नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलमा लामो समयदेखि विवाद छ । विवाद बढ्दै जाँदा त्यहाँ संसदीय दलकै नेता परिवर्तन भयो । तर विवाद समाधान भएन, बरु बढेर गयो ।
माओवादीका सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले विवादका विषयमा पार्टी अध्यक्ष प्रचण्डसँग पनि छलफल गरे । तर समस्या समाधान हुनुभन्दा बढेर जाने देखिन्छ ।
यिनै विषयमा अछाम निर्वाचन क्षेत्र नम्बर २ (क) को प्रदेशसभा सदस्य तथा माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका उपनेता अक्कलबहादुर रावलसँग रातोपाटीले कुराकानी गरेको छ ।
भइरहेको संसदीय दलको नेता खगराज भट्टलाई किन हटाउनुभयो ?
पहिलो कुरा, सुदूरपश्चिम प्रदेश माओवादी संसदीय दलभित्रको विवाद त्यहाँभित्रको मात्र समस्या हो कि, त्यसको जराभित्र गएर समाधान गर्ने भन्ने प्रश्न हो ? यसमा सतही ढंगले समस्या समाधान गर्ने जुन प्रयास भइरहेको छ, यसले समाधान दिँदैन । अर्को कुरा, खगराज भट्टलाई साझा रूपमा दलको नेता बनाएकै हो । तर उहाँले साझा रूपले नेताको भूमिका निर्वाह गर्न सक्नुभएन । उहाँले गरेका निर्णयले उहाँ साझा बन्ने प्रयत्न नगरेको हामीलाई आभास भयो ।
कस्ता र के–के निर्णयमा त्यस्तो लाग्यो ?
चाहे संसद्भित्रका गतिविधि हुन् । संसद्को कार्यविन्यासदेखि सरकार गठनसम्म र सरकारका काम कारबाहीसम्म उहाँले संसदीय दलको नेताको भूमिका निभाउनुभएन भन्ने कुरा हामीलाई लाग्यो ।
अझै स्पष्ट बनाइदिनुस् त ?
एमाले र माओवादीको समीकरणकै पालामा सरकार बनाउने सन्दर्भमा उहाँले गम्भीर खालको गल्ती गर्नुभयो । खल्तीबाट व्यक्तिका नाम निकालेर रातारात मन्त्री नियुक्त गर्नुभयो । पछि कांग्रेस र माओवादीको समीकरणमा पनि त्यस्तै काम दोहोर्यानुभयो । हामी उहाँलाई मुख्य मन्त्री बनाउन चाहन्थ्यौँ । तर उहाँ विनाविभागीय मन्त्री खान कुद्नुभयो ।
उहाँले मन्त्री बन्दिनँ भन्नुभएको थियो र ?
पार्टी अध्यक्ष प्रचण्डलाई पनि उहाँले ढाँट्नुभयो । अध्यक्षकै अगाडि उहाँले म मुख्यमन्त्रीबाहेक अरू पदमा जान्नँ भन्नुभयो, जब मुख्य मन्त्री हाम्रो भागमा परेन । त्यसपछि मन्त्रीका लागि रुन थाल्नुभयो । त्यसपछि उहाँ एक महिनाका लागि विनाविभागीय मन्त्री बन्नुभयो । दलप्रतिको विश्वास पहिलो पटक उहाँले त्यहाँ गुमाउनुभयो । त्यसपछि संसदीय दलमा छलफल नै नगरी मन्त्रीहरू सिफारिस गर्न थाल्नुभयो । मन्त्रीहरूलाई जबाफदेही नबनाई उल्टै काखी च्याप्न थाल्नुभयो ।
मन्त्री जसलाई पठाए पनि माओवादीकै सांसदलाई त पठाएको होला नि ? तपाईंंको नाम मन्त्रीमा परेन भन्दैमा रिस फेर्न मिल्छ त ?
हामीले पनि दलको नेता माओवादी केन्द्रकै सांसदलाई बनाएको हो नि । आफै हुनुपर्छ भनेर भट्टजी किन भन्दै हुनुहुन्छ त ?
त्यसोभए संसदीय दलको नेता फेर्ने कुरामा बढी चलखेल गर्ने तपाईंं हो ?
प्रदेशका सांसदहरू राजनीतिक, वैचारिक क्षमता र सांगठनिक जिम्मेवारीसहित आउनुभएको छ । माओवादी आन्दोलनको लामो विरासतबाट आउनुभएको छ । आन्दोलनमा रातारात जोडिएका पात्रहरू हुनुहुन्न । उहाँहरूले निर्णय गर्ने क्षमता राख्नुहुन्छ । सही र गल्ती छुट्टयाउन सक्नुहुन्छ । अनि मैले घुमाएपछि घुम्ने भन्ने कुरा हुँदैन ।
तपाईंंलाई पहिलो पटक नै मन्त्री बनाइदिएको भए खगराजजीले अहिलेको अवस्था भोग्नु पर्दैनथियो भन्नेचाहिँ सही हो ?
मैले लामो समय खगराजजीलाई साथ दिँदै आएको कुरा सत्य हो । तर मेरो बुई चढेर मैमाथि खेल्न थाल्नुभएको कुरा पनि साँचो हो । अनि मैले काँध झिक्दिनेबित्तिकै त उहाँको अवस्था त देखियो नि त ।
तपाईंले कहाँनेर धोका खानुभयो खगराजजीसँग ?
पार्टी अध्यक्ष प्रचण्डले मलाई सभामुख बन्नुस् भन्नुभएको थियो । मैले सभामुख बन्न मानिनँ । तपाईंको नेतृत्वमा सरकारमा पठाउँछु भनेर खगराजजीले भनेपछि मैले सभामुख नखाएको हो । स्टेप स्टेपमा त धोका दिन मिल्दैन नि ।
खगराजजी विधि नमान्ने, साथीहरूलाई धोका दिने काममा किन लाग्नुएको हो ?
उहाँलाई कसैले चलाइदिन्छ । विवेकले नचल्ने व्यक्ति हो उहाँ ।
विवाद जटिल कसरी बन्यो ?
पार्टी केन्द्रका लिडरहरूले यसलाई थप जटिल र पेचिलो बनाएका हुन् ।
पार्टी अध्यक्षले नै त्यो गर्नुभयो ?
अध्यक्षले नै त्यसो गर्नुभयो म भन्दिनँ । तर सुदूरपश्चिमको विषयलाई जटिल बनाउन दबाब दिने काम भएको छ ।
अध्यक्षलाई पनि दबाब दिने नेता को नि ?
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ यसका संलग्न हुनुभएको छ ।
उहाँकै कारण विवाद मिल्न नसकेको हो ?
बोलाएको हुँदैन, तर सुदूरपश्चिमका हरेक बैठकमा सहभागी हुनुहुन्छ । अध्यक्षले नबोलाई पनि बैठकमा जानुहुन्छ । अन्त काम छाडेर पनि पुग्नुहुन्छ । अरू कामलाई गौण र सुदूरपश्चिमको मुद्दालाई प्रदान ठानिरहनुभएको छ । सुदूरपश्चिममा भाँजो हालेर तर मार्न पाइन्छ भन्ने उहाँले सोच्नुभएको छ भने त्यो कुरालाई हामी खारेज गर्छौँ ।
नारायणकाजी श्रेष्ठ दलको नेतामा खगराज भट्टको निरन्तरता चाहनुहुन्छ ?
यो अर्थमा चाहनुहुन्छ कि, खगराज आफ्नो दास बनोस् । खगराज आफ्नो गुटको वरिपरि घुमोस् भन्ने चाहनुहुन्छ ।
सुदूरपश्चिममा माओवादी केन्द्र संसदीय दलमा देखिएको विवाद मिल्न नदिने प्रमुख पात्र नारायणकाजी श्रेष्ठ नै हुन् त ?
अवश्य पनि । उहाँ नमान्नुहोला । खगराजजीलाई मैले पुनस्र्थापित गरेको भनेर त्यसको जस लिने र जसका आधारमा आफ्नो जमिन खोज्ने । जमिनदारी प्रथाबाहेक अरू के हुनु ?
सुदूरपश्चिमको अहिलेको इन्चार्ज गिरिराजमणि पोखरेलको भूमिका नि ?
इन्चार्ज पनि परिपूरकका रूपमा हुनुहुन्छ । टोकरी बनाइराख्ने । त्यही वरिपरि रमाइराख्ने । त्यो उद्देश्यमा उहाँहरूका लागि राख्नुभएको छ ।
वरिष्ठ उपाध्यक्षको कुरा गर्नुभयो, तर पार्टी अध्यक्ष प्रचण्ड नै खगराजजीकै पक्षमा हुनुहुन्छ भन्ने सुनिन्छ ।
अध्यक्ष र महासचिवले त खगराजजीलाई दलको नेता बनाइराख्नुस् भनेर त निर्देशन नै दिनुभएको छ त ।
अध्यक्ष, महासचिवकै निर्देशन नमान्ने तपाईंहरूलाई अनुशासनहीन किन नभन्ने ?
हाम्रो घाँटी च्योपेर मान भनेर हामी मान्दैनौँ । कन्भिन्स भएर मान्ने हो नि । बहस, पार्टीलाई ओलीको जस्तो बनाउने कि प्रचण्डको जस्तो भन्ने पनि हो । सतही ढंगको निर्देशन मान्दैनौँ । विधान एकातिर, अभ्यास अर्कोतिर हुन्छ र ? माथिबाटै तोकेर बनाउन मिल्छ त ?
अहिले त सांसद संख्या नै दुवैतिर पाँच–पाँच भन्ने छ । अनि तपाईंहरूको कसरी बहुमत भयो त ?
संसदीय दलमा अभ्यास गरौँ न । खगराजजीलाई दलको नेता बनाउन नेताहरू सबै लाग्नुस् । त्यो मान्छौँ । हामी हार्न तयार छौँ । तर हामी लेखेर दिन तयार छैनौँ ।
दुवै पक्षलाई जुधाएर तपाईं आफै दलको नेता बन्न लाग्नुभएको त हैन ?
अहिलेको लागि काल्पनिक कुरा हो । म त्यता लागेको छैन ।
पार्टीको निर्देशन नमान्ने तपाईंहरूलाई पार्टीले किन कारबाही नगर्ने ?
बहुमतलाई कारबाही गर्ने संसारकै नयाँ अभ्यास हुन्छ हाम्रोमा । चमत्कार नै होला । त्यस्तो चमत्कार नगर्ला पार्टीले ।
प्रतिक्रिया