युक्रेनको दुर्लभ खनिजमा फ्रान्सको पनि 'गिद्देदृष्टि'

पेरिस । यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युक्रेनको दुर्लभ खनिज जसरी भए पनि लिई छाड्ने दाउमा छन् ।
युक्रेनमा शान्ति स्थापनार्थ रुससँग एकतर्फी वार्ता थालेका ट्रम्पले युक्रेनलाई वार्तामा वास्तै गरेनन् । उल्टै युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई युक्रेन युद्ध छेडेको आरोप लगाउँदै तानाशाहसम्म भन्न भ्याए ।
अहिलेसम्म अमेरिकाले युक्रेनलाई दिएको सहयोगको बदला अनि भविष्यमा उसले पाउने सहयोगका आधारमा ट्रम्प युक्रेनको दुर्लभ खनिज चलाउने दाउमा छन् । यसै विषयमा युक्रेनी समकक्षी जेलेन्स्कीसँग सहमति बनेको र शुक्रबार सम्झौतामा हस्ताक्षर गर्न उनी अमेरिका आउन लागेका ट्रम्पले भनेका थिए ।
यसैबीच फ्रान्सेली रक्षामन्त्री सेबास्टियन लेकोर्नुले बिहीबार फ्रान्सले युक्रेनको महत्वपूर्ण खनिज भण्डारमा पहुँच खोजिरहेको र महिनौंदेखि वार्ता भइरहेको बताएका छन् । उनको भनाइले युक्रेनको दुर्लभ खनिजमा पाउने दौडमा अमेरिका मात्र नभई फ्रान्स पनि संलग्न रहेको संकेत गरेको छ ।
फ्रान्सले अमेरिकाजस्तै गरी महत्वपूर्ण खनिजहरूको आपूर्तिलाई विविधीकरण गर्ने उद्देश्यले युक्रेनसँग पनि छलफल गरिरहेको लेकोर्नुले फ्रान्स इन्फोलाई बताएका थिए । तर, युक्रेनसँग फ्रान्सले कुन खनिज खोजिरहेको छ भनेर उनले किटेरचाँहि भनेनन् । अमेरिकालाई ब्याट्रीका लागि लिथियम र आणविक ऊर्जा, चिकित्सा उपकरण र हतियारका लागि युरेनियमसहित विभिन्न दुर्लभ खनिजहरू दिने प्रस्ताव युक्रेनले गरेको छ ।
‘हामी हाम्रो देशको आवश्यकताको लागि यो विषयमा छलफल गरिरहेका छौँ । आगामी वर्षहरूमा हाम्रो रक्षा उद्योगलाई केही केही कच्चा पदार्थहरूमा पहुँच आवश्यक पर्नेछ,’ फ्रान्सेली रक्षामन्त्रीले अगाडि भने । राष्ट्रपति म्याक्रोंले युक्रेनसँग छलफल सुरु गर्न आफूलाई निर्देशन दिएको पनि उनले खुलाए ।
दुर्लभ खनिज स्रोत प्राप्त गर्न सक्ने देशहरूको संख्या विस्तार गर्न युक्रेनी समकक्षीसँग प्रत्यक्ष वार्ता गरिरहेकाे लेकोर्नुको भनाइ थियो । ‘हामीले यसलाई विविध बनाउनुपर्छ । इमानुएल म्याक्रोँले मलाई युक्रेनीहरूसँग पनि छलफल सुरु गर्न भनेका थिए, म अक्टोबरदेखि यो गर्दै आएको छु,’ उनले भने ।
फ्रान्सले युक्रेनबाट खनिज पदार्थ किन्न सक्ने र रुसी आक्रमणविरुद्ध युक्रेनी प्रतिरक्षालाई बलियो बनाउन पेरिसले प्रदान गरेको अर्बौं युरो बराबरको सैन्य र अन्य सहायताको बदलामा यसलाई लिन नखोजेको पनि उनले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत २८ लाई ‘राष्ट्रिय मोही दिवस’ को रूपमा मनाउने घोषणा
-
सिंहदरबारमा शिक्षक महासंघ र सरकारबिच छलफल सुरु
-
बारमा बहुमतका लागि राप्रपा निर्णायक, विजयीहरु को कुन दलका ?
-
पूर्व डीआईजी छविलाल जोशी केहीदिन अस्पताल बस्ने
-
५ वर्षको प्रेम सम्बन्ध टुटेपछि प्रेमिकालाई ब्ल्याकमेल, प्रेमीको साथी पक्राउ
-
मिलोमतोमा स्थानीय तहलाई स-सर्त अनुदान वितरणमा माओवादी केन्द्रको ध्यानाकर्षण