम्बार हिसाब माग्दा स्ववियुले दिँदैन । कलेजभित्रै विद्यार्थीलाई कुट्ने र धम्क्याउने काम हुन्छ । स्ववियुका गतिविधिमा हामीले निरन्तर खबरदारी गरिरहेका छौँ । त्यही रिसइबी राखेर आक्रमण गरिएको हुन सक्छ,’ विश्वासले भनिन् ।
स्ववियु सभापति पौडेलले भने बिना जानकारी क्याम्पसमा नेविसंघको नयाँ इकाई गठन गर्न खोजिएपछि विवाद भएको बताए । भिडियो देखिएको बन्चरो आफ्नो नभएको उनको दाबी छ ।
‘सरोजले बाहिरबाट नयाँ केटाहरू लिएर क्याम्पस भित्र छिरेर मेरो केटाहरूलाई बन्चरो देखाएपछि मैले एक लात्ती हानेर बन्चरो खोसेको हो,’ उनले भने, ‘भिडियोमा हेर्दा मलाइ अराजक देखे होला । तर, उनीहरू निहुँ खोजेर नआएको भए यो घटना नै हुँदैन थियो ।’ पौडेल पार्टीको संस्थापन पक्षधर हुन् ।
‘यो जिल्लाले हेर्ने क्याम्पस हैन । इकाई कमिटी गठन गर्दा केन्द्रले नै प्रतिनिधि पठाउँछ । केन्द्रको अधिकार क्षेत्रभित्र प्रवेश गरेर जिल्लाले हस्तक्षेप गर्न खोजेपछि विरोध गरिएको हो,’ उनी भन्छन् । इतर पक्षले भने क्याम्पसमा नयाँ इकाई गठन गर्न नभईकन स्ववियु निर्वाचनको तयारीका बारेमा बुझ्न गएको बताएको छ ।
पौडेलको बदमासी देख्दैन प्रहरी
स्ववियु सभापति रहेका पौडेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहका हुन् । क्याम्पसभित्र स्ववियू सभापति पौडेलको गुण्डागर्दीमा संलग्न भएको घटना यो एउटा मात्रै होइन । एकपछि अर्को गर्दै उनको गुण्डागर्दी कलेजमा बढेर गएको विद्यार्थीहरू नै बताउँछन् ।
‘राजनीतिमा आउनु अगाडि उनी लागू औषध सेवनकर्ता थिए । राजनीतिमा आइसकेपछि उनले महेन्द्र मोरङ क्याम्पसको बीबीए फ्याकेल्टीमा आगजनी गरे । त्यो पनि सामसुम बनाए । डीग्री क्याम्पसको गाडी जलाए । पछि योजना आयोगको उपाध्यक्षको गाडी पनि चलाए । त्यो भिडियोमा जसवन्त पनि संलग्न रहेको प्रष्ट देखिन्छ । तर, प्रहरीले उनीविरुद्ध कुनै मुद्दा मामिला तथा अनुसन्धान गर्दैन,’ महेन्द्र मोरङकै एक विद्यार्थी भन्छन् ।
गत जेठ २७ गते पौडेलको नेतृत्वमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफोड गरेका थिए । आगजनी र तोडफोडबाट ६ वटा गाडीमा क्षति पुगेको थियो । त्यसबेला पौडेलको नेतृत्वमा को १ झ ६४४ नम्बरको गाडीमा आगजनी भएको थियो ।
विराटनगरका शिवराम सहनीले केही समय अगाडि टिकटकमा तरवारसहितको एउटा भिडियो बनाएर पोस्ट गरे । भिडियोमा तरबार हालेकै आधारमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्यो । तर, दिनदहाडै क्याम्पसभित्र बन्चरो बोकेर तमासा देखाउनेलाई प्रहरीले अनुसन्धान नै गर्दैन ।
कानुनलाई हातमा लिएर पौडेलले आफू विरुद्ध बोल्ने विद्यार्थीलाई धम्काउने, थर्काउने, तर्साउने र आतङ्क सिर्जना गर्ने गरेको आरोप छ । मोरङ कांग्रेसका नेता अमृत अर्याल, नागेश कोइरालाहरूले पौडेललाई संरक्षण गरेको स्रोत दाबी गर्छ ।
विवाद बढेर दुई पक्षबिच बिहीबार झडप भएको जानकारी पाएपछि मोरङ प्रहरीका प्रवक्ता डीएसपी मदन केसीको नेतृत्वको टोली पुगेको थियो । तर, कोही पनि पक्राउ परेनन् । ‘आक्रमणमा परेर घाइते भएकाहरू अस्पतालमा भर्ना भएका छन् । तर, प्रहरी केही नभएजस्तो गरेर किन बसेको छ,’ एक विद्यार्थी भन्छन् ।
क्याम्पस भित्रको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै आएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया बताउँछन् । ‘क्याम्पसभित्रको सुरक्षाको जिम्मा क्याम्पस प्रशासनले गर्ने हो । क्याम्पस प्रमुखले सुरक्षा चाहियो भनेपछि मात्रै प्रहरी जान मिल्छ । नभए क्याम्पस प्रमुखको अनुमति बेगरभित्र जान पाइँदैन,’ एसपी चिमरियाले भने, ‘यो घटनाको हामीले अनुसन्धान भने गर्दै आएका छौं । घाइतेको अवस्था पनि मैले बुझेर आएको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ
-
पाथीभरा केबलकार विवाद : आन्दोलनका थप कार्यक्रम घोषणा
-
बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ