शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

गोली लागेर एक जनाको मृत्यु, दुई पक्राउ

बिहीबार, १५ फागुन २०८१, २२ : ०७
बिहीबार, १५ फागुन २०८१

सिन्धुली । घ्याङलेख गाउँपालिका–४ आहालेका ४६ वर्षीय युगबहादुर स्याङ्तानको गोली लागेर मृत्यु भएको छ । रुखबाट लडेर घाइते भएका भनिएका युगबहादुरको उपचारका क्रममा आज मृत्यु भएको थियो ।
    
बुधबार दिउँसो जङ्गलमा घाँस काट्ने क्रममा रुखबाट लडी गम्भीर घाइते भएको भनिएका युगबहादुरको गोली लागेर मृत्यु भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । 
    
उनको राजधानीको केएमसी अस्पताल सिनामङ्गलमा लगी उपचार भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय बस्तीपुरबाट प्रहरी निरीक्षक टीकाराज बरालको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान सुरु गरेको थियो ।
    
प्रनाउ काफ्लेले भने, “अस्पतालमा उपचार गराइरहेका युगबहादुरको आज बिहान ८ बजे मृत्यु भएको सूचना हामीले पायौँ ।” अनुसन्धानका क्रममा उपचारमा संलग्न चिकित्सकले योगबहादुरको तिघ्रामा गोलीको छर्रा भेटिएको जानकारी दिएको प्रहरीको भनाइ छ । 
    
घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न घ्याङलेख गाउँपालिका–४ का २५ वर्षीय बलबहादुर मोक्तान र सोही ठेगाना भएका ४१ वर्षीय लेखबहादुर गोलेलाई प्रहरीले पक्राउ गरेको छ ।
    
जिल्ला प्रहरीले समन्वय गरी प्रहरीवृत्त गौशाला, काठमाडौँबाट उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रनाउ काफ्लेले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरु घरेलु बन्दुक लिइ सिकार खेल्न जङ्गल गएकामा निज घाइते युगबहादुर स्याङतानलाई बन्दुकको छर्रा लागेर घाइते भएको र उपचारका लागि काठमाडौँ ल्याइएको खुल्न आएको छ । घटनामा संलग्न अन्य व्यक्तिकोसमेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप