कानुन धेरै भएर देशको विकास हुन सकेन : गगन थापा

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुन धेरै भएर देशको विकास हुन नसकेको बताएका छन् । ‘नेपालमा अहिले कानुन कम भएर देश नबनेको होइन, कानुन बढी भएर देश नबनेको हो । हाम्रो समस्या भनेको कानुन धेरै हुनु हो,’ उनले भने, ‘नागरिकलाई सहज बनाउनका लागि सयौँ कानुनहरू खारेज गरिदिनुपर्ने छ । सयौँ कानुन बदल्नुपर्ने छ ।’
नागरिक सबै बदमास र सरकार मात्रै पवित्र भन्ने धारणाबाट तयार भएका कानुन खारेज गरेर जानुपर्ने उनको तर्क छ । ‘हामी यति धेरै नियन्त्रणमुखी छौँ । नागरिकहरू सबै बदमास हुन्, जो सुकै पनि खराब नियत लिएर आएको छ भन्ने लागेको छ,’ उनले थपे, ‘राज्य भनेको चाहिँ यति शक्तिशाली छ, यति पवित्र छ कि हातमा लट्ठी लिएर बस्नुपर्छ भन्ने छ । नाफालाई अपवित्र मान्ने । सबै खराब हुन् त्यसकारण मेरो काम डण्डा लिएर नियन्त्रण गर्नुपर्छ भन्ने सोचको आधारमा बनेका सबै कानुनहरू खारेज गर्नुपर्छ ।’
उनले राज्य स्रोत बढाउने भन्दा वितरणमुखी हुँदा समस्या आइरहेको सुनाए । ‘हामीलाई बाँड्ने भनेर हतारो लाग्छ । म यो गर्छु, म यो गर्छु भन्छन् । समाजलाई राम्रो गर्न खोजेको ठिक हो,’ उनले भने, ‘तर इकोनोमी कमनसेन्स नराख्दा ढुकुटीमा कसरी आउँछ भन्ने थाहा छैन ।’ जनप्रतिनिधिहरू सामाजिक सञ्जालमा बिक्ने काममा जोड दिने गरेको उनको तर्क छ । ‘देशभरि घुमिरहेको छु, मेयर–वडाध्यक्षलाई बोलाएर कार्यक्रम के छन्, कसरी गर्नुभएको छ भनेर सोध्छु । कतिपय ठाउँमा राम्रै गर्नुभएको छ । कतिपय ठाउँमा कम्युनिष्टीकरण भएको देख्छु,’ थापाले भने, ‘सामाजिक सञ्जालमा जे कुरा बिक्छ त्यही गरेका छन् ।’
राज्य स्रोत खोजीमा नलाग्दा अहिले गर्नैपर्ने काममा बजेट नपुगेको उनको भनाई छ । ‘सामाजिक सुरक्षा आवश्यक छ । तर त्यो कुरा अलग्गै हो । हामी बाँड्नमा मात्रै ध्यान दिन्छौँ । के घरबाट ल्याएको हो ? जनताले कर तिरेर बाँडेको हो नि,’ उनले भने, ‘अहिले हेर्नुस् त ठेकेदारलाई पैसा दिन सक्दैन । बीमाको पैसा दिन सक्दैन । पैसा नभएर सरकारको ओठ तालु सुकेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ
-
पाथीभरा केबलकार विवाद : आन्दोलनका थप कार्यक्रम घोषणा
-
बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ
-
सर्टिफिकेट सच्याइदिन्छु भनेर ठगेको आरोपमा एक जना पक्राउ